मुस्ताङ, २६ भदौ । चर्चित धार्मिक तथा ऐतिहासिक स्थल मुक्तिनाथ मन्दिरसम्म पुग्ने बृहत् सिँढी निर्माण कार्य तीव्र गतिमा भैरहेको छ । गत सालमै सम्पन्न हुने भनिएको उक्त कार्य दोहोरो विवादका कारण काम अगाडि बढ्न सकिरहेको थिएन । अन्ततः स्थानीयबासीको जित भएको छ । स्थानीयको मागबमोजिम नै काम अगाडि बढ्ने गरी निर्माण हुन लागेको बृहत् सिँढी निर्माण कार्य यही कार्तिकमा सम्पन्न हुने बताइएको छ ।

करिब ३०८ मिटर लामो बृहत् सिँढी निर्माण कार्यको जिम्मा खिङ्गा कन्स्ट्रक्सनले पाएको हो । निर्माण कार्यले आम जनताको मन जित्न सफल भए तापनि विवाद बल्झिएपछि अहिले मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिले नै जिम्मा लिएको वारागुँ मुक्तिक्षेत्र गाउँपालिकाका इन्जिनियर बुद्धि ओलीले बताए । सिँढी निर्माणका लागि अनुमानित लागत ७८ लाख भए पनि अब अन्तिमसम्म निर्माण हुनका लागि अझै ३८ लाख रुपैयाँको टड्कारो आवश्यकता पर्ने उनले बताए । यद्यपि विकास निर्माण कार्यलाई अन्यौलमा राख्न नहुने ओलीको भनाइ छ । उनका अनुसार मुक्तिनाथजस्तो पवित्र स्थलमा पैसाको चलखेल हुनु राम्रो होइन । ‘जम्मा ३०८ मिटर उचाइको सिँढी निर्माणमा १ करोडभन्दा बढी रकम आवश्यक ठानिनु कदापि राम्रो होइन,’ उनले भने । उनका अनुसार आम पर्यटक र स्थानियबासीको मर्मविपरीत काम हुनु पनि लज्जाको विषय हो ।

गत सालमै काम सम्पन्न भएर पनि पर्यटकहरु हिड्न मिल्ने यस सिँढी निर्माण कार्य यसरी महिनौंसम्म रोकिनुमा स्थानीयबीचको विवाद कारक थियो । निवर्तमान सिडिओ वेदप्रसाद अर्याल र स्थानीयबासीको फरक मतकै कारण यो काम ढिलाइ भएको हो । तत्कालीन सिडिओ अर्यालले पुरानै शैलीमा ९बाटो० सिँढी निर्माण हुनुपर्ने डान राखेपछि र स्थानीयले सीधै उचाइमा निर्माण हुनुपर्ने भनेपछि महिनौंसम्म विवादमा रहेको इन्जिनियर ओलीले बताए ।

सिँढी निर्माण सँगसँगै मुक्तिनाथ मन्दिरभित्र रहेका सम्पदा र अत्यावश्यक कुराहरुको निर्माण एवं व्यवस्थापन भएमा अझ राम्रो हुने स्थानीय बताउँछन् । मुक्तिनाथ रानिपौवाका सफल होटल व्यवसायी सुरज गुरुङले भने, ‘अब निर्माणाधीन सिँढीको काम सकिएपछि मन्दिरभित्र पनि आम पर्यटकलाइ सेवा-सुविधा दिनुपर्छ, सुविधायुक्त स्नान गृह, चर्पी, हट रुम लगायतका निर्माण कर्यमा ध्यान दिनुपर्छ ।’


Your Views
Related News