२६ भदौ, काठमाडौं । कोभिड १९ का कारण सरकारले जारी गरेको बन्दाबन्दी (लकडाउन)पछि पशुपतिनाथको व्यवस्थापनका लागि खुलेको पशुपति क्षेत्र विकास कोषलाई ६० करोड घाटा लागेको छ । आठ महिनादेखि भक्तजनको लागि मन्दिर बन्द हुँदा विभिन्न शीर्षकमा हुने आम्दानी शून्यमा सीमित भएको छ । जसका कारण कर्मचारीलाई तलबभत्ता दिन समेत समस्या भएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए ।

कोषको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको पर्यटन शूल्क, मन्दिरमा हुने नियमित पूजा र विशेष पूजाका क्रममा चढाइएको भेटी एवं दान दातव्य, कोषको नाममा रहेको जग्गाको भोगचलनबापत प्राप्त भाडा र जग्गाको कुत संकलन लगायत सबै स्रोतमा कोरोना महामारीको असर परेको छ ।

जसमध्ये अहिले पर्यटन शूल्क र मन्दिरको भेटी वा दानबापत हुने आम्दानी शून्य रहेकोले कोषको आम्दानीमा धक्का लागेको कार्यकारी निर्देशक खतिवडाले जानकारी दिए ।

कोरोना महामारीका कारण चैत ११ गतेदेखि जारी बन्दाबन्दीसँगै बन्द भएको पशुपति अहिलेसम्म पनि भक्तजनको लागि खुला गरिएको छैन । बन्दाबन्दीमा धार्मिक क्षेत्र, मठ, मन्दिर आदि पूर्णतः बन्द गर्ने निर्णयका कारण साउने सोमबार, तीज जस्ता ठूला पर्वमा समेत पशुपति बन्दै रह्यो । जसका कारण दान र दक्षिणाबाट दैनिक हजारौं रूपैयाँ गुमिरहेको कोषले जनाएको छ ।

अन्य स्रोतबाट हुने आम्दानी ढिलोचाँडो प्राप्त हुने सम्भावना भए पनि यो वर्ष तलब खुवाउन भने समस्या हुने सम्भावना रहेको कार्यकारी निर्देशक खतिवडा बताउँछन् । ‘कोषको आम्दानीका विभिन्न स्रोतहरूमध्ये मन्दिरमा चढाइएको भेटी र दानदातव्यबाट दैनिक औसतमा ६० हजार आम्दानी हुने गरेको थियो ।’ खतिवडा भन्छन् ‘मन्दिर पूर्ण रूपमा बन्द हुँदा यो शीर्षकमा हुने आम्दानी शून्य भएको छ ।’

त्यस्तै, कोषले घाटसेवाबाट र किरियापुत्री भवनबाट मासिक झण्डै ५ लाख रूपैयाँ आम्दानी गर्ने गरेको छ । यो पैसा घाट र किरियापुत्री भवनमा कार्यरत कर्मचारीको पारिश्रमिकमा नै सकिने गरेको छ । अहिले घाटसेवामा ७६ जना र किरियापुत्री भवनमा ७ जना गरी कुल ८४ जना कर्मचारी छन् । उनीहरूलाई महिनावारी पारिश्रमिक दिने नभई दाहसंस्कार गराएको शव संख्याको आधारमा पारिश्रमिक दिने गरिएको छ । कोषमा सूचीकृत रहेका ६० जना घाटसेवाका कर्मचारी एक–एक महिनामा आलोपालो गरी काममा आउने गरेका छन् ।

त्यस्तै, कोषको अर्काे आम्दानीको स्रोत पसल र धर्मशालाले दिने भाडा बापतको शुल्क हो । यो शीर्षकमा वार्षिक एक करोड १० लाख रूपैयाँ आम्दानी हुने गरेको छ । तर अहिले कोरोना भाइरसका कारण त्यो शीर्षकको पैसा समेत उठ्न नसकेको कोषले जनाएको छ । सरकारले भाडा छुट नगराएको खण्डमा पछि उठ्ने सम्भावना भए पनि अहिले त्यो शीर्षकमा समेत आम्दानी शून्य रहेको खतिवडाले जानकारी दिए ।

