कोरोनाभाइरसको संक्रमण भएका बेला ज्वरो आएपछि अस्पताल भर्ना भएका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई आइसियूमा राखिएको छ।ओम अस्पतालको आइसियुमा उपचार भइरहेका कोइरालाको ज्वरो नियन्त्रणमा आएको छ।

कोइरालाको स्वास्थ्य अवस्था सामान्य हुदै गएको उपचारमा संलग्न ओम अस्पतालका मेडिकल डाइरेक्टर डा विश्वनाथ कोइरालाले सेतोपाटीलाई बताए

‘उहाँ स्टेबल हुनुहुन्छ। डराइहाल्नुपर्ने स्थिति छैन।अक्सिजन मेन्टेन भएको छ। ज्वरो नियन्त्रणमा आएको छ,’ कोइरालाले भने,’अहिले ठिकै नै हुनुहुन्छ।अक्सिजन बेला-बेलामा जरूरत पर्‍यो भनेमात्रै दिने हो। अहिले दिएको छैन।’

हेरचाह गर्न सजिलो होस् भनेर आइसियुमा राखेर उपचार गरिएको समेत उनले बताए।भिआइपी व्यक्ति भएकाले उपचारमा सजिलो हुन्छ र भीडभाडबाट जोगाउन सजिलो हुन्छ भनेर आइसियुमा राखिएको अस्पताल स्रोतले जनाएको छ।

 

‘कुखुरा पाल्न सकिएन, खोरमा बाख्रा हाल्ने कि गाई पाल्ने भएको छ’

प्रकाशबाबु खनाल चितवनका पुराना कुखुरा पालक किसान हुन्।

कालिका नगरपालिकाको न्युरेनीमा उनको पिबिएस पोल्ट्री छ। झण्डै १४ हजार कुखुरा पाल्दै आएका उनलाई अब भने नयाँ चल्ला थप्न पनि डर लाग्न थालेको छ।

देशका मुख्य बजारहरूमा जारी गरिएको निषेधाज्ञाका कारण बिक्री नै नभएपछि उनको खोरका ६ हजार कुखुरा मरेका थिए।

‘हेर्दाहेर्दै कहिले १० वटा, कहिले २० वटा हुँदै ६ हजार वटा बोइलर कुखुरा मरेर सिद्धिए,’ उनले भने, ‘अब त नयाँ चल्ला थप्न पनि डर लागेको छ।’

दस वर्षदेखि कुखुरा पाल्दै आएका खनालले यो व्यवसायमा यतिसम्मको बिजोग अवस्थाको कल्पना कहिल्यै गरेका थिएनन्।

देशमा लकडाउन हुँदै गर्दा पनि केही समयमा अवस्थामा सुधार आउला भन्ने उनलाई लागेको थियो। तर, दिन बित्दै गए व्यवसायका समस्याहरू थपिँदै गए।

उनले भने, ‘अब त कसरी अघि बढ्न सकिएला भन्ने अवस्थामा पुगियो।’

चितवन पोल्ट्रीजन्य वस्तुको उत्पादनका लागि अग्रणी जिल्ला हो। यहाँ करिब एक हजार सात सय जना कुखुरापालक रहेको तथ्यांक नेपाल कुखुरा पालक किसान संघसँग छ।

अधिकांश १ हजारदेखि ५ हजार वटासम्म कुखुरा पाल्नेहरू छन्। उनीहरूमध्ये केहीले लकडाउनकै अवधिमा पनि कुखुरा बिक्री त गरे तर लागत मूल्यभन्दा निकै कममा।

संघका अध्यक्षसमेत रहेका झनक पौडेल बढ्दो घाटाको अवस्थाले अधिकांश कुखुरा पालकहरू व्यवसाय परिवर्तनको तयारीमा रहेको बताउँछन्।

पौडेलले २०६३ सालबाट कुखुरा पाल्न थालेका थिए। उनको करिब १५ सय वटा कुखुरा पाल्ने खोर छ। यसबाहेक अन्यत्र भाडामा लिएर पनि उनले कुखुरा पाल्ने गर्थे। तर, अब उनको पनि मन मर्न थालेको छ। अहिले उनको खोरमा कुखुरा छैनन्।

सेतोपाटीसँग उनले भने, ‘यस्तो अवस्थामा कुखुरा पाल्न सकिँदैन, खोरमा बाख्रा हाल्ने कि गाई, भैंसी पाल्ने भन्ने भएको छ।’

