बिहानैं उठेर नुहाएँ, कपालमा मेहेन्दी राखें र पुनः नुहाएँ । सबै काम सकेर दिउसोपख आशा छोरीको पसलमा गएँ । आजकल मेरो कपाल अति झर्ने समस्या भएको छ । कपाल झर्नबाट रोक्छ भनेर छोरीले भिटामिन इ भएको तेलले टाउकोमा मालिस गरिदिइन् । छोरीले सोधिन् –मामु किन हो आज हजुर नुहाएर पनि फ्रेस देखिनु भएको छैन ।

मानस बाबुको ममी जमूना दिदीले पनि भन्नु भो –कस्तो लोजो देखिनु भको बहिनी आज ? तपाइको संगैको घरमा बस्ने भाइलाइ कोरोना देखिएर किर्तिपूर अस्पतालमा राखेको छ अरे नि । किन हिड्नु भको बहिनी ?उहाँको कुराले मनमा चस्स भयो ।

दिर्घायूमा गएँ – तारा जीले मेरो प्रेसर नाप्नु भो ,नर्मल थियो । लक्ष्मी बहिनीर सुरज सरले भन्नु भो– हजुरको अनुहार सुनिएको जस्तो देखिएको छ म्याम । सीता दिदीले मननैं चस्स दुख्नेगरी भन्नु भो – तपाइको घरसंगैको मान्छेलाइ कोरोना लाको भन्या होइन बहिनी । किन हिड्नु भको ?

मलाइ नैं कोरोना लागेको जसरी गालीको भाषामा भन्नु भो ।उताको टोलै सिल गरेको छ , एउटा घरमा देखिएको भएर । तपाइको टोलमासिल गरेको छैन र बहिनी ?

पहिले निमोनया भएको थियो । तर दुइबर्ष अघि देखि रुघाखोकी लागेको थिएन, दिर्घायूको सप्लिमेन्ट खाएपछि । तर प्रेसरको दवाइ खाइ रहनु पर्ने भएकोले दिर्घायूमा स्वास्थ्य अबश्था चेकजाँच गर्न गैरहन्थें । त्यहाँ गएपछि त्यहाँको वातावरणले गर्दा मानसिक रुपमा पनि स्वस्थ्य छु भनेर ढुक्क हुन्थें ।

मैले भनें –म त हिडी राख्नु पर्छ दिदी ।अझै मेरो श्रीमान् झन् बिहानैदेखि अनुगमनमा जानु पर्छ । अव नहिड्नुस बहिनी बाहिर –उहाँले आदेशको भाषामा भन्नु भो । उहाँले मलाइ मायाले भन्नु भएको हो, कुरा सहि पनि हो । तर यसैबाट प्रष्ट हुन्छ कि आममानवको सोचाइ र चेतनास्तर कस्तो छ भनेर ।स्वास्थ्य संस्थामा त योे व्यवहार हुन्छ भनें, आम समुदायमा कस्तो व्यवहारको आशा राख्नु र जनताले ?

मनमनैं सोचें–सामाजिक दुरी होइन , भौतिक दुरी भनेर बुझ्नु पर्ने हो मानिसहरुले । मानिसले मानिसलाइ समाजबाट नैं बहिस्कार गर्ने अवश्था भैरहेको छ यो समाजमा । यो त राम्रो सन्देश होइन ।मृत व्यक्तिहरुलाइ आफन्तले समेत छुन नपाउने , सेनाले लगेर डोजरले खनेको खाल्डोमा पुरिदिने । कस्तो आयो समय ,संस्कार त पूरै लोप गरायो नि कोरोना माहामारीले ।संसारभर कोरोनका विमारी थपिएका थपियै छन् ।

घर आएर छिमेकी बहिनी दिक्षालाइ म्यासेज गरें । उहाँले भन्नु भो – किर्तिपूरमा लगेको छ, हाम्रो पनि रिपोर्ट नेगेटिभ आयो दिदी । यो सुनेर ढुक्क भएँ ।

शरिरमा असजिलो महसुस भैरहेको थियो । त्यो दिन सरकारले गरेको पहिलो निशेधाज्ञाको दुइ दिन अघि थियो ।

