काठमाडौं, भदौ २९/सरकारले अबको एक महिना बढी भीडभाड हुने केही क्षेत्रबाहेक सबै खुला गरेर जनजीवन सामान्य बनाउने भएको छ।

कोरोना संक्रमण फैलन नदिन १ सय २० दिन लकडाउन र तीन हप्ता निषेधाज्ञा लगाएको सरकारले अबको एक महिना भने विद्यालय, विश्वविद्यालय र बढी भीड हुने क्षेत्रबाहेक अन्य सबै क्षेत्र खुला गर्ने निर्णय गर्न लागेको हो।

सोमबार साँझ बस्ने मन्त्रिपरिषदको बैठकले यससम्बन्धी निर्णय गर्ने स्रोतले जनायो।

कोभिड १९ संकट व्यवस्थापन समिति केन्द्र (सीसीएमसी)को प्रस्तावअनुसार मन्त्रिपरिषद् बैठकले सो निर्णय गर्ने सम्भावना छ।

‘दशैँ, तिहारअघिसम्म विद्यालय, विश्वविद्यालय, सिनेमा हल र पार्टी प्यालेसमा बाहेक अन्य क्षेत्रलाई खुकुलो बनाउने निर्णय गर्छ’ स्रोतले भन्यो, ‘दसँै तिहारको समयमा भने लकडाउन र निषेधाज्ञा लागू हुन सक्छ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि अबको केही समय देशभर मानिसहरुलाई गतिविधि गर्न दिइने जनाएको छ।

‘लामो समयदेखि केही काम गर्न नपाउँदा मानिसले खान नपाउने अवस्था बनेको छ,’ मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले भने, ‘अबको एक महिना गतिविधि गर्न दियो भने उनीहरु भोकै बस्ने अवस्था आउँदैन, त्यही भएर देशभरको जनजीवन खुकुलो पार्दै जाने विषयमा छलफल चलिरहेको छ।’

अहिले सरकारले बारका आधारमा पसल खोल्न दिएको छ। यसमा अझै खुकुलो बनाउने सरकारको तयारी छ।

‘अहिले खुकुलो बनाएका क्षेत्रहरुलाई अझै खुकुलो पार्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञ र मन्त्रीहरुसँग सल्लाह गरिरहनुभएको छ,’ स्रोतले भन्यो, ‘अब एकमहिना अहिले भएको अवस्थाभन्दा अझै खुकुलो बनाउने र त्यसपछि केही समय थप कडाई गरिने विकल्पबारे प्रधानमन्त्री परामर्शमा हुनुहुन्छ।’

सरकारले अन्तर्राष्ट्रिय उडान खुलाउँदै गएको छ। आन्तरिक उडान समेत खुलाउने सरकारको तयारी छ ।


Your Views
Related News