काठमाडौँ — सरकारी एक संस्थाले आयुर्वेद औषधिबाट एक सातामा कोरोनामुक्त गरेको दाबी गरे पनि वैज्ञानिक विधि अपनाएर अनुसन्धान नगर्दा त्यो केवल दाबीमा मात्रै सीमित हुन पुगेको छ । वैज्ञानिक विधि अपनाएर अनुसन्धान नहुँदा रोग प्रतिरोधात्मक क्षमता बढाउन नेपालले प्रयोग गरेका जडिबुटीले अन्तर्राष्ट्रिय मान्यता पाउन नसकेको विज्ञहरू बताउँछन् ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन कोरोना संक्रमितलाई गुर्जो, सुठो, पिप्ला, मरिच र अन्य रसायन मिलाएर ट्याब्लेट बनाएर खुवाइरहेको छ । विभिन्न जडिबुटीको मिश्रणबाट बनाएको ट्याब्लेट दुईवटाको दरले दिनमा तीनपटक खुवाएर एक सातामा पीसीआर गरेर हेर्दा संक्रमितको परीक्षण रिपोर्ट निगेटिभ आएको दाबी गरिए पनि अनुसन्धानको वैज्ञानिक विधि अपनाइएको छैन । आयुर्वेद औषधिले निको भएको हो कि होइन भनेर प्रमाणित गर्न र्‍यान्डमाइज्ड कन्ट्रोल ट्रायल (औषधि खुवाइएका र नखुवाइएका संक्रमितको पनि सँगै अध्ययन) गर्नुका साथै औषधिको प्रभावबारे पनि अध्ययन गर्नुपर्ने हुन्छ । जुन कार्य केन्द्रले गरेको छैन ।

कीर्तिपुरमा जस्तै आयुर्वेदका आइसोलेसन सेन्टरमा राखिएका कोरोना संक्रमितलाई आयुर्वेदिक औषधि खुवाउने गरिन्छ । तर उक्त औषधि कोरोना संक्रमितमा रोग प्रतिरोधात्मक क्षमता बढाउन उपयोगी छ/छैन भन्ने वैज्ञानिक रूपमा अनुसन्धान भएको भने छैन । ‘हामीले व्यवस्थापन गरेको आइसोलेसनमा लक्षण नभएका जति पनि संक्रमित आउँछन्, उनीहरूलाई हामीले तयार पारेको जडिबुटी मिसाएर तयार गरेको ट्याब्लेट खुवाउने गरेका छौं,’ तालिम केन्द्रका कार्यकारी निर्देशक डा. रामआधार यादवले भने, ‘हामीले गरेको काम पेपरमा देखाउनेभन्दा पनि वास्तविकतामा देखाइरहेका छौं ।’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता पाउन नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट अनुमति लिएर अनुसन्धान गर्नुपर्ने हुन्छ । तालिम केन्द्रले भने परिषद्बाट अनुमति लिएको छैन ।

तालिम केन्द्रले कोरोना पोजिटिभ भएर आइसोलेसनमा आएका ५ सय १० जनालाई जडिबुटी मिश्रित ट्याब्लेट खुवाएर एक सातामा पीसीआर गर्दा ४ सय १७ जनाको रिपोर्ट नेगेटिभ आएको यादवले दाबीसमेत गरे । तालिम केन्द्र आफैं आयुर्वेदको अनुसन्धान गर्ने स्वायत्त निकाय भएकाले अनुमति नलिएको उनको तर्क थियो । ‘हाम्रो काम राम्रो भएकाले परिषद्ले बाहिर ल्याइदिए हुन्थ्यो,’ उनले भने, ‘हामीले प्रयोग गरेको औषधिले काम गरेको हुँदा परिषद्लाई प्रमाणित गरिदिन आग्रह गर्छौं ।’ स्वास्थ्य मन्त्रालय मातहतको निकायले आफूले गरेको प्रयासले सफलता पाएको दाबी गरिरहँदा यसलाई वैज्ञानिक रूपमा अनुसन्धान गराएर मुलुकको उत्पादन चिनाउने कुनै पहल भएको छैन । परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले केन्द्रले के गरिरहेको छ भन्ने जानकारी नआएको बताए । ‘नेपालको जडिबुटीको शक्ति के हो भन्ने प्रमाणित गर्न हामीले पनि अनुसन्धान अघि बढाएका हौं,’ उनले भने, ‘अब हुने अनुसन्धानले नेपालको जडिबुटीलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउन सहयोग पुग्नेछ ।’ अनुसन्धानमा जडिबुटीयुक्त औषधि खुवाउँदा र नखुवाउँदा के हुन्छ ? दुवैको असर पत्ता लगाउने उनले बताए ।

