रिस दबाए विष्फोट हुन्छ भन्ने मान्यता छ। जसका कारण हामी केटाकेटीको आक्रोशलाई अझ बढाइरहेका हुन्छौँ। तर, उनीहरूलाई नहप्काई, गाली नगरी पनि हुर्काउन सकिन्छ। यसले उनीहरूलाई शान्त राख्न सहयोग गर्छ।

विल कोल्डवेल

छोराछोरी कसरी हुर्काउने? यसबारे खोजी गर्न गत डिसेम्बरमा नेसनल पब्लिक रेडियो अमेरिकाकी विज्ञान संवाददाता माइकलिन डिक्लाफ आर्कटिकतर्फ लागिन्। उनले मानवशास्त्री ज्याँ ब्रिग्सको ‘नेभर इन एंगर’ पुस्तक पढेकी थिइन्। सन् १९७० मा प्रकाशित किताबमा लेखकले इनुइत समुदायबारे चर्चा गरेका थिए। तिनले अत्यन्त शान्त र सौम्य तरिकाले बालबच्चालाई आफ्ना भावना सम्हाल्न सिकाउँथे। डिक्लाफ आफ्नी छोरी र अरू बालबच्चालाई रिस नियन्त्रण गर्ने तरिका सिकाउन चाहन्थिन्।

त्यहाँ उनले ‘एउटा चमत्कारी नियम’ पत्ता लगाइन्ः साना केटाकेटीलाई नकराउनुस्, नहप्काउनुस्। ‘हामी केटाकेटीलाई हप्कीदप्कीको सहाराले सिकाउँदैनौँ,’ क्यानडास्थित नुनाभुत आर्कटिक कलेजमा अभिभावकत्व विषय पढाउने गुता जले डिक्लाफलाई भनिन्। वयस्कहरू शान्त थिए, त्यसैले केटाकेटी पनि शान्त थिए।

डिक्लाफका अनुसार केटाकेटीलाई कराउनु भनेको इनुइतहरूका लागि अपमानको विषय हो। त्यसको सट्टा उनीहरू कथा सुनाएर र अभिनय गरेर केटाकेटीलाई सिकाउने गर्छन्। यो उनले अमेरिकामा देखेको दृश्यभन्दा अलग थियो। ‘हामी जहिले पनि केटोकटीका अर्थहीन क्रियाकलाप नियन्त्रण गर्ने कोसिस गर्छौं,’ उनी भन्छिन्, ‘यो अवधारणाले इनुइतहरूको सामाजिक जीवनलाई पनि प्रभाव पारेको देखिन्छ। त्यहाँ मानिस अत्यन्त शान्त छन्। सान फ्रान्सिस्कोमा म हुर्किंदा जो पनि मलाई कराइरहेको हुन्थ्यो। त्यहाँ यसको ठ्याक्कै उल्टो देखियो।’

हाम्रो समाचार चक्र असन्तुष्टि र निराशाले भरिपूर्ण छन्। सामाजिक सञ्जालमा व्यक्त हुने आक्रोश, शत्रुतापूर्ण बन्दै गएको राजनीति, व्यग्रता र मानसिक स्वास्थ्यको संकट व्याप्त छ। झगडा, गालीगलौज र लछारपछारमा हामी खुशी हुन्छौँ। हाम्रा कतिपय सार्वजनिक व्यक्तित्वले आफ्नो पूरै करिअर घृणा र आक्रोशको सहारामा निर्माण गरेका छन्। सामान्यतः रिस र आवेगलाई व्यक्तिवाद र आत्मविश्वासको सूचक मान्ने गरिन्छ। यसलाई विनम्रता र कूटनीतिको सट्टा प्रयोग गर्ने चलन बढ्दै गएको छ।

तर, इनुइत समुदाय त्यस्तो संस्कृतिको विकास गर्न सक्षम भएको छ, जहाँ आक्रोशलाई ठाउँ छैन। यसको सुरुवात उनीहरू केटाकेटी हुर्काउँदादेखि नै गर्छन्। पश्चिमा समाजमा जुनसुकै अवसरमा रिस पोख्ने गरिन्छ। के रिसको अभिव्यक्ति अवश्यंभावी हो? होइन भने हामीले यसलाई रोक्नेबारे सोच्ने कि?

