वैज्ञानिकहरूले जुन बेला कोरोनाभाइरसविरुद्ध खोप तयार पार्न सफलता पाउलान् त्यसबेला संसारका सबै जनाका लागि पुग्नेगरी त्यस्तो खोप उपलब्ध नहुन सक्छ।

अनुसन्धान प्रयोगशालाहरू र औषधि उत्पादन गर्ने कम्पनीहरूले त्यस्तो प्रकारको प्रभावकारी खोप पत्ता लगाउने, तयार पार्ने, परीक्षण गर्ने र उत्पादन गर्ने सम्बन्धमा स्थापित यसअघिका नियममा ठूलै परिवर्तन गरिरहेका छन्।

संसारभरि नै कोरोनाभाइरसको खोप पुर्‍याउन सकियोस् भनेर अभूतपूर्व कदमहरू चालिँदैछन्। तर त्यस्तो खोप सबैभन्दा पहिला प्राप्त गर्ने होडमा धनी देशहरू नै अगाडि रहनेछन् र सबैभन्दा कमजोरहरू पछाडि पर्नेछन् भन्ने विषयमा चिन्ताहरू व्यक्त भइरहेका छन्।

उसोभए कोरोनाभाइरस विरुद्धको खोप सबैभन्दा पहिले कस्ले लगाउन पाउँछन् त? अनि त्यसको मूल्य कति पर्ला र यो विश्वव्यापी महामारीको समयमा कोही पनि खोप लगाउन पाउने अवसरबाट वञ्चित नहोऊन् भन्नका लागि के गर्नुपर्छ?

सङ्क्रामक रोगहरूविरुद्धको खोप तयार पार्न, परीक्षण गर्न र जनमानसमा वितरण गर्न सामान्यतया निकै लामो समय लाग्छ।

तैपनि तिनको प्रभावकारिताका बारे कुनै सुनिश्चितता हुँदैन।

हालसम्मको अवस्थाको कुरा गर्ने हो भने खोप लगाएर मात्र एउटा सङ्क्रामक रोगलाई निर्मूल गर्न सकिएको छ। त्यो हो बिफर। तर त्यसका लागि २०० वर्ष लाग्यो।

पोलियो, टेटानस, दादुरा र क्षयरोगजस्ता बाँकी सङ्क्रामक रोगहरूसँग हामी खोपको प्रयोगबाट जोगिएर बाँचिरहेका छौँ।

कोरोनाभाइरस विरुद्धको खोप कति चाँडै प्राप्त गर्न सकिएला?

कोरोनाभाइरसका कारण हुने श्वासप्रश्वाससम्बन्धी रोग कोभिड-१९ बाट कुन खोपले जोगाउन सक्छ भन्ने पत्ता लगाउन हजारौँ मानिसहरू संलग्न भएका परीक्षणहरू अहिले जारी नै छन्।

अनुसन्धानको चरणदेखि उत्पादन र वितरणको चरणसम्म पाँच देखि १० वर्ष लाग्ने प्रक्रियाको अवधिलाई केही महिनामा झारिएको छ।

प्रभावकारी खोप उत्पादनका लागि लगानीकर्ता र उत्पादकहरूले अर्बौँ डलर दाउमा लगाएका छन्।

रुसले उस्को स्पूत्निक-भी खोपको परीक्षणहरूले कोभिड-१९ का बिरामीमा रोगप्रतिरोधी क्षमता जगाउन सकेको सङ्केत देखाएको बताएको छ।

अनि अक्टोबर महिनाबाट सामूहिक रूपमा मानिसहरूलाई खोप दिन सुरु गर्ने जनाएको छ।

चीनले आफूले पनि एउटा सफल खोप तयार पारेको र त्यो पहिले आफ्ना सैनिकहरूलाई दिइने बताएको छ। तर जुन गतिमा ती खोपहरू तयार पारिए त्यसबारे विभिन्न चिन्ता र शङ्काहरू व्यक्त गरिँदैछ।

ती दुवैथरीमध्ये कुनै पनि खोप विश्व स्वास्थ्य सङ्गठनले तयार पारेको तेस्रो चरणको मेडिकल परीक्षणमा रहेका खोपहरूको सूचीमा छैनन्, जुन चरणमा नयाँ खोपलाई मानिसहरूमा व्यापक रूपमा परीक्षण गर्ने गरिन्छ।

