काठमाडौं । तपाईंलाई कुनै शब्द, घटना, व्यक्ति वा जुनसुकै विषयको बारेमा होस् जान्ने जिज्ञासा छ भने तपाईं पुस्तक पल्टाउनु हुन्न । सिधै आफ्नो मोबाइल वा कम्प्युटरको वेब ब्राउजरमा गएर त्यो शब्द टाइप गर्नुहुन्छ । त्यसपछि सबैभन्दा माथि तपाईंले विकिपिडियामा जानकारी देख्नुहुन्छ ।

कहिलेकाहिँ गुगल सर्च इन्जिनभित्र खोज्दा माथि दायाँतिर एउटा बक्स नै देख्नुहुन्छ । त्यहाँ तपाईंले खोजी गरेको विषयको विस्तृत जानकारी र तल विकिपिडिया लेखिएको हुन्छ । धेरैले यसलाई गुगलकै एउटा डेडिकेटेड पेज भनेर पनि बुझ्ने गरेका छन् ।

तर विकिपिडिया गुगलको प्रोडक्ट वा पेज होइन । यो त एउटा छुट्टै वेबसाइट हो । विकिमेडिया फाउन्डेसनबाट सञ्चालित छुट्टै गैरनाफामुखी जानकारीमुलक पेज हो यो ।

गुगल सर्च इन्जिनले पनि विकिपिडियालाई एउटा विश्वसनीय जानकारीमूलक पेज मानेको हुँदा यो आफ्नो मेटा डेटाका कारण गुगलको माथिल्लो दायाँतिर आएर बस्ने गर्दछ ।

हामीले हेर्ने अधिकांश विकिपिडिया आर्टिकल तथा पेजहरु अंग्रेजी भाषामा हुन्छन् । तर तपाईंलाई थाहा नहुन सक्छ विकिपिडिया ३१३ भाषामा लेखिने गरेका छन् । विकिपिडियाले पनि गुगलले जस्तै क्राउडसोर्सिङको माध्यमबाट यति धेरै लेख तथा जानकारीहरु आफ्नो पेजमा सम्प्रेषण गर्दछ ।

विकिपिडिया गैरनाफामूलक संस्था विकिमेडियाको एउटा प्रोडक्ट हो । यसले विशेषगरी डोनेसनमा काम गर्छ । विदेशतिर विद्यार्थीले विकिपिडियाबाट केही पढेपछि त्यसलाई केही पैसा डोनेसन गर्ने गर्छन् । तर नेपालमा न त डोनेसन गर्ने चेतनास्तर छ, न त पेमेन्ट च्यानल नै ।

यही चेतना र जानकारीको कमीका कारण नेपालका सामाग्री र नेपाली भाषाका सामाग्रीहरु विकिपिडियामा एकदमै कम छन् । आज हामी अमेरिकाको कुनै राष्ट्रपति वा शहरको बारेमा केही लेख्नुपर्‍यो भने विकिपिडियामा इतिहास नै खोजेर पाउन सक्छौं तर नेपालका प्रधानमन्त्री केपी ओलीको बारेमा खोज्यौं भने सामान्य जानकारी बाहेक केही पाउन सक्दैनौं ।

१० कक्षाको बालकलाई नेपाली संगीतकारको बारेमा केही लेख भन्याे भने उसले पनि विकिपिडियामा पर्याप्त जानकारी पाउन सक्दैन ।

यसै समस्याको समाधान गर्न र विकिपिडिया जस्तो ग्लोबल प्लेटफर्ममा नेपाल र नेपालका बारेमा सम्पूर्ण सूचना तथा आर्टिकलहरुलाई सम्प्रेषण गर्न अहिले नेपालमा पनि समुदाय स्तरमा भोल्युन्टियरी योगदानको कामहरु भइरहेको छ । तर यो कम्युनिटी अहिलेसम्म दर्ता भइसकेको छैन ।

