सन् १९०५ ताकाको अमेरिकाको रुग्ण सामाजिक, आर्थिक तथ्यचित्र केलाउँदा आजका अल्पविकसित र विकासोन्मुख मुलुकमा समृद्धिको सजग सपना देख्न सकिन्छ।

आजको अमेरिका हेर्दा विकासको भव्यता देखेर अल्पविकसित र विकासोन्मुख मुलुकका हामी दंग पर्छौं। यता आफ्नो मुलुकको अवस्था सम्झँदा कसरी बन्ला भनेर कहिले त मन हतास पनि हुन्छ।  तर, आजभन्दा ११३ वर्षअघि अर्थात् सन् १९०५ ताकाको अमेरिका धेरै कुरामा कमजोर रहेछ। त्यहाँदेखि यहाँसम्मको अमेरिकी फड्को देख्दा प्रयास गरियो भने त मुलुक बनाउन नसकिने रहेनछ भनेर उत्साह जाग्छ।

त्यतिवेलाको अमेरिकाको चाखलाग्दा तथ्यांक आफूसँग भएकाले यहाँ प्रसंग उठाएको हुँ। यसको चर्चा गर्न २४ वर्षअघिको भारत यात्रामा पुग्नुपर्छ।

भारतको नयाँ दिल्लीस्थित रामलीला मैदानमा २०५३ सालमा २७ भदौदेखि तीन दिनसम्म ‘दक्षिण एशियाका लागि सन् २००० को शतकलाई जनताको योजना’ नाममा एउटा बृहत् कार्यक्रम आयोजना भएको थियो। नेपालबाट विभिन्न गैरसरकारी संस्थाबाट गएका १५ जनाको टोलीमा म नेपाल वातावरण पत्रकार समूहबाट सहभागी थिएँ।

दोस्रो दिनदेखि विविध विषयमा विस्तृत विमर्श गरी दक्षिण एशिया क्षेत्रका जनताको लागि एक सय वर्षको योजनाको दीर्घकालीन रूपरेखा कोर्न विभिन्न समूह बन्यो। प्रत्येक समितिमा १२५ जनाभन्दा पनि बढी मानिस थिए। म पनि एउटा समितिमा बसें।

मैले त्यसै ताका अमेरिकाको सन् १९०५ को भौतिक अवस्थाको तथ्याङ्कगत एउटा रोचक लेख पढेको थिएँ। लेखको चाखलाग्दो विवरण र तथ्यचित्र उल्लेख गरेर एउटा फेहरिस्त उतारेको थिएँ। सय वर्षअघिको तथ्यांक त्यस गम्भीर भेलामा प्रस्तुत गर्न मन लाग्यो। मेरो प्रस्तुतिमा सभा विलकुलै शान्त र गम्भीर रह्यो।

प्रस्तुतिको प्रथम चरण सकिएपछि अढाइ दर्जन जति सहभागीले कैयौं विषयका तथ्याङ्क सोधे र आ–आफ्नो नोटबुकमा उतारे। दक्षिण एशियाको लागि योजना तर्जुमा गर्न आयोजित सम्मेलनलाई मेरो प्रस्तुति सान्दर्भिक भयो र मेरो सहभागिताको औचित्य पुष्टि भयो।

सरदर आयु ४७ वर्ष, फोनमा तीन मिनेट कुरा गर्न ५० घण्टा श्रम !

सोह्रौं राष्ट्रपति अब्राहम लिंकनका पालासम्मको अमेरिका अर्कै खालको इतिहास रचेर आएको थियो। सन् १८६१/६५ पछिको अमेरिका अर्कै छ। सन् १९०५ को अमेरिकाको अवस्थामाथि लेखिएको तथ्यले अर्कै चित्र प्रस्तुत गर्छ।

सन् १९०५ मा अमेरिकाको जनसंख्या ८ करोड ३८ लाख २२ हजार रहेछ। त्यतिवेला अमेरिकीहरूको सरदर आयु ४७ वर्ष रहेछ। साक्षरता भने ११३ वर्षअघि पनि ८० प्रतिशत रहेछ।

