संखुवासभा-चैनपुर नगरपालिका–११ का कृष्ण दाहालले बाइकमा बोकेको दूध बेचेर मासिक ६० हजार बढी कमाउँदै आएका छन् । विगत ५ वर्षदेखि निरन्तर रूपमा चैनपुर–११ लोहाकोटबाट संखुवासभाको सदरमुकाम खाँदबारीसम्म मोटरसाइकलमा दूध बोक्दै आएका उनले गाउँका कृषकबाट संकलित १ सय २० लिटर दूध दैनिक रूपमा सदरमुकाम खाँदबारी पु¥याउँछन् ।
प्रतिलिटर ७० रुपैयाँमा गाउँमा संकलन गरेको दूध उनले २५ किलोमिटरको दूरीमा रहेको खाँदबारी बजारमा लगेर ९० रुपैयाँमा बिक्री गर्छन् । “दूध बेच्न गाह्रो छैन । बजारमा धेरैजसो नियमित ग्राहक छन् । ठाउँठाउँमा बाइक रोकेपछि ग्राहकहरू आफैं भाँडो बोकेर दूध लिन आइपुग्छन्,” दाहालले भने ।
दूध बेच्न सुरु गनूुअघि धन कमाउने सोचमा विदेश जानुपरेकोमा उनले पछुतो मानेका छन् । विदेश गएँ । २ वर्ष विदेश बसेर दुःख गर्दा पनि जाँदा लागेको रकम उठाउन २ वर्ष लाग्यो । त्यसबेला भन्दिने र सम्झाइ दिने पनि कोही भएनन् विदेश जानुको सट्टा त्यतिबेलैदेखि यो पेशामा लागेको भए अहिले आफ्नो परिवारको आर्थिक अवस्था निक्कै राम्रो भइसक्ने उनले बताए । विदेशको मेहनतले आर्थिक अवस्थामा सुधार नआएपछि गाउँमै फर्किएर खेतिपाती गर्ने सोच आयो तर सिंँचाइको अभाव भएकाले तरकारी खेती गर्ने आफ्नो सपना पूरा हुन नसकेको उनले बताए ।
गाउँमा आफ्नो परिवारले पनि २ माउ दुहुनो गाई पालेको तर नजिकमा बिक्री गर्ने ठाउँ नहुँदा सबै परिवारले नै खाएर सक्नुपर्ने स्थिति थियो ।
गाउँका अरु छिमेकीले पनि प्रायः गाईभैंसी पालेका छन् तर दूध बेच्न नपाएर घर खर्च चलाउनै गाह्रो भएको कुराकानी गथ्र्ये । त्यसपछि यसैबाट जीविकोपार्जन गर्न सकिने देखेर घर परिवारको सल्लाहअनुसार आफूले दूध बेच्ने पेशा अंगालेको उनको भनाइ छ । अहिले एकाबिहानै उनका घरमा गाउँलेले दूध ल्याइपु-याउँछन् । यसरी संकलन गरेको दूध बिहान ६ बजेतिरै उनले २५ किलोमिटर टाढा रहेको खाँदबारी बजार पु-याइसक्छन् । १ सय २० लिटर दूध बेच्न उनलाई १ घण्टा पनि लाग्दैन । बिहान दूध बेचेर दिनभर घरको काम गर्न पाइने र राम्रै आम्दानी भइरहेकाले यो पेशाबाट आफू सन्तुष्ट रहेको व्यवसायी दाहालले बताए । अहिले उनले मासिक ३ लाख २० हजारको आर्थिक कारोबार गर्दै आएका छन् । पेट्रोल र बाइक मर्मत खर्च मासिक १० हजार छुट्याएर पनि ६० हजार बढी आफूले आम्दानी गरिरहेको उनको भनाइ छ ।
यो व्यवसायबाटै भइरहेका आम्दानीले २ छोरी १ छोराको पठनपाठन खर्च र घरखर्च चलिरहेको छ । गाउँमा दूध बिक्न थालेपछि अहिले धेरैले गाईभंैसी पाल्न थालेका छन् । धेरैले दूध लिइदिन अनुरोध गरे पनि सबै दूध आफूले बजार पु¥याउन नसक्दा गाउँको आधाजसो दूध अझै बजारसम्म आइपुगेको छैन । उनले आफ्नो व्यवसायलाई थप सहज र ठूलो परिमाणमा सञ्चालन गर्न एउटा दूध बोक्ने गाडी किन्ने योजना राखेको बताए । गाडी भएपछि धेरै परिमाणमा गाउँका दूध, घिउ, तरकारीलगायतका सामग्री बजार पु-याई बिक्री गर्न सहज हुने र परिवारका थप दुई चारजनालाई रोजगारी सिर्जना गर्न सकिने उनको भनाइ छ ।


Your Views
Related News