नेपालमा सन् २००२ मा विकिपिडियाको नेपाली संस्करण सुरू भएकाे विकिपिडियामा योगदान गर्दै आइरहेका भोल्युन्टियर युवा सन्दिप राउत बताउँछन् । हाल नेपाली भाषामा ३३,४४० वटा साना-ठूला लेखहरू रहेको र यसमा भएका जम्मा नेपाली पेजहरूको संख्या भने ५० हजार भन्दा बढी रहेको उनले जानकारी दिए ।

उनका अनुसार नेपाली विकीमा हालसम्म ४९,७८९ प्रयोगकर्ताहरू दर्ता भएका छन् जसमध्ये सक्रिय प्रयोगकर्ताहरू सरदर ११० जना सक्रिय रहेका छन् । विकिपिडियामा नेपाली बाहेक नेपालभित्र बोलिने अरू भाषाहरूमा पनि पृष्ठहरू उपलब्ध छन्।

नेपालमा अहिले नेपाल अर्थात् नेवारी भाषाभोजपुरी भाषामैथिली भाषाडोटेली भाषा लगायतमा विकिपिडिया लेखिएका छन् ।

विकिपिडिया यिनै स्वयंसेवकहरूबाट लेखिन्छन्, संशाेधन, परिमार्जन तथा अद्यावधिक गरिन्छन् । यसका धेरैजसो लेखहरू इन्टरनेटमा पहुँच भएका जो कोहीले पनि संशोधन,परिवर्तन र परिमार्जन गर्न सक्छन्।

विकिपिडियाका मुख्य सर्भरहरू संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यमा अवस्थित छन्। अन्य सर्भरहरू एम्स्टर्‍ड्याम र सउलमा पनि छन्। सन् २००१ मा जिम्मी वेल्स र लारी स्याङ्गरले यसको सुरुवात गरेका थिए।

हाल यो इन्टरनेटमा सबैभन्दा ठूलो र प्रख्यात सन्दर्भ सामग्री बन्न पुगेको छ। नेपालमा पनि विकिपिडियाको स्थापनाकालदेखि नै प्रयोग हुँदै आएको हो । खासगरी कुनै पनि विषयको जानकारी पाउने र आफूलाई थाहा भएको विषयमा जोकसैले पनि लेख लेख्न वा सम्पादन गर्न सक्ने भएकोले विकिपिडियाको लोकप्रियता बढेको छ ।

हाल विश्वमा सबैभन्दा धेरै हेरिने ६ इन्टरनेट सञ्जालमध्ये विकिपिडिया पनि एक हो। विकिपिडियामा पुराना पेज तथा सामाग्रीमा अद्यावधिक, परिमार्जन गर्नुका साथै नयाँ शब्द वा व्यक्तिको लागि छुट्टै पेज पनि बनाउन सकिन्छ ।

‘तर आर्टिकल विकिपिडियामा बनाउँछु भनेर यत्तिकै बनाउने कुरा हुन्न’ सन्दिप भन्छन्, ‘मान्छेहरुले मलाई सर्च गरेको हुनुपर्छ । कसैलाई चासो नै छैन भने मेरो आर्टिकल बनाएर फाइदा छैन । जानकारीहरु फिड गर्दै गर्दा पुख्ता रेफ्रेन्स दिनु पर्छ ।’

गुगलले जस्ताे विकिपिडियाले भोल्युन्टियरलाई कुनै पनि किसिमको रिवार्ड वा पुरस्कार दिँदैन । तर यहाँ आफ्नो विकिपिडियाको महत्वलाई बुझेका मानिसहरुले आएर योगदान दिन्छन् ।

विजय चौरासिया पनि सन् २०१४ देखि विकिपिडियामा भोल्युन्टियरको रुपमा योगदान दिइरहेका छन् ।

‘२०१४ तिर सुरु गर्दा मैथिली भाषाबाट विकिपिडियामा लेखेँ,’ विजय भन्छन्, ‘त्यसपछि नेपाली भाषा हुँदै अहिले विकिमेडियाकै अर्को प्रोडक्ट विकिकमन्स मार्फत फोटोहरुमा योगदान दिइरहेको छु ।’

