कोरोनाका कारण सरकारले लकडाउन गरे पनि कार्यलयमा दैनिक सेवाग्राहीको उपस्थिति हुन्थ्यो। सामान्यतः भौतिक दुरी र स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य प्रोटोकल अनुसार स्वास्थ्य सम्बन्धी उपाएहरु अपनाएकै थियौं। लामो समयको नियमित कामकाजका शिलशिलामा भदौ महिना लागेपछि स्वास्थ्य शाखामा काम गर्ने ३ जना सहकर्मीहरुमा कोरोना पोजेटिभ भयो।

स्वास्थ्यमा काम गर्ने कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि नगरपालिकाकै पहलमा सबै कर्मचारीहरुको पनि स्वाब परीक्षणको कार्यक्रम भयो। प्रशासन फाँटमा काम गर्ने र स्टाफहरुले पनि हाजिरी गर्न म भएकै ठाउँमा आउनु पर्ने भएकाले आफूलाई परीक्षण गराउनु पर्ने आवश्यक ठानेर मैले पनि स्वाब दिएकी दिएँ। १२९ जनाको स्वाब संकलन गरिएको थियो। १२७ जनाको रिपोर्ट नेगेटिभ आयो र म लगायत अर्को एकजना म्यामको रिपोर्ट पोजेटिभ आयो।

भदौ ८ गते रिपोट पोजेटिभ आएपछि मैले छरछिमेक सबैलाई बोलाएर सल्लाह गरेँ। नेपाल सरकारले पनि होम आइसोलेसनमा बस्ने भन्ने कार्यविधि बनाएँ पनि यही समाजमा बस्नु पर्छ भोलिका दिनमा कसैले औँला उठाउछन् कि भन्ने लागेर सबैको राय सुझाव र सल्लाह लिएँ। समाजले पनि सकारात्मक कुरा गरेपछि मलाइ हौसला बढेर आयो। त्यसै पनि केही लक्षण बिना नै पोजेटिभ देखिएको थियो। अझ समाजले सहयोग गरेकोले मलाइ आधा रोग निको भएको झैं भयो।

करिव ३/४ दिनपछि मेरो टेस्ट हराउँदै गयो। मलाइ आफैमा डर फिल भयो तर मैले कसैलाई सुनाइन्। मलाइ उहाँहरुलाई यस्तो कुरा सुनाउँदा आत्तिनु हुन्छ झै लाग्यो। बाहिरी देखिने गरी केही समस्या नभएकाले आफैले आफैंलाई सम्झाउँदै बसेँ। यो भन्दा धेरै भयो भने म भन्छु यति कुरा त मैले पनि सहनु पर्छ। सानोतिनो कुरा भन्नु हुन्न झैं लाग्यो। मैले करिव १० दिनपछि मात्र स्वाद पाएकी थिएँ।

स्वाद पाएपछि त आफैलाई कति धेरै खुसी लाग्यो। मैले आफैले कोरोना जितिसकेँ भन्ने फिल गरेँ। मेरो रोग प्रतिरोधात्मक क्षमता बलियो रहेछ झैं लाग्न थाल्यो। त्यसपछि त धेरै गाह्रो हुँदै भएन। मैले यो सबै कुरा घरमा आफू नेगेटिभ भइसकेपछिमा सुनाएकी थिएँ।

आफ्नै घरको भूईँतलाको एक कोटामा आफूले. मात्र प्रायोग गर्न मिल्ने ट्वाइलेट र वाथरुम प्रायोग गरेर होम क्वारेन्टाइनमा बसेँ। बुबा आमा बुढो हुनुभएकोले डर पनि लाग्यो। कतै उहाँहरुलाई पनि संक्रमण भयो कि झैं लाग्यो। तर, उहाँहरुलाई केही भएको रहेनछ। खुसी पनि लाग्यो। अर्कोतर्फ मन एकदमै डराई रहन्थ्यो।

मलाइ दिन दिनै कोरोना भन्दा पनि आमा बुवाको चिन्ताले झन समस्यामा पार्न थाल्यो। तै पनि आत्मबल कहिल्यै कमी गरिन्। आत्मबल नै यसको प्रमुख उपचार हो झैं पनि लाग्यो मलाइ त।

घरमै बस्दा पनि ५० प्रतिशत उपचार भएको अनुभव गरेँ। म बाहिर गएर आइसोलेसनमा बसेको भए मलाइ बुबा आमाको पिरले पनि सताउँथ्यो र आमा बुबालाई मेरो पनि उत्तिकै पिर भइरहथ्यो। मेरो अनुहार नदेख्दासम्म त केही छैन भने पनि पीर लिइरहनु हुन्थ्यो। म होम आइसोलेसनमा बस्नुले म लागायत मेरो बुबा आमालाई पनि धेरै सजिलो भएजस्तो लाग्यो।