घरमा आएपछि साँझदेखि रुघाखोकी लाग्न शुरु भयो । भोली गीतको फइनल मिक्सिङ गर्ने हो ,स्टुडियो जानु पर्छ है बहिनी । आनन्द कार्की दाइ र शक्ति बल्लभ दाइसंग भएको कुराकानी र योजना अनुरुप स्टुडियो जानु थियो भोली ।तर रुघाखोकी लागेपछि जाने कुरा भएन । आनन्द दाइलाइ म्यासेज गरें – दाजु म बिमारी भएँ, जान सक्दिन । कस्तो दिक्क लाग्यो, काम अधुरो हुने भयो भनेर ।

त्यही रातीदेखि रुधाखोकीले अति च्याप्यो ।भिक्स लगाएर, बाफ लिएर टाउको बाँधेर ओच्यानमा उठ्ने, बस्ने,ओल्टिने, पल्टिने गर्दै बसें । आँखाबाट आँशु र नाकबाट सिगान तरतरी बगेको छ । हाछिउँ आएको छ ,लगातार खोकी आएको छ । राती कसैलाइ बोलाइन । बिहान श्रीमानले थाहा पाएर साइनेक्स दिनु भो, खाएँ ।फेरीबिहानैं बाट पखाला शुरु भयो ।सानु छोराले फस्ट एड बक्सबाट मेट्रो झिकेर खान दिए ।

दिनमा तीन पटक मेट्रो खाँए । पखलापाँच दिनमा रोकियो । तर रुघाखोकी लागेर यती सम्म भयो कि खोक्दा छुलछुली पिसाव आउने । लगाएको म्याक्सी भिजेरगनाउने, दिनमै दुइटा फेर्नु पर्ने भयो । ओछ्यानमा पुरानो तन्ना पट्याएर राख्नु पर्ने अवश्था भयो ।

तर जरो भनें आएको थिएन । कोरोना होइन भन्ने कुरामा श्रीमान पनि निश्चिन्त हुनुहुन्थ्यो ।तर पनि चौध दिन आइसोलेसनमा बसें ।
यसैविच कलेजका साथी हरुसंग कुरा भयो । नीतुजीले ठीक हुन्छ , नआत्तिनु भन्नु भो । बिनोद सरले भन्नु भो –अस्पताल जान भन्दा नजानैं ठीक हुन्छ, झन् सर्ला भन्ने डर ।आफैंलाइ पनि जान मन भएन । अस्पताल नगइ आफ्नो डक्टर आफैं भएर, उपचार गरें।

किरण सरले भन्नु भो – पिर नगर्नु ,अहिले यस्तो अवश्था छ ,सबै रोकिएको छ । पहिले राम्रोसंग निको हुनु,पछि सरसल्लाह गरौंला नि ।
कृष्ण अष्टमी आयो, गयो ।माइत त यो पाला जाने कुरैथिएन ।आमा लमजुङमा हुनुहुन्छ । म विमारी भएकोले मेरो बढी चिन्ता लिनुहुन्छ र फोन गरिरहनु हुन्छ । दाजु र भाउजुहरुले फोन गर्नु भो, अझबढी नरमाइलो मान्नु भो ।मलाइ साह्रै नमिठो र नरमाइलो भो । संसारै शुन्य शुन्य लाग्यो । माइत त जान पाइन ,पूजा समेत गर्न पाइन भनेर ।

दुइ छोराहरुले खाना कोठामै ल्याइदिन्थे , छोराले अति सेवा गरे मेरो, यो बेलामा ।खाना रुच्थेन ,छोराले मलाइ कर गरेरै समयमा खाना , पानी रऔषधी खान लगाए । बेसार, नुन, ज्वानो मसला मिसाएको पानी खाने र बाफ लिने गर्दा गर्दा बल्ल अलि ठिक भयो रुघा एघार दिनमा । तर खोकी त लगि रहन्थ्यो । भुटेको ज्वानो चपाइरहन्थें र तातोपानी हरक्षण पिइरहन्थें । तर शरिर टुक्राटुक्रा पारेर काटेको जसरी करकरी दुखिरहन्थ्यो ।

