राम्राे सपना कसलाई मन पर्दैन र । सपनामा देखेकाे राम्रा कुरा हामी अधिकांशलाई सुनाउछाैं । तर देशका लागि देखेकाे सपना सबैलाई बाँड्नु अन्यथा हाेइन । सपनालाई अझ विपनामा भाेग्न, देख्न र अनुभव गर्न चाहना सबैले राखेकै हुन्छन् । सपना सपनै नहाेस् भन्ने चाहना हुन्छ । वर्षौंदेखि निराशै निराशाबीच बाँचिरहेका हामी नेपालीका सपना औधी मन पर्छ ।

त्याे सपना प्रधानमन्त्री केपी शर्मा ओलीले देखाए । मुलुकलाई समृद्ध तुल्याउने उनको उद्देश्य मुलुकको प्रमुख नाराकै रूपमा स्थापित भएको छ अर्थात ‘सुखी नेपाली, समृद्ध नेपाल’ । यसमा कुनै पनि नेपालीले विमति देखाउनुपर्ने कुनै कारण छैन । तर समृद्धि भन्दा अघि आम नेपालीकाे चाहना छ अत्यावश्यक गाँस, बास र कपाससँग यो विषय जोडिने विषयहरू छ ।आधारभूत कुरा पूरा नभएसम्म त्यसभन्दा उन्नत सपना देख्न सकिन्छ तर पूरा गर्न गाह्राे पर्छ ।

खाने, बस्ने, लगाउने सामान्य कुरा पूरा नभइन्जेल वा बस्ने ठाउँ नै छैन भने कहाँ बसेर सोच्ने उन्नति र प्रगतिका सपना ? गरिखाने ठाउँ नै भएन भने भोको पेटले कसरी समृद्धिको गन्तव्य चुम्न सक्छ ? ‘सुखी नेपाली, समृद्ध नेपाल’ त्यतिबेला हुन्छ जब दिन-रात खेतीमै पसिना चुहाउँदा चुहाउँदै पनि भोकै पर्न र मर्न बाध्य समुदाय रहिरहन्छ उनिहरूलाई साँच्चै खुसी-सुखी तुल्याउने हो भने भूमिसँग जोडिएका समस्या समाधान पहिलाे उपाय हाे ।

नेपालको कुल गार्हस्थ्य उत्पादनमा करिब एक तिहाइ योगदान कृषि क्षेत्रको रहेको छ । नेपालको आर्थिक वृद्धिदरको निर्धारण मुख्यतः कृषि क्षेत्रकै उत्पादनमा भर पर्ने गरेको छ । सरकारी तथ्यांकअनुसार नेपालको ६७ प्रतिशत श्रमशक्ति कृषिमा संलग्न रहेको देखिन्छ । परम्परागत प्रणालीमा रहेको कृषि क्षेत्रले गर्दा गुजारा चलाउने अवस्थामा जनतालाई सीमित बनाएको छ ।

कृषि क्षेत्रको व्यवसायीकरण गर्दै कृषिजन्य वस्तुको उत्पादकत्व बढाउन र लागत न्यूनीकरण गर्न कृषि यान्त्रीकरण गर्नु जरुरी छ । अन्यथा भावनामा बगेर प्रचारबाजी गरेर स्वखलित हुनुमा समृद्धि भेटिन्न । तर सपना नदेखेर पुरानै कुराहरूमा रमाउनुले पनि सुख हुँदैन । समृद्धि र विकासको राजनीति भन्दा भोटको राजनीति गरेर निरन्तर आफू अब्बल हुँ भन्ने अनि अदृश्य रुपमा फाइदा लिदै देश र जनतालाई रोडमा र आफूलाई मात्र करोडको आलिसान महलमा देख्नुले समृद्धि भेटिन्न ।

आवश्यक पूर्वाधारको विकासविना नै एकैचोटी आर्थिक समृद्धिको छलाङ हान्ने कुरा गर्नु मुर्ख्याई सिवाय केही हँदैन  । लहडमा केन्द्रित विकासे कार्यक्रमहरू तत्कालका लागि लोकप्रिय भए पनि कालान्तरमा ती प्रत्युत्पादक हुन्छन् ।

समृद्ध सपनामा हामी कांग्रेस, नेकपा, समाजवादी, राप्रपा र अन्यको झण्डामा कित्ताकाट भएर बाँडिन्छाैं भने समृद्ध नेपालको सपना आकाशको फल आखा तरि मर सावित हुनेछ । देशको समृद्धिको सूचकको रुपमा त्यस देशका जनताको आत्मनिर्भरता हाे । समृद्धिका धेरै परिसूचकहरूमा नेपालको स्थिति लाजमर्दाे छ । न्यून आम्दानी, गरिबी र बेरोजगारीले गर्दा जीवनस्तर खस्किने क्रममै छ । गरिब देशको समृद्धिका लाग प्रमुख समस्या पँजीको अभाव होइन ।

