पृष्ठभूमि
नेपालको संविधानद्वारा प्रदत्त आधारभूत स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकको रुपमा आत्मसात गर्दै सरकारले सामाजिक सुरक्षा कार्यक्रम सुरु गरेसँगै आम नागरिकको गुणस्तरीय स्वास्थ्य सेवालाई लक्षित गरी बिमा कार्यक्रमको थालनी गरेको हो। धेरै वर्ष पहिलेदेखिको प्रयासपछि नागरिकको स्वास्थ्य उपचारमा सहज पहुँच पुर्‍याउने उद्देश्य अनुरुप राष्ट्रिय बिमा नीति २०७१ र सामाजिक सुरक्षा विकास समिति (गठन आदेश) २०७१ बमोजिम २०७२ सालमा कैलाली, बागलुङ र इलाम जिल्लाबाट स्वास्थ्य बिमा कार्यक्रमको सुरुवात भयो।

गत असारसम्ममा ५८ जिल्लामा सेवा प्रदान गरिएको स्वास्थ्य बिमा नेपाल सरकारको सामाजिक सुरक्षा कार्यक्रम हो। परिवारका हरेक सदस्यलाई स्वास्थ्य बिमामा आवद्ध गरी स्वास्थ्य उपचार सेवा प्रदान गरेर वार्षिक रुपमा स्वास्थ्य उपचारको जोखिम व्यवस्थापन गर्न पाउने र आर्थिक सुरक्षा प्रदान गर्ने स्वास्थ्य बिमा परिवारमा आधारित वृहत साझेदारी कार्यक्रम हो।

उद्देश्य
स्वास्थ्य बिमा कार्यक्रमबाट गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई स्वास्थ्य बिमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने यस कार्यक्रमको प्रमुख उद्देश्य रहेको छ। अर्थात्, स्वास्थ्य सेवाका लागि पूर्व भुक्तानी प्राप्त गरी जोखिम न्यूनीकरणको व्यवस्था गरेर सर्वसाधारणका लागि थप वित्तीय संरक्षण प्रदान गर्ने र स्वास्थ्य सेवाका क्रममा सेवाको गुणस्तरीयता, प्रभावकारिता, दक्षता र जवाफदेहितामा सुधार ल्याउनु स्वास्थ्य बिमाको उद्देश्य रहेको छ।

स्वास्थ्य बिमा कार्यक्रमका फाइदा
नेपालजस्तो अल्पविकसित मुलुकका नागरिकका लागि स्वास्थ्य बिमा कार्यक्रम अत्यन्त फाइदाजनक र स्वास्थ्य सुरक्षा प्रदान गर्ने कार्यक्रम हो। स्वास्थ्य बिमाका बिमित नागरिकका ५ जनासम्मका परिवारका लागि वर्षको ३ हजार ५ सय रुपैयाँ योगदान गरेपछि १ लाखसम्मको स्वास्थ्य उपचार सेवा पाइन्छ।

परिवारमा ५ जनाभन्दा बढी सदस्य भएमा प्रतिसदस्य ७ सयका दरले योगदान गर्नुपर्छ। यसो गर्दा प्रत्येक थप सदस्यको २० हजार बराबरको सुविधा पाइने र अधिकतम सुविधा सीमा २ लाखसम्मको हुन्छ। त्यसैले परिवारका सदस्य बिरामी भएमा आफैंले छानेको नजिकको स्वास्थ्य संस्था (प्रवेश विन्दु) मा बहिरंग, अन्तरंग र आकस्मिक कक्षका साथै कार्यक्रमले तोकेका निदानात्मक र परीक्षण सेवा प्राप्त गर्न सकिन्छ। त्यहाँ उपचार गर्न कठिन भएका बिरामीलाई सुविधासम्पन्न अस्पतालमा प्रेषण गरिन्छ।

बिमितलाई बहिरंग विभागमा १ सय ६१ किसिमका र भर्ना भएर (अन्तरंग विभाग) उपचार गर्नुपरे १ सय २८ किसिमका रोगको उपचार तथा १ हजार १ सय ८ किसिमका एलोपेथिक, २५ किसिमका आयुर्वेदिक औषधि एवं ४३ किसिमका सर्जिकल (पट्टिहरु, टाँका लगाउने, शल्यक्रियाका सामान, क्याथेटर आदि) सामग्री निशुल्क पाइन्छ।

