काठमाडौं : कोभिड १९ को बढ्दो संक्रमणले मानिसमा डर र त्रास छ। निषेधाज्ञा र कफ्र्युका कारण घरभित्र कोचिएर बस्नुपर्ने बाध्यता। फुर्सदिलो समयलाई सिर्जनात्मक काममा लगाउन सकिन्छ। यसका लागि सर्वोत्तम उपाय बन्न सक्छ, कौशीखेती। घरमै कौशीखेती गर्दा ताजा र स्वच्छ तरकारी घरमै उपलब्ध हुने अर्को फाइदा छ।

कौशीखेती गर्न पर्याप्त जग्गा जमिन चाहिँदैन, आफ्नै घरको बरन्डा, छत र विभिन्न खाली स्थानमा गर्न सकिन्छ। यसका लागि चाहिन्छ, ग्रो ब्याग(प्लास्टिकको गमला), विभिन्न प्रकारका तरकारी र सागका बीउ वा बेर्ना, कोकोपिट (नरिवल जटाको धुलो), अर्गानिक(प्रांगारिक) मल, अर्गानिक विषादी, माइक्रोन्युट्रेन्ट र सिँचाइ गर्न हजारी।

साथै कृषि प्राविधिकसँग परामर्श पनि चाहिन्छ। यति सामग्री जुटाउन सके, फुर्सदिलो समय सदुपयोग पनि हुने, तनावबाट मुक्त भइने। घरमै सस्तो मूल्यमा लोभलाग्दो स्वादिलो तरकारी फलाएर खान पाइने।

कौशीखेतीको यिनै फाइदाका कारण पछिल्लो समय सहरी क्षेत्रमा यसको महत्व बढ्दो छ। राजधानीजस्तो सहरी र सघन बस्तीका कतिपय घरमा अचेल कौशीखेतीमार्फत ठूलो परिमाणमा तरकारी खेतीको विस्तार हुन थालेको छ। यसमा साथ दिएको छ नेपाल एग्रो लाइभ प्राइभेट लिमिटेडले।

कृषि प्राविधिक राजन गैरेले २०७३ मा नेपाल एग्रो लाइभको स्थापना गरेका हुन्। गैरे यो संस्थाको कार्यकारी प्रमुख हुन्। गैरेले भदौ ९ गते फेसबुकमार्फत कौशीखेतीका बारेमा जानकारी दिँदै आफूसँग जोडिन चाहनेलाई सम्पर्क गर्न अनुरोध गरेका छन्।

स्टाट्स हालेको केही समयपछि उनको मोबाइलमा सम्पर्क गर्नेको लर्को नै लाग्यो। गैरेले भने,‘स्टाटस हालेको केही समयमै ठूलो परिमाणमा रेस्पोन्स आउन सुरु भयो, अधिकांशले कौशीखेती कसरी गर्ने, कहाँ गर्ने, कति खर्च पर्छ, सामान कहाँबाट ल्याउनेलगायत विषयबारे जिज्ञासा राख्नुभयो।’

गैरे आफै लामो समयदेखि कौशीखेतीमा लागे पनि पछिल्लो समय कोभिडको समस्यालाई अवसरमा परिवर्तन गर्न उनी कम्मर कसेर लागेका छन्। उनको यो सोचले अन्ततः सार्थक रुप लियो र सुरु भयो कौशीखेतीको नयाँ अभियान। नेपालमा पहिलेदेखि कौशीखेती सुरु भए पनि व्यावसायिक, अत्याधुनिक र प्रविधिमार्फत भने गैरेले नविनतम अभ्यासको सुरुआत गरेका हुन्। ‘अहिले झन्डै चार सय जनाले यो खेती गर्न इच्छा देखाएका छन्,’ गैरेले भने, ‘मेरो लागि यो खुसीको समय हो।’

