प्रेमीसँग मिलेर श्रीमानको हत्या, मध्यराति जंगलमा लगेर गाडिएको थियो शव कुरा अढाइ वर्षअगाडि हो। आमा-बाबुबाट छुट्टिएपछि नवलपरासीपूर्व गैंडाकोट नगरपालिका-१८ हुर्चिलका ४२ वर्षीय धनबहादुर सुगुरपाक मगर वैदेशिक रोजगारीका लागि दुबई गए।आमा-बाबुसँग अंशबण्डा हुँदा घर बनाउन पाएको जमिनमा एउटा सानो घर बनाए।घर बनाएपछि आर्थिक समस्या आइलाग्यो। पारिवारको आर्थिक दुरावस्था सुधार गर्न उनी विदेश जानुपर्‍यो।४० का धनबहादुर दुबई गए।

झन्डै अढाई वर्ष दुबई बसेर बिदामा फर्के।उनी जानुअघि नै दुई छोरीबिहे गरेर आफ्नो घर गइसकेका थिए।दुई छोरीको बिहे भइसकेकाले धनबहादुर घरायसी समस्या टार्दै श्रीमतीसँग बाँकी जीवन बिताउन चाहन्थे।फर्किएको पुगनपुग छ महिना चल्दैथियो। २०७६ साल असार १९ गते दिउँसोसम्म उनी गाउँमा हिँडडुल गरिरहेका थिए। तर, अचानक भोलिपल्टबाट हराए।

मगर कहाँ गए भन्ने न उनका बाबुआमाले थाहा पाए न छिमेकीले। एक-दुई दिन, हप्ता दिन त्यतिकै बित्यो। मगरलाई गाउँलेले देख्न छोडे। कहिलेकाहीँ आउजाउ हुँदा उनका आमाबाबुले पनि देख्न छोडे।घरमा एक्लै देखेपछि ३८ वर्षीया बुहारी फूलमायालाई सोधे- धनबहादुर खोई?फूलमायाले जवाफ दिइन्- खै २० गते बिहानै भारत जान्छु भनेर हिँडेका थिए।नवलपरासीपूर्वको यो बस्ती नेपाल-भारत सिमाना नजिकैको हो। मगर सिमावर्ती बाटो हुँदै भारततिर पो रोजगारीमा गए होलान् भनेर आमाबाबुले ठानेछन्। त्यसबेला कुरा यतिमै सीमित भयो।

६-७ महिना बित्यो, मगर न घर आए न परिवारको सम्पर्कमै।यो बीचमा आमाबाबु र गाउँलेले बुहारीलाई सोधीखोजी नगरेका हैनन्। तर, फूलमायाको जवाफ हुन्थ्यो – खै मसँग पनि सम्पर्क भएको छैन।श्रीमान् ‘हराएको’ महिनौं बित्दा पनि फूलमाया चिन्तित नभइकन साधारण जवाफ फर्काउँथिन्। श्रीमान् हराएको शोक-सुर्ता फूलमायाको अनुहारमा झल्किँदैनथ्यो।

श्रीमान् ‘भारत गएको’ जवाफ दिने फूलमाया भने घरमा ‘हाइसञ्चो’मा दिन कटाउँथिन्।गाउँलेहरू धनबहादुर हराएकोमा फूलमायामा ‘पिर-सुर्ता’ नदेखेर आश्चर्य मान्थे।शंका पनि गर्थे यसकारण कि घरीघरी सोही ठाउँका ४० वर्षीय मेखबहादुर सुनारी मगर फूलमायालाई भेट्न घरमा आउने गरेको देख्थे।

गत चैतमा कोरोनाभाइरसको महामारीका कारण लकडाउन सुरू भयो। भारतमा गएका नेपालीहरू धमाधम फर्किन थाले। तर, धनबहादुर फर्किएको कसैले देखेनन्।फूलमायालाई गाउँलेले जिज्ञासा राख्न थाले – खै तिम्रो श्रीमान्?फूलमाया भन्थिन् – खै.. खै..।श्रीमान् हराउँदा सुर्ता नलागेकी फूलमायालाई भेट्न त्यही ठाउँका मेखबहादुर भने बाक्लै गरी आउँदा गाउँलेले धेरथोर ‘समस्या’ देख्थे।

