सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।

म नारायणगढको लिटिल फ्लावर स्कुलको कक्षा तीनमा पढ्ने छात्रा सस्तुम घिमिरे हुँ।

मैले दुई कक्षाको वार्षिक परीक्षा दिने बेलामा नै कोरोनाले विश्व भरिनै खैला बैला मच्चाउन थालिसकेको थियो। मैले परीक्षा त दिएँ तर रिजल्ट हेर्न स्कुल जाने अवस्था थिएन। त्यो भयावह महामारीले नेपालमा पनि छोइसकेको थियो।

मैले भर्खरै सुन्दै गरेको इन्टरनेटको प्रविधिबाट गुगलमा गएर रिजल्ट त हेरेँ। तर मलाई चिन्ता लाग्न थाल्यो- कतै हामी स्कुल त जान पाउँदैनौं। अहिले वास्तवमै आजसम्म जान पाएका छैनौं।

तर स्कुल गएर पढ्न जान नपाए पनि धन्यवाद मेरो स्कुल र प्रिन्सिपल फादर रोबीलाई दिन्छु। किनकी मेरो पढ्ने इच्छालाई अनलाइन कक्षाबाट पूरा गरिदिनुभएको छ। तर यसभन्दा पहिले म र मेरो परिवारले न त त्यो इन्टरनेट प्रविधि बुझेक‍ो थियो न त आफूसँग त्यसरी पढ्न सक्ने क्षमता नै थियो।

मेरो आमा घर गृहिणी र बाबा एउटा अस्पतालको सानो जागिरे। हाम्रो परिवार चलाउनै गार्‍हो भएको अवस्थामा त्यो नयाँ प्रविधिबाट पढ्ने सोच त कल्पनाभन्दा परको कुरा थियो। तर पनि बाबाले एउटा सानो मोबाइल किनेर ल्याउनुभयो। मेरो पढ्ने रहरले मोबाइल मात्र भएर भएन। घरमा इन्टरनेट थिएन। न मेराे इमेल आइडी नै थियो।

इन्टरनेट नभएकाले मैले अनलाइन कक्षा पढ्न पाएकाे थिइनँ। तर मेरा साथीहरू भने पढ्न थालिसकेका थिए। फेरि मैले बाबाआमासँग झगडा गर्न थालेँ म पनि अनलाइन कक्षा पढ्छु भनेर। मलाई पढ्ने मात्र रहर थिएन, त्यति बेला माेबाइलमा कसरी पढ्ने हाेला, शिक्षकले कसरी पढाउनु हुन्छ भन्ने मनमा लागिरहेको थियो।

अनि बाबाले मेराे घर नजिकैकाे इन्टरनेट भएकाे अंकलकाे घर गएर अंकलकै सहयोगमा इमेल आइडी खाेलिदिनुभयो र मेरो स्कुलले पढाउन थालेको अनलाइन कक्षा जोडिदिनु भयो। मैले त्यो अंकललाई धन्यवाद भन्दै खुसी भएँ म। तर के गर्नु त्यो इन्टरनेट भन्ने चिज मेरो घरमा नभएकै कारण फेरि भोलिपल्टबाट पढ्न सकिनँ। मेरो स्कुलले अनलाइन कक्षा सुरू गरेको २०-२५ दिन भइसकेको थियो।

म रून कराउन थालेँ। घरमा बल्लबल्ल ल्याएको सानो मोबाइल, बल्लबल्ल जोडिएको अनलाइन कक्षाबाट पढ्ने चाहना त्यो इन्टरनेटले पूरा हुन दिएन। मेरो घरभन्दा अल्लिपर एउटा अंकलले मैले घरमा गरेको झगडा र पढ्ने इच्छा देखेर होला बाबाले किनेर ल्याइदिनु भएको सानो मोबाइलमा मागेर इन्टरनेट जोडिदिनुभयो।

मेरो पढ्ने इच्छा बल्ल पूरा भयो। मैले अंकललाई धन्यवाद भनेँ र साह्रै खुसी भएँ। हाम्रो जस्तो गरिबीका कारण र सबै ठाउँमा इन्टरनेट नभएका कारणले म जस्ता पढ्न मन हुने बालबालिकाहरू अझै पनि पढ्न पाएका छैनन्।

म भने त्यही सानो मोबाइलको सहयोगले आज सम्म दु:खसुख र इन्टरनेट भएको अंकलको सहयोगले पढ्न पाइरहेको छु। यो वर्ष भरिनै मेरो स्कुल गएर पढ्न जाने इच्छा र साथीहरूसँग खेल्ने, उफ्रने कुरा पूरा नहुने पो हो कि भन्ने चिन्ता लागिरहेको छ।


Your Views
Related News