काठमाडौं । बिहीबार स्थगित भएको मन्त्रिपरिषद् बैठक आज शुक्रबार बस्ने भएको छ । आजको बैठकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक नियुक्ति गर्नेदेखि सरकारको प्रवक्ता तोक्नेसम्मको निर्णय गर्ने तयारी रहेको बताईएको छ ।

आज बस्ने मन्त्रिपरिषद् बैठकले पर्यटन संस्कृति एवं नागरिक उड्यान मन्त्री योगेश भट्टराईलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गर्ने बालुवाटार स्रोतले जनाएको छ ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनपछि उनलाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारी पनि दिन सक्ने तयारी रहेको बताइएको छ तर निश्चित भने भएको छैन । नयाँ मन्त्री नियुक्ती नगरे नेता भट्टराईलाई नै उक्त मन्त्रालयको जिम्मा दिने मुडमा ओली रहेको श्रोतको दाबी छ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका अर्थमन्त्री युवराज खतिवडाले गएको भदौ १९ गते दुवै पदबाट राजिनामा दिएपछि उनको जिम्मेवारी प्रधानमन्त्री ओलीले सम्हाल्दै आएका थिए ।

मन्त्रिपरिषद् बैठकमा कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नियुक्ति गर्ने तयारी पनि रहेको बताइएको छ । घिसिङको कार्यकाल भदौ २९ गतेदेखी सकिदैछ । उनको कार्यकाल थप गर्न उर्जामन्त्री बर्षमान पुनले आज बस्ने मन्त्रिपरिषदको बैठकमा प्रस्ताव पेश गर्ने स्रोतले जनाएको छ ।

सुरुवाती दिनमा प्रधानमन्त्री ओली घिसिङप्रति खासै सकारात्मक थिएनन् तर सामाजिक संजालमा घिसिङको समर्थन देखे पश्चात् अहिले सरकारको लोकप्रीयता कायम राख्न घिसिङलाई पुनः नियुक्ती गर्न राजी भएका हुन् । श्रोतका अनुसार प्रधानमन्त्री ओलीले घिसिङलाई केही सर्त राख्दै नियुक्ती दिन लागेका हुन् । घिसिङ पनि प्रधानमन्त्रीको सर्त मान्दै बालुवाटारलाई आफू प्रती सकारात्मक बनाएका हुन् ।

आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक पनि बस्ने भएको छ । स्थायी कमिटीको बैठक बसेपछि मन्त्रिपरिषद् बैठक बस्ने बताइएको छ । साउन १३ गतेदेखि स्थगित हुँदै आएको नेकपा स्थायी कमिटीको बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।


Your Views
Related News