‘हामीलाई थाहा छ, केही संस्कृतिमा अन्यको तुलनामा बढी आक्रोश व्यक्त गर्ने चलन छ,’ बेल्जियमको युनिभर्सिटी अफ लुभाँस्थित सेन्टर फर सोसल एन्ड कल्चरल साइकोलोजीका निर्देशक बात्जा गोमेज डे मेस्क्विता भन्छिन्, ‘रिस असली भावना हो र यसले अभिव्यक्ति पाउनुपर्छ, यसलाई दबाउनु हुँदैन भन्ने पश्चिमा विश्वास छ। जुनसुकै परिस्थितिमा पनि आफ्ना आन्तरिक भावनालाई पोख्न पाउनुपर्छ भन्ने यस्तो विश्वास अन्यत्र छैन।’

यसबारे मेस्क्विताले एक अनुसन्धान गरेकी थिइन्। उनले बेल्जियम र जापानका महिलालाई किशोर सन्तानसहित ल्याबमा निम्त्याएकी थिइन्। त्यहाँ बसेर आमा र तिनका सन्तानले आपसी असहमति वा द्वन्द्वको विषयमा छलफल गर्नुपर्ने थियो। छलफलपछि उनीहरूले आफ्नो झगडाको समीक्षा गर्नुपर्ने थियो। यसको नतिजा अनपेक्षित थियो। बेल्जियनभन्दा जापानी किशोरकिशोरी कम रिसाउने मेस्क्विताको अनुमान थियो। तर, त्यस्तो भएन। दुवै देशका केटाकेटीले उत्तिकै मात्रामा रिसाएको बताए। तर, आमाहरूमा भने रिसको मात्रा फरक थियो।

‘बेल्जियन आमाहरू आफैँ रिसाए र केटाकेटीको रिस अझ बढाए। उनीहरू झगडामा सामेल भए,’ मेस्क्विता भन्छिन्, ‘तर, जापानी आमाहरूले झगडा गरेनन्। उनीहरू छोराछोरीको कुरा बुझ्न र सहानुभूति जनाउन बढी केन्द्रित थिए। यसले हामीलाई आश्चर्यचकित तुल्यायो। यसको अर्थ के हो भने यी दुई स्थानमा यस्ता झगडा बिलकुल फरक तरिकाले अघि बढ्छन्। समग्रमा जापानमा रिसको अभिव्यक्ति कम हुन जान्छ।’

क्रिस्टिन ग्रस लो आफ्नो पुस्तक ‘प्यारेन्टिङ विदआउट बोर्डर्स’मा ‘असल अभिभावकत्व’ को हाम्रो शैलीको जाँच गर्छिन्। अमेरिकी बालबच्चाको बेखुशी र कम सफलताको कारण खोज्न उनी विश्वभरका केटाकेटी हुर्काउने शैलीको उदाहरण दिन्छिन्। परिवारसहित पाँच वर्ष जापानमा बसेर उनी आफैँले डिक्लाफले झैँ यी सांस्कृतिक अन्तरको अनुभव लिएकी थिइन्।

‘अमेरिकामा केटाकेटीलाई आज्ञाकारी बनाउने प्रयास गरिन्छ,’ ग्रस लो भन्छिन्, ‘यदि तिनले कसैलाई पिटे भने त्यसको नतिजा तिनले भोग्नैपर्छ। तर, जापानमा यसको उल्टो चलन छ। केटाकेटीले कसैलाई पिटे भने पनि अभिभावकले हस्तक्षेप वा गाली गरिहाल्दैनन्। जापानमा धेरै सुनिने वाक्यांश हो– यो केटाकेटी आफैँलाई मिलाउन दिऊँ।’ पहिले मलाई लाग्थ्यो, मिल्ने जिम्मा केटाकेटीलाई नै दिँदा त झन् झगडा होला। तर, झगडा मिलाउन उनीहरूलाई नै दिँदा तिनले एकअर्कासँग कसरी मिल्ने भन्नेबारे धेरै अनुभव बटुल्दा रहेछन्।’