उठेर हिड्न लाग्दा रिंगटा लाग्ने,टाउको दुख्ने र आँखा हेर्नैे नसक्ने अवश्था भएको थियो । निद्रामा ऐठन भएर, केले केले घाँटी थिचेको जस्तो भयो , शरिर उठाउन खोज्दा उठ्नैं सकिन । चिच्याएँ –लौ मलाइ के हुन लाग्यो? मर्छु कि के हो ?दुइ चार रातमा लगातार यस्तो भयो ।दिउसै पनि झस्किइने र डराउने भएँ ।केही कालो बस्तुले थिचेको जस्तो ।टाउको भारी भएर दुख्ने,आँखाको परेलामाथि उठाउन नसक्ने भएँ । उज्यालो त हेर्नै नसक्ने भएँ ।

शोभा सिलवाल दिदीले पनि फोनमा भन्नुभो–सिरानीमुनी साँचो राख्नु बहिनी। मनको सन्तोषको लागि राखें । मेरा छोराहरुका गुरु जितेन्द्र सरले पनि बाबुहरुको पढाइको बारेमा र मेरो बारेमा सोधिरहनुहुन्थ्यो । त्यसैले उर्जा थपिएको महसुस हुन्थ्यो।

दिदीलाइ फोनबाट यो कुरा भनें । मेरो दिदीले भन्नु भो –कमजोरीले पनि होला । भगवानको बिगुती लगाएर सुत अनि भगवानको पुस्तक सिरानीमूनी राखेर सुत।दाजुसंग फुक न न सानु । मनको सन्तोष त्यहि गरें बिश्वास भनुँ कि अन्धविश्वास । आफूलाइ परेपछि आफ्नैं मनशान्तिको लागि गरिदो रहेछ यस्तो पनि ।

दाजुले सपनामा पाएको ज्ञानले फुक्नु ुहन्छ । म्यासैन्जर कल गरेर तीन पटक सम्म दाजुले फूकी दिनु भयो । अली हल्का महसुस भयो । तर दाजुले नैं भन्नु भो कमजोर भएर हो नानु –पोषिला खानेकुराहरु प्रशस्त खाउ र आराम गर ठीक हुन्छ । सनम बहिनीले पनि फोन गरिन् । मुनु छोरीले संधै फोन गरिरहिन् ।

सन्जालबाट टाढै थिएँ ।कोठाभित्रै विस्तारै हिड्दै दिएँ । बिमारी भएको बाह्रौं दिनको साँझपख थियो ।श्रीमान् अफिसबाट आउनु भो र मलाइ सुनाउनु भो –घिमिरे वा त वित्नु भएछ नि है । हो र मलाइ त थाहै थिएन । सन्जालभरी सबै त्यही छ समाचार छ त, हेरन ।यो सुनेपछि मन सिररिङ्ग भयो । ओच्यानमाथचक्क बसें । अति स्तव्ध भएँ । बुबासंग भेटेका हर समयहरु संझिएँ । के गर्नु मानिसको चोला जन्मसंगै मृत्यू जोडिएर आएको हुन्छ । एकसय दुइबर्ष बाँच्नु कम हो र । तर पनि मनले मान्दो रहेनछ ।आफैं अहिले मर्छु कि बाँच्छु भनेर दोधारमा बसीरहेको बेलामा बुबाको मृत्यूले विचलित बनायो केही समय ।

सन्जाल हेरें , सबैतिर त्यहि छ समाचार –राष्ट्रकवि माधव प्रसाद घिमिरे को निधन ।मैले पनि आफ्ना फेसबुकमा भएका फोटा शेयर गरेर श्रदान्जली लेखें ।

केके भावना मनमा पलायो । हात कपाइ कपाइ एउटा कथा लेखें । भोली बाबुको मुख हेर्ने दिन सान्दर्भिक हुन्छ भन्ने सोचेर श्रीराम राइ जीलाइ मेल गरिदिएँ, एकै बसाइमा लेखेको कथा–चरीको चिठी, विना सम्पादन नागरिक दैनिकमा पठाएँ ।