पौडेल समस्या लकडाउन र निषेधाज्ञाका कारण मात्र नभएको बताउँछन्।

‘साना कुखुरा पालकका लागि भन्दा ठूलो समस्या त ठूला पालक र बिचौलिया हुन्,’ उनी भन्छन्, ‘उनीहरूका कारण हामी जस्ता किसानले वर्षौंदेखि नाफा लिन पाएका छैनौं।’

ठूला व्यवसायीले बजारलाई आफू अनुकूल बनाउने गरेको गुनासो उनीहरूको छ।

‘उनीहरू कुखुरा पाल्छन्, चल्ला, अण्डा, दानादेखि औषधीसम्म उत्पादन गर्छन्। आफूलाई उपयुक्त हुनेगरी मूल्य निर्धारण गर्छन्,’ पौडेल भन्छन्, ‘हामी सानो परिमाणमा पाल्नेलाई उनीहरूले तोकेको मूल्यमा बेच्दा सधैं घाटा लाग्ने गरेको छ।’

बिचौलियाहरू पनि ठूला व्यवसायीहरूबाटै निर्देशित हुने गरेको पौडेल बताउँछन्।

अहिले सप्लायर्सहरू थोरै मूल्यमा कुखुरा किनेर कोल्ड स्टोरमा राख्ने, महँगिएपछि बेच्नेगरी सक्रिय रहेको आरोप कुखुरा पालकहरूको छ।

तयार भएका कुखुराहरूको मूल्य घटाउने तिनै सप्लायर्सले कुखुरा उत्पादनका लागि आवश्यक वस्तुहरूको मूल्य भने निरन्तर बढाइरहेको पौडेल बताउँछन्।

मकै, भटमास लगायतका कच्चा पदार्थको मूल्य ह्वात्तै घट्दा पनि दानाको मूल्य सो अनुपातमा नघटेको, चल्ला र औषधीको मूल्यमा मनपरी भइरहेको उनी बताउँछन्।

‘ठूला र नाम चलेका व्यवसायीहरू साना किसानहरूले प्रगति गर्दा भन्दा डुब्दा खुसी हुन्छन्। धेरै नबुझेका नयाँ आए भने आफू अनुकूल बनाउन पाइन्छ भन्ने सोचाइ उनीहरूको छ,’ पौडेल भन्छन्, ‘हामी त निरिह भयौं।’

पौडेलका अनुसार चितवनका एक हजार सात सय किसानमा करिब दुई दर्जन मात्रै पुराना छन्। बाँकी केही वर्षदेखि आउने जाने भइरहेका छन्।

‘पुरानाको पनि अवस्था नाजुक भइसक्यो,’ पौडेलले भने, ‘विकल्प सोच्ने बेला आयोजस्तो लागेको छ।’

चनौलीको लाउरी चोक नजिकै १४ वर्षदेखि कुखुरा पाल्दै आएका भीमसेन राउत रूँनु न हाँस्नुको अवस्थामा पुगेको बताउँछन्।

नेपाली सेनाबाट निवृत्त भएपछि उनले कुखुरा पाल्न थालेका थिए। १४ वर्षे अवधिमा उनले पैसा बचाउने गरी फाइदा त कमै गरे तर परिवार चालाउन भने यो व्यवसायले राम्रै सहयोग गरेको थियो।

तर, पछिल्ला केही वर्ष व्यवसाय लगातार घाटामा जाँदा उनलाई व्यवहार मिलाउनै हम्मे भइरहेको छ।

लकडाउन चल्दैगर्दा उनको खोरमा एक हजार वटा कुखुरा बिक्रीका लागि तयार भएका थिए। त्यसमध्ये उनले पाँच सय वटा मात्रै बिक्री गर्न पाए। त्यो पनि लागतभन्दा कम मूल्यमा। तीन सय वटा जति खोरमै मरे। बाँकी रहेका दुई सय कुखुरा गाउँमा बाँडिदिए।

‘लागतभन्दा आधा कममा बेच्नुभन्दा त खोरमै मरोस् भनेर दिइन। पछि मर्न दिनुभन्दा छिमेकीलाई दियो भने त खुसी हुन्छन् भनेर बाँडिदिएँ,’ उनले भने।