दिगो रुपको समृद्धिका लागि सोचको अभाव हो । आर्थिक विकास र समृद्धिको सपना बुनेर कष्टको भारी उठाउन सहज छैन । समृद्धि र समानताको सपना देखाएर जनसमर्थन पाएका राजनीतिक खेलाडीहरूको राजनीतिक सपना पूर्ति भयो कि भएन उनिहरू नै जानुन्, तर आमजनतालाई देखाइएको विकास र समानताका सपनाहरू दिनदिनै मरिरहेछन् । सारका कयौं देश एकै पुस्तामा समृद्ध भएका प्रशस्त उदाहरण छन् । मृद्धिको प्रस्थान विन्दु पहिचान भएन भने समृद्धिले गति लिन सक्दैन ।

नेपाललाई चाहिएको समृद्धि कस्तो हो र त्यो पूरा गर्ने तरिका कुन हो ? यसबारे गम्भीर बहस र छलफल प्रारम्भ गरिनुपर्छ । नेपाल समृद्ध हुन नसक्नुको प्रमुख कारण यसबारे बहस नै नहुनु हो । कमजोर योजना र अव्यवस्थित कार्यान्वयनको कारण उपलब्ध स्रोतको पनि उपयोग हुन सकेको छैन । प्राकृतिक रुपमानै हामी संग प्राप्त जल, जमीन, जंगल, जडीवुटी, सर्वाेच्च शिखर सगरमाथा, गौतम बुद्धको जन्मस्थल, हिन्दु धर्मालम्वीको उदगम स्थल पशुपतिनाथको मन्दिर, थुप्रै झरणा, ताल, हिमश्रृखला र अन्य मनोरम पर्यटकीयस्थल छन् । मानव स्रोत साधन प्रर्याप्त छ । खाचो मात्र परिचालनको हो ।

हामीलाई हाम्रो जिवनस्तर परिर्वतन गर्न कुनै भिमकाय पहाड फोरी रहनु पर्दैन । पर्यटक, जलविद्युत र सस्कृति मार्फतनै हामी विश्वमा उदाहरणीय मुलुक बन्न सक्छौ ।राज्य सञ्चालकहरूले राजनीतिक उद्देश्यका अघिल्तिर विकासका एजेण्डा ओझेलमा पार्नुले समृद्धिको अनुभूति हुन नसकेको हाे । सहज राजनीतिक वातावरणमा पनि विकासका आयामहरू विस्तार हुन सकेनन् । नीति र निर्णयमा राजनीति र नेतृत्वको व्यक्तिगत रुचिका कारण आर्थिक विकासका मार्ग अवरुद्ध पारिएका अनुभव पर्याप्तै छन् ।

आर्थिक विभेद नै राजनीतिक अस्थिरताको कारण पनि हो । अर्थात् राजनीतिक स्थायित्वका लागि पनि जनता समृद्ध र सुखी हुनु अनिवार्य छ । असमानता र गरीबीलाई नै राजनीतिक उद्देश्यको भर्‍याङ बनाउने आचरणले विकास उँभो लाग्दैन । साथै नैतिक आचरण,राज्यलाई कर तिर्ने, घुसखोरी नगर्ने जस्ता काम गरयो भने समृद्ध देश वनाउन सक्छ । किनकि, त्यसमा उद्योगी व्यवसायी देखि राष्ट्रसेवक कर्मचारी सबै पर्ने भएकाले नागरिक देशको जुन कुनामा बसे पनि उसले आफूलाई कम र देश र समाजको लागि वढी सोच्यो भने देशलाई समृद्ध बनाउन होस्टेमा हैसे गर्न सक्छ ।

संविधान जारी भएपछि राजनीतिक स्थिरता बहाली हुने र विकासको मूल फुट्ने सपना आमनेपालीलाई देखाइएको थियो । विकासका अवसरहरूको सापेक्ष वितरणका लागि सङ्घीयतालाई अपनाइयो । तर, सङ्घीयतामै विवादको हलो अड्किँदा आर्थिक अभिवृद्धिको अवसर त परको कुरा सामान्य दैनिकी चलाउन पनि कठिन अवस्था सामना गर्नुपरिरहेकाे छ । केही साता अघि मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना आफूले देखेका भन्दै सपना देखेर अपराध अपराध नभएको बताएका थिए ।