मेखबहादुरसँगको ‘मिलाप’ देखेर गाउँलेले लख काटे- केही गडबड पो हो कि!धनबहादुर ‘हराउनु’ र फूलमायाको घरमा मेखबहादुरको गतिविधि बढ्नुले गाउँलेमा ‘शंका’ बढ्दै गयो।यही ‘शंका’ निवारणका लागि एक साताअघि केही गाउँले इलाका प्रहरी कार्यालय गैंडाकोट पुगे।उनीहरूसँग निवेदन पनि थियो- ‘बेपत्ताֺ’ धनबहादुरको खोजी गरिपाऊँ।धनबहादुरप्रति गाउँलेको जति चिन्ता उनीहरूको थियो, स्वाभाविक रूपमा फूलमायालाई यो घटनाले के कति पिरोलेको होला भनी प्रहरी उनको पछि लाग्न थाल्यो।

एकाधचोटि फूलमायालाई सोध्यो पनि- यति समयसम्म श्रीमान् घरमा नहुँदा किन रिपोर्ट नगरेको?फूलमायाको उस्तै सहज उत्तर- खै कहाँ गएको हो, आउलान् नि भनेर!प्रहरीले फूलमायामाथि ‘शंका’को दृष्टिले व्यवहार गर्न थाल्यो।गत शनिबार दिउँसो फूलमायालाई केही कुरा बुझ्नु पर्‍यो भनी प्रहरीले समात्यो र कार्यालयमा ल्यायो।

प्रहरी कार्यालयमा आएपछि भने फूलमायाको अनुहारको रंग उड्न थाल्यो। अनुसन्धानमा संलग्न प्रहरी निरीक्षक चन्द्र थापाले प्रश्न गर्न थाले- श्रीमान् बेपत्ता भएको खबर किन नगरेको त यतिञ्जेल?

यो प्रश्न गरेपछि भने फूलमाया डराइन्। उनले श्रीमान ‘बेपत्ता’ घटनाबारे मेखबहादुरसँग बुझ्दा सजिलो हुने प्रतिक्रिया दिइन्, अनुहारमा पसिना छुटाउँदै।आखिर फूलमायाले प्रहरीको शंकास्पद प्रश्नको उत्तरमा विस्तारै ‘रहस्य’ खोल्न थालिन्।

शंकाको ‘सुई’ फूलमाया र मेखबहादुर दुबैतिर सोझिँदै गयो। प्रहरी निरीक्षक थापाले मेखबहादुरको ‘लोकेसन’ सोध्दा फूलमायाले जवाफ दिइन्- मेरो घरभन्दा आधा घन्टा टाढा।‘बेपत्ता’ भनिएका धनबहादुरको अवस्था बुझ्नैका लागि पनि प्रहरी मेखबहादुरकहाँ पुग्नैपर्ने थियो। प्रहरी निरीक्षक थापा टोली लिएर मेखबहादुरको घरमा आइतबार पुग्यो। उनी घरमै थिए।

मेखबहादुरलाई पक्रेर कार्यालय ल्याए। फूलमायासँग आमनेसामने बनाएर खेर्न थाले। दुबैले घटनाबारे मौखिक रूपमा खुलाउन थाले।प्रारम्भिक बयानमा उनीहरूले धनबहादुरलाई हत्या गरेको स्वीकारोक्ति बयान दिए।

प्रहरी निरीक्षक थापाका अनुसार दुबैले २०७६ सालको असार १९ गते राति नै धनबहादुरको हत्या गरेका रहेछन्।‘उनीहरू प्रेमी-प्रेमिका बनिसकेको र त्यो सम्बन्ध थाहा पाएपछि धनबहादुरलाई बाटोबाट पन्छाउन हत्या गरेका रहेछन्,’ थापाले दुवैको बयान उद्धृत गर्दै भने।