व्यवसायका लागि बैंकबाट ऋण लिएका उनको मोबाइलमा ब्याजका लागि तारन्तार फोन आउँछ।

‘तर तिर्न सक्ने अवस्था छैन,’ उनले दुःख सुनाए, ‘न रोएर दुःख व्यक्त गर्न सकिन्छ, न हाँस्दै  हिँड्न सकिन्छ।’

कुखुरा व्यवसायले लागेको ऋण चुक्ता गर्न आफ्नो सात कठ्ठा जमिन मध्येको तीन कठ्ठा बिक्री गरिसकेको राउतले बताए। तै पनि ऋण सकिएको छैन।

ठूला व्यवसायीका आफ्नै दुःख

ठूलो संख्यामा रहेका सानो परिमाणमा कुखुरा पाल्ने व्यवसायीहरूले ठूला व्यवसायीहरूलाई दोष देखाउँदै गर्दा ठूला भनिएका व्यवसायीका पनि ठूलै चिन्ता छन्। नेपाल पोल्ट्री व्यवसायी महासंघका अध्यक्ष गुणचन्द्र विष्ट केही वर्षयता समग्र पोल्ट्री व्यवसाय नै धरासायी बनेको बताउँछन्।

तै पनि आफूहरूले जेनतेन व्यवसाय धान्दै आएको उनले बताए।

नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष टिकाराम पोखरेलकाअनुसार लकडाउनको समयमा मात्रै नेपालको पोल्ट्री व्यवसायमा १५ अर्ब रुपैयाँ घाटा लागेको छ। चितवनले मात्र करिब छ अर्ब रुपैयाँ घाटा व्यहोरेको उनी बताउँछन्।

ठूला व्यवसायीले ठूलै घाटा व्यहोरेको भन्दै उनले ठूलाका कारण साना व्यवसाय धरासयी भयो भन्नु गलत भएको बताए। बजारको माग नै कम भएका कारण व्यवसायीले मूल्य नपाएको उनले बताए।

‘सानो लगानीमा चल्दै आएकाहरू उठ्नै नसक्ने अवस्था आएको छ, उहाँहरूलाई राज्यले हेर्नुपर्छ भनेर हामी पनि बोलिरहेका छौं,’ पोखरेल भन्छन्, ‘तर, यसको अर्थ हामी चाहिँ नाफामा छौं भन्ने लगाउन भएन। हामीलाई पनि ठूलो घाटा लागेको छ ।’

पोखरेलका अनुसार लकडाउन र निषेधाज्ञाको समयमा कुखुराको बिक्री नहुँदा ह्याचरीहरूले चार करोड चल्ला नष्ट गरेका छन्। चितवनमा मात्रै डेढ करोड चल्ला नष्ट गरिएको उनले बताए।

‘हामीले प्रत्येक हप्ता ४२ लाखवटा चल्ला नष्ट गर्दथ्यौं,’ उनले भने, ‘त्यसपछि केही हप्ता उत्पादन नै बन्द गर्‍यौं।’

देशभरमा अहिले ३२४ वटा ह्याचरी उद्योगहरू छन्। तीमध्ये चितवनमा मात्रै १३० उद्योग छन्।

उनले आत्मनिर्भर बन्दै गरेको पोल्ट्री व्यवसाय धरासायी बनेको भन्दै अब लकडाउन भन्दा अगाडिको अवस्थामा पुग्नका लागि दुई वर्ष लाग्ने आंकलन गरिएको बताए।

लागत बढ्दै, मूल्य घट्दै

कुखुरा उत्पादनको लागत मूल्य दिनप्रति बढिरहँदा उनीहरूले पाउने बिक्री मूल्य भने घट्दै गएको छ। किसानहरू अहिले पनि कुखुरा प्रतिकिलो १०० देखि १३५ रुपैयाँ सम्ममा बेच्न बाध्य भएका छन्।

चितवनमा ठूलो परिमाणमा मासुको बिक्री वितरण गर्दै आएका चितवन भ्याली कोल्ड स्टोरका सञ्चालक तेजनारायण पाण्डेले चार दिनअघि बोइलर कुखुराको मासु प्रतिकिलो २४० रुपैयाँमा बिक्री भइरहेको बताएका थिए। त्यसको केही दिनअघि त मूल्य घटेर प्रतिकिलो १५० रुपैयाँसम्म पनि पुगेको थियो।

