वीरगन्ज : वीरगन्जका अमर वर्णवाल (२७), भदौ ८ मा कोरोना संक्रमित भएपछि कोभिड अस्पताल भर्ना भए । उनमा श्वासप्रश्वासको पनि समस्या थियो । बाफ लिन अस्थालिन नामक औषधि चाहियो । तर बजारमा उक्त औषधि नपाएका कारण अमर आइसोलेसनकै बेडमा छटपटाएर बसे । कोभिड अस्पतालको १५ दिने बसाइ पछि अमर कोरोनामुक्त भएर अस्पतालबाट अहिले घर फर्किसकेका छन् ।

तर औषधि अभावमा आफूले अस्पतालको बेडमा भोगेको त्यो असह्य पीडा उनले अझै बिर्सिन सकिरहेका छैनन् । आफूले भोगेको पीडा अरु संक्रमित र बिरामीले भोग्न नपरोस् भनेर अमरले वीरगन्जमा अभाव रहेको अस्थालिन ,बाहिरबाट मगाएर अस्पतालमा निशुल्क उपलब्ध गराउन थालेका छन् ।

बिहीबार मात्रै अमरले भैरहवाबाट १ सय ५० थान अस्थालिन मगाएर नारायणी अस्पतालमा उपलब्ध गराएका छन् । २० रुपैयाँ मात्रै पर्ने औषधि समेत नपाउँदा मैले जुन पीडा भोग्नु पर्‍यो त्यो पीडा अरु बिरामीलाइ भोग्नु नपरोस् भन्ने म चाहन्छु, उनले भे, ‘भैरहवामा मैले २ हजार पीसका लागि अर्डर गरेको थिए , तर त्यहाँ अहिले १५० पीस मात्रै रहेछ ,त्यति मात्रै आएकाले नारायणी अस्पताललाइ लगेर दिएको छु ।’

अरु थप आउने वित्तिकै त्यो पनि अस्पतालमा लगेर निशुल्क नै दिने उनले बताए ।  वीरगन्जको बजारमा अस्थालिन औषधि अभाव हुँदा कोभिड संक्रमित र दमका रोगीको उपचारमा समस्या भइरहेको खबर सार्वजनिक भएपछि अमरजस्तै यहाँका केही युवाले सीमावर्ती रक्सौल र अन्य सहरबाट  औषधि मगाएर निशुल्क उपलब्ध गराउन थालेका छन् ।

अस्थालिन दमका रोगीहरुले प्रयोग गर्ने औषधि हो । यसले स्वास फेर्नलाई सजिलो गराउने भएकाले कोरोना संक्रमितका लागि पनि प्रयोग गर्ने गरिएको छ ।अस्थालिन हालेर वाफ दिँदा आइसीयूमा भएका संक्रमितलाई समेत स्वासप्रश्वासमा सहज हुने गरेको उपचारमा संलग्न चिकित्कसको अनुभव छ ।

वीरगन्जका औषधि पसलमा अस्थालिन नपाएपछि पत्रकार अमीत अग्रवाल (३२) ले दुई साता यता दिनहुँ सीमावर्ती रक्सौल सहरबाट उक्त औषधि मगाएर पर्सा र बाराका आइसोलेसन र सरकारी अस्प्तालमा निशुल्क उपलब्ध गराउँदै आएका छन् ।

बिहीबार पनि अग्रवालले नाराण्यणी अस्पतालमा पुगेर डाक्टर निरज सिंहलाइ १५ थान अस्थालिन निशुल्क सहयोग गरेका छन् ।  दुई साता यता पर्सा र बाराका कोभिड अस्पताल र सरकारी स्वास्थ्य संस्थामा गरी १ सय २० थान अस्थालिन आफूले निशुल्क उपलब्ध गराइसकेको पत्रकार अग्रवालले बताए ।