नेपाल सरकारले उपलब्ध गराएको गरिबीको परिचयपत्रका आधारमा अति गरिब, अति अशक्त अपांगता, एचआइभी संक्रमित, दीर्घरोगी, एमडिआर टिबी र कुष्ठरोगीका परिवारलाई शत–प्रतिशत छुटको व्यवस्था गरेको छ। स्वास्थ्य बिमा कार्यक्रमबाट दीर्घरोगीलाई नियमित औषधि, उपचार गर्न सहज हुन्छ। कार्यक्रममा उपलब्ध निम्न अतिरिक्त सेवा सुविधासमेत पर्दछन्ः

–    ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिकको योगदान रकम नेपाल सरकारले तिरिदिने व्यवस्था छ।
–    महिला स्वास्थ्य स्वयंसेविकाहरुको परिवारलाई योगदान रकममा ५० प्रतिशत छुट प्रदान गर्छ।

स्वास्थ्य बिमा प्रक्रियाः स्थानीय तहबाट छनोट भएका दर्ता सहयोगीहरु स्वास्थ्य बिमा गर्न हरेक नागरिकको घरदैलोमै आउँछन्। अथवा आफूले चाहेको बेला घरमा नआएमा बिमा जिल्लास्थित बिमा बोर्डमा सम्पर्क गरे हुन्छ।

–    दर्ता गर्दा आफ्नो फोटोसहितको परिचयपत्र (नागरिकता, सवारी लाइसेन्स वा अन्य परिचय खुल्ने प्रमाणपत्र) देखाउनुपर्छ।
–    दर्ता गर्दा घरमुलीले आफ्ना परिवारका सदस्यहरुका बारेमा यथार्थ जानकारी गराउनुपर्छ। नाबालिगका लागि जन्मदर्ता वा जन्म प्रमाणपत्र वा अभिभावक वा संरक्षकको परिचय खुल्ने प्रमाणपत्र देखाउनुपर्छ।
–    बिमा कार्यक्रममा सहभागी परिवारका सबै सदस्यले प्राप्त गरेका छुट्टाछुट्टै परिचयपत्र सेवा लिन जाँदा अनिवार्य साथमा लैजानुपर्छ।
–    परिचयपत्र हराएमा, च्यातिएमा दर्ता सहयोगीमार्फत जिल्लास्थित स्वास्थ्य बिमा बोर्डमा ५० रुपैयाँ तिरेर अर्को परिचयपत्र पाइन्छ।
–    बिमितले स्वास्थ्य बिमा सदस्यता प्रत्येक वर्ष भुक्तानी हुने मितिभन्दा १ महिना अगाडि नवीकरण गराउनुपर्छ।

उपचार सेवा सुविधा सुरु हुने समय 
स्वास्थ्य बिमा कार्यक्रममा जुनसुकै महिनामा सदस्य बन्न सकिन्छ। तर सेवा भने दर्ता भएपछि निम्न बमोजिम तोकिएका महिनामा मात्र सुरु गर्न पाइन्छः
–    वैशाख, जेठ र असारमा दर्ता भएका बिमितले भदौ १ गतेदेखि सेवा प्राप्त गर्छन्।
–    साउन, भदौ र असोजमा दर्ता भएका बिमितले मंसिर १ गतेदेखि सेवा प्राप्त गर्छन्।
–    कात्तिक, मंसिर र पुसमा दता भएका बिमितले फागुन १ गतेदेखि सेवा प्राप्त गर्छन्।
–    माघ, फागुन र चैतमा दर्ता भएका बिमितले जेठ १ गतेदेखि सेवा प्राप्त गर्छन्।

सेवाकेन्द्र विन्दुः स्वास्थ्य बिमा लागू भएका जिल्ला तथा छिमेकी जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरु सूचीकृत गरिएका हुन्छन्। त्यसैले सुरुमा आफ्नो नजिकको सूचीकृत स्वास्थ्य संस्थामा जानुपर्छ। त्यस्तै वीर अस्पताल, मनमोहन कार्डियो भास्कुलर तथा थोरासिक अंग प्रत्यारोपण केन्द्र, पाटन अस्पताल, भरतपुर क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, स्त्रीरोग तथा प्रसूति अस्पताल,  कान्ति बाल अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर, ट्रमा सेन्टर काठमाडौं लगायत प्रदेश तथा जिल्ला अस्पतालसमेत सूचीकृत भएका छन्।

स्वास्थ्य बिमा कार्यक्रमका चुनौती
स्वास्थ्य उपचारमा धेरै खर्च गर्न नसक्ने लक्षित समुदायसम्म बिमा कार्यक्रम पुग्नै सकेको छैन। फलस्वरुप समुदायमा अझै पनि सानातिना रोगका कारण मृत्युको मुखमा पुग्नुपर्ने बाध्यता छ। नगरिकलाई कार्यक्रमको दायरामा समेट्न सरकारले गरिब पहिचान गरेर गरिब, अतिगरिब र सीमान्तकृत गरी लक्षित वर्ग पहिचान गरेर गरिबीको कार्ड अनिवार्य व्यवस्था नगरिदिँदा सेवा विस्तार हुन सकेको छैन।

