के तपाईंलाई भूतमा विश्वास लाग्छ?

अनेक धर्मावलम्बीहरू भगवान तथा दानवमा बराबरी विश्वास गर्छन्। मान्छेको आत्मा मृत्युपछि पनि वर्षौंवर्ष बाँच्छ भन्ने मान्छन्। तर यति नै वर्ष बाँच्छ भनेर सायद कुनै ग्रन्थमा तोकिएको छैन। सायद लाख वर्षअघिको मान्छेको आत्मा अहिलेसम्म नरहला पनि!

इजिप्ट लगायत केही मध्य पूर्वी देशमा कुनै मृत व्यक्तिको कारणवस शरीर कुहिएन र रहिरह्यो भने त्यसलाई ‘ममी’ भएको मानिन्छ। वा पहिलेपहिले कुनै विशेष मान्छेका शरीर ‘ममी’ बनाएर पनि राखिन्थ्यो।

ममी सम्बन्धी कतिपय फिल्म पनि छन् जसमा केही सय/हजार वर्षअघि जबर्जस्ती बक्सामा थुनिएका मानिसको आत्मा कालान्तरमा जीवित भएर आउँछ। मरेको शरीरमा आत्मा जीवित हुन्छ।

यी त भए फिल्मका कुरा। के तपाईंलाई यस्तै मृत समान ‘ममी’ जीवित भयो भन्दा पत्यार लाग्छ? फिल्ममा होइन, साँच्चै संसारमा १० करोड वर्षअघि ‘ममी’ बनेका वा भनौं निदाउन पुगेका जीव अहिले जीवित हुन सक्लान्?

करिब दुई महिनाअघि अमेरिकी, युरोपेलीदेखि विज्ञानसम्बन्धी लेख्ने अखबारहरूले यसबारे समाचारहरू लेखेका छन्।

भन्नु होला, १० करोड वर्षअघि त मान्छे नै थिएनन्। ठीक हो, तर संसारमा मान्छे मात्र प्राणी होइन। हरेक जीवित प्राणीको एउटा निश्चित आयु हुन्छ। र, करिब १० करोड वर्ष अघिदेखि लगभग मरे समान बसिरहेर फेरि बाँच्ने जीव हुन् स-साना ब्याक्टेरिया।

यी जिवाणु समुद्रको एकदमै गहिरो भित्री तहमा फेला परेका हुन्। यसको खोजबिन र अध्ययनमा जाँगर चलाएका अनुसन्धानकर्ता हुन् जापानका युकी मोरोनो।

जापान एजेन्सीअन्तर्गत उनको नेतृत्वको अनुसन्धान टोलीले साउथ प्यासिफिक सामुद्रिक पानीको तहबाट लगभग ५-७ किलोमिटर मुनिको जमिन सतहको पनि ७५ मिटर भित्रबाट निकालिएको माटो अध्ययन गर्‍यो। सागरको भित्री तहको पनि भित्र के छ भनेर हेर्‍यो।

युकीलाई जिज्ञासा थियो- सागरको गहिरो मृत मरभूमी जस्तो स्थानको माहोल कस्तो छ? यति गहिरो तहमा त जीवन सम्भव छैन होला भन्ने सोच्थे उनी।

उनको टोलीले समुद्रमुनिको माटो सुक्ष्म अध्ययन गरेका थिए। यही क्रममा उनीहरूले त्यहाँ जीवितजस्ता कोष देखे। त्यहाँ लगभग १० समूहका ब्याक्टेरिया थिए। यसपछि कार्बन डेटिङ (कुनै वस्तुको कुन समयकालको हो भनेर पत्ता लगाउने विधि) गरे।

उनीहरूले जे निष्कर्ष पाए, त्यसले चकित बनाइदियो- ती जिवाणु २-३ करोडदेखि १० करोड वर्षअघिका रहेछन् जो चुपचाप स्थिर बसेका छन्।