हामीले घरलाई ‘सेल्फसिल’ गर्यौं। घरको मान्छे घरको कम्पाउण्डबाट बाहीर गएनौं। भाइ बाहीर बस्ने भएकाले हामीलाई आवश्यक सबैकुरा भाइले नै ल्याइदिने गरे। समाजले हामीलाई मुखले भन्न सकेन तर पनि मानवीय स्वभाव हो। यो त कोरोना लागेको घर हो भन्ने अन्य समाजको बारेमा हेर्दा सुन्दा लाग्थ्यो।

मेरो पनि सबैले भन्नै नसके पनि त्यति धेरै सम्वाद भएन। झ्यालबाट हेर्नुहुथ्याे। हामी सबै सजग हुन पनि आवश्यक छ। सरकारले नै निषेधाज्ञा जारी गरेको कारण पनि कोही घरबाट निस्किने वातावरण नै थिएन त्यसैको प्रभाव पनि होला त्यस्तो समाजले मलाइ बहिस्कार नै गरेको हो भन्ने मैले अनुभव गरिन। मलाइ उहाँहरुले सहयोग नै गर्नु हुथ्यो जस्तो लाग्छ। सामाजिक व्यवहार राम्रो भयो। मैले समाजको सहयोगका कारण मैले कोरोना जित्न सफल भएँ जस्तो लाग्छ।

कविराज नारायण आचार्य सरले हरेक कोरोना संक्रमित भएका व्यक्तिहरुलाई आफैले आयुर्वेदिक औषधि दिनु हुन्छ। मलाइ पनि दिनु भयो। मैले उहाँले ल्याएको त्यो औषधि किट सेवन गरेँ। त्यसमा गुर्जो, अशुगन्धा, सुठो, मरिच, तुलक्षी समावेस थियो। मैले यो प्याकेजको आयूर्वेद प्याकेज घरका सबै सदस्यहरुले दिनमा ४ पटकसम्म प्रायोग गरेका थियौँ। यो सँगै मैले बेसार पानी, ज्वानु, जिरा लगाएत अन्य रुगाखोकि लाग्दा प्रायोग गर्ने घरेलु औषधि पनि उपयोग गरेकी थिएँ। बीचमा रुगाले च्याप्न थाल्दा मैले साइनेक्स पनि खाएकी थिएँ।

मानसिकरुपले तनाव भइनै रहदो रहेछ। जव मेरो रिपोर्ट नेगेटिभ आयो अनि पो ठूलै भारी विसाएको झै अनुभव गरेँ। मेरो बन्द कोठा भित्रको दैनिकी सहज भएको अनुभव गरेँ। सबैलाई आत्मबल बढाउन मैले हौसला प्रदान गर्न ओठको हासो नटुटाए पनि मन भित्र भारी रहेछ भन्ने कुराको अनुभव रिपोर्ट नेगेटिभ आएको दिनमात्र अनुभव गरेँ। धेरैकुरा सेल्फम्यानेज गरेँ।

आफू नमरी स्वर्ग देखिन्न झै लाग्यो। यत्रो महिना कोरोनासँग काम गरियो। धेरै ठाउँमा सिल गर्ने, सामाजिक दुरी कायम गराउने जस्ता विषयले सामाजिक बहिस्कारसम्म हुने अवस्था आउने रहेछ। यो बेलाको विरामीलाई भौतिकदुरी कायम गरेर के कस्तो छ भनेर सोध्यो भने मात्र पनि उसलाई ओषधि नै दिए झैँ हुने रहेछ।

सामाजिक व्यवहारले कोरोना विरुद्धको लडाईमा सफल भइन्छ झै लाग्यो। मलाइ साथीहरुले के भन्ने के भन्ने लागेर फोन नगरेको हो पनि भन्नु भयो। मैले उहाँहरुलाई पनि भने त्यसो गर्नु हुदो रहेन छ। एक कल फोनले पनि, एक पटकको भेटले पनि सामाजिक व्यवहारले पनि हरेक कोरोना संक्रमितलाई निको बनाउन सहयोग हुँदो रहेछ। म त सबैलाई भन्न चाहन्छु। सामाजिक व्यवहार सुधार गरौं, सचेतना फैलाउँ र कोरोनासँगको लडाईँमा विजयी बनौं।


Your Views
Related News