काठमाडौं । तीन वर्षदेखि बन्द रहेको जग्गाको कित्ताकाट अघिल्लो साताबाट खुला भएको छ । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालको मन्त्रिस्तरीय निर्णयबाट भूमियोग्य जमिनको खण्डीकरणमा रोक लगाउने सम्बन्धमा यसअघि जारी आदेश खारेज गरेसँगै यो कित्ताकाट खुला भएको हो ।

भ–ूउपयोगसम्बन्धी नियमावली लागु भएपछि नियमावलीअनुसार व्यवस्था हुनेगरी भन्दै तत्कालका लागि त्यस्तो कित्ताकाट खुला गर्ने निर्णय मन्त्री अर्यालले गरेकी थिइन् । यद्यपि यो निर्णयबारे विवाद उत्पन्न भएको र आदेशको कार्यान्वयन पक्षमा केही अन्यौलता देखिएपछि सम्बन्धित ठाउँमा अहिलेसम्म पनि त्यस्तो निर्देशन पुगिसकेको छैन ।

यो निर्णयसँगै व्यक्तिगत रुपमा घरजग्गाको कारोबार गर्ने व्यवसायी यतिबेला निकै उत्साहित छन् । तर, व्यवसायी भन्दा बढी खुसी जग्गा दलालहरु भएका छन् जसले खरिदकर्ता र बिक्रीकर्तामार्फत् सीधा कारोबार गराएर कमिसन लिन्छन् । केही भने सुरुमा बैना रकम दिएर मूल्य निश्चित गर्ने र  जग्गा किन्ने ग्राहक खोज्ने समेत गर्थे ।

तर, त्यसरी छोटो समयमै स्वामित्व हस्तान्तरण गर्न भने कित्ताकाटको कारण निकै अप्ठ्यारो थियो । घुमाउरो तरिकाले कित्ताकाट हुँदै आए पनि त्यसको लागि समय लाग्ने भएकोले यस्ता कारोबारीको कारोबार योबीचमा ठप्प हुँदै आएको थियो । त्यही भएर अहिलेसम्म उनीहरु ससाना टुक्रा जग्गाहरुकै कारोबारमा सक्रिय थिए । आफैले लगानी गर्ने व्यवसायीहरुले भने आफ्नो नाममा जग्गा किनेर प्लानिङ गर्ने र मौका पर्दा कित्ताकाट गर्ने गर्थे ।

खुसी छैनन् संस्थागत व्यवसायी

सामान्यतया जग्गाको कारोबारमा सहजता आउँदा घरजग्गा व्यवसायीहरु खुसी नै हुनुपर्ने हो । तर, यो निर्णयबाट संस्थागत घरजग्गा व्यवसायी (हाउजिङ परियोजना सञ्चालन गर्ने व्यवसायी) भने खुसी छैनन् । उनीहरुले यो व्यवस्थापछि आफ्नो क्षेत्रमा सहजीकरणको सट्टा झनै जोखिम देखेका छन् ।

जग्गाको कित्ताकाट खुले पनि संस्थागत आवास व्यवसायी (हाउजिङ व्यवसायी) लाई प्रत्यक्ष रुपमा कुनै असर गर्दैन । कित्ताकाट खुल्नुभन्दा अघि पनि हाउजिङ परियोजनाको काम रोकिएको थिएन । काठमाडौं उपत्यका विकास प्राधिकरणले त्यस्ता हाउजिङको प्रोजेक्ट सञ्चालनका लागि अनुमति दिँदै आएको थियो । यो प्रक्रिया अब पनि उस्तै हुनेछ ।

नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष मीनमान श्रेष्ठ कित्ताकाट खुला हुनु राम्रो भए पनि यसबाट आफूहरुले लाभको महशुस नगर्ने बताए । ‘हाम्रा प्राजेक्टहरु हिजो पनि सञ्चालनमा थिए, आज पनि चलिरहेका छन्, भोलि पनि चल्दै जानेछन् । संस्थागत रुपमा कारोबार गर्ने हामीलाई यस्तो परियोजना सञ्चालन गर्न कहिलै रोकिएको थिएन’ श्रेष्ठ भन्छन्, ‘त्यसैले कित्ताबाट खुल्दा हामीलाई प्रत्यक्ष रुपमा कुनै पनि लाभ छैन ।’

अप्रत्यक्ष रुपमा भने यो निर्णयलाई श्रेष्ठले सकारात्मक र नकारात्मक तरिकाले हेरेका छन् । ‘कारोबार सहज हुँदा बजारमा चहलपहल बढ्छ, किनबेच हुन्छ, घरजग्गा व्यवसाय चलायमान हुनु भनेको हामी पनि चलायमान हुनु हो । यो यसको राम्रो पक्ष हो’ श्रेष्ठ भन्छन् ।

तर, यसको अर्को पाटो पनि छ । व्यक्तिगत रुपमा हुने कारोबार बढ्दा संस्थागत कारोबार कम हुँदै जाने सम्भावना रहेको उनी बताउँछन् ।  संस्थागत हाउजिङमा आउने रुची र क्षमता भएकाहरु पनि यसरी रोजेको ठाउँ र एरियामा जग्गा किन्ने सहजता हुँदा त्यतातिर सिफ्ट हुने सम्भावना समेत रहेको उनको भनाई छ ।

‘संस्थागत आवासमा बस्नेहरु कम्तीमा पनि २÷३ करोड रुपैयाँ वा त्योभन्दा बढी खर्च गरेर बस्नेहरु नै हुन्छन्, उनीहरु व्यवस्थित बसाइको खोजीमा हुन्छन्, जसलाई हामीले फूलफिल (परिपूर्ति) गरेका हुन्छौँ । त्यसैले हामीलाई व्यक्तिगत आवास धेरै ठूलो असर त नगर्ला, तर केही हदसम्म चाहिँ असर गर्न सक्छ,’ श्रेष्ठले भने ।

कोरोनाको असर कस्तो पर्यो ?

नेपाल जग्गा तथा आवास विकास संघले केही समय अघि कोरोनाको असर नेपालको हाउजिङ बजारमा सकारात्मक रुपमै पर्ने आकलन गरेको थियो । कोरोनाका कारण अमेरिका, युरोप, अष्ट्रेलिया लगायतका मुलुकबाट करिब १ लाख मान्छे फर्किने भन्दै संघले त्यसमध्ये आधा जनसङ्ख्यासँग शहरी भेगमा आफ्नो जग्गा नभएको अनुमान गरेको थियो । ५० हजार जनसङ्ख्याको लागि करिब १२ हजार ५ सय घर आवश्यक पर्ने भएकोले यो आवश्यकताको परिसूर्ति गर्नेतिर अबको बजार केन्द्रित हुनुपर्ने निष्कर्ष संघको थियो ।

तर, अहिलेसम्म त्यसको प्रभाव सुरु भइनसकेको संघका अध्यक्ष श्रष्ठको भनाई छ । ‘अहिलेसम्म अन्तर्राष्ट्रिय हवाई उडान पनि खुलेको छैन, त्यसैले कोही स्वदेश फर्किहाल्ने सम्भावना पनि भएन । तर, उडान खुलेर नेपालीहरु फर्केपछि त्यसको प्रभाव देखिन सुरु हुने उनले बताए ।


Your Views
Related News