काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ मंगलबार प्राधिकरणबाट बिदा भएका छन् । सीमित कर्मचारीहरुबीच आयोजना गरिएको कार्यक्रमबीच घिसिङले लामो बिदाई मन्तव्य दिएर प्राधिकरणबाट बाहिरिएका हुन् ।  बिदाइ मन्तव्यमा उनले आफू प्राधिकरणमा रहँदा प्राधिकरणले हासिल गरेका उपलब्धि तथा प्रारम्भ गरिएका कामका साथै गर्न चाहेर पनि पूरा हुन नसकेको कामहरुको सम्बन्धमा चर्चा गरेका छन् ।
उनले योबीचमा उर्जा मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा हरेक वर्ष ८५ प्रतिशत भन्दा धेरै अंक ल्याउन सफल भएको,  आव २०७२/७३  सम्म रु.३४ अर्ब ६१ करोड संचित घाटा रहेको प्राधिकरणलाई खुद नाफा र सिञ्चत नाफाको अवस्थामा पुर्याएको, विद्युत् चुहावट घटाउन र पहुँच बढाउन सफल भएको, देशलाई लोडसेडिङमुक्त बनाउन सफल भएको, प्राधिकरणको प्रशासनिक सुधार गरेको, भारतबाट भइरहेको आयातलाई ३५ प्रतिशतबाट घटाएर २२ प्रतिशतमा झारेको जस्ता उपलब्धि हासिल भएको उल्लेख गरेका छन् ।

त्यस्तै, ट्रंक र डेडिकेटेड नामक महँगो फिडर हटाएको, इतिहासमै पहिलोपटक विद्युत्को महशुल घटेको, अन्तरदेशीय प्रसारण लाइनको क्षमता ४ सय मेगावाटबाट बढेर १५ सय मेगावाट पुगेको तथा काठमाडौं उपत्यकालाई पोल र ताररहीत बनाउन भूमिगत तार बिछ्याउन सुरु भएको तथा स्मार्ट मिटर जडान प्रक्रिया समेत सुरु भएको उनको भनाइ छ ।

बिदाई मन्तव्यका क्रममा उनले आफूलाई प्राधिकरणमा नियुक्त गर्ने तात्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), तात्कालिन उर्जामन्त्री जनार्दन शर्मा, उर्जा मन्त्रीहरु कमल थापा र महेन्द्र शाही, हालका प्रधानमन्त्री केपी शर्मा ओली हालका उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

चिलिमे परियोजना अन्तर्गतका साञ्जेन, रसुवागढी जलविद्युत् आयोजनालाई सम्पन्न गर्न, ढल्केबरमा ४०० केभी सबस्टेसन चार्ज गर्ने, देशलाई विद्युत्मा आत्मनिर्भर बनाउदै निर्यात गर्ने, काठमाडौ उपत्यकालाई तार र पोल रहित बनाउने, स्मार्ट मिटर र ग्रीड स्वचालित प्रणाली देशभरी लागू गर्ने, देशभरका शतप्रतिशत जनतालाई विद्युत्मा पहँुच पुर्याउने, डिजिटल एनईए बनाउने कामहरु भने यो अवधिमा आफूले चाहेर पनि गर्न नसकेको उनको भनाइ छ ।

यस्तो छ, घिसिङको विदाई बक्तव्यको पूर्णपाठ
नेपाल सरकारले  २०७३ साल भदौ २९ गते मलाई ४ वर्षका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । मन्त्रिपरिषद्को निर्णयका आधारमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र मबीच प्राधिकरण सुधारका विभिन्न सूचकांकहरु तयार गरी कार्यसम्पादन सम्झौता भएको थियो ।

ऊर्जा मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा आर्थिक वर्ष (आव) २०७३/७४मा ८८.१९, आव ०७४/७५मा ८७.९८, आव ०७५/७६ मा ८६.८२ र आव २०७६/७७ मा ८७.५५ प्रतिशत प्राप्त भएको छ ।
मैले जिम्मेवारी सम्हाल्दा लोडसेडिङको अन्धकारले मुलुक अक्रान्त थियो । वर्षात्को समयमा समेत ६ देखि ८ घण्टाको लोडसेडिङ व्यहोरिरहनु परेको र हिउँदमा दैनिक १४ घण्टासम्म लोडसेडिङ गर्नु पर्ने प्रक्षेपण थियो ।
प्राधिकरणको वित्तीय अवस्था अत्यन्त नाजुक थियो । प्राधिकरणको आव २०७२/७३  सम्ममा संचित घाटा रु.३४ अर्ब ६१ करोड पुगेको थियो भने सोही वर्ष ८ अर्ब ८९ करोड खुद नोक्सानी थियो । एकातर्फ कहालिलाग्दो अँध्यारोले मुलुक अक्रान्त थियो भने अर्कोतर्फ प्राधिकरणको घाटाको ग्राफ बढ्दो क्रममा थियो । प्रणालीमा वार्षिक विद्युत् चुहावट २५.७८ प्रतिशत थियो, करिब ६३ प्रतिशत जनता मात्रै ग्रीडको विद्युत पहुँचमा थिए । सरकारले मलाई दिएको मुख्य जिम्मेवारी पनि लोडसेडिङको अत्य गरी अँध्यारो युगलाई उज्यालो बनाउने र प्राधिकरणको सुधार गर्ने नै थियो ।