सम्बन्धमा उतारचढाव

प्रहरीको अनुसन्धान अनुसार दुबईबाट नफर्किँदै फूलमाया-धनबहादुरको सम्बन्धमा उतारचढाव आइसकेको भने थियो। फोनमा कुरा हुँदा फूलमाया धनबहादुरबाट कमाएको सबै पैसा माग्ने गर्थिन्। एक्लै बसिरहेकी फूलमायालाई बढी खर्च पठाउन धनबहादुर अन्कनाउँथे।धनबहादुर उनको मागलाई अस्वाभाविक ठान्थे। घरायसी खर्चका निम्ति पुग्ने पैसा मात्र पठाइदिन्थे। अधवैंशे फूलमायाले मेखबहादुरसँग सम्बन्ध विस्तार गर्न थालिन्।

मेखबहादुरले फूलमायासँग ‘पारिवारिक’ नाता र अन्य ‘आवश्यकता’बारे कुराकानी अघि बढाउँथे। फूलमायाले ‘सहज’ मान्न थालेपछि मेखबहादुरले सम्बन्ध कस्न सुरू गरेका थिए।तर, धनबहादुर नेपाल फर्केपछि मेखबहादुर र फूलमायाको सम्बन्धमा ‘दूरी’ बढ्यो।

यसैक्रममा एक दिन धनबहादुरले फूलमाया मेखबहादुरसँग फोनमा बोल्ने, हाँसीमजाक गर्ने गरेको थाहा पाए।त्यसपछि उनीहरूबीच सामान्य ‘खटपट’ सुरू भयो। धनबहादुरले फूलमायालाई धेरै खेदेनन्।समय बित्दैजाँदा यदाकदा धनबहादुरले मेखबहादुरलाई घरमै आएर श्रीमतीसँग कुराकानी गरिरहेको अवस्थामा फेला पारे।

त्यसपछि सोधे- सम्बन्ध के हो?फूलमायाले सामान्य रूपमै मेखबहादुरसँगको सम्बन्धबारे ‘पारिवारिक सम्बन्ध’ भनेर टारिन्।धनबहादुरले बढी वास्ता नगरीकन श्रीमतीको कुरा पत्याए।

धनबहादुर नहुँदा फूलमायासँग मेखबहादुरले भेटिरहेको थाहा पाएका गाउँलेले पनि धनबहादुरलाई उचालेछन्- तिम्रो श्रीमतीको चालचलन खासै निको छैन।गाउँलेबाट पनि यस्तो कुरा सुनेपछि धनबहादुर श्रीमतीप्रति आक्रोशित हुन थालेका थिए। श्रीमान-श्रीमतीबीच कहिलेकाहीँ सोही विषयमा झगडा हुन्थ्यो।मेखबहादुरसँगको सम्बन्धबाट चिढिएका धनबहादुरले श्रीमतीलाई भन्न थाले- अब यो मेखबहादुरलाई म छाड्दिनँ, यसमा तँ पनि पर्छेस्।

यसरी भयो हत्या

प्रहरीको अनुसन्धानअनुसार दुबैबीचको सम्बन्धबारे धनबहादुरले शंका गर्न थालेपछि फूलमाया जति आत्तिन थालिन्, मेखबहादुरलाई पनि पिरलो उतिकै भयो।मेखबहादुरले फूलमायालाई उक्त सम्बन्धबारे कुरा बाहिर नआउँदै धनबहादुरलाई ‘सिध्याउनु पर्ने’ योजना सुनाए।उनको योजनामा साथ दिँदै फूलमायाले अनुकूल समय खोज्न थालिन्। २०७६ असार १९ गते राति श्रीमान् सुतिसकेको मौकामा मेखबहादुरलाई बोलाइन्।राति १२ बजेको थियो।  मेखबहादुर र फूलमायाले सुतिरहेका धनबहादुरको अण्डकोषमा सुरूमा हथौडा प्रहार गरे।

प्रहारबाट धनबहादुर बेहोस् भएपछि दुबैले घाँटीमा डोरीले कसे।धनबहादुरको प्राण उडेपछि दुबै शव व्यवस्थापनमा जुटे।फूलमायाले धनबहादुरलाई डोको दिइन्। मेखबहादुरले धनबहादुरको शव डोकोमा हालेर हिँडे। पछिपछि फूलमाया कोदालो बोकेर लागिन्।