टेलिफोनको कथा अझै रोचक छ। न्यूयोर्कबाट कोलोराडोको डेन्भरमा तीन मिनेट टेलिफोनमा कुरा गर्दा ११ डलर तिर्नुपर्ने रहेछ। त्यो वेला ११ डलर कमाउन ५० घण्टा श्रम गर्नुपर्ने। किनभने, त्यतिवेला श्रमको ज्याला प्रतिघण्टा २२ सेन्ट मात्र थियो। त्यसवेला अमेरिकाका ८ प्रतिशत घरमा मात्र टेलिफोन सेवा रहेछ।

त्यसवेला अमेरिकामा आमा र नवजात शिशुको स्वास्थ्य अवस्था कस्तो होला ? मातृ मृत्युदर र बाल मृत्युदर कति हुँदो हो? जबकि ९५ प्रतिशत गर्भवती घरमै सुत्केरी हुने रहेछन्।

त्यो जमानामा अमेरिकामा मृत्यु निम्त्याउने प्रमुख रोग पाँच थरी रहेछन्। एक नम्बरमा निमोनिया, त्यसपछिका क्रममा पखाला, क्षयरोग, इन्फ्लुएन्जा र मुटुरोग पर्दा रहेछन्।

अमेरिका भन्नासाथ हामीमध्ये कति पहिल्यैदेखि नै उत्पात विकसित र सुसंस्कृत होलाा भन्ने सोच्दा हौं। आजको अमेरिका हेर्दा ११३ वर्ष अघिको शिक्षाको स्थिति हेर्दा पत्याउनै मुश्किल पर्छ। सन् १९०५ मा १२ कक्षा उत्तीर्ण हुने अमेरिकीहरू ६ प्रतिशत मात्र रहेछन्। त्यो वेला अमेरिकाभर कतिवटा विश्वविद्यालय थिए, फेला पार्न सकिनँ।

अब सुविधा र सम्पन्नताको चर्चा गरौं। ८ करोड ३८ लाख मानिस रहेको अमेरिकामा त्यतिवेला जम्मा ८ हजार कार रहेछन्। अर्को चाखलाग्दो तथ्य कारको गति हो। त्यसवेला अमेरिकामा गाडी प्रतिघण्टा १० माइल मात्र गुड्ने रहेछ। कस्तो होला सडकको अवस्था! कालोपत्रे सडक जम्माजम्मी १४४ माइल रहेको उल्लेख छ।

ढिलै भए पनि हामी शुरु गरौं न

औपचारिक रूपमा नेपालको पहिलो जनगणना वि.सं. १९६८ मा गरिएको थियो। त्यतिबेला ५६ लाख ३८ हजार ७४९ नेपाली थिए। २००७ सालमा नेपालमा सबै खाले सडक ३६७ किलोमिटर, साक्षरता २.५ प्रतिशत, सरदर आयु २८ वर्ष थियो। बिजुली बत्ती १८१७ किलोवाट, प्राथमिक पाठशाला ३११, माध्यमिक विद्यालय ११ र कलेज १ थिए। स्नातक र त्यसमाथिका उच्च शिक्षा हासिल गरेका ३०० जना थिए।

त्यो अवस्थाबाट आज हामी अलि उन्नत अवस्थामा उक्लिएका त छौं। तर, गरीबी, शिक्षाको अवसर, स्वास्थ्यमा पहुँच, सामाजिक सुरक्षा आदिको विषयमा धेरै कदम चाल्नै बाँकी छ। समग्रमा विकास र समृद्धिमा नेपाल पछाडि छ।

२००७ सालदेखिका प्रयास फुल्न–फक्रन नसकेको एउटा विडम्बना छ। इतिहासबाट पाठ सिकेर, गल्ती–कमजोरी सच्याएर इमान्दारी पूर्वक देशको पुनर्निर्माण एवं नवनिर्माणमा लाग्ने हो भने ढिला भएको छैन। विगतमा राजा, प्रधानमन्त्रीहरूले ६८ वर्ष खेर फालेको अवसर छोप्न अब जुटौं, विकासले आकार लिन असम्भव छैन। तर शर्त हो, इमान्दार सक्रियताको।


Your Views
Related News