परिषद्ले कोरोनाको उपचारमा जडिबुटीको प्रभावबारे एक सय जनामा अध्ययन गर्न लागेको हो । अध्ययनमा सहभागी ५० जनालाई जेठीमधु र त्रिकुट (सुठो, पिप्ला र मरिच) मिश्रण गरी तयार पारिएको आयुर्वेदिक औषधि पानीमा पकाएर झोल खुवाइने अध्ययनको नेतृत्व गरिरहेका त्रिभुवन विश्वविद्यालयको आयुर्वेद कलेज द्रव्यगुण विभागमा कार्यरत डा. विशुनदयाल पटेलले बताए । कीर्तिपुरको तालिम केन्द्रले लक्षण नभएका संक्रमितलाई मात्रै जडिबुटीमा रसायन मिसाएर तयार गरेको ट्याब्लेट खुवाउने गरेको छ । परिषद्को अध्ययनमा भने सामान्य लक्षण भएका संक्रमित ५० जनालाई औषधि खुवाएर र अरू ५० जनालाई औषधि नखुवाई अध्ययन गर्न लागेको पटलेले बताए । ‘यी औषधि सेवन गर्ने र नगर्नेलाई के असर पर्छ भन्ने अध्ययन नहुने हो भने अनुसन्धानले पूर्णता पाउँदैन,’ उनले भने, ‘पहिलो अनुसन्धानबाट सफलता पाएमा कसलाई कति मात्रामा खुवाउने ? त्यसको असरको बारेमा अर्को चरणको अनुसन्धान हुनेछ ।’

बजेट अभावकै कारण केन्द्रले गरेको कामलाई अनुसन्धानको रुपमा अघि बढाउन नसकिएको कार्यकारी निर्देशक यादवले बताए । ‘साथीहरूले पनि हामीले गरेको कामको नतिजालाई प्रकाशन गरौं भनिरहनुभएको छ,’ उनले भने, ‘मलाई चाहिँ के लाग्यो भने प्रचारभन्दा पनि काम गरेर देखाउने हो भन्ने भयो । जसरी हुन्छ संक्रमितलाई निको पार्ने भन्नेमा मात्रै ध्यान गयो । यो कामलाई आफ्नै वार्षिक रिपोर्टमा प्रकाशित गर्छौं ।’

आयुर्वेदसम्बन्धी अनुसन्धान गर्न केन्द्रसँग जनशक्ति र साधन भएकाले मिलेर गर्न सकिने यादवले बताए । ‘आयुर्वेदिकसम्बन्धी अनुसन्धान हामीसँग मिलेर गरेको भए राम्रो हुन्थ्यो, हामीसँग आयुर्वेदकै विषयमा पीएचडी गरिरहेका, एमबीबीएस सकेका आयुर्वेद चिकित्सकहरू र स्रोत साधन पनि छ,’ यादवले भने, ‘जसले गरे पनि आयुर्वेदसम्बन्धी केही न केही नयाँ कुरा आउने हुँदा हामी खुसी नै छौं ।’


Your Views
Related News