दाङ : तुलसीपुर उपमहानगरपालिकाले मातहतका शाखाहरुको कार्य सम्पादन प्रभावकारी बनाउन नयाँ नीति अबलम्बन गर्न थालेको छ। नगरका शाखा, महाशाखालाई प्रभावकारी बनाउन र योजनाललाई समयगत रुपमा सम्पन्न गर्न कार्य सम्पादन नीति अबलम्बन गर्न थालिएको हो। योजना शाखाले फागुन मसान्तभित्र नगरका सम्पूर्ण योजनाहरुको सम्झौता हुनेगरी काम अगाडि बढाएको छ। बैशाख मसान्तसम्ममा योजना सम्पन्न र जेठ १५ सम्ममा सम्पूर्ण भुत्तानी गर्ने गरी योजना क्यालेन्डर निर्माण गरेर काम थालिएको छ।

क्यालेन्डरमा सबै शाखाका योजना तथा कार्यक्रमहरु फागुन मसान्तसम्म सम्झौता मिति, चैत्र र वैशाख योजनाको कार्यान्वयन, जेठमा भुक्तानीको समय सिमा तोकिएको छ। क्यालेन्डर अनुसार शाखा र वडाले गरेका कामको मुल्यांकन र अनुगमनमा सहजता हुने देखिन्छ। उपमहानगरपालिकामा रहेका २९ वटा महाशाखा/शाखा र १९ वटै वडाहरुले यस्तो क्यालेन्डर बनाएका हुन्। कुन ढंगले योजना अगाडि बढाउने भन्ने कुराको यसले स्पष्ट मार्गनिर्देशसमेत गरेको नगरप्रमुख घनश्याम पाण्डेले बताए। शाखालाई गतिशील र जिम्मेवार बनाउनका लागि क्यालेन्डरले महत्वपूर्ण भुमिका खेल्ने उनको बुझाइ छ। ‘हामीकहाँ वर्षान्तमा कामलाई जसरी पनि पुरा गर्ने प्रवृत्ति छ।’उनले भने, ‘यसले केही सुधार ल्याउनेछ।’ ‘जेठ १५ सम्ममा अन्तिम भुक्तानी दिने हाम्रो योजना रहेको छ।’ योजना शाखा प्रमुख टेकबहादुर खड्काले भने,‘यो नीतिलाई कार्यान्वयनमा लिएर कार्य सम्पादन प्रभावकारी बनाउँदै छौँ।’ अघिल्लो वर्ष असार १५ सम्म पनि योजना सम्झौता गर्न व्यस्त हुनु परेको अनुभवले यस वर्ष नीतिनै बनाएर काम गर्न लागेको खड्काको भनाई छ। ‘हामीसँग काम र योजना मात्रै थियो, समय तालिका थिएन त्यो भएर पनि काम गर्न सहज भएन’ उनले भने, ‘गत आर्थिक वर्षमा समय अभावले महत्वपूर्ण योजना छुटेका समेत छन्।’

शाखाले टेण्डरमा जाने योजनाहरुको सूचना पौष मसान्तसम्म प्रकाशिन गरिसक्ने गरी काम अगाडि बढाएको छ। कानुन तथा न्यायिक मामिला शाखाले असोज महिनाभित्रका कानुन लाइब्रेरी बनाउने योजना बनाएको छ।’न्यायालय सरहको काम गर्नुपर्दछ, कानुनहरुको संकलन त गर्नै पर्‍यो नि’ शाखा अधिकृत आँचल बगालले भनिन्। अघिल्लो वर्षको बजेटमा यस्तो व्यवस्था गरेको भएपनि लाइब्रेरी बन्न सकेको थिएन। कुन समयमा के गर्ने भन्ने योजना नहुँदा केही कार्यक्रम छुटेको उनको अनुभव छ। बँगालेले भनिन्, ‘योजना क्यालेन्डर बनाएपछि यो वर्ष काम गर्न सहज छ।’ म्याद तामेलदारलाई परिचालनका लागि असोज महिनाभित्र तालिम दिने योजनासमेत उनको शाखाको रहेको छ।

योजनाको प्रभावकारी कार्यान्वयनका लागि आर्थिक वर्ष २०७७/७८ मा तुलसीपुर उपमहानगरपालिकाले योजना क्यालेन्डर वनाएको छ। कुन काम कुन समयमा गर्दा प्रभावकारी हुन्छ भन्ने वैज्ञानिक आधारमा यस्तो क्यालेन्डर बनाइएको नगर प्रमुख घनश्याम पाण्डेले जानकारी दिए। ‘योजनाको महत्व र आवश्यकताका आधारमा क्यालेन्डर बनाइएको हो’ उनले भने।

नीति तथा कार्यक्रममा समावेश भएका सबै कुराहरु सम्पन्न गर्नका लागि क्यालेन्डरले सघाउँ पुर्‍याउने उनको विश्वास छ। यो वर्ष कार्यप्रगति शतप्रतिशतमा लैजाने हाम्रो लक्ष्य रहेको उनले बताए। यो विषयमा उपमहानगरपालिकाले सबै वडा र शाखाहरुसँग छलफल गरेर करार सम्झौता समेत गरिसकेको बताएको छ।


Your Views
Related News