वर्षभरीमा सबैभन्दा बढी विद्युत माग हुने तिहारको लक्ष्मीपूजाका दिन कुशल व्यवस्थापन एवं प्रभावकारी प्रणाली संचालनमार्फत परीक्षणको रुपमा मुलकभरी निरन्तर विद्युत आपूर्ति गर्न सफल भयौंं । २०७३ को लक्ष्मीपूजाको दिन लोडसेडिङ अन्त्य गरी मुलुकलाई उज्यालो बनाउने प्रस्थान विन्दु थियो । लक्ष्मी पूजाका दिन हासिल भएको सफलताले हामीलाई थप हौसला प्रदान गर्यो । त्यसपछि पहिलो चरणमा राजधानीसहित मुलुकका प्रमुख शहरमा लोडसेडिङ अन्त्य गर्नतर्फ हामी केन्द्रीत भयौं । अन्ततः मुलुकलाई उज्यालोतर्फ अगाडि बढाउन सफल भयौं । वैशाख २०७५ देखि औद्योगिक ग्राहकका लागि पनि लोडसेडिङ अन्त्य गरी मुलुकबाट लोडसेडिङलाई इतिहासमा बिलय गराइदिएका छौं ।

सम्माननीय प्रधानमन्त्री, माननीय ऊर्जा मन्त्री, ऊर्जा सचिव, प्राधिकरण संचालक समितिका सदस्यहरु, राजनीतिक तथा प्रशासनिक नेतृत्व, कर्मचारी र आमउपभोक्ताको साथ र सहयोगमा नै सम्झदै कहालीलाग्ने त्यो अँध्यारो युगलाई इतिहास बनाउँदै उज्यालो युग सुरुवात गर्न सफल भएका छौैंं ।

विद्युत् माग र आपूर्तिबीचको सन्तुलित, वैज्ञानिक व्यवस्थापन र इमान्दार प्रयासबाट मुलुकलाई लोडसेडिङमुक्त बनाउन सफल भयौं ।  तर, लोडसेडिङ अन्त्य गर्नु मात्र हाम्रो अन्तिम अभिष्ट थिएन । हाम्रो योजना प्राधिकरणको चौतर्फी सुधार र विभिन्न कारणले जीर्ण बनेका तथा अलपत्र अवस्थामा रहेका उत्पादन, प्रसारण तथा वितरणतर्फका आयोजना सम्पन्न गर्नु तथा नयाँ सुरु गर्नु थियो । जीर्ण बनेका अधिकांश आयोजनाहरु निरन्तरको प्रयासबाट निर्माण सम्पन्न भएका छन् भने केही सम्पन्न हुने चरणमा पुगेका छन् ।

हामीले सञ्चालन गरेको ‘उज्यालो नेपाल अभियान’ बाट जनताले नियमित विद्युत आपूर्ति मात्रै पाएका छैनन् प्राधिकरणको प्रशासनिक तथा वित्तीय सुधार पनि भएको छ । ऋणात्मक रहेका प्राधिकरणका वित्तीय सूचकांकहरु धनात्मक बनेका छन् ।

मैले जिम्मेबारी सम्हालेको पहिलो आर्थिक वर्षमा प्राधिकरण १ अर्ब ४७ करोड खुद नाफा कमाउन सफल भयो, त्यसपछिका वर्षहरुमा नाफाको ग्राफ उकालो लाग्दै गयो । दोश्रो वर्ष  २ अर्व ८५ करोड, तेश्रो वर्ष ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ खुद नाफा कमायो, चौथो वषमा नाफा बढेर ११अर्व ५ करोड रुपैयाँ पुगेको छ । कुनै वेला कर्मचारीलाई तलब खुवाउन पनि सरकारको मुख ताक्नु पर्ने अवस्थामा पुगेको प्राधिकरण संचालनमा रहेका सार्वजनिक  संस्थानहरुमध्ये दुई वर्षदेखि सबैभन्दा बढी खुद नाफा कमाउने संस्था बनेर गौरबपूर्ण इतिहास बनाउन सफल भएको छ । चालु आवको वजेटमा प्राधिकरणको नाफा रु. ११ अर्वभन्दा बढी रहने प्रक्षेपन गरिएको छ ।
ऋणात्मक रहेको संचित कोष धनात्मकतर्फ अघि बढिरहेको छ । चार वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ संचित नोक्सानी रहेकोमा आव ०७६/७७मा प्राधिकरणले सम्पूर्ण संचित नोक्सानीलाई शून्यमा झारी करिब ५ अर्ब रुपैयाँ नाफामा लैजान सफल भएको छ ।

 


Your Views
Related News