श्रीराम राइ जीले म्यासेन्जरमा कल गर्नु भो –मैले श्रीराम जीलाइ मेरो बिमारी अवश्थाबारे बताएँ । तपाइ त लमजुङकोहुनुहुन्छ अन्जना जी । फेरि घिमिरे बुबासंग धेरै नजिक भएर काम गर्नु भएको । लेख्नुस् न केहि ।

शरिरकमजोर नैं छ , हात काँपीरहेकाछन् । तर आत्मविश्वास जगाएँ । आज नेलेखे कैले लेख्ने ?र म मरें भनें ,मेरा मनका कुरा कस्ले थाहा पाउने ? अनि कस्ले लेखिदिने ? एकाएक कताकताबाट उर्जा बढेर आए जस्तो महसुस गरें । र लेखें मन भारी हुँदै बुबाको अन्तिम सम्झना श्रदान्जली स्वरुप –फूलको थुंगा बहेर गयो गंगाको पानीमा….। र श्रीरामजीलाइ इमेल गरेंर पठाएँ ।

मनले बाँच्ने आशा हारिरहेको, हौसले ठाउँ छोडेको अवश्थामा पनि मलाइ लेख्न प्रेरित गर्नुभयो । अझ भनौं शव्दको माध्यमबाट बाँच्न हौस्याउनु भयो ।श्रीराम जी प्रति हार्दिक आभारी छु ।

एउटा कुरा भन्नै विर्सिएछु –बिहानैं हरिराम दाजुले फोन गर्नु भो –बहिनी कता छौ?घिमिरे बुबाको श्रदान्जलीको लागि आर्यघाटमा जान्छ्यौ ? मैले भनें –दाजु म आफैं बिमारी भएर आइसोलेसनमा छु ।

तीजको दिनमा बिमारी भएको सोह्रौ दिन थियो । न त अघिल्लो दिन दर खानु, न त नाच्नु गाउनु ? तर पनि तीजको दिनब्रत बस्न र पूजागर्न मन लाग्यो । नहाएर पूजा गरें ,ब्रत बसें ।

ब्रत बसेको दिन सुत्नु हुँदैन, बरु भजन सुन्ने ,गीत गाउने गर्नु पर्छ भन्ने संस्कार सुन्दै , सिक्दै र पालना गर्दै आएकी म ।सासुआमासंगै ब्रत बसेर पूजा गरें ।

यसो सोचें – म मरें भनें पनि जिवित रहनुहुने मेरा शुभचिन्तक, आफन्तहरुको लागि चिनो छोडेर जान्छु ।बाँचें भने सम्झना हुनेछ । नाँच्न रहर त संधै लाग्छ ।

त्यो बेलामा हेटौेडामा ससुरा र नन्दद्घारा हल्या गरिएकी सुस्मितालाइ संझें । अरु त अरु उनकी आमालाइ उनको टिकटक जीवनभरको लागि चिनो भएको छ ।

अति कमजोरी भएको भएता पनि केहीगीतका टुक्रा टुक्रा नाचें । टिकटकमा राखें ,मेरो यूट्यूवमा पनि राखें, फेसबुकमा राखें ।
तिजको दिन बेलुकाआरती गरेपछि श्रीमान्ले फलफूल र दुध त खाउ भनेर कर गर्नु भो । खाएँ , तर त्यहि रातीबाट रुखाखोकी र दिसा चल्यो । दिशा रोक्नको लागि मेट्रो खाएँ रातीबाट नैं ।मधवन फार्मेसीबाट एन्टीबायोटिक ल्याएर तिन दिन खाएपछि भोली पल्ट राती खलखली पसिना आयो । व्यूँझिएँ, शरिर कपास जस्तै हल्का र छ्याङ्ग भएको थियो ।

पसिना आए पछि विमारी निको हुन्छ रे भन्ने सुनेकी थिएँ । अव त म निको भएँ , म बाँचे भनेर खुसी हुँदै अ‍ेच्छ्यानमा पल्टिइ रहें ।अचानक मृत्यूको मुखबाट फर्किए जस्तो लाग्दैछ मनमा ।