मासुको माग नै कम भएका कारण मूल्य घटेको उनले बताए।

गत जेठमा कुखुरा मासुको मूल्य बढेर ४४० सम्म पुगेको थियो। त्यतिखेर उत्पादक किसानले प्रतिकिलो २८० रुपैयाँसम्म पाए। असारको पहिलो साता प्रतिकिलो ३३० रुपैयाँमा बिक्री भएको मासुको मूल्य अहिले निकै घटेको छ।

जबकि, कुखुरा पालकले बोइलर कुखुराको चल्ला किन्नका लागि मात्र ७५ रुपैयाँसम्म तिर्छन्। त्यसपछि चल्लालाई खुवाउने दाना, औषधी, काम गर्ने जनशक्तिको ज्याला लगायतको हिसाब गर्दा लागत मूल्य नै करिब दुई सय पर्छ। दानाको मूल्य अहिले प्रतिकिलो ६० रुपैयाँ छ।

कुखुरा पालक यो मूल्य अत्यधिक बढी भएको गुनासो गर्छन्। तर, दाना उद्योगीहरूले भने मूल्य अझै बढाउन खोजेका छन्।

‘दानाका लागि सबैभन्दा बढी आवश्यक पर्ने मकैको मूल्य प्रतिकिलो ४० रुपैयाँबाट घटेर २० रुपैयाँमा पुगेको छ, भटमासको मूल्य ८२ बाट घटेर ५२ पुग्यो तर दानाको मूल्य थोरै मात्र घटाइयो,’ संघका अध्यक्ष पौडेलले भने।

चल्लाको लागत मूल्य ३५ मात्र भए पनि बिचौलियाले दोब्बर भन्दा बढी तिर्न बाध्य बनाउने गरेको पौडेल बताउँछन्। तर, यस विषयमा धेरै पटक जानकारी गराउँदा सरकारी निकायबाट कुनै सहयोग नभएको उनले बताए।

किसानको माग वैज्ञानिक मूल्य निर्धारण 

कुखुरा पालक किसानहरूले यस व्यवसायलाई दीगो बनाउन वैज्ञानिक मूल्य निर्धारणको माग गरेका छन्।

हालको मूल्य निर्धारण स्वार्थ केन्द्रित भएको भन्दै उनीहरूले सरोकारवाला सबैको उपस्थितिमा सरकारले समयानुकूल वैज्ञानिक रूपमा मूल्य निर्धारण गर्नुपर्ने बताए।

अहिले पोल्ट्री क्षेत्रका संस्थाहरूले पोल्ट्रीजन्य वस्तुको मूल्य निर्धारण गर्ने गर्दछन्। यसमा कुखुरा पालकहरूले अपनत्व महशुस गरेका छैनन्।

‘चल्ला, दाना, मासु, अण्डा, औषधी सबैको मूल्य निर्धारण गर्नेगरी संयन्त्र बन्यो भने आगामी दिनमा केही सहज हुन सक्छ कि भन्ने आशा छ,’ संघका पूर्वअध्यक्षसमेत रहेका किसान प्रकाशबाबु खनालले भने, ‘यति नगरे व्यवसाय अघि बढाउन गाह्रो।’

उनले अहिले बिक्री हुने कुनै पनि पोल्ट्रीजन्य वस्तुको मूल्य निर्धारण नभएको भन्दै बिचौलियाले जति भन्यो त्यति तिर्नुपर्ने किसानको बाध्यता रहेको बताए।

किसानहरूले यस विषयमा नेपाल सरकारको पनि ध्यानाकर्षण गराएका छन्। सरकारी निकायबाट सकारात्मक जवाफ आए पनि कार्यान्वयन गर्न तत्पर नभएको अध्यक्ष पौडेलले बताए।

‘कोभिड-१९ को महामारीलाई त अहिले बहाना मात्र बनाइएको हो, होटलहरू बन्द भए पनि सर्वसाधारणले मासु खान छाडेका छैनन्,’ पौडेलले भने, ‘ठूला व्यवसायीलाई मनलाग्दी गर्ने छुट दिइरहँदासम्म समस्या रहिरहन्छ।’

उनले सबै व्यवसायीलाई समान व्यवहार हुने नीति ल्याउन सरकारसँग माग गरे।

चितवनमा मात्रै पोल्ट्री व्यवसायमा दस हजारभन्दा बढी मानिसले रोजगारी गर्दै आएका थिए। व्यवसाय धराशायी बन्न थालेपछि अधिकांशको रोजगारी गुम्न थालेको छ।


Your Views
Related News