मोबाइल साथ हुँदा जुनै बेला जताबाट पनि योगदान दिन सक्ने हुँदा विकिपिडियामा भोल्युन्टियर गर्न सुखद अनुभव हुने विजय सुनाउँछन् । उनी कार्यलय समय सकिएपछि बेलुकी पख विकिपिडियामा लेख्ने गरेको बताउँछन् । ‘यसको कुनै नियमित रुटिन हुँदैन । कहिले दैनिक हुन्छ, कहिले धेरै दिन ग्याप हुन्छ । तर बेलुकी अफिसबाट आएर खाना खाइसकेपछि लेखिरहेको हुन्छु ।’

यस्तै २०१७ देखि विकिपीडियामा जोडिएका सन्दिपले भारतीय चर्चित अभिनेता कमल हसनलाई लिएर उनको विकिपीडिया पेजमा हचुवाको भरमा लेखिएका अनर्गल टिप्पणीलाई रिभर्स ब्याक अर्थात् (हटाइदिदाँ)गर्दा बीबीसीको समाचार पोर्टलमा उनको नाम आएको थियो ।

आफ्नो अनुभव टेकपानालाई सुनाउँदै विकिपेडिया जो पायो त्यसले जहाँबाट परिमार्जन गरेता पनि अप्रमाणिक कुराहरु भोल्युन्टियरले हटाउने गरेको सन्दिप बताउँछन् ।

‘विकिपीडियामा केपी ओलीको पेजमा जे पायो त्यही लेख्ने काम भइरहेको हुन्छ । त्यस्तोबेला कुन आईडी वा आईपीले यस्तो गर्‍यो भनेर हेर्न सकिन्छ । २०१९ मा कमल हसनको चुनावी समयमा हिन्दुत्वको बारेमा केही नराम्रो बोलेका रहेछन् । त्यो बेला उनको विकिपीडिया पेजमा जे पायो त्यहि लेखिएको रहेछ ।

त्यो मलाई चित्त नबुझे पछि मैले त्यसलाई रिभर्स ब्याक गरिदिए यो भइसकेपछि बीबीसीले यसलाई मेरो नाम सहित प्रकाशन गरेको थियो । यदि तपाईंले लेख्ने नै हो भने प्रमाणित कुरा प्रोपर रेफ्रेन्स दिएर लेख्नुपर्छ । कुनै पनि कन्टेन्टको बारेमा न्युट्रल भएर लेख्नुपर्छ र त्यसलाई साबित गर्न १० वटासम्म रेफ्रेन्स दिन सक्नुपर्छ ।’

विराटनगरका सन्दिपले अहिले विकिपीडिया लेख्ने र परिमार्जन गर्ने काममा मात्र योगदान दिइरहेका छैनन् । उनी यससम्बन्धी सचेतना अभिवृद्ध गर्न पनि त्यति नै लागि परिरहेका छन् । ‘

‘विराटनगरमा हामीले विभिन्न विकी क्याम्पियन सञ्चालन गरेका छौं,’ सन्दिप सुनाउँछन्, ‘लाहानमा २०१८ विकी क्याम्प कन्फ्रेन्स भएको थियो । २०१८ मा म बेङ्गलोरमा आयोजना भएको विकिमेडिया सार्क एजुकेसन कन्फ्रेन्समा सहभागी भएको थिएँ । तपाईंले सहभाागिताका लागि आवेदन दिएपछि योगदानको आधारमा उनीहरुले सहभागी गराउँछन् ।’

कम्युनिटीहरुले आयोजना गर्ने यस्ता सम्मेलनमा भोल्युन्टियरहरु भेला हुन्छन्, एकअर्कालाई सिकाउँछन्, नयाँ कुरा आएका छन् भने त्यसलाई कसरी प्रयोग गर्ने, भेन्डलिज्मलाई कसरी रोक्ने भन्ने छलफल गर्छन् ।