कौशीखेती गर्न चाहनेका लागि गैरेले १५ देखि १६ हजारमा सम्पूर्ण प्याकेज उपलब्ध गराउँदै आएका छन्। यो प्याकेजमा ५० वटा ग्रो ब्याग, सिजनल तरकारी र सागको गुणस्तरीय बीउ, माइक्रोन्युट्रेन्ट, अर्गानिक मल र विषादी, निमको तेल, हजारी, सुरुआती समयदेखि तरकारी फलेको अवस्थासम्मको परामर्श र तालिमको सुविधा उपलब्ध गराएका छन्। यसका लागि उनले जेटीएसमेत संस्थामा राखेका छन्।

पहिलो वर्ष केही बढी खर्च देखिए पनि दोस्रो वर्षदेखि यो २÷३ हजारमा सीमित हुन्छ। दोस्रो वर्षदेखि बीउ, मल, माइक्रोन्युट्रेन्ट, अर्गानिक मल र विषादी मात्रै खरिद गरे पुग्छ। प्रत्येक चार वर्षमा ग्रो ब्याग भने फेर्नुपर्छ। एकथान ग्रो व्यागलाई ४० देखि ५० रुपैयाँ पर्छ।

कौशीखेतीमार्फत काउली, भान्टा, सिमी, भिन्डी, अकवरे खुर्सानी, भेडे खुर्सानी, गोलभेंडा, धनिया, सिजनल साग, करेला, घिरौला, फर्सीलगायत फलाउन सकिन्छ। कौशीखेतीका लागि थोपा सिँचाइ पनि उपलब्ध गराउने प्रविधि भए पनि हाल कोभिडको संक्रमण भएकाले हजारीमार्फत सिँचाइ उपलब्ध गराउने प्रविधि नेपाल एग्रोले सिकाएको छ।

‘कम्तीमा तीन चार परिवार मिलेर आउनुभयो भने तालिमसहित सबै सुविधा उपलब्ध गराउन सक्छौं’, गैरेले भने, ‘सहरी क्षेत्र र बाटोघाटो सुविधा भएको स्थानमा ठिकै हुन्छ। तर, बाटोघाटोको असुविधा भएको स्थानमा एक जनाको लागि मात्रै सबै सुविधा उपलब्ध गराउन गाह्रो हुन्छ।’

नेपाल एग्रोले स्वयम्भु, कुसुन्ती, रामकोट, नखीपोटसहित विभिन्न कोलोनी र काठमाडौंका विभिन्न ग्रामीण क्षेत्रमा ६ सयभन्दा बढी घरमा पुगेर स्वास्थ्य सावधानीसहित आधुनिक व्यवस्थित कौशीखेतीको तालिम प्रदान गरिसकेको छ। यसबाहेक विभिन्न नगरपालिका र गाउँपालिकाको सहयोगमा पनि यस्तो तालिम र अभियान सञ्चालन गर्दै आएका छन्।

अत्याधुनिक प्रविधिमा जोड

२०४८ मा डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ अध्ययन गरेका गैरेले इन्टरनेसनल डेभलपमेन्ट इन्टरप्राइज(आईडीई नेपाल) मा १० वर्ष साना तथा थोपा सिँचाइ प्रविधि तथा स्प्रिङलरसम्बन्धी कृषि अनुसन्धान र विकासको काम गरेका थिए।

त्यही भएर यो संस्थाले कृषिसम्बन्धी अत्याधुनिक र व्यवसायीकरण प्रणालीमार्फत खेतीपाती गर्न आवश्यक सामग्री, प्रविधि, साना तथा थोपा सिँचाइ, मिस्ट सिँचाइ स्प्रिङलर, व्यावसायिक मौसमी तथा बैमौसमी तरकारी खेतीका लागि हाइटेक बास, प्लास्टिकको मल्चिङ, फलाम र प्लास्टिक घर, औजार उपलब्ध गराउनुका साथै यस्ता विषयमा परामर्श पनि दिँदै आएको छ।

यो संस्थामा १० जना नियमित कर्मचारी तथा प्राविधिक स्थायी रूपमा कार्यरत छन्।


Your Views
Related News