मिडलाइन डायस्टेमा दुई दाँतबीच हुने ग्याप हो। अर्को शब्दमा यसलाई मिडलाइन स्पेसिङ वा ग्याप पनि भनिन्छ। यो प्रायः माथिल्लो दाँतको समूहमा देखिन्छ।
नेपालीमा उल्लेख्य रूपमा पाइने यो समस्या प्रायजसो महिलामा देखिने गर्छ। महिलालाई सुन्दरतासँग दाँजिने नेपाली समाजमा कतिपयले दाँतको बीचमा हुने खाली ठाउँलाई समस्याको रूपमा लिने गरेको पाइन्छ।
कारण
मिडलाइन डायस्टेमा हुनुका विभिन्न कारण छन्। जसमध्ये गिजाको मासु बढेर तलसम्म आई दाँतको बीचमा खाली ठाउँ बनाउनु पनि हो। मासुले गर्दा दाँत एक–अर्कासँग जोडिन सक्दैनन्, जसलाई मेडिकल भाषामा असामान्य फ्रेनम एट्याचमेन्ट भनिन्छ ।
वंशानुगत गुणका कारण पनि मिडलाइन डायस्टेमा हुने गर्छ ।
बच्चा अवस्थामै बीचमा दाँत नपलाएमा खाली ठाउँ बस्छ ।
चोटपटक, गिजामा समस्या, किरा लागेर छेउछाउका दाँत निकाल्नुजस्ता समस्याका कारण पनि बीचमा खाली भाग रहन्छ ।
दाँतको माथि अर्को दाँत पलाउँदासमेत कतिपयमा खाली ठाउँ बनेको पाइन्छ । दाँतको बीचमा खाली ठाउँ रहनु व्यक्तिको बानीमा पनि भर पर्छ ।
जस्तै, औँला चुस्ने, मुखले सास फेर्ने, जिब्रो बाहिर निकाल्ने, पेन्सिल चुस्नेजस्ता बानीले दाँतलाई बाहिर ठेल्न मद्दत पुर्याउँछ र बीचमा ग्याप ल्याउँछ ।
उपचार
सामान्यतया बच्चाका दुधे दाँत अस्थायी हुन्छन् । उनीहरूको दाँतमा हुने खाली ठाउँले कुनै असर गर्दैन । बच्चाको स्थायी दाँत पलाउँदा खाली ठाउँ पुरिने सम्भावना रहन्छ ।
सातदेखि १४ वर्ष उमेरसमूहका कतिपय बच्चामा स्थायी दाँत आइसकेपछि पनि खाली ठाउँ रहन सक्छ । स्थायी दाँतको उम्रिने बनावटले गर्दा यस्तो हुन सक्छ, जुन आफैँ निको भएर जान्छ । तर, १४ वर्षको भएपछि पनि खाली ठाउँ रहिरहेमा उपचारको आवश्यकता हुन्छ ।
औँला चुस्ने, दाँतको बीचमा जिब्रो ल्याउनेजस्ता बच्चाका व्यवहारका कारण समस्या उत्पन्न भइरहेको हुन्छ। कतिपय यस्ता समस्या बच्चाको वृद्धिविकास र बानीमा परिवर्तन आएसँगै आफैँ निको भएर जान्छन्।
समस्या पहिचानका आधारमा शल्यक्रिया, दाँतमा राखिने स्प्रिङ, दाँतकै कलरको सिमेन्ट राखिने विधि र प्रोस्थेसिसबाट उपचार गर्न सकिन्छ । दाँतमा राखिने स्प्रिङ स्थायी वा अस्थायी दुवै हुन सक्छन् ।
प्रोस्थेसिस विधि बच्चाका लागि झन्झटिलो हुन सक्छ। दाँचलाई चारैतिरबाट थोरै काटेर सिमेन्टको मद्दतले टाँस्ने हुँदा केही दिनसम्म सेन्सिटिभिटीको समस्या हुन सक्छ। बीचमा काट्दा दाँतमा समस्या आएमा जरैदेखि उपचार गर्नुपर्ने हुन्छ, जुन स्थायी उपचार विधि हो।
उपचारपछि पनि दाँतमा खाली ठाउँ रहने सम्भावना हुन्छ। पुनः दाँत पहिलेकै अवस्थामा आउन सक्ने भएकाले यसलाई तारको सहायताले अस्थायी र स्थायी रूपमा बाँधेर राख्नुपर्ने हुन्छ।
दन्तचिकित्सकको प्रत्यक्ष सल्लाहमा तथा बिरामीको स्वास्थ्य अवस्था हेरेर मात्र उपचार विधि छान्नुपर्छ।