अहिले विकिपीडियालाई रिसर्च रेफ्रेन्सको रुपमा प्रयोग गर्ने कुरा विश्वभर छलफल भइरहेको पनि उनले सुनाए । ‘अहिलेकै मूख्य कन्सर्न भनेको यसलाई जोसुकैले एडिट गर्नसक्ने हुँदा भेन्डलाइज धेरै हुन्छ, त्यसलाई कसरी रोक्ने भन्ने कुरामा चर्चा भइरहेको छ,’ उनले भने ।

कलेज लेभलमा पढ्ने विद्यार्थीहरुले मेहेनत गरी तयार पारेको रिसर्च पेपर कलेजमा बुझाइसके पछि त्यो कवाडीको भाउमा बिक्री हुन्छ । तर राम्रो रेफ्रेन्स दिएर विकिपीडियामा त्यसलाई राखियो भने त्यो जीवनभर रिसर्चर विद्यार्थीको नामसहित त्यहाँ बस्छ ।

संसारले पनि त्यसबाट रिसर्चरलाई चिनिरहेको हुन्छ । तर यसो गर्नलाई विकिपीडिया जस्तो ग्लोबल प्लेटफर्म र यसको फाइदाको बारेमा जनचेतनाकै कमि भएको दुवै भोल्युनटियर बताउँछन् ।

विकिपीडिया विकिमेडीया फाउन्डेसनबाट सञ्चालित छ । यसका धेरै खालका प्रोजेक्टहरु छन् । विकिपीडिया जस्तै विकिपेडिया कमन्स जसमा फोटो, भिडियो, म्युजिक र मिडिया फाइलहरु हुन्छन् ।

विकी डेटा हुन्छ, जसले कुनै नाम आयो भने त्यो मान्छे हो कि जनावर हो, स्पेसीफाई गर्ने काम गर्छ । यस्तै विकी बुक्स, विकी लाइब्रेरी, विकी भ्वाइस जस्ता विभिन्न प्रोजेक्ट विकीमिडिया अन्तर्गत छन् । यी दुवै युवाहरु विकिमेडियाका अन्य प्रोजेक्टमा पनि संलग्न रहेका छन् ।

विकिपीडियामा यसरी फिड गर्नुहोस् जानकारी

विकिपीडियामा फिड र एडिट गर्न जसले पनि पाउँछन् । लगईन गरेर या नगरेर पनि दुवै तरिकाले एडिट गर्न पाइन्छ । विकिपीडियामा पनि फेसबुकमा जसरी साइनअप गरेर अकाउन्ट बनाउन सकिन्छ ।

पढ्नलाई मात्र त कुनै पनि अकाउन्टको आवश्यकता पर्दैन । तर एडिट गर्ने बेलामा आईडी राखियो भने एडिट गर्ने व्यक्तिको नाम त्यसमा हुन्छ । तर साइन अप गर्न मन पर्दैन भने सिधै एडिट पनि गर्न सकिन्छ । यस्तो बेला आईपी एड्रेस सिस्टममा देखा पर्दछ ।

विकिपीडियामा पेज कसरी बनाउने ?

सबैभन्दा पहिले आफ्नो बेव ब्राउजरमा गएर विकिपीडिया डट ओआरजी टाइप गर्नुहोस् । त्यसपछि विकिपेडिया खोलिन्छ । विकिपीडियामा लेख्नका लागि सबैभन्दा पहिले तपाईंले अकाउन्ट बनाउनुपर्छ । यसका लागि तपाईं माथिल्लो दायाँपट्टि क्रिएट अकाउन्ट लेखिएको ठाउँमा क्लिक गर्नुहोस् ।

त्यहाँ आफ्नो क्रेडेन्सियलहरु राखेर क्रिएट अकाउन्टमा क्लिक गर्नुहोस् । यति गरेपछि तपाईंको अकाउन्ट क्रिएट भयो । माथि दायाँ भागमा तपाईंले लग-ईन र लग-आउट देख्न सक्नुहुन्छ ।

पेज कसरी क्रिएट गर्ने ?