घरभन्दा झन्डै तीन किलोमिटर उत्तर-पश्चिम-दक्षिणस्थित सुन्दरी सामुदायिक वनभित्र धनबहादुरको लास पुर्‍याए। त्यहीँ खाल्डो खनेर धनबहादुरको शव पुरेर व्यवस्थापन गरे।यो अनुसन्धानले परपुरुष र परस्त्रीबीचको सम्बन्धले हत्या निम्त्याएको देखाएको छ। दुवैले बयानमा हत्या स्वीकार गरिसकेका छन्।

दुबैले घटनाबारे सविस्तार लाएपछि प्रहरीले सोमबार सुन्दरी सामुदायिक वनमा धनबहादुरको शव पुरेको ठाउँ उत्खनन् गर्‍यो। मेखबहादुर र फूलमायाले बताएको ठाउँमा उत्खनन् गर्दा धनबहादुरको कंकाल फेला परेको छ।‘हामीले पाँच फिट गहिरो, पाँच फिट चौडाइ र छ फिट लम्बाइमा खोतल्दा कंकाल फेला पार्‍यौं,’ प्रहरी निरीक्षक थापाले भने, ‘यो कंकाल परीक्षणपछि मात्र बाँकी अनुसन्धान अघि बढ्दैछ।’

थापाका अनुसार धनबहादुरको कंकाल परीक्षणका लागि भरतपुर अस्पताल चितवन पठाइएको छ। प्रहरीले सो कंकालको डिएनए परीक्षणका लागि धनबहादुरका आमाबाबुबाट रगत झिकेको छ।‘डिएनए प्रोफाइलिङ सकिएपछि यो हत्याको अन्तिम अनुसन्धान सकिन्छ,’ थापाले भने।फूलमाया र मेखबहादुरलाई कर्तव्य ज्यानमुद्दाको अनुसन्धानका लागि जिल्ला अदालतबाट थुनामा राख्ने समय लिइसकिएको छ।

Read More:

२४ वर्षीया कृषा बनाउँछिन् ‘कोरोना कमिक्स’

लकडाउनले चारैतिर सुनसान समय। एक युवक गाडी लिएर सुटुक्क सहर पस्छ। गाडीको पछाडि भागमा अर्को व्यक्ति पनि बसेको हुन्छ।बैजनी शरीर, हरियो लुगा र कालो चस्मा लगाएर व्यक्ति निस्फिक्री बसिरहँदा पनि युवकले थाहा पाउँदैन।

लकडाउनमा गाडी चलाएकाले प्रहरीले जाँच गर्छन्। पछाडिको व्यक्ति र प्रहरीबीच गोली हानाहान हुन्छ। प्रहरीबाट जसोतसो भाग्न सके पनि हातापाइमा चालक युवक घाइते हुन्छ। उसलाई अस्पताल लगिन्छ।

अस्पतालमा डाक्टरले जाँच्छन्। उसलाई कोरोना पोजेटिभ देखिन्छ। रिपोर्टमा लेखिएको हुन्छ- कोरोना भाइरसले ‘गोली’ हानेको।चालक युवकको पछाडि बस्नेको नाम हो कोरोना।

एकाएक सहरमा ‘कोरोना’ नामक व्यक्तिको त्रास फैलिन्छ। प्रहरीहरू सबैलाई ‘कोरोना’बाट बच्न घरभित्र बस्न आग्रह गर्छन् र ‘कोरोना’लाई समात्न लागि पर्छन्।कोरोना संक्रमण फैलिरहेको अवस्थासँग यो कथा मिल्दोजुल्दो छ, सँगै केही हास्यास्पद पनि लाग्छ। नलागोस् पनि किन, यो कहानी वास्तविक होइन।

यो कथा त ‘किरीमिरी’ डिजाइन स्टुडियो सञ्चालक कृषा ताम्राकारले बनाएको ‘कोरोना कमिक्स’ हो। आफ्नो ‘कोरोना कमिक्स’ श्रृंखलाबाट उनी अहिलेको त्रासमय समयलाई केही रमाइलो ढंगमा प्रस्तुत गर्ने प्रयास गरिरहेकी छन्।

