सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा छनोट भएको छ। सोमबार भर्चुअल प्रेसमिटसँगै बुसानले यो सालको लाइनअप सार्वजनिक गरेको हो। सार्वजनिक लाइनअप अनुसार ‘ऐना झ्यालको पुतली’ बुसानको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको ‘न्यू करेन्ट सेक्सन’मा छानिएको हो।

यो सेक्सनमा नेपालसँगै विभिन्न देशका १० फिल्म छनोट भएका छन्। कुनै पनि निर्देशकको पहिलो र दोस्रो फिल्म मात्र छनोट हुने प्रावधान रहेको ‘न्यू करेन्ट सेक्सन’मा विजेता बन्ने दुई फिल्मले ३० हजार अमेरिकी डलर (नेपाली ३५ लाख रूपैयाँ) प्राप्त गर्नेछन्। योसँगै ‘ऐना झ्यालको पुतली’ बुसानको मुख्य प्रतिस्पर्धामा छनोट हुने पहिलो नेपाली फिल्म भएको छ।

यसअघि नविन सुब्बा निर्देशित ‘गुडबाई काठमाडौं’ न्यू करेन्टपछि सर्वाधिक पुरस्कार राशि रहेको किम जेसीओके अवार्डमा छनोट भएको थियो। किम जेसीओके अवार्डमा पनि दुई फिल्मलाई नै पुरस्कृत गरिन्छ तर यसको रकम १० हजार अमेरिकी डलर मात्र रहेको छ। कान्स, बर्लिन, टोरन्टो, सन्डान्सपछि प्रतिष्ठित मानिने बुसानको यो २५औं संस्करण हो।

कोभिड-१९को महामारीका कारण भर्चुअल रूपमा सम्पन्न हुने फेस्टिभल यो साल अक्टोबर २१ मा शुरू भएर ३० मा सकिनेछ। लेखक/निर्देशकको रूपमा ‘ऐना झ्यालको पुतली’ फिचर फिल्मतर्फ सुजितको डेब्यु हो। सुजितले यसअघि ‘सावित्री’को लेखन तथा निर्देशन गरेका थिए जुन १४ मिनेट अवधिको लघु फिल्म थियो।

फिल्मले पहाडी जिल्लाको गाउँमा पढ्ने १३ वर्षीया बालिका (विद्या)को शहरमा गएर पढ्ने सपनालाई विषय बनाएको छ। तर, जतिचोटी उनी सपनाको नजिक पुग्छिन् कुनै न कुनै बाधा आइपरेर उनको त्यो सपना भताभुंग हुन्छ। सुजितले बालिकाको पढ्ने सपनालाई ऐना जस्तो झ्यालमा अड्किएको पुतलीसँग तुलना गरेर कथानक तयार गरेको बताए।

“ऐना झ्यालमा अड्किएको पुतलीले बाहिर के छ सबै देख्छ तर जति प्रयास गरे पनि निस्कन सक्दैन। हाम्रो फिल्मको मुख्य पात्रको अवस्था पनि त्यस्तै छ”, सुजितले भने, “उसलाई बाहिर निस्कन छ तर हरेक पटक उसको प्रयासमा केही न केही अड्चन आइरहन्छ। यसमा हामीले हाम्रो देशका महिलाको पनि प्रतिविम्ब देख्न सक्छौं।”

विद्या र उनको ९ वर्षको भाइ (बसन्त) बीचको बालसुलभ सम्बन्ध पनि फिल्ममा मियोको रूपमा रहेको सुजितले बताए। सवा करोड हाराहारीको बजेटमा बनेको फिल्ममा सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, राज थापा, बिशा चाम्लिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ।

आइसफल प्रडक्सन र लोकल सिनेमाको संयुक्त ब्यानरमा बनेको फिल्मलाई आकाश पौडेल, प्रबिन स्याङ्बो, सुजित बिडारी, रामकृष्ण पोखरेल र सुशान्त श्रेष्ठ मिलेर निर्माण गरेका हुन्। फिल्ममा अमर महर्जनको छायांकन, किरण श्रेष्ठको सम्पादन, पुष्पसंगमको संगीत, कला संग्रौलाको प्रडक्सन डिजाइन, किशोर आचार्यको साउन्ड डिजाइन र राजेन्द्र मोक्तानको कलर ग्रेडिङ रहेको छ।


Your Views
Related News