जापानीहरूको यो तरिका इनुइतहरूको तरिकासँग धेरै हदसम्म मिल्दोजुल्दो छ। उनीहरू रिसमा रिस थप्दैनन्। इनुइतमा केटाकेटीले निहुँ खोज्दा पनि उनीहरू शान्त नहुञ्जेल अभिभावकले केही भन्दैनन्। त्यसपछि झगडाको अभिनय गरेर उनीहरू बच्चालाई देखाउँछन्। उदाहरणका लागि, आमा आफूलाई पिट्न बच्चालाई अह्राउँछिन्। बच्चाले पिटेझैँ गर्छ र उनी दुखेको अभिनय गर्छिन्। त्यसपछि उनी प्रश्न गर्छिन्, ‘तिमीले मलाई किन पिटेको? तिमी मलाई मन पराउँदैनौ?’

तपाईं आफू बाँचिरहेको समाजमा बच्चा हुर्केर कस्तो बनोस् भन्ने चाहनुहुन्छ, त्यसैअनुसार बच्चा हुर्काउने शैली अपनाउनुहुन्छ,’ ग्रस लो भन्छिन्, ‘जापानजस्तो एकअर्कामा अन्तर्निर्भरतालाई महत्त्व दिने समाजमा बच्चा हुर्काउँदै हुनुहुन्छ भने तपाईं आफ्नो बच्चालाई अभिव्यक्तिभन्दा आत्मनियन्त्रण र नियमन सिकाउनुहुन्छ। तर, पश्चिमाहरू बढी व्यक्तिवादी छन्। यहाँ आक्रोशको अभिव्यक्ति स्वीकार्य छ।’

किशोर–किशोरीः कमजोर ब्रेक भएको गाडी

केटाकेटीको भावना अभिव्यक्त गर्ने शैली निर्माणमा समाज, संस्कृति र अभिभावकको महत्त्वपूर्ण भूमिका हुन्छ। तर, खास गरी, किशोर–किशोरीले यस्ता भावना अभिव्यक्त गर्ने सवालमा न्युरोलोजी पनि जिम्मेवार हुन्छ। फ्रान्सेस ई. जेन्सन युनिभर्सिटी अफ पेन्सलभानियाको पेरेलम्यान स्कुल अफ मेडिसिन, डिपार्टमेन्ट अफ न्युरोलोजीकी प्राध्यापक हुन्। एकल अभिभावकका रूपमा उनले दुई छोरा हुर्काइन्। उनले ‘द टिनएज ब्रेनः अ न्युरोसाइन्टिस्ट्स सर्भाइभल गाइड टू रेजिङ एडोलोसेन्ट्स एन्ड योङ एडल्ट्स’ पुस्तक लेखेकी छन्।

किशोर–किशोरीका दिमागमा सिकाइका लागि झुकाव बढी हुने र वयस्कको तुलनामा भावनात्मक उत्तेजना पनि बढी हुने जेन्सन बताउँछिन्। तर, उनीहरूको अन्य हिस्सा पनि कम विकसित हुन्छ। ‘उनीहरू कमजोर ब्रेक भएका फरारीजस्तै हुन्छन्,’ उनी भन्छिन्।

मस्तिष्कको फ्रन्टल लोबले उत्तेजना नियन्त्रण, निर्णय र सहानुभूतिजस्ता भावनाको व्यवस्थापन गर्छ। किशोरावस्थामा दिमागले आफ्ना विभिन्न भागलाई आपसमा जोडिरहेको हुन्छ, ताकि तीव्र गतिमा सूचना प्रवाहित होस् र जटिल दिमागी प्रक्रिया पूरा होऊन्। तर, फ्रन्टल लोब अन्य भागसँग पूर्ण रूपमा जोडिन चाहिँ सबैभन्दा बढी समय लाग्छ।