२४ वर्षीया कृषा ग्राफिक डिजाइनर तथा कार्टुनिस्ट हुन्। करिब दुई वर्षदेखि उनले कमिक्स बनाउँदै आएकी छन्। कमिक्स अर्थात्, कुनै पनि विषयवस्तुलाई सामान्य कार्टुन मार्फत् व्यक्त गर्ने कला शैली।

उनी प्रायः आफ्ना वरिपरि भइरहेका सामाजिक विषयलाई कमिक्सका रूपमा प्रस्तुत गर्छिन्। यही सिलसिला पछ्याउँदै उनले अहिले ‘कोरोना कमिक्स’ नामक नयाँ श्रृंखला सुरू गरेकी हुन्।

‘कोरोना संक्रमण बढिरहेका बेला समाचार र सामाजिक सञ्जालभरि यसैको कुरा मात्र देखिन्थ्यो। मानिसमा डर पैदा भइरहेको थियो,’ उनी कमिक्स बनाउनुको उद्देश्य खुलाउँछिन्, ‘यसबारे समाचार लेख्नु आवश्यक छ तर मानिसमा मानसिक असर पर्न सक्ने सम्भवना धेरै छ। त्यसैले मलाई एउटा सूचना दिने र मानिसलाई रमाइलो गराउने काम गर्न मन थियो।’

उनी आफ्नो कामका लागि एउटा कार्टुन बनाउने कोशिसमा थिइन्। वरिपरि कोरोना माहोल भएर होला दिमागमा यत्तिकै कोरोनाकै चरित्र भएको एउटा मान्छेको कार्टुन बन्यो। र, कोरोना कमिक्सको आइडिया आएको उनी बताउँछिन्।

यो श्रृंखला किरीमिरीको इन्स्टाग्राम पेज र फेसबुक पेजमा हेर्न सकिन्छ। अहिलेसम्म यसको नौ भाग आइसकेको छ। अन्य भागको काम भइरहेको कृषा बताउँछिन्।

कृषाले फाइन आर्टमा स्नातक गरेकी हुन्। अहिले ग्राफिक कम्युनिकेसनमा स्नातकोत्तर गरिरहेकी छन्। उनका अनुसार कमिक्स तिरको उनको यात्रा दुई वर्षअघि स्नातकको अन्तिम वर्षबाट सुरू भएको थियो।

उनले कलेजको प्रोजेक्टका रूपमा ‘किरीमिरी’ बनाएकी थिइन्। ग्राफिक डिजाइन आर्टमा प्रायः जसो चित्र केरकारबाट सुरू गरिने भएकाले ‘किरीमिरी’ नाम उनलाई मनपर्‍यो।

‘सुन्दा पनि राम्रो र मेरो प्रोजेक्टसँग पनि मिल्ने भएर राखेकी,’ उनले भनिन्। यसलाई उनले औपचारिक रूपमा सञ्चालनमा भने ल्याएकी छैनन्। उनी कमिक्सभन्दा धेरै ‘फ्रिल्यान्स’का रूपमा डिजाइनका काममा बढी व्यस्त हुन्छिन्। कमिक्स भने तनावमुक्त हुने माध्यमका रूपमा बनाउने बताउँछिन्। त्यसैले उनका कमिक्स ढिलो समय अन्तरालमा आउँछन्।

लकडाउनले भने उनलाई फेरि कमिक्समा काम गर्ने मौका मिल्यो। सँगै कमिक्स बनाउनुको राम्रो उद्देश्य पनि पाइन्। कोरोना कमिक्स बनाउनुको अर्को कारण अहिलेको समयलाई पछिसम्म कैद गर्न पनि रहेको उनको भनाइ छ।