म खुसी भएको र रमाएको मात्रै मेरा शुभचिन्तिकहरुलाइ, आफन्तहरुलाइ देखाउन चाहन्थें । तरनाचेको भिडियो हेरेपछि कसै कसैकसैले बिमारी भएको बिश्वास गर्नु भएन । आफ्नो अवश्था यस्तो भएको थियो । ठीक भएपछि फोटो फेसबुकमा राखें । बिमारी भएको फोटो किन फेसबुकमा राख्नु भको मामु ?भनेर सानु छोरा रिसाए ।

वरिष्ठ गायिका मिरा राणा दिदीको घर हाम्रोघरबाट दुइ घर उता छ । दिदीले मेरो स्वास्थ्य अवस्थाको बारेमा सोध्नको लागि फोन गरिरहनु भो । दिदीको यो स्नेह र मायाले मनमा ढाडस मिलिरह्यो । प्राय छतबाट हाइहेल्लो हुन्छ हाम्रो । सायद दिदीले मिस गर्नु भएको होला, मलाइ छतमाथि नदेखेर । सत्यराज आरसी भाइले पनि हालखवर सोधी रहनु भयो ।

मेरो दिदी सावित्री शर्मा र भिनाजुले पनि फोन गरिरहनु भयो । अनेक उदाहरणहरु दिदैं ठिक हुन्छ नआत्तिनु भनेर ढाडस दिनु भो । रोग आधा सन्च भएको महसुस गरें ।

यसैविचमा साबित्री दिदीले मलाइ भन्नु भो – हाम्रो संस्था मार्फत् हुइलचेयर र खाध्यान्न सहयोग पढायौं बहिनी ।दृष्टिविहिन भाइ बासुदेव अधिकारी मार्फत् अपाङ्गता भएका व्यक्तिहरुको लागि । यो सुनेर निकै खुसी लाग्यो । सेवा नैं धर्म हो ।

आफू बिमारी हुँदा पनि यस्तो राम्रो खवर सुन्न पाउँदा अति खुसी लाग्यो र खुसीले यसरी रोएँ कि रोए पछि मन हल्का भयो ।

चितबनबाट धनराज गिरी बाले पनि मेरो स्वास्थ्य अवश्था बारे सोधी रहनु भयो । उहाँको आर्शिबादले पनि निकै उर्जा मिल्यो ।

सोचें– मैले बाँच्नै पर्छ । आत्मविश्वास जगाएर उठ्नें साहस जुटाएँ । अलि ठीकभए पछि बिहानबिहान विस्तारै उठेर, हिडेर छतमा गएँ ।परपर देखिने पहाडहेरे, रुख विरुवा, फलफूल हेरें । चराहरुचिरविर गर्दैआकाशमथिमाथि उडेर परपर पुगेको को हेरें ।सूर्यको मधुर प्रकाशले शरिरमा शक्तिको संचार गरेको महसुस गरें ।

साँझ पख आकाशमा, बादल,चम्किइरहेका जून,तारा हेर्दै बिस्तारै हिडें छतमाथि । बाटोमा मानिसहरुको चहलपहल हेरें । मलाइ केही भएको छैन जस्तो पो भयो त । त्यतीबेला सबै विर्सिएँ अनि कोठमा गएर कविता रगीत लेखें । मन हल्का भयो ।

मेरा दाजु सूर्यकान्त भारतको मुम्बइमा बस्नुहुन्छ , दाजु भरखरै मात्र कोरोना मुक्त हुनु भको छ । भाइ पूर्णकान्तको पनि फोन आइरह्यो । मेरीज्योती दिदी ,राजेन्द्र खनिया दाइले पनि फोन गरेर हालखवर सोधीरहनु हुन्छ । धेरैजना हुनुहुन्छ मलाइ संझने आफन्तहरु ,सबैलाइ संझी रहेकी छु । यहाँ नाम छुटेका हुन सक्छन् तर मनले सदा संझिरहेकी छु । हजुरहरुको माया ,स्नेह र हौसला नैं मेरो लागि खुराकी हुन् ।कोरोना भगाएर बाँच्ने आधार हुन् ।