‘सत्ता सञ्चालनको जिम्मा पाएकोले देखेको त्यही भिजन लागू गर्ने प्रयत्न गर्नु मेरो कर्तव्य थियो, मेरो नेतृत्वको सरकारले त्यही गर्दैछ । सुखद् परिणामको उपभोग हामी सबै मिली गर्ने हो । राज्यलाई समृद्ध बनाउने र जनतालाई सुखी बनाउने भन्दा अरु हाम्रो ‘स्वार्थ’ के हुन सक्छ ?’ समृद्धिका लागि उचित वातावरण हुँदाहुँदै पनि नेपालको समृद्धि हुन सकेको छैन । ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारा नारा मात्र नभई लक्ष्य बन्नुपर्दछ ।

यो राति देखेको सपना होइन, दिउँसै पूरा गर्नुपर्दछ । ल कुरा जनतालाई केन्द्रबिन्दुमा राखेर अगाडि बढ्न सक्नु गर्नुप¥यो । जनअपेक्षाको सम्बोधन गर्नुप¥यो । तीव्र रुपमा रोजगारी सृजना हुने उर्जा, कृषि र पर्यटनको क्षेत्रमा सरकारी र निजी क्षेत्रको सहभागितामा लगानीको वातावरण निर्माण गरेर मात्र विकास र समृद्धिको ढोका खोल्न सकिन्छ ।

विकास र समृद्धिका आधारहरु नै तयार नगरी जागिरे मानसिकताका सांसदहरुको भारी बहुमतको आँडमा प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको सपना देख्नु भदौंमा आँखा फुटेको गोरुले हरियो देख्नु सरह हो । जीवनोपयोगी शिक्षाको माध्यमबाट जगैदेखि देशको जनशक्तिलाई बलियो बनाउन सकियो भने मात्र देशको समृद्धि सम्भव हुन्छ । उत्पादन क्षेत्रको अपेक्षित विकास नहुनु र सेवा क्षेत्रमा आवश्यक मात्रामा रोजगार सिर्जना हुन नसक्नुको कारणले देशको समृद्धि पछि परेको छ

नेपाललाई द्रुत गतिको विकास चाहिएको छ । जनताको व्यक्तिगत तत्परता, सामाजिक तथा आर्थिक संरचना र राजनीतिक व्यवस्थाको विकासमा महत्वपूर्ण भूमिका हुन्छ ।चिल्लामीठा कुराले मात्र देश बन्दैन । आत्मनिर्भर अर्थतन्त्रको निर्माण र विकास नै समृद्धिको पहिलो शर्त हो । कुनै पनि समस्यालाई कहिल्यै पनि सो समस्या सिर्जना गर्ने चेतनाको स्तरबाट मात्रै समाधान गर्न सकिदैन । नयाँ विधान, नयाँ नीति र नयाँ संरचनाबाट सर्वसाधारण सबैले आफ्नो दैनिक जीवनमा प्रत्यक्ष अनुभव गर्न सक्ने सकारात्मक परिवर्तन आउनुपर्छ ।

शिक्षा, स्वास्थ्य, सडक, सामाजिक सुरक्षा, नारी कतै पनि राज्य संघीय गणतन्त्रसम्म आइपुग्दा भुइमान्छेसँग जोडिन सकेन। व्यवस्था फेरिए, शासक फेरिए तर पद्धति फेरिएन। जबसम्म राज्यले आफ्नो क्षमतावान्, सिर्जनशील नागरिकको सही उपयोग गर्दैन, महत्त्व बुझ्दैन, तबसम्म देशमा समृद्धि हासिल हुँदैन। त्यसैले, सबै क्षेत्रमा जानकार दक्ष मस्तिष्कको टिम बनाएर सन्तुलित विकासको खाका कोरी तदअनुसार अघि बढ्न जरूरी छ ।

जनतालाई आश्वस्त तुल्याउन देशमा विद्यमान अराजकता, अनुशासनहिनता, गैरजिम्मेवारीपन, उपल्लो तहको दलीय स्वार्थ अनि दण्डहीनताको अवस्थामा सुधार ल्याउन केही अलोकप्रिय हुने खालका काम गर्न तयार हुनु पनि त्यत्तिकै जरुरी छ । जनताले आफ्नो पहिचान, सहभागिता र सुरक्षा सुनिश्चित भएको अनुभव गर्न सक्ने वातावरण निर्माणतर्फ पाइला चाल्नु सरकारको पहिलो दायित्व हो । आमजनताले सरकारलाई यहि कामका लागि प्रेरणा, सहयोग र आवश्यक भए गतिलो दबाब दिन सक्नुपर्छ । यो नै हालका लागि नयाँ र समृद्ध नेपाल निर्माणको पहिलो अनि अपरिहार्य सर्त हो ।


Your Views
Related News