कोरोना माहामारीका कारण विश्वभर स्कुल जाने उमेरका लगभग १०० करोड बालबालिक विगत ५ महिनादेखि घरमै छन्। यसरी घरमा रहँदा समय बिताउनका लागि होस वा मनोरन्जनका लागि, अथवा अध्ययनका लागि नै किन नहोस बालबालिका टिभी, मोबाइल, ल्यापटप, ट्याब्लेट, आई प्याड, स्मार्ट फोन, भिडियो गेम जस्ता कम्प्युटरजन्य सामग्रीको नजिक छन्। यसरी बालबालिकले डिजिटल सामग्री प्रयोग गर्ने समय स्कुल जाने समयमा भन्दा धेरै गुणा बढेको पाइन्छ।

अहिलेको समयमा बालबालिका खेल मैदान र चौरमा खेल्न जाने तथा आफ्नै उमेरका बालबच्चासँग खेल्ने अवस्था छैन, जसले गर्दा आफ्नै घरको चार पर्खालभित्रै रमाउन, खेल्न र समय बिताउन बाध्य छन्। हरेक घरमा बालबालिका मनोरन्जनका लागि मोबाइल चलाउने, कम्प्युटर गेम खेल्ने, टिभी हेर्ने, युट्युबमा भिडियो हेर्ने, फ्लिम हेर्ने जस्ता कार्यमा व्यस्त रहेको देख्न पाइन्छ। यसबाहेक अहिले माहामारीले निम्त्याएको बाध्यताले गर्दा धेरै स्कुलहरुले वैकल्पिक शिक्षा प्रणालीको प्रयोग गर्दै अनलाइन शिक्षाको विधि अपनाएका छन् जसले कम्प्युटरजन्य सामग्री र बालबालिकलाई झन् नजिक ल्याइदिएको छ।

यसरी अत्यधिक मात्रामा कम्प्युटरजन्य सामग्रीको प्रयोगले युवा अवस्थाका मानिसमा भन्दा बालबालिकमा आँखा तथा शरीरमा धेरै स्वास्थ्य समस्या निम्तिने खतरा हुन्छ। सन् २०५० सम्ममा विश्वका करिब ५० प्रतिशत मानिसमा दृष्‍टिदोस (मायोपिया) हुने अनुसन्धानकर्ताहरुको भनाइ छ। यसको एउटा मुख्य कारण भनेको बच्चामा बढ्दो कम्प्युटरजन्य सामग्रीको प्रयोग पनि हो। यही विषयलाई लिएर विश्वका धेरै दृष्‍टि विशेषज्ञहरुले लकडाउन र माहामारीपश्चात् बालबालिकमा शरीर र आँखामा यस्ता समस्या हुने बताइरहेका छन्:
१) दृष्‍टिदोस
२) कम्प्युटर भिजन सिन्ड्रोम
३) स्क्रिन डिपेनडेन्की डिसअर्डर

बालबालिकामा आँखामा समस्या बढ्दै जानु चिन्ताको विषय हो। त्यसैले आफ्ना बालबालिकालाई कम्प्युटर भिजन सिन्ड्रोम, स्क्रिन डिपेनडेन्की डिसअर्डर, भिडियो गेमको लत, इन्टरनेटको लतबाट बचाउनुपर्ने आवश्यक्ता रहेको धेरै दृष्‍टि विशेषज्ञको बुझाइ छ। र, यो कुरा हरेक अभिवावकले पनि जान्न जरुरी छ।

आफ्नो बच्चामा कम्प्युटर भिजन सिन्ड्रोम तथा  स्क्रिन डिपेनडेन्की डिसअर्डर भए/नभएको थाहा पाउने तरिका
तल दिइएका निम्नलिखित लक्षणहरु आफ्ना बालबालिकमा देखिएमा उनीहरुलाई कम्प्युटर भिजन सिन्ड्रोम तथा  स्क्रिन डिपेनडेन्की डिसअर्डर भएको हुनसक्छ।

कम्प्युटर भिजन सिन्ड्रोमका लक्षण
१) आँखा पोलेको महसुस हुने
२) टाउको दुख्ने
३) मोबाइल, कम्प्युटर चलाउँदा आँखाबाट आँसु बग्ने
४) मोबाइल, कम्प्युटर चलाएपछि धमिलो देख्ने
५) आँखा धेरै मिच्ने
६) आँखा पोल्यो भन्ने
७) निन्द्रामा कमी आउने
८) आँखा रातो हुने
९) काँध तथा घाँटी दुख्ने
१०) मोबाइल, ल्यापटप, टिभी अस्वभाविक रुपमा नजिकबाट हेर्ने

स्क्रिन डिपेनडेन्की डिसअर्डरका लक्षण
१) बहिर खेल मैदान तथा घर आँगनमा खेल्न मन नगर्ने
२) मोबाइल गेम बाहेक अन्य काममा रुचि नगर्ने
३) मोबाइल, कम्प्युटर चलाउन नपाउँदा रुने, खाना नखाने
४) झगडा गर्ने

