नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह ६ महिनाअघिसम्म आफ्नो तौल, मधुमेह र उच्च रक्तचाप समस्याबाट हैरान थिए। गत वर्ष नै उनी दुईपटक अस्पताल भर्ना हुनुपरेको थियो।

‘रोग, त्यसले निम्त्याएको मोटोपन र औषधिबाट म हैरान भएको थिएँ,’ शुक्रबार दिउँसो सेतोपाटीसँगको कुराकानीमा सिंहले भने, ‘अहिले ठीक छ।’

लकडाउनअघि उनको वजन १०३ किलो थियो। दिनमा १५/२० चक्की औषधि खान्थे। पाँचवटा त प्रेसरकै औषधि खान्थे। दिनको दुईपटक ‘इन्सुलिन’ लिन्थे।

अहिले उनी ८२ किलोमा झरेका छन्। इन्सुलिन लिन छाडेका छन्। औषधि पनि दिनको तीन चक्कीमा झरेको छ- प्रेसरको दुइटा, मधुमेहको एउटा।

सिंहको तौल घट्नु र स्वास्थ्य सुध्रिनुको कारण के त?

‘यो सबै १६ घन्टे उपवासको नतिजा हो,’ उनले भने।

उनका अनुसार, अघिल्लोचोटि अस्पतालबाट फर्केपछि पार्टीका केही साथीले बालाजु जेन हेल्थ केयरका डाक्टर मृत्युञ्जय श्रेष्ठसँग जचाउन सुझाएका थिए। त्यहाँ जचाएपछि आफूहरूको मधुमेह सन्तुलनमा आएको उनीहरूको भनाइ थियो।

‘लकडाउनअघि मैले साथीहरूसँग डाक्टर श्रेष्ठको नम्बर लिएँ। त्यसपछि बालाजु नै गएर भेटेँ,’ सिंहले भने, ‘सबभन्दा पहिला उनले मेरो रगत परीक्षण गरे। रिपोर्ट आएपछि भने- तपाईंले खाइरहेका औषधि हटाउनुपर्छ। रिपोर्टले इन्सुलिन तह चाहिनेभन्दा बढी देखाएको छ। तपाईंले पनि चाहिनेभन्दा बढी नै लिइरहनुभएको छ। यो घटाउनुहोस्। बढी भयो भने रक्सीको जस्तै यसको पनि बानी लाग्छ।’

डाक्टर श्रेष्ठको कुरा सुनेर सिंह छक्क परे। अरू ठाउँका डाक्टरले त कहिल्यै औषधि घटाउनुपर्छ भनेका थिएनन्। उनी एकछिन गम खाए।

डाक्टरले फेरि थपे, ‘तपाईंले अरू केही गर्नुपर्दैन, १६ घन्टा फास्टिङ (व्रत) मा जानुपर्‍यो।’

‘२४ घन्टामा १६ घन्टा त लामो समय भयो नि त डाक्टरसाब,’ सिंहले भने।

डाक्टर मुसुक्क हाँसे।

‘तपाईंलाई प्रेसर र सुगर भएको धेरै वर्ष भइसक्यो। दबाइ थपेको थप्यै छ। तै पनि केही राम्रो भएको छैन,’ डाक्टर श्रेष्ठले आफूलाई सम्झाएको कुरा सम्झँदै सिंहले भने, ‘१६ घन्टे फास्टिङमा जानुहोस्। बेलुकी ८ बजे खाएपछि भोलि दिउँसो १२ बजे खाने। बिहानको नास्ता छोड्ने त हो, धेरै हुन्न।’

उनले १६ घन्टे व्रत बेला शरीरका भित्री ‘सिस्टमले’ राम्ररी काम गर्न पाउँछ भनेर सिंहलाई सम्झाए।

सोह्र घन्टासम्म पेट खाली नराखी खाने र ८ घन्टा सुत्ने धेरैको बानी हुन्छ। यसो गर्दा शरीरले पचाउनमै सारा शक्ति खर्च गर्नुपर्छ। जबकि, मान्छेले १६ घन्टा केही खाएन र यो बेला खानेकुरा पचाउने काम गर्नुपरेन भने विकारहरू नष्ट गर्न शरीरले समय पाउँछ।

त्यसपछि डाक्टरले कसरी खाने भनेर पनि आफूलाई सम्झाएको सिंहले बताए।

‘बिहान उठेपछि नास्ता खान छोड्नुहोस्। बरू खानै मन लाग्छ भने दूध र चिनी नहालेको चिया वा कफी खान सक्नुहुन्छ। भोक लागेजस्तो भयो भने पानी खाने,’ उनले भने ‘पछिल्लोपटक खाएको १६ घन्टा पुगेपछि तपाईंले खाने बेला हुन्छ। त्यसरी खाँदा सुरूमा काँचो फलफूलको सलाद वा तरकारी खानू।’

बाँकी ८ घन्टामा जे खाए पनि हुने डाक्टरको सुझाव छ।

सिंह यो सुझाव मान्ने निर्णय गरेर फर्किए। त्यसै रातबाट उनको १६ घन्टे उपवास सुरू भयो।

‘बेलुकाको खाना ७ बजे खाएपछि भोलिपल्ट ११ बजेसम्म केही पनि नखाने तालिका तय भयो,’ उनकी पत्नी सिर्जना सिंहले भनिन्, ‘यो नियम अहिलेसम्म एकपटक टुटेको छैन।’

खाइरहेको मान्छेलाई चटक्कै १६ घन्टा उपवास बस्दा गाह्रो भएन त?

