खोप निर्माता कम्पनीहरूले कोरोना खोप परीक्षणका कुरा लुकाइरहेको अनेकौं वैज्ञानिक र जनस्वास्थ्यविद्हरूले बताएका छन् ।

कम्पनीहरूले परीक्षणमा पारदर्शिता नअपनाइरहेको उनीहरूको भनाइ छ ।

विशेषगरी सुरक्षा कारणले गर्दा खोपको परीक्षण रोकिँदा कम्पनीहरूले कुन कारणले गर्दा रोकिने निर्णय लिएको हो बताउन नमानेको वैज्ञानिकहरूको भनाइ छ ।

ताजा घटना आस्त्राजेनेकाको हो । एकजना स्वयंसेवीलाई गम्भीर स्नायुरोगका लक्षण देखिएपछि खोपको परीक्षण रोकिएको थियो । शनिवार चाहिँ उक्त कम्पनीले परीक्षण पुनः सञ्चालन गर्नका लागि अनुमति प्राप्त भएको बतायो ।

तर कम्पनीले रोगीका बारेमा केही पनि बताएन अनि परीक्षण पुनः सञ्चालनका लागि प्यानलले अनुमति दिएको रिपोर्टका बारेमा पनि जानकारी दिएन ।

अमेरिकी कम्पनी फाइजरले पनि त्यसै गर्‍यो । कम्पनीले हजारौं स्वयंसेवीमाथि खोपको परीक्षण गर्दैछ तर त्यसको बारेमा निकै कम जानकारी दिएको छ ।

अघिल्लो साता आस्त्राजेनेका र फाइजर समेत नौ औषधि कम्पनीहरूले पूर्ण सुरक्षाको प्रत्याभूति नगरिकन कोरोना खोप बजारमा नल्याउने बताएका थिए । तर अनुसन्धाताहरूले कम्पनीहरूको साझा बयानमा परीक्षणको

महत्त्वपूर्ण जानकारी शेयर गर्ने प्रतिबद्धता नअटाएको बताएका छन् ।

अमेरिकामा आस्त्राजेनेका, मोडर्ना र फाइजरका खोपहरूको अन्तिम चरणको परीक्षण चलिरहेको छ ।

यी तीनैले परीक्षणका प्रोटोकल र विश्लेषण योजना सार्वजनिक गरेका छन् । कम्पनीका प्रतिनिधिहरूले धेरै विवरण सार्वजनिक गरेको बताए ।

खोप निर्माता कम्पनीहरूको यो बेहोराबाट विज्ञहरू आक्रोशित छन् ।

द न्युयोर्क टाइम्ससँग कुरा गर्दै येल विश्वविद्यालयमा मुटुरोग विशेषज्ञ रहेका डा हरल्यान क्रमहोजले भने, ‘औषधि कम्पनीमाथि विश्वास गर्न गाह्रो भइरहेको छ । उनीहरूले जति बढी कुरा खुलाउँछन्, त्यति राम्रो हुन्छ ।’


Your Views
Related News