बालबालिकाले कति समय डिजिटल सामग्री प्रयोग गर्दा उपयुक्त हुन्छ, जसले गर्दा आँखा तथा शरीरमा आउने स्वास्थ्य समस्या कम गर्न सकिन्छ?
अमेरिकन पेडिआट्रिक एसोसिएसन तथा विशेषज्ञको कुरालाई आधार मन्ने हो भने २ वर्षभन्दा कम उमेरका बालबालिकलाई डिजिटल तथा कम्प्युटरजन्य सामग्रीको नजिक नल्याउँदा नै उपयुक्त हुन्छ। हाम्रो समाजमा २ वर्षभन्दा कम उमेरका बालबालिकालाई मोबाइल वा ल्यापटपमा गीत, बालगानहरु बजाएर वा देखाएर बालबच्चा भुलाउने, खेलाउने, खाना खुवाउने चलन देख्न पाइन्छ, जुन विकासशील उमेरका बच्चाको स्वास्थ्यको हिसाबले उपयुक्त होइन।

यसैगरी २ वर्षदेखि ५ वर्षसम्मका बालबालिकामा भने दैनिक १ देखि १:३० घण्टा डिजिटल सामग्री प्रयोग गर्नु र त्यस्ता सामग्रीको नजिक रहनु स्वास्थ्यका हिसाबले हानिकारक हुँदैन।

त्यसबाहेक स्कुल जाने उमेरका बालबच्चामा दैनिक २-३ घण्टाभन्दा धेरै डिजिटल सामग्री प्रयोग गर्नु आँखा स्वास्थ्यको हिसाबले राम्रो मानिँदैन। २-३ घण्टाभन्दा धेरै मोबाइलजन्य सामग्री प्रयोग गरेमा कम्प्युटर भिजन सिन्ड्रोम तथा स्क्रिन डिपेनडेन्की डिसअर्डर हुने सम्भावना बढेर जान्छ।

बालबालिकलाई कसरी डिजिटल सामग्रीको नकारात्मक असरबाट बचाउने?
१) सर्वप्रथम अभिभावकले आफ्ना बालबच्चालाई डिजिटल सामग्रीको अत्यधिक प्रयोगले आँखामा हुने नकारात्मक असरका बारेमा सम्झाउने,
२) घरमा अभिभावकले आफ्ना बालबच्चालाई अन्य सिर्जनशील कामहरु गर्न उत्प्रेरित गर्ने, जस्तै: बगैंचामा फूल रोप्ने, चित्र बनाउने, खान पकाउने,
३) आफ्ना बालबच्चालाई राति सुत्नुभन्दा कम्तीमा १ घण्टा अगाडिबाट मोबाइलजन्य सामग्री प्रयोग गर्न नदिने,
४) दैनिक मनोरन्जनका लागि निश्चित समय तोकेर वा पढाइलेखाइ र अनलाइन कक्षाका लागि मात्र कम्प्युटर र डिजिटल सामग्रीको प्रयोग गर्न दिने,
५)  अभिभावकले आफ्ना बालबच्चाले मोबाइल, टिभी, कम्प्युटर सही मुद्रामा रहेर प्रयोग गरे/नगरेको ख्याल गर्ने,
६) बेडमा सुतेर, सोफामा पल्टेर वा धेरै नजिकबाट मोबाइल, टिभी हेर्न नदिने,
७) मोबाइल, टिभी, कम्प्युटर धेरै नजिकबाट हेर्ने बानी छ भने बच्चाको आँखामा दृष्‍टिदोस पनि हुनसक्छ जसका लागि समयमै दृष्‍टिजाँच गर्नुपर्ने हुन्छ।
८) २०-२०-२० नियम सिकाउने: अभिभावकले आफ्ना बालबच्चालाई डिजिटल सामग्री प्रयोग गरेको हरेक २० मिनेटपछि २० सेकेन्डजति २० फिट टाढा हेरी आँखालाई एकछिन विश्राम दिनुपर्छ भनेर सिकाउने,
९) अभिभावकले आफ्ना बालबच्चालाई मोबाइल, टिभी, कम्प्युटर एकोहोरो हेर्नुहुन्न, बेलाबेलामा आँखा झिम्क्याउनुपर्छ भनेर सिकाउनुपर्छ। यसरी समयसमयमा विश्राम लिँदै आँखा झिम्क्याउँदा आँखा पोल्ने, सुक्खा हुने, आँसु बग्ने समस्याबाट बच्न सकिन्छ।
१०) आफ्ना बालबच्चाले चस्माको प्रयोग गर्ने गरेका छन् भने मोबाइल, टिभी, कम्प्युटर प्रयोग गर्दा पनि चस्मा लगाउने बानी बसाल्ने तथा सकेसम्म चस्मामा ब्लु रे कट भएको सिसाको प्रयोग गर्ने जसले डिजिटल सामग्रीबाट आउने आँखालाई हानि गर्ने ब्लु रेबाट आँखालाई जोगाउँछ।

यसरी माथि उल्लेखित सुझावहरु मनन् गरी आमाबुबा तथा अभिभावकले आफ्ना बालबालिकलाई डिजिटल सामग्रीको अत्यधिक प्रयोगबाट टाढा राख्ने हो भने बालबालिकमा डिजिटल सामग्रीले हुने नकारात्मक असर जस्तै कम्प्युटर भिजन सिन्ड्रोम, स्क्रिन डिपेनडेन्की डिसअर्डर, भिडियो गेमको लत, इन्टरनेटको लत तथा सबैभन्दा महत्वपूर्ण दृष्‍टिदोसबाट बालबच्चालाई बचाउन सकिन्छ।


Your Views
Related News