यो चमत्कारी नतिजा थियो। यी जिवाणु साँच्चै जीवित छन् कि छैनन् भनेर पत्ता लगाउन युकीले उपाय सोचे- खान मिल्ने कुरा नजिक रहँदा जीवित कोषले खाने गर्छ। उनले ती जिवाणुलाई खानेकुरा दिए। नाइट्रोजन, कार्बन लगायत तत्वयुक्त पदार्थ जस्तै एमोनिया, एसिटेट एसिड तथा एमिनो एसिड ती ब्याक्टेरियाका समिपमा उपलब्ध गराए।

उनले ५७५ दिनसम्म परीक्षण गरे। नतिजा के आउँछ, निश्चित थिएनन् तर उनको अनुमान सही निस्कियो।

करोडौं वर्षअघिका जीव, खान मिल्ने पदार्थको उपस्थितिमा विस्तारै सामान्य कोष जसरी काम गर्न थाले। खानालाई कोषभित्र सोस्न थाले। कोषहरू विकसित हुन थाले र तिनीहरूको संख्या पनि बढ्न थाल्यो। रामायणका पात्र कुम्भकर्ण लामो निद्राबाट उठेर गमागम खाएझैं।

तर खानेकुरा पाउनासाथ पूरै मरेसमान भएका जिवाणु एकाएक कसरी ब्युँतिए? यसको जवाफ पनि युकीले दिएका छन्।

खासमा समुद्रको सतहबाट कयौं किलोमिटर तल पानीको उच्च चापमा ती जीवाणु निकै सुस्त प्रक्रियाले बाँचेका थिए। यसमा प्रकृतिको आफ्नै काइदा छ। पानीमा घुलेका स-साना कणले सिञ्चित थोरै (लगभग शून्य समान) अक्सिजनको मात्रा यी ब्याक्टेरियाले प्रयोग गरिरहेका रहेछन्।

अर्थात् अति नै कम अक्सिजनका भरमा मात्र आफूलाई बचाइरहेका!

यो अध्ययनबाट भने ब्याक्टेरियाहरूको आयु सीमा कति हुने भन्ने यकिन नभएको देखाएको युकीले बताएका छन्।

युकीले गरेको थप अध्ययनबाट यी ब्याक्टेरिया रहेको भूभागमा जिओलाइट भन्ने खनिज विशेष मात्रामा भएको पाइयो। यसमा स-साना मसिना प्वाल हुँदा रहेछन्। तर त्यहाँ भएका ब्याक्टेरिया ती प्वालबाट आफैं बाहिर निस्कन नसक्ने रहेछन्। जालीले माछा समातेजस्तो।

त्यसरी भित्र थुनिएका ब्याक्टेरियाले थोरैथोरै अक्सिजन पाए र बाँचिराखे। तर तिनले कोष विभाजन प्रक्रिया चाहिँ करोडौं वर्ष पहिले नै रोकिसकेका थिए वा सुस्त गतिमा प्रक्रिया चलिरह्यो होला।

यो निश्चय गर्न अध्ययनकर्तालाई पनि गाह्रो छ किनकि यस्तो प्रक्रिया भेटिएको नै पहिलो पटक हो।

तर युकीसहित यसमा चासो राख्ने धेरैलाई यो निश्चित छ, यसको नतिजा तथा निष्कर्षले धेरै क्षेत्रमा प्रभाव पार्नेछ। कुनै पनि एउटा जीवले सानो अवधिमा वातावरणअनुसार कसरी आफूलाई अनुकूल गराउन सक्छ भन्ने रोचक छ। अति कम अक्सिजन तथा खाना उपलब्धतामा कुनै जीव कसरी बाँचिरहन सक्छ?

के मान्छेमा पनि यो सम्भव होला? जसरी यी ब्याक्टेरिया करोड वर्षसम्म जीवित भए, थोरै स्रोतमा मानव शरीरलाई जीवित राख्न सकिएला?

यसअघिका अध्ययनले केही ब्याक्टेरियाहरू कमभन्दा कम अक्सिजनको सहारामा धेरै वर्ष बाँच्ने देखाएका थिए। अहिलेको यो खोजबारेको जर्नल नेचर कम्युनिकेसनमा प्रकाशित छ।


Your Views
Related News