कार्यक्रम लागू भएका जिल्लाका सेवाग्राहीले सहज सुविधा नपाएको, सरकारी अस्पतालमा भनिए अनुसार सेवा नपाएको, कार्यक्रम लागू नभएका जिल्लाबाट आउने चिकित्सकलले कार्यक्रमबारे सबै जानकारी नपाउने र जानकारी पाउनासाथ सरुवा भई जाने, चिकित्सकको नियमित उपस्थितिसहित आवश्यक उपकरण थपिंदै गए पनि आवश्यकता अनुसारको सेवा पुग्न नसकेको स्तरोन्नति भएका जिल्ला अस्पतालमा नै मापदण्डअनुसार चिकित्सक पुग्न नसकेको, स्वास्थ्य संस्थाहरु कतै समयमै निर्माण सम्पन्न नहुँदा र कतै सेवा प्रदान गर्ने सम्झौता गरे पनि एकलौटी सम्झौता भंग गर्दा अप्ठेरो परेको छ।

आवश्यक एक्सरे मेसिन, अल्ट्रासोनाग्राम जस्ता औजार, उपकरणको अभाव, भएका पनि सही अवस्थामा नरहने, सानोतिनो मर्मत सम्भार गर्दा चालु हुने सरसामानको मर्मत सम्भार नगरिने, आवश्यक दर्ता सहयोगीको समयमै चयन नगरिने, पारिश्रमिक आकर्षक नभएकाले पूर्ति हुन नसकेर चुनौती देखिन्छ।

    स्वास्थ्य सेवाको पहुँचमा कमीः स्वास्थ्य बिमा कार्यक्रममा सूचीकृत स्वास्थ्य संस्थाका चिकित्सक तथा स्वास्थ्यकर्मीले अन्य बिरामीभन्दा बिमितलाई विभेद गरी आवश्यक सेवासुविधा नदिने,  अवाञ्छित व्यवहार, उपचारमा ढिलासुस्ती, अस्पतालको शय्या शुल्क धेरै तिनुपर्ने र फार्मेसीमा खरिद गर्नुपर्दा औषधिमा धेरै खर्च लाग्ने, सेवा प्रक्रिया नै झन्झटिलो भएको गुनासो आइरहेको छ।

कतिपय जिल्लाका इच्छुक नागरिकले दर्ता सहयोगीको अभावमा बिमा गर्न नसकेको, कतिपय सरकारी स्वास्थ्य संस्थामा सेवा भरपर्दो नभएकोेले सेवाग्राही सन्तुष्ट छैनन्। कतिपय मेडिकल कलेज शिक्षण अस्पताल र अन्य अस्पतालमा बिरामीको निदान गर्ने चिकित्सक/स्वास्थ्यकर्मीले अनावश्यक परीक्षण सिफारिस गर्ने प्रवृत्ति देखिन्छ।

अर्कोतिर, स्वास्थ्य बिमाभित्र नपरेको भन्दै औषधि बाहिर फार्मेसीमा खरिद गर्न सिफारिस गरिन्छ। यसो हुँदा बिमाद्वारा प्रदान गरिने १ लाख नाघ्ने, सबै अस्पतालमा विशेषज्ञलगायत पर्याप्त सेवासुविधा नपाइने, कुनै अस्पतालका फार्मेसी नै नभएका र फार्मेसी भएका अस्पतालले पनि व्यवस्थित गर्न सकेका छैनन्।

    जनशक्तिको कमीः प्राथमिक स्वास्थ्य सेवा केन्द्रलगायत अस्पतालजस्ता हरेकसरकारी स्वास्थ्य संस्थामा कम्तीमा एकजना मेडिकल अधिकृतको दरबन्दी छ। तर नियमित नबस्ने, छिटो–छिटो सरुवा हुने, समयमै हाजिर नहुने, अन्यत्रै काज, बिदा बस्ने तर रिक्त पदपूर्ति नहुनाले  चिकित्सक/स्वास्थ्यकर्मीको अभावमा सेवा पुर्‍याउन समस्या भएको छ भने स्वास्थ्य बिमा कार्यक्रमका छुट्टै जनशक्ति धेरै छैनन्।

करार सेवामा नियुक्त करिब ९० जना दर्ता अधिकारी (कतिपय जिल्लामा ३ जना, कतिपयमा २ जना र कतिपयमा १ जनामात्र) ले काम चलाएका छन् भने दुई जिल्लामा एकजनाले नै काम चलाउनु परेको छ। स्थानीय तहबाटै छनोट हुने दर्ता सहयोगीलाई आफ्नो वडाका नागरिकलाई बिमा प्रक्रियामा परिचालन गरिन्छ।

