काठमाडौं । म्युजिक भिडियोमा निकै कम देखिने अभिनेता दयाहाङ राईले दुई महिनायता पाँचवटा म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । उनले मिलन चाम्सको निर्देशनमा लकडाउन खुलेपछि गत साउनमा दीपा लामा, तेम्बा शेर्पाको स्वरमा रहेको गीत ‘बल्लबल्ल भेट भो…’मा मोडलिङ गरेका थिए ।

त्यसपछि अभिनेता दयाहाङले नै राजेश पायल राईको स्वरमा रहेको नयाँ गीत ‘त्यो तिमी है…’ र पूर्ण लिम्बु तथा मेलिना राईको स्वरमा रहेको गीत ‘ख्याल गर सोल्टिनी…’मा मोडलिङ गरे । यी तीनवटै म्युजिक भिडियोलाई मिलन चाम्सले निर्देशन गरेका थिए ।

यस्तै, रञ्जित बल्लभ उप्रेतीको निर्देशनमा दयाहाङ राईले अभिनय गरेको गायक अल्मोडा राना उप्रेतीको नयाँ गीत ‘ज्यानले तिमीलाई…’को भिडियो दुई दिनअघि मात्र रिलिज भएको हो । अभिनेता दयाहाङ राई यसरी एकपछि अर्को म्युजिक भिडियोमा व्यस्त हुनुको कारण आफूले मागे जति पारिश्रमिक गायक गायिकाले दिनु हो ।

अभिनेता दयाहाङ राईले एउटा म्युजिक भिडियोमा डेढ लाख रुपैयाँसम्म पारिश्रमिक थाप्ने गरेका छन् । केही म्युजिक भिडियोमा उनले १ लाख रुपैयाँ पारिश्रमिक लिएर पनि काम गरे । यसरी १ देखि डेढ लाख रुपैयाँ पारिश्रमिक दिन गायक गायिकाहरू घरमै आएपछि अभिनेता दयाहाङले म्युजिक भिडियोलाई निरन्तता दिन थालेका छन् ।
अभिनेता दयाहाङले आफूले खेलेको पारिश्रमिकको बारेमा खुलाउन नचाहे पनि अहिलेको अवस्थामा राम्रै कमाइ हुने भएकाले म्युजिक भिडियोलाई निरन्तता दिएको बताएका छन् ।

दयाहाङ मात्र हैन नेपाली चलचित्रका अभिनेताहरू भनेको जति पारिश्रमिक पाएपछि म्युजिक भिडियोमा आकर्षित हुन थालेका हुन् । अभिनेता विपिन कार्कीले पनि तीन साता अघि नयाँ ‘गीत डर छैन…’मा अभिनय गरे । दयाहाङजस्तै अभिनेता विपिनले पनि मागेको जति पारिश्रमिक पाएपछि सो म्युजिक भिडियोमा काम गरेका हुन् ।

अभिनेता पल शाह त नियमित रूपमा म्युजिक भिडियोका काम गर्ने अभिनेता हुन् । गत असारका अन्तिमतिर लकडाउन खुलेपछि म्युजिक भिडियोमा व्यस्त हुन थालेका उनले यो दुई महिनामा एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । उनलाई पनि संगीतकर्मीले मागेअनुुसारको पारिश्रमिक दिने गरेका छन् । एउटा भिडियोबाट १ लाख रुपैयाँसम्म पारिश्रमिक लिने गरेका यी अभिनेताले कुनै भिडियोमा आफ्नो पारिश्रमिक घटाएर ७५ हजार रुपैयाँमै काम गरिदिए । यसरी उनले ७५ हजारमा काम गर्ने भएपछि सातामा तीनवटा समेत म्युजिक भिडियोमा यी अभिनेताले काम गरेका छन् ।

यस्तै, अभिनेता पुष्प खडका पनि पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त छन् । उनलाई पनि भनेको जति पारिश्रमिक प्राप्त हुने गरेकाले भिडियोका नियमित काम गरेको बताएका छन् । तर, उनले आफ्नो पारिश्रमिकबारे खुलाउन चाहेनन् । एकपछि अर्को म्युजिक भिडियोमा लगातार काम आएपछि दंग परेका यी अभिनेताले ५० हजार रुपैयाँदेखि ७५ हजार रुपैयाँसम्म पारिश्रमिक माग्ने गरेको पनि उनका निर्देशकहरूको कथन छ ।

यस्तै, अभिनेता नाजिक हुसेनको पनि पछिल्लो समय म्युजिक भिडियोबाटै राम्रो कमाइ हुने गरेको छ । उनले पनि गत असारयता आठवटा म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । चलचित्रको छायांकन हुन नसकेको बेला राम्रो पारिश्रमिक दिइने भएकाले आफूले म्युजिक भिडियोलाई निरन्तता दिएको यी अभिनेताको कथन छ ।

एक समय अभिनेता नाजिर पनि म्युजिक भिडियो खेल्न मान्दैनथे । पछिल्लो समय चलचित्र निर्माण नभएपछि खाली बस्नुभन्दा काम गर्नु उपयुक्त ठानेर उनले म्युजिक भिडियोलाई निरन्तता दिएका रहेछन् । अभिनेता नाजिर हुसेनले आफ्नो परिश्रमिक बताउन चाहेनन् । तर, उनले एउटा म्युजिक भिडियोबाट कम्तीमा ५० हजार रुपैयाँ र बढीमा १ लाख रुपैयाँसम्म लिने गरेको उनका भिडियो निर्देशकहरूको कथन छ ।

नेपाली चलचित्र ठप्प भएका बेला अभिनेताहरू यसरी म्युजिक भिडियोमा आकर्षित हुनुको कारणबारे चलचित्र एवं म्युजिक भिडियो निर्देशक मिलन चाम्सले भने, ‘गायक गायिकाहरूले उहाँहरूलाई भनेअनुसारका पारिश्रमिक दिनुहुन्छ । एक दिन काम गर्दा प्राप्त हुने पारिश्रमिकले उहाँहरूको एक महिना दिनसम्मको खर्च चल्ने भएकाले अहिले नायकहरूको लागि म्युजिक भिडियो बाँच्ने आधार बनेको छ ।’


Your Views
Related News