शारदा माइजुले अमेरिकाबाट मेसेन्जर कल गरेर भन्नु भो –नआत्तिनु भान्जी , यस्तो विदा नैं नदिने ठाउँमा त हामी हिम्मत जुटाएर काम गर्दैछौं ।
जनार्दन सर र शशी दिदीले पनि म्यासेन्जर कलमा ढाडस दिनु भो –हिम्मत नहार्नु, केही हुँदैन । हिरा परियार दिदीले पनि फोन गरेर हालखवर सोधीरहनु भयो ।

केशव सर, रुक्मिणी म्याम पनि आइसोलेसनमा हुनुहुन्थ्यो, त्यसैले लेखहरु छापिन सकेको थिएन । मेरी प्रिय दिदी लक्ष्मी उप्रेतीले पनि मयासेन्जरमा भन्नु भो –आराम गर्नु बहिनी सबै ठीक हुन्छ । सुधा मैनाली म्यामले पनि मलाइ उर्जा थप्ने कुरा गर्नु भो फोनबाट ।

रेणुका जीले बिके जीलाइ हस्पिटल लाने ल्याउने गरेको छु भन्नु भो । साँच्चैं उहाँहरु त यसरी संघर्ष गर्दै हुनुहुन्छ भनें मलाइ त ठीक हुन्छ भन्दै हिम्मत जुटाएँ । मेरी प्रिय साथी संगीतकार रेखा पौडेलको घर पनि नजिकै छ । कस्तो भेट्न आउन मन छ प्यारी ,आउन मिलेन के गरुँ ? उहाँले म्यासैन्जर कलबाट भन्नु भो –चिसो लागेर होला ज्वानो र मेथी पड्काएर टाउकोमा ठोक्नु अनि घाममा बस्नु त ठीक हुन्छ । २,४ दिन त्यसो गरें, अलि ठिक भएको महसुस भयो ।

पोखराबाट रामभक्त जोजिजु जीले गीत रेकर्ड भएको लाइभ गरें भनेर म्यासेज गर्नु भो । बेलुका हेरें । खुसीले निशव्द भएँ, मात्र खुसीले आँखा रसाए ।

आनन्द दाजुले गीत यूट्यूवमा राखौं बहिनी भनेर फोन गर्नु भयो ।अव त शुभ समाचार आयो, म धेरै पुलकित भएकी छु ।

सबैको माया, स्नेह र शुभाआर्शिवाद पाएर आज धेरै खुसी भएकी छु । सकारात्मक सोचाइले परिणाम पनि सकारात्मक आउँदो रहेछ ।

हे भगवान, तिमी प्रतिको आश्था बिश्वास कहिल्यै डगमगाउन नदेउ । परिक्षा लिइ रहन्छौ ,फेरी पास गरिदिन्छौ । त्यसैले त मरिसकेको बिश्वास पूनः जागेर जिउने रहर पलाएको छ ।

बाँच्नको लागि, खुसी हुनको लागिस–साना कुराले पनि हिम्मत जुट्ने रहेछ,उर्जा मिल्ने रहेछ । यती धेरै माया, स्नेह र आर्शिवादले आज म बौरिएँ । अझ भनौं नयाँ जूनी फेरें जस्तो महसुस गर्दैछु ।

विमारी अवश्थामा हुँदा प्रायः आमाको काखमा निदाएको कल्पना गर्दै ओच्छ्यानमा पल्टिइ रहन्थें ।आमालाइ संझदा अलीबढी आनन्द महसुस हुन्थ्यो ,शरिर र मनमा । भगवानसंग मनमनैं प्राथना गर्थे– अहिल्यै नलगिदेउ भगवानु ,मेरा छोरा टुहुरा हुन्छन् ।

जव ओच्छ्यानमा पल्टिइ रहेकी हुन्थें– मलाइ माया गर्ने र माया नगर्ने सबै मानिसहरुलाइ संझिरहें। आखिरी बाँचुन्जेलको झझल्को र मरेपछि सम्झना त रहेछ जिन्दगी ।

कवि नवराज पराजुलीको कविता अंश याद आइरहेको छ –

म मर्छु जस्तो लागेको दिन तिमीलाइ सम्झन्छु !

म बाँच्छु जस्तो लागेको दिन पनि तिमीलाइ संझन्छु !!


Your Views
Related News