पेज क्रिएट गर्न विकिपीडियाको सर्च बक्समा गएर आफूले बनाउन चाहेको पेजको नाम लेख्नुहोस् । उदाहरणको लागि तपाईंले कुनै एउटा नेपाली फिल्मको लागि विकिपीडियामा सामाग्री फिड गर्न चाहनुहुँदैछ भने त्यसमा नाम लेख्नुहोस् ।

नाम लेखिसकेपछि त्यसलाई क्लिक गर्नुहोस् । अर्को पेज खोलिन्छ । त्यहाँ तपाईले आस्क फर इट टु बी क्रिएटेड मा क्लिक गर्नुहोस् । त्यसलाई क्लिक गरेपछि आर्टिकल क्रिएसनको पेज खोलिन्छ ।

त्यहाँ तपाईंले मोटो अक्षरमा क्लिक हेयर टु स्टार्ट अ न्यु आर्टिकल देख्न सक्नुहुन्छ । त्यसलाई क्लिक गरेपछि तपाईंले तीनवटा अप्सन देख्न सक्नुहुन्छ । नेक्स्ट, इडिट सेन्डबक्स र विकिपेडिया सेन्डबक्स 

नयाँ पेज क्रिएट गर्दै हुनुहुन्छ भने नेक्स्टमा क्लिक गर्नुहोस् । त्यसपछि त्यहाँ शर्त तथा नीतिको कुरा आउँछ । त्यसलाई राम्रोसँग पढ्नुहोस् । त्यसपछि पुन नेक्स्ट क्लिक गर्नुहोस् । त्यसपछि खोलिएको पेजमा तल तीनवटा अप्सन हुन्छन्, सेकेण्डको अप्सन क्लिक गर्नुहोस् ।

अब अर्को अप्सन आउँछ । त्यहाँ आइ ह्याभ डिस्कोज अप्सन चयन गर्नुहोस् । त्यसलाई क्लिक गरेपछि अर्को पेज खोलिन्छ । नेक्स्ट गरेपछि ड्राफ्ट नेम इन्टर गर्ने बक्स आउँछ । त्यहाँ तपाईले जुन नामबाट पेज खोल्न चाहेको त्यो नाम लेख्नुपर्छ । वा त्यसलाई माथि भ्युँ सोर्सबाट पनि हेर्न सकिन्छ ।

माानाैं त्यहाँ नेपाली फिल्मको नाम लेखिदिनुहाेस् । त्यो नाम लेखेर क्लिक गरिसकेपछि एउटा बक्स खोलिन्छ । त्यहाँ तपाईंले आफ्नो विषयको बारेमा सबै कुरा लेखेर पब्लिस गर्नुपर्छ । त्यो बक्सको माथिपट्टि सबै इन्स्ट्रक्सन दिइएको हुन्छ । त्यहाँ एउटा खुल्ला कपीमा प्रमाणिक र रेफ्रेन्स सहितका कुराहरु लेख्न सक्नुहुन्छ ।

लेखिसकेपछि तपाईंले माथिबाट इमेजको आइकनमा थिचेर इमेज पनि इन्सर्ट गर्नसक्नुहुन्छ । इमेज इन्सर्ट गर्दै गर्दा तपाईंले फाइल नेम, क्याप्सन पनि लेख्नुपर्छ । त्यसपछि अपलोड गरेर इन्सर्ट क्लिक गर्नुहोस् । त्यसपछि लेख्नेे कुराहरु लेख्नुहोस् ।

लेखिसकेपछि एडिट समरीमा जानुहोस् र थोरै डिस्क्रिप्सन दिनुहोस् र पब्लिस पेजमा क्लिक गरिदिनुहोस् । यसमा राखिएको केही कुरा पनि गलत र कपी पेस्ट हुनुहुन्न ।


Your Views
Related News