अग्रपङ्क्तिमा रहेका केही खोपहरूले यो वर्षको अन्त्यसम्ममा प्रयोगका लागि स्वीकृति पाइसक्ने अपेक्षा गरेका छन्।

तर विश्व स्वास्थ्य सङ्गठनले कोभिड-१९ विरुद्धको खोप सन् २०२१ को मध्यतिरभन्दा अगाडि व्यापक प्रयोगका लागि उपलब्ध हुनसक्ने नदेखिएको बताएको छ।

सबैभन्दा पहिले कस्ले खोप लगाउन पाउँछन् त?

औषधि उत्पादक कम्पनीहरूले खोप निर्माण गर्ने भए तापनि त्यस्तो खोप सबैभन्दा पहिले ककसले लगाउन पाउनेछन् भनेर निर्णय गर्ने काम तिनीहरूले गर्दैनन्।

“प्रत्येक सङ्गठन वा देशले सबैभन्दा पहिला कसलाई र कसरी खोप दिने भनेर निर्णय गर्नुपर्नेछ,” ब्रिटिश औषधि उत्पादनकर्ता एस्ट्राजेनेका कम्पनीका कार्यकारी उपाध्यक्ष सर मिन पान्गालोसले बीबीसीलाई बताए।

प्रारम्भमा खोपको उपलब्धता सिमित हुने हुँदा विरामीहरूको मृत्यु हुन नदिने, स्वास्थ्य सेवा प्रणालीलाई जोगाउने जस्ता कार्यहरूले प्राथमिकता पाउन सक्छन्।

विभिन्न सरकार र सङ्गठनहरू संलग्न खोपसम्बन्धी गठबन्धन ग्याभीको योजनाअनुसार कोभ्याक्स भनेर चिनिने एक विश्वव्यापी खोप योजनामा सहभागी भएकाहरू, धनी वा न्यून आय भएका सबैलाई बराबरी हैसियतमा, तिनका कुन जनसङ्ख्याको तीन प्रतिशत लाई पुग्ने पर्याप्त मात्रा खोप उपलब्ध गराइनेछ।

कोरोनाभाइरस रोक्ने खोप कहिले आउला

त्यो मात्राले ती देशमा रहेका स्वास्थ्य सेवा तथा सामाजिक हेरचाह सेवाका जनशक्तिलाई खोप लगाउन पुग्न सक्छ।

त्यसपछि थप खोपहरूको उत्पादन हुँदै गर्दा जनसङ्ख्याको २०% लाई पुग्नेगरी खोपको मात्रा उपलब्ध गराइनेछ र यस पटक ६५ वर्षभन्दा बढी उमेर पुगेका र जोखिमपूर्ण समूहका मानिसहरूलाई प्राथमिकतामा राखेर खोप दिइनेछ।

सबैले २० प्रतिशत खोप प्रदान गरिसकेपछि अन्य मापदण्डहरूका आधारमा खोप वितरण गरिनेछ जस्तै देशको कमजोर अवस्था र कोभिड- १९ को तत्काल खतरा आदि।

त्यस्तो योजनामा सहभागी भएर प्रतिबद्धता जनाउन देशहरूलाई सेप्टेम्बर १८ सम्मको समय दिइएको छ।

तिनीहरूले अक्टोबर ९ सम्ममा आवश्यक रकमको पूर्व भुक्तानी गरिसक्नुपर्नेछ। यसरी खोप उपलब्ध गराउने प्रक्रियाका अन्य थुप्रै तत्त्वहरूका बारेमा वार्ताहरू चलिरहेका छन्।

ग्याभीका अनुसार उसको योजनामा सहभागी हुने धनी देशहरूले तिनका १० देखि ५० प्रतिशत जनसङ्ख्यालाई पुग्ने खोपको मात्रा माग गर्न सक्छन्। तर सहभागी देशहरूका २० प्रतिशत जनसङ्ख्यालाई पुग्नेगरी खोप वितरण नभएसम्म कसैलाई पनि बढी खोप प्रदान नगरिने उसको भनाइ छ।


Your Views
Related News