काठमाडौं । सामान्यतया विद्यार्थीहरु अध्ययनका लागि स्कुल जान्छन् । तर स्कुल नै विद्यार्थीको घरमा गएको खबर तपाँईले देख्नु त के सुन्नु पनि भएको छैन । तर आज हामी एउटा यस्तो विद्यालयबारे जानकारी गराउँछौँ जहाँ विद्यार्थीको घरमा स्कुल पुग्छ । भारतको कर्नाटकको गुलबर्गा जिल्लामा ओक्ले गाउँ रहेको छ । शहरदेखि ४० किलोमिटर टाढा अवस्थित यो गाउँमा करीव ४५,००० मानिस बसोबास गर्छन् ।

 

जसमा अधिकांश मानिसहरू कृषि कार्य गरिरहेका छन् । सिंगो गाउँमा एउटा मात्र सरकारी स्कूल छ जहाँ २०० भन्दा बढी बच्चाहरू अध्ययन गर्छन् । केही बच्चाहरु अरु गाउँहरुबाट त्यहाँ पढ्न आउँछन् । जब कोरोनाको कारण स्कूल बन्द भयो, विश्वभरकोजस्तै त्यहाँ पनि बच्चाहरूको शिक्षा बन्द भयो । अनलाइन पढ्न उनीहरूसँग स्मार्टफोन र इन्टरनेटको सुविधासमेत थिएन ।

विद्यालयका प्रधानाध्यापक सिद्धरामप्पा बिरादार भन्छन, ‘स्कूल बन्द भएपछि बच्चाहरू दिनभरि यताउता घुम्थे । उनीहरुका परिवारका सदस्यहरूले उनीहरूले भर्खरको पढाइलाई पनि बिर्सेको बताए । यस पछि हामीले स्कूलका शिक्षकहरूसँग बैठक गरेर निर्णय गर्‍यौं कि यदि बच्चाहरू स्कूल आउन सक्दैनन् भने हामी स्कूलहरू केवल बच्चाहरूको नजिक लैजानेछौं ।’

 

गुरबासप्पा ओक्लेको रक्कासागीको सरकारी स्कूलमा अंग्रेजी पढाउँछन् । उनी भन्छन्, ‘कोरोना संक्रमणको कारण बच्चाहरू स्कूलमा आउन सकेनन् । त्यसैले हामीले निर्णय गर्‍यौं कि हामी बच्चाहरूकहाँ जानेछौं । हामीले गाउँका बालबालिकाका अभिभावक र त्यहाँका स्थानीय नेताहरूलाई बोलायौं र भन्यौं कि हामी बच्चाहरूलाई पढाउन चाहन्छौं, तर यसको लागि खुला ठाउँ चाहिन्छ, हामी बच्चाहरूलाई खुला ठाउँमा सिकाउँदछौं ।

 

गाउँलेहरू संक्रमण बाट डराए, तर उनीहरू बच्चाहरूको लागि शिक्षा अभावको बारेमा चिन्तित थिए । उनीहरुले सहमति जनाए र ठाउँ प्रदान गरे ।’ केही हप्तामा ८ सामुदायिक विद्यालय ओक्लेमा खोलिएका छन् ।

 

कोही मन्दिरमा, कोही सामुदायिक हलको ठूलो ठाउँमा, कोही खुला आकाश मुनि पढ्दै आएका छन् । बच्चाहरूलाई साना समूहमा विभाजित गरिएको छ । सामाजिक दूरी कायम गर्न सकियोस् भनेर २०–२५ बच्चाहरूलाई प्रत्येक समूहमा राख्ने गरिन्छ ।

बच्चाहरूलाई मास्क र सरसफाइका सामानहरू पनि प्रदान गरिएको जानाइएको छ । कक्षा प्रत्येक दिन बिहान १० देखि दिउँसो १२ः३० बजेसम्म आयोजित गरिन्छ । रक्कासागी भन्छन्, ‘हामीसँग न त पुस्तकहरू थियो न कालो बोर्डहरू । त्यसैले हामीले कथा र कविता मार्फत सिकाउने निर्णय गर्यौं । हामी उनीहरूलाई कहानी भन्छौं र यसको आधारमा उनीहरूले आफ्नो पाठ सम्झन्छन् ।