‘कोभिड अस्पतालमा भर्ना भएकै संक्रमित स्वास्थ्यकर्मीले अस्थालिन नपाएर छटपटाइरहेको खबर सुनेपछि मन कटक्क खायो, अग्रवालले भने, ‘त्यो खबर पाए लगत्तै वीरुगन्जका सारा औषधि पसल चहारे, नपाएपछि रक्सौलमा रहेका एक परिचितलाई फोन गरेर गुहारे, उनले किनेर बोर्डरसम्म ल्याइ दिए, अनि मैले त्यहाँबाट ल्याएर कोभिड अस्पतालमा लगेर दिए । ‘

अहिलेसम्म आफूले वीरगन्जको नारायणी अस्पतालमा ४०, पोखरीया अस्पतालमा १५ , वीरगन्ज हेल्थकेयर कोभिड अस्पतालमा १० , बाराको कलैया अस्पतालमा २० , गन्जभवानीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा ५ गरी १२० थान अस्थालिन निशुल्क रुपमा सहयोग गरिसकेको अग्रवालले बताए ।

उनले भने, ‘फेसबुकमा पनि मैले कसैलाई चाहिएको छ भने सम्पर्क गर्नु होला भनेर लेखेको छु, अहिलेसम्म फेसबुकमार्फत सम्पर्क गरी आएकाले २५ थान लगिसकेका छन् ।’

वीरगन्जको बजारमा सहज रुपमा आपूर्ति नभएसम्म आफूले आवश्यक परेकाहरुलाई निशुल्क रुपमा यो औषधि उपलब्ध गराइ रहने अग्रवालले बताए ।  यस्तै वीरगन्ज छपकैयाका युवक राज कुमार सर्राफ (२६)ले पनि भदौ २० गते बाराको कलैया अस्पतालमा पुगेर २० थान अस्थालिन सहयोग गरेका थिए ।

भदौ २१ गते वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले पनि नारायणी अस्पतालमा ६ थान र वीरगञ्ज हेल्थ केयर अस्थायी कोभडि अस्पतालमा १० थान अस्थालिन निशुल्क उपलब्ध गराएका थिए ।

कोरोना संक्रमितको उपचारमा प्रयोग गरिने अस्थालिन मात्र नभइ डेक्सामेथासन, डेरिफाइलिन, ड्रोटाभेरिन, साल्बुटामोल रेस्पिरेटरी सोलुसन लगायतका औषधिको अभाव रहेको चिकित्सकहरु बताउछन् ।

चिकित्सका अनुसार पछिला दिनमा पर्सा र बारामा लक्षण भएका र दीर्घ रोगीमा समेत कोरोना संक्रमण देखिएको छ । उनीहरुको उपचारमा प्रयोग हुने यस्ता औषधिको अभाव देखिएको चिकित्सकले बताए।

सहजै नपाउँदा समस्या हुने गरेको गण्डक अस्थायी कोभिड अस्पताल गण्डकका संयोजक डाक्टर उदयनारायण सिंहले बताए । सिंहले भने, ‘वीरगन्जमा लाइफ सेभिङ ड्रग्स (जीवन रक्षक औषधिहरु )पाउन गाह्रो भइरहेको छ, पाइहाले पनि चर्को मुल्य तिर्नुपरेको संक्रमित र बिरामीका परिवारजनको गुनासो छ ।’

यी औषधि अभाव हुँदा कोरोना संक्रमित मात्र नभइ अन्य बिरामीको समेत ज्यान जोखिममा पर्ने डाक्टर सिंहले बताए । नेपाल औषधि उत्पादक संघ प्रदेश २ का अध्यक्ष प्रभात रुङगटाले भने वीरगन्जमा अहिले अभाव भएको भनिएका औषधि  नेपालमा उत्पादन नहुने भएकाले भारतबाट आयात गरेर आपूर्ति गरिने औषधि  भएको बताए । नेपाल भारत दुवै देशमा लकडाउन भएको र सीमामा आयात निर्यातमा समस्या रहेका कारण औषधि आयतमा केही समस्या रहेकाले अभाव भएको हुनसक्ने उनले बताए ।


Your Views
Related News