कोषले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग भाडाबापत वार्षिक एक करोड रुपैयाँ र तिलगंगा आँखा अस्पतालबाट वार्षिक आँखा अस्पतालबाट वार्षिक ५० हजार रूपैयाँ उठाउने गरेको छ । लकडाउनपछि यी दुई निकायसँग समेत भाडा बापतको शुल्क असुल भएको छैन ।

अर्काेतर्फ कोषको मुख्य आम्दानीको रूपमा रहेको पर्यटन शुल्क पनि लकडाउनपछि शून्यमा झरेको छ । अघिल्लो आर्थिक वर्षमा कोषले सो शीर्षकमा मात्रै १७ करोड आम्दानी गरेको थियो । बढी आम्दानी भएको वर्ष यो शीर्षकमा २५ करोड रूपैयाँसम्म आम्दानी भएको खतिवडा बताउँछन् ।

खर्चतर्फ पशुपतिको विभिन्न मन्दिरहरूको मर्मतका लागि पशुपतिको मूल मन्दिरबाट प्राप्त आम्दानी खर्च गर्ने गरिन्छ । यसबाहेक भट्ट र भण्डारीलाई दिइने तलब समेत अन्य स्रोतबाट दिने गरिएको छ । मन्दिरको आम्दानी र मर्मतबाहेक अरू शीर्षकमा खर्च गर्ने गरिएको छैन । कर्मचारीको तलबभत्तामा भने भाडा या पर्यटन शुल्कबापत प्राप्त रकम खर्च गर्ने गरिए पनि यो वर्ष यिनैै शीर्षकमा समेत भारी गिरावट आएको हो ।

घाटसेवा र किरियापुत्री भवनका कर्मचारीसहित गर्दा कोषबाट तलबभत्ता खाने साढे ६ सय कर्मचारीहरू छन् । उनीहरूलाई पारिश्रमिक शीर्षकमा मात्रै वार्षिक १३ करोड रूपैयाँ खर्च हुने गरेको छ ।

तलबभत्ताको लागि मुख्य आम्दानीको स्रोतबाट नै आम्दानी शून्य रहेकोले कर्मचारीलाई तलब खुवाउन समस्या भएको खतिवडा बताउँछन् ।

अर्काेतर्फ, कोषले आफ्नो नाममा रहेको जग्गाको कुतबापत मात्रै वार्षिक ३ करोड रुपैयाँ उठाउने गरेको छ । कोषको आफ्नै अमालकोट कचरी रहेकोले कुतबापतको रकम मालपोत कार्यालयमा बुझाउनु पर्दैन । निषेधाज्ञा केही खुकुलो भएपछि सो सेवा खुला गरिएको भए पनि धेरैले तिर्न आउने गरेका छैनन् ।

यी सबैलाई जोड्दा कोष लकडाउनपछिको ८ महिनामा ६० करोड घाटामा गएको खतिवडाले अनलाइनखबरलाई जानकारी दिए ।

मन्दिर बन्द हुँदाको सकारात्मक पक्ष

कोषको आम्दानी र श्रद्धालुको श्रद्धालाई बेवास्ता गर्ने हो भने कोरोना भाइरसका कारण मन्दिर बन्द गर्नु फलदायी रहेको कोषको निष्कर्ष छ । दैनिक मन्दिर दर्शनको लागि र अन्य प्रयोजनको लागि समेत गरी हजारौं व्यक्तिको घुइँचो लाग्ने पशुपति खुला गरिएको भए काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या झनै बढ्ने सम्भावना रहेको विश्लेषण कोषको छ ।

यो महामारीमा यदि पशुपति मन्दिर बन्द थिएन भने यही क्षेत्र नै कोरोना संक्रमणको प्रसारको लागि दोषी ठहरिने सम्भावना भएकोले मन्दिर बन्द गर्दा आर्थिक हिसाबले केही समस्या भए पनि जनस्वास्थ्यको हिसाबले फाइदा पुगेको खतिवडा बताउँछन् ।


Your Views
Related News