कतिपय संस्थामा सामाजिक सेवाका साथै बिमा कार्यक्रम पनि सोही इकाईबाट गर्नुपर्दा कामको बोझ थपिएको छ भने बिमा कार्यक्रमद्वारा तालिम/अभिमुखीकरणको कमी, इन्टरनेटको सुविधा नहुँदा बिमितलाई सेवा पु¥याउन सकिएको छैन। बिमा कार्यक्रम प्रभावकारी किसिमले सञ्चालनका लागि छुट्टै कर्मचारीको आवश्यकता पर्छ।

    औषधिको अभावः जिल्लाका सरकारी अस्पतालले खोलेका फार्मेसीमा ४ सय प्रकारका औषधि पाइने प्रावधान भए पनि १ सय ५० प्रकारका औषधि पनि पाउन सक्दैनन्। बिमा कार्यक्रममा एलोपेथिक १ हजार १ सय ८, आयुर्वेदिक २५ किसिमका औषधि पाइने भए पनि सामान्य औषधिको समेत अभाव हुन्छ। नपाएका औषधिको दाबी गर्न पाइँदैन। स्वास्थ्य बिमा कार्यक्रमले वर्षेनी सेवा प्रदान गर्न सूचीकृत अस्पताललाई १० लाखभन्दा बढी र प्राथमिक स्वास्थ्य सेवा केन्द्रलाई ३ लाखभन्दा बढी रकम फार्मेसी सञ्चालन गर्न र अन्य समान खरिद गर्न उपलब्ध गराएको छ। तर चिकित्सकले सिफारिस गरेका औषधि बिमितले पाउन सकेका छैनन्।

    स्वास्थ्य सूचना–सञ्चारमा कमीः स्वास्थ्य बिमा कार्यक्रमको सफलताका लागि मुलुकका अधिकतम नागरिक सुसूचित हुनुपर्छ। हरेक नागरिकमा चेतनाको अभावका कारणले बिमित हुन सकेका छैनन्। बिमा कार्यक्रमप्रति आवद्ध गराउन हरेक समुदायस्तरसम्म व्यापक जनचेतना अभियान चलाउन सकिएको छैन। बिमितले अस्पताल पुगेपछि सेवा पाउने जानकारी सम्बन्धी सूचनासमेत नराखिने र कसैबाट सहयोग पाउन नसकेको गुनासो पनि सुनिन्छ।

स्वास्थ्य बिमा कार्यक्रम उत्कृष्ट कसरी
नेपाल सरकारले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेर नै स्वास्थ्य बिमा कार्यक्रमलाई उपयोगी बनाउन सक्छ। थोरै पैसाको अभावले हुने मृत्युदर घटाउन सक्छ। त्यसकारण स्वास्थ्य बिमामा सुधार गरी उत्कृष्ट सेवा प्रदान गर्नका लागि प्राथमिक स्वास्थ्य सेवा केन्द्र वा अस्पतालमा नागरिकको सेवाको पहुँच बढाउनुपर्छ।

मेडिकल अधिकृत लगायत जनशक्ति, प्रयोगशाला, फार्मेसी तथा उपकरणको व्यवस्था हुनु नितान्त आवश्यक छ। हरेक जिल्ला स्वास्थ्य बिमा कार्यक्रममा दर्ता अधिकारी र एकजना प्रशासन, स्टोर÷लेखासमेतमा काम गर्ने कर्मचारीको व्यवस्था नितान्त जरुरी छ।

वर्षभरिमा स्वास्थ्य सेवा लिए वा नलिए पनि ४० वर्ष उमेरका सम्पूर्ण बिमितहरुको वर्षको एकपटक स्थानीय क्षेत्रमा नै गएर जोखिम परीक्षण, सेवा दिने व्यवस्थालाई सुदृढ गर्नुपर्छ। प्राथमिक स्वास्थ्य सेवा केन्द्र र अस्पतालका आफ्नै फार्मेसी सञ्चालन गरी तोकिएका सबै औषधि उपलब्ध हुने व्यवस्था गरिनुपर्छ।

शिक्षा, सूचना तथा सञ्चार कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गर्नुपर्छ। निरीह देखिने स्वास्थ्य सुरक्षा विकास समितिलाई आदेशबाट नभई दक्षताका आधारमा नियुक्ति गर्ने व्यवस्था गरिनु पर्छ। यसो गरेमा मात्र स्वास्थ्य बिमा कार्यक्रम उत्कृष्ट बन्न सक्छ।


Your Views
Related News