‘खासै भएन,’ सिंहले भने, ‘बेलुकी ७/८ बजे खान्छु। त्यसपछि ७/८ घन्टा त हामी सुतिहाल्छौं। त्यही बिहानको खाजा छुट्ने त हो। बीचमा केही भइहाल्यो भने चिनी नभएको कालो चिया वा कफी खान पाइयो।’

लकडाउनका कारण पनि यो तालिकाअनुसार चल्न सजिलो भएको उनले बताए। उनका अनुसार, १६ घन्टे उपवास सुरू गरेपछि केही दिनबाटै असर देखिन थाल्यो। एक महिनामा उनको तौल देखिने गरी घटेको थियो।

डाक्टरले तीन महिनाको समय दिएका थिए। यो तीन महिनामा उनको तौल १५ किलो घटेको थियो। त्यसपछि उनी डाक्टर श्रेष्ठलाई भेट्न गए।

‘निकै राम्रो भएछ, के के गर्नुभयो?’ डाक्टर श्रेष्ठले सोधे।

‘तपाईंले भनेअनुसार नै १६ घन्टे फास्टिङ गरेँ,’ सिंहले थपे, ‘बिहान उठेर डेढ घन्टा व्यायाम पनि गर्छु।’

सिंहले पहिल्यैदेखि बिहान कसरत गर्थे। श्रीमती सिर्जनका अनुसार पहिले पहिले त उनी रंगशालासम्मै पुग्थे। प्रहरीले नै उनलाई रोक्यो। त्यसपछि घरको कम्पाउन्डभित्रै ‘जगिङ’ गर्न थाले।

अहिले पनि उनी बिहान पाँच बजे उठेर हिँडडुल, जगिङ, हल्काफुल्का शारीरिक कसरत र प्राणायाम गर्छन्।

डाक्टरले फेरि उनको रगत जाँचे। अनि इन्सुलिन लिन नपर्ने बताए। औषधि पनि घटाइदिए। अहिले उनी मधुमेहको एउटा र प्रेसरको दुइटा औषधि लिन्छन्। डाक्टरले अझै तीन महिना १६ घन्टे उपवास लिन सुझाएका छन्।

नेता सिंह पनि आफ्नो अनुभवका आधारमा मधुमेह, उक्त रक्तचाप हुनेहरूले डाक्टरसँग परामर्श गरेर १६ घन्टे उपवास बस्न सुझाउँछन्, ‘मलाई राम्रो भयो, अरूलाई पनि होला।’

खाने बानीमा परिवर्तन ल्याउने हो भने धेरै रोग निको हुनेमा आफूलाई विश्वास लागेको उनले बताए।

‘हाम्रो खाने बानी राम्रो रहेनछ। शरीरको शक्तिलाई खाना पचाउने काममा मात्र व्यस्त राख्ने गरी खाइरहेका रहेछौं। चाहिनेभन्दा बढी खाएपछि त रोग झन् बढ्ने रहेछ,’ उनले भने।

यसरी आफूलाई राम्रो हुँदै गएपछि सिंहले १६ घन्टे उपवासबारे राष्ट्रिय/अन्तर्राष्ट्रिय पत्रिकामा आएका कुरा खोजी खोजी पढ्न थाले। यसले शरीरलाई कसरी राम्रो गर्छ भन्नेबारे उनलाई अझ विस्तृतमा थाहा भयो।

‘पहिले त उपवास बस्दा कमजोर भइन्छ भन्थ्यौं नि, त्यो होइन रहेछ। झन् शक्ति पो बढ्ने रहेछ। ग्यास्ट्रिक बढ्छ भनिन्थ्यो, त्यो पनि होइन रहेछ। त्यसले त घटाउने रहेछ,’ उनले भने, ‘शरीर हल्का र राम्रो महशुस हुने रहेछ।’

श्रीमती सिर्जनाका अनुसार लकडाउनअघि देखेको मान्छेले त अहिले सिंहलाई देखे भने दंग परेर हेर्छन्।

हिजोअस्तिकै कुरा हो। उनको घरमा श्राद्ध थियो। श्राद्धमा सिंहकी दिदी रिता सिंह वैद्य आएकी थिइन्। उनले आफ्ना भाइलाई छक्क परेर हेर्दै भनिन्, ‘लौ प्रकाश त पहिलाको जस्तै भएछ।’

त्यसपछि उनले भाइसँग कसरी ज्यान घट्यो भन्ने बेलीविस्तार सुनिन्।

‘दिदी छक्क पर्नुभयो। अस्ति बानेश्वरतिरका भाइहरू आएका थिए। उनीहरूले पनि प्रकाश दाइ त तन्नेरी हुनुभएछ है भाउजू भने,’ सिर्जनाले भनिन्, ‘उहाँको सुगर हाम्रोजस्तै नर्मल भइसकेको छ। प्रेसर पनि ठिकै छ। हाम्रो पीर पनि कम भएको छ।’

उनका अनुसार तौल घटेपछि पुराना कपडा लगाउनै नमिल्ने भएका छन्। वर्षौंवर्ष मोटो शरीरलाई चाहिने लुगा किनेका थिए। ती सबै अब खुकुला हुन्छन्। पहिला साना भएका लुगा भने अहिले काम लागेका छन्।

लकडाउन खुलेका बेला सिंहले नयाँ लुगा किनेको पनि सिर्जनाले बताइन्।

अचेल कसैलाई मधुमेह र रक्तचापको समस्या भएको थाहा पाए सिंहले १६ घन्टे उपवास बस्न सुझाइहाल्छन्। लकडाउन बेला स्वास्थ्यमा ध्यान दिन पाइएको र रोग निको भएकोमा सिंह र उनको परिवार दंग छन्।


Your Views
Related News