‘तपाईंकी छोरी आँखाभरि आँशु लिएर घर आउँछे। किनभने, उसकी साथीले उसको जस्तै कपडा लगाएकी थिई। ऊ कुनै ठूलो अन्तर्राष्ट्रिय घटना भएजस्तो गरिरहेकी छे। किन?’ जेन्सन व्याख्या गर्छिन्, ‘किनभने, कुनै अन्तर्राष्ट्रिय घटना भएजसरी उसको दिमाग सक्रिय छ। ‘साथीले उस्तै स्वेटर लगाएको त हो नि, बेकारमा किन टाउको दुखाइराखेको?’ उसको फ्रन्टल लोबले यसो भन्दैन।’

किशोर–किशोरीको दिमाग विकासको महत्त्वपूर्ण चरणबाट गुज्रिरहेको हुन्छ। यसबेला चेतना र सामाजिक क्रियाकलापका लागि जिम्मेवार दिमागका सबैभन्दा जटिल भाग निर्माण भइरहेका हुन्छन्। यो विषय बुझ्न सके वयस्कका रूपमा हामीले प्रतिक्रिया दिन सहज हुन्छ।

‘किशोर–किशोरीले वयस्कभन्दा छिटो प्रतिक्रिया दिन्छन्। अझ यो रिसको प्रतिक्रिया हो भने त उनीहरू अत्यन्त चाँडो रिसाउँछन्,’ जेन्सन भन्छिन्, ‘यो विषय उनीहरूलाई जानकारी हुनुपर्छ। सँगसँगै वयस्कहरूले पनि यो बुझेर उनीहरूलाई सघाउनुपर्छ।’ यसको अर्थ के हो भने अभिभावकसँग सहानुभूतिको मात्रा उच्च हुनुपर्छ। उनीहरूले आफू नरिसाई केटाकेटीका लागि राम्रो उदाहरण बन्नुपर्छ।

‘मलाई साह्रै मन नपर्ने कुरा के हो भने किशोर–किशोरीलाई टाउको काटिएको कुखुरा भनेर गिज्याइन्छ, एलिएन भन्ने गरिन्छ,’ उनी भन्छिन्, ‘तर, यसमा शरीरको विकासले भूमिका खेलिरहेको छ। कतिपय अभिभावक अज्ञानका कारण केटाकेटीसँग घुलमिल हुन सक्दैनन्। त्यसैले आपसी सञ्चार गर्न सकिने वातावरण अभिभावकले बनाउन सक्नुपर्छ।’

जेन्सनको किताबले हामीलाई किशोर–किशोरीको दिमागअनुसार व्यवहार गर्न सिकाउँछ। त्यसै गरी, अन्य संस्कृतिलाई नियाल्दा आधारभूत भावनाको अभिव्यक्ति गर्ने कला र शैली सिक्न पनि सहज हुन्छ।

जापानमा बसेका कारण ग्रस लो केटाकेटी हुर्काउने आफ्नै शैली विकास गर्न सफल भइन्। अन्य सांस्कृतिक समूहसँग समय गुजारेपछि डिक्लाफले आफ्नो तरिका बदलिन्। यो विचारणीय पक्ष हो।

‘हामीले सामान्य ठानेका व्यवहार सबै ठाउँमा लागू हुँदैनन्। यो बुझ्न सके धेरै सहज हुन्छ,’ उनी भन्छिन्, ‘रिस दबाए विष्फोट होला कि भन्ने डरले हामी रिस पोख्न प्रोत्साहन गर्छौं। दमन गरिएको रिस खतरनाक र अस्वस्थ हुने विश्वास गरिन्छ। त्यसैले हामी अझ रिसलाई बढावा दिने गर्छौं।’

(‘द गार्जियन’मा प्रकाशित यस लेखलाई कवि आचार्यले अनुवाद गरेका हुन्।)


Your Views
Related News