बुटवलको नयाँ बसपार्कस्थित सनराइज होटल कोरोना कहरले गर्दा बन्द भएको छ ।

विगत १६ वर्षदेखि होटल व्यवसायमा जमेका सञ्चालक रामप्रसाद गौतमले होटलको भाडा तिर्न नसक्दा ५ तले भवनका २५ भन्दा बढी रुम भएको होटल सधैको लागि बन्द गरे ।

होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका पूर्व वरिष्ठ उपाध्यक्ष समेत रहेका गौतमले भने, ‘होटल खुल्ने कुनै ठेगान भएन । घरभाडा तिर्न सक्ने अवस्था पनि भएन । कतैबाट कुनै पनि क्षेत्रमा छुटको पाइएन । त्यहीँ भएर होटल खाली गरिदिए ।’

उनले थपे, ‘पर्यटन क्षेत्रलाई राज्यले बुझ्न सकेन । व्यवसायी पलायन हुने अवस्था आयो । यहीँ अवस्था अझै २ महिना रह्यो भने धेरै व्यवसायी पलायन हुनेछन् ।’

बसपार्ककै मनकामना होटल पनि महामारीकै कारण बन्द भएको छ । होटलका सञ्चालक विष्णु अधिकारी भने, ‘यतिधेरै समयसम्म होटल बन्द हुँदा समेत राज्यले कुनै कर पनि मिनाहा गरेन । त्यसपछि घरभाडा तिर्न नसकेपछि पलायन हुने अवस्था आयो ।’

बुटवल बसपार्ककै लोकप्रिय र होटल श्रीनगर पनि महंगो घरभाडा तिर्न नसक्दा बन्दा भएका होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले बताए । अध्यक्ष जिसीले भने, ‘गत जेठ महिनायता रुपन्देहीमा १०० भन्दा बढी स्तरीय होटलहरू बन्द भए ।’

कोरोना संकटले कर्मचारी पाल्न नसकिएको भन्दै रुपन्देहीको एक मात्र पाँचतारे होटल टाइगर प्यालेस रिसोर्टले ४०० कामदारलाई कामबाट निकालेको छ । कामदारहरू पुनर्बहालीको माग गर्दै आन्दोलित छन् । टाइगर अस्ट्रेलियन ‘सिलभर हेरिटेज’ कम्पनीको लगानीमा सञ्चालित रिसोर्ट हो । बुटवलको होटल हबको रूपमा विकास भएको इँटाभट्टी र बसपार्क क्षेत्रका धेरै होटल महामारीले बन्द भएका छन् ।

रुपन्देहीमा पर्यटक लक्षित स्तरीय होटल खुल्न क्रम तीब्र छ । तर महामारीले धेरै होटल व्यवसायी थला परेको छ । सरकारले निषेधाज्ञालाई खुकुलो बनाए पनि होटल तथा रेस्टुरेन्ट व्यवसाय क्षेत्रलाई ‘रेड जोन’मै राखेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवलमा निर्माणाधीन सम्मेलन केन्द्र, ५ नम्बर प्रदेशको अस्थायी राजधानी बुटवल भएसँगै रुपन्देहीमा अर्बाैं लगानीमा स्तरीय होटल सञ्चालन गर्ने होडबाजी थियो । तर महामारीले गर्दा ठूलो लगानी गरी सञ्चालनमा आएर र आउने तयारीमा रहेको धेरै रिसोर्टहरू ठूलो आर्थिक संकटमा फसेका छन् । बुद्ध जन्मस्थल लुम्बिनीका धेरै होटल पनि आर्थिक संकटले जोखिममा परेका छन् ।

दैनिक २ हजारभन्दा बढी पर्यटक आउने विश्व शान्तिको मुहान लुम्बिनीमा विगत ६ महिनायता पर्यटकहरू आएका छैनन् । होटल तथा रेन्टुरेन्ट व्यवसायी संघ ५ नम्बर प्रदेशका अध्यक्ष महेन्द्रप्रसाद श्रेष्ठले कोरोना संकटले प्रदेशभरका १५ प्रतिशत साना–ठूला होटल पयालन भएका बताए ।

उनले भने, ‘नजिकै रहेको प्रदेश सरकारले अप्ठ्यारोमा परेका व्यवसायीको पक्षमा कुनै योजना ल्याउन सकेन । संघीय सरकारले पनि कर छुटदेखि घरभाडामा सहुलियत दिने भन्ने समेत योजना ल्याएन । लकडाउन खुकुलो भए पनि महामारी झनै बढेको छ । होटलमा पर्यटन र ग्राहक आउन अझै ६ महिनाभन्दा बढी लाग्छ ।’

विगत ६ महिना लामो लकडाउनको सबैभन्दा ठूलो मारमा होटल व्यवसायी परेको छ । संघका महासचिव माधवकुमार खनालले अब होटल खोल्नुको विकल्प नभएको बताए । उनले भने, ‘हामीले असोज १ गतेदेखि होटल खोल्न निर्णय गरेका छौं । जिल्ला प्रशासन कार्यालयलाई पनि जानकारी गराएका छौं । भाडा पलायनको अवस्था आएपछि सुरक्षा सावधानी अपनाएर असोज १ गतेदेखि रुपन्देहीमा होटल खोल्न संघले निर्णय गरिसकेको छ ।’

रुपन्देहीमा १ हजारभन्दा बढी होटल तथा रेस्टुरेन्ट सञ्चालनमा छन् । रुपन्देहीमा ३० हजारभन्दा बढी होटल मजदुरले रोजगार गुमाएका छन् ।


Your Views
Related News