 

बच्चाहरूले पनि यो विधि मन पराउँछन् । उनीहरूलाई कथासँग अझ बढी त्यस्तै गतिविधिहरू गर्न बनाइन्छन्, जसले उनीहरूलाई सजिलैसँग पढेको कुरा याद गर्न सहज हुन्छ ।’ अहिले अन्य गाउँका मानिसहरूले पनि ओक्ले गाउँको यो मोडल अपनाइरहेका छन् । यो मात्र होइन, सरकारले यस मोडेललाई अगाडि बढाउन पनि चासो देखाउँदै छ ।

 

केही दिन अघि कर्नाटक राज्य शिक्षामन्त्री एस सुरेशले विद्यालयका प्रधानाध्यापकलाई बोलाएर उनको कामको प्रशंसा गरेका थिए । हालसालै शिक्षा विभागले अन्य विद्यालयहरुलाई पनि यो मोडल अपनाउन निर्देशन दिएको छ।

माध्यमिक शिक्षा निर्देशक कृष्ण एस करीचनवार भन्छन्, ‘हामीले प्रत्येक स्कूलका शिक्षकहरुलाई तीन प्रकारको कक्षा बनाउन भन्यौं । एउटा जसमा विद्यार्थीहरूको कुनै पनि प्रविधि उपलब्ध छैन ।

 

दोस्रो जुन बच्चाहरूसँग स्मार्टफोन छ तर इन्टरनेट छैन र तेस्रो जो बच्चाहरूसँग सबै सुविधाहरू छन् । यी बच्चाहरूमध्ये, जोसँग स्मार्टफोन वा इन्टरनेट सुविधा छैन, शिक्षकहरूले हप्तामा कम्तिमा एक पटक उनीहरूको घर जानुपर्दछ वा उनीहरुलाई बोलाएर खुला ठाउँमा सिकाउनु पर्छ।’

 

एक शिक्षक भन्छन्, ‘विद्यार्थीहरू अनलाइन शिक्षामा सहभागि हुन सक्छन्, तर राम्रोसँग सिकाउन र व्याख्या गर्न सकिदैन । त्यसैले मैले मेरो घरमा एउटा सानो स्कूल र पुस्तकालय खोलेका छौ । जहाँ बच्चाहरू आउँछन् र अध्ययन गर्छन् । हामी बच्चाहरूलाई व्यावहारिक रूपमा पुस्तक ज्ञान बाहेक केही चीजहरू सिकाउन शुरू गरेका छौं ।’

उनले बच्चाहरूलाई उनीहरुको बुबाको अन्तर्वार्ता लिन एक कार्य दिने गरेको जानकारी दिए । बच्चाहरुलाई व्यवहारिक कक्षाका रुपमा खेतीपाती कसरी लगाउँछन्, रोप्ने र अन्नबाली काट्ने बेलामा उनीहरूले कति पटक मल प्रयोग गर्छन् भन्ने लगायतका कुराहरु उनीहरुका बुवासँग सोध्न भन्ने गरिएको छ । बच्चाहरूले यो सबै साक्षात्कार पछि प्रतिवेदनहरु तयार गर्दछन् ।

 

यससँगै उनीहरुको अनुसन्धान कौशल विकास हुँनुका साथै लेखन पनि राम्रो हुँदै गइरहेको ति शिक्षकले जानकारी दिए । एनएसओको एक रिपोर्ट अनुसार कर्नाटकमा ९० प्रतिशत घरमा कम्प्युटर छैन, जबकि ८१ प्रतिशत घरमा इन्टरनेट सुविधा छैन । यस्तो अवस्थामा, प्राविधिक सुविधाहरू नभएका बच्चाहरूले यो नयाँ विधिबाट फाइदा उठाइरहेका छन् ।


Your Views
Related News