‘विगतका कुरा हाम्रो सम्झनामा मात्र रहन्छ। वर्तमानका घटना पनि केही समय मात्र याद हुन्छ,’ उनी भन्छिन्, ‘त्यसैले राम्रा वा नराम्रा दुवै खाले सम्झनालाई कलाका रूपमा कैद गर्न सकियो भने त्यसको मान बढ्छ। म यो कोरोना समय कलाका रूपमा कैद गरिरहेकी छु। पछि यही काम मेरा लागि अविस्मरणीय बन्ने छ।’

कृषामा चित्रकलाप्रतिको रूचि बाल्यकालदेखि थियो। परिवार पनि कलाक्षेत्रमा संलग्न भएकाले त्यही देखेर प्रभावित भएको उनी बताउँछिन्।

‘आमाबुवा हस्तकलाका सामान बनाउनु हुन्थ्यो। मैले सानैदेखि आमाले चित्र बनाएको देख्दै आएकी थिएँ,’ उनले भनिन्, ‘म पनि उहाँसँगै बसेर बनाउँथे। कहिलेकाहीँ काम सघाउन एक-दुइटा सामानमा चित्र बनाएको पनि याद छ।’

आफ्नो यही रूचि पछ्याउँदै उनले फाइन आर्ट पढेकी हुन्। परिवारले उनको रोजाइलाई पूर्ण समर्थन गरे।

उनी थुप्रै रचनात्मक चित्र त बनाउँथिन् नै, सँगै उनको हास्य स्वाभाव र चुट्किला भन्ने बानीले कमिक्सतिर आकर्षित पार्दै गयो। कलेजमा बनाएको कमिक्स बुकले उनलाई यसमा लगाव बढाउँदै गएको हो। अब ‘किरीमिरी’ अन्तर्गत उनी आफ्नै कमिक्स बुक र पिक्चर बुक बनाउने तयारीमा रहेको बताउँछिन्।

कमिक्स हेर्दा यसको चित्रकला सजिलो देखिन्छ। तर यसमा राम्रो विषय सोच्न धेरै समय लाग्ने कृषाले आफ्नो अनुभव सुनाइन्।

‘प्रायः कमिक्स हाम्रै वरिपरिका सामाजिक विषय र घटनालाई रमाइलो रूपमा चित्रण गर्न बनाइन्छ। कतिपय काल्पनिक पनि हुन्छन्,’ उनी भन्छिन्, ‘कमिक्सका लागि मुख्यगरी कुन विषयमा बनाउने भनेर सोच्नु पर्छ। त्यसैले आइडिया र भिडिओ बनाउन मलाई कम्तिमा ६ दिन लाग्छ।’

सुरूमा त उनलाई कोरोना कमिक्स अरूले रूचाउलान् भन्ने अपेक्षा थिएन। विस्तारै धेरैले राम्रो प्रतिक्रिया दिन थाले। उनका अनुसार कसैले त कमिक्स हेर्दा दिनभरको तानव घट्ने प्रतिक्रिया दिएका छन्। उनका आमा र दिदीले पनि प्रतिक्रिया दिने उनले सुनाइन्।

‘मेरो परिवारका लागि कमिक्स आधुनिक कला हो। उहाँहरूले गर्दै आउनुभएको परम्परागत शैली र कमिक्सका चित्रमा धेरै भिन्नता हुन्छ,’ उनी भन्छिन्, ‘सुरूमा त उहाँहरूलाई नौलो लागेको थियो। आमाले केरकार गरेर बनाएको देखेर अलि राम्रो बनाऊ भन्नु हुन्छ। तर म कला सधैं स्वतन्त्र हुनु पर्छ भनेर बुझाउने कोशिस गर्छु।’

कृषाका अनुसार नेपालमा ग्राफिक डिजाइनका लागि धेरै अवसर छ। तर कमिक्स कलाकारलाई आर्थिक रूपमा सहज छैन। यो क्षेत्रमा निरन्तर काम गर्न सकियो भने कयौं सम्भावना भेटिने तर चुनौती उत्तिकै हुने उनी बताउँछिन्।

यसका बाबजुद कृषा यसमै रौसिएकी छन्। परिवारले पनि हौसला दिइरहेका छन्। अबको सोच कमिक्सलाई नै विस्तार गर्दै लाने रहेको उनी बताउँछिन्।

 

 


Your Views
Related News