विराटनगर । ‘म अहिले कुनै हालतमा बिहे गर्दिनँ, पढ्छु । मलाई पढ्न दिनोस् ।’ बूढीगंगा गाउँपालिका ६, शिशबनी वडहरा, भंगराहीकी सन्जिला उराँवको भनाइ हो यो । उमेरले १८ वर्ष टेकेकी उनले जब एसईई उत्तीर्ण गर्न सकिनन् तब परिवारका सदस्यले विवाह गर्न दबाव दिँदा यस्तै जवाफ दिइन् ।

निम्‍न वर्गीय परिवारकी उनको जब विवाहको कुरा चल्यो, सुरुमा त उनलाई ठीकै जस्तो लागेको थियो । तर, जब रुपान्तरण कक्षामा उमेर नपुगी गरिने विवाहको नकारात्मक असरबारे जान्‍ने मौका पाइन् तब पढाइको महत्त्व उनको मनमा गढ्यो । उनले भनिन्, “अहिले म विवाह गर्दिनँ । मेरो विवाह गर्ने उमेर भएको पनि छैन । म पढाइलाई नै अगाडि बढाउन चाहन्छु ।”

सन्जिलाको पाँचजनाको परिवार छ । परिवारमा आमाबुबा र तीन छोराछोरी छन् । उनले सरस्वती माध्यमिक विद्यालयबाट एसईई दिएकी हुन् । अब कक्षा ११ मा शिक्षा विषय लिएर पढ्ने उनको इच्छा छ । प्राय: उनको समुदायमा माथिल्लो कक्षामा पढ्ने छोरीहरूको संख्या न्यून छ ।

उनका बुबा ईश्वर उराँव विगत दुई वर्षदेखि वैदेशिक रोजगारीका क्रममा मलेसियामा छन् । उनकी आमा दुखनीदेवी अर्काको घर-खेतमा ज्यालादारी काम गर्छिन् । घरायसी कामकाज सन्जिलाको जिम्मामा छ । घरायसी काममा व्यस्त रहनुपरेकाले उनले पढाइमा समय दिन सकिनन् । पहिलोपटक तयारी राम्रो थिएन, पास गर्न सकिनन्, एक विषय लागेरै छाड्यो ।

पढाइ रोकियो, विवाहका प्रस्तावहरू आउन थाले । सबैले विवाहको कुरा गरेपछि एक मन त उनलाई पनि विवाह गरौं कि भन्‍ने लाग्यो । सबैभन्दा डरलाग्दो पक्ष त विवाह गरेपछि पढाइ छाड्नुपर्ने हुन्थ्यो । अभिभावकबाट विवाह गर्न दबाब आइरहेको थियो । संयोगवश उनी एसईई दिएपछि जीवन रुपान्तरण कक्षामा पढ्न गइन् । नारी विकास संघ, विराटनगरले बूढीगंगा गाउँपालिका ६, भंगराहीमा २०७५ वैशाखदेखि रुपान्तरण कक्षा नामक अनौपचारिक कक्षा सुरु गरेको थियो ।

प्रत्येक शनिबार कक्षा सञ्‍चालन हुन्थ्यो । त्यस भंगराही रुपान्तरण जीवन उपयोगी सीप केन्द्रमा एक दिन विवाहको महत्त्वबारे छलफल भयो । त्यही छलफल कक्षाले उनका आँखा खुले । सानै उमेरमा विवाह गर्दा हुने हानिबारे बुझिन् ।

शिक्षाले मानव जीवनमा ल्याउने अवसरहरूबारे पनि बुझिन् । त्यसपछि उनले मनमनै २० वर्ष पूरा नभई कुनै हालतमा पनि विवाह गर्दिनँ भनेर अठोट गरिन् । उनलाई रुपान्तरण कक्षा बढी उपयोगी भएको महसुस हुनथाल्यो । वर्ल्ड भिजन इन्टरनेसनलको सहयोगमा सञ्‍चालित उक्त कक्षामा जीवन उपयोगी सीपहरूका साथै पढाइ र शिक्षाको महत्त्वबारे पनि सिकाइन्छ ।

बालविवाहबाट हुने हानिबारे जानकारी गराइन्छ । त्यही कक्षामा सिकेको ज्ञानका आधारमा सन्‍जिलाले आफ्नो निर्णय बदल्न सकिनन् । अहिले उनले कक्षा ११ र १२ पढिसकेर मात्र विवाह गर्ने निर्णय लिएकी छन् । आमा दुखनीदेवीले छोरीको निर्णयप्रति समर्थन जनाउँदै भनिन्, “उनले पढ्ने इच्छा गरिन् भने हामी पनि पढ्न सहयोग गर्छौं । पढाइ पूरा भएपछि उनको चाहनाअनुसारको वर खोजेर विवाह गरिदिन्छौं ।”

READ MORE

आजको भूकम्प २०७२ सालपछिको ठूलो, किन फरक फरक हुन्छ म्याग्निच्युड ?

काठमाडौं । राष्ट्रिय भूकम्प मापन केन्द्रले २०७२ सालपछि बुधबार बिहान गएको भूकम्प सबैभन्दा ठूलो भएको जनाएको छ ।

भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बाह्रखरीसँगको कुराकानीमा भने, “२०७२ सालपछि यति ठूलो भूकम्प गएकै थिएन । हामीले भन्दा पराकम्प भने पनि भूकम्प नयाँ र पुरानो भन्न मिल्दैन । ५.९ म्याग्निच्युडसम्म गएका थिए तर आजको ६ म्याग्निच्युड हो । यति ठूलो गएको थिएन ।”
०७२ सालपछि सयौं साना परकम्प गएका छन् ।

किन फरक पर्छ म्याग्निच्युड ?

अधिकारीका अनुसार बुधबार गएको भूकम्पपछि सामाजिक सञ्जालमा आएका टिप्पणीले धेरैलाई किन म्याग्निच्युड फरक फरक हो भन्ने देखिएको छ ।

उनले यसलाई स्वाभाविक भनेका छन् । “धेरैलाई किन फरक भयो भन्ने लागेको छ । लोकल म्याग्निच्युड चाहिँ अरु म्याग्निच्युडभन्दा फरक हुन्छ । साना भूकम्प लोकल म्याग्निच्युडले नाप्छ त्यो पनि बढी हुन्छ फेरि । भूकम्पको मापन गरिने फर्मुला र नजिकको स्टेसन कि टाढाको भन्नेले पनि काम गरेको हुन सक्छ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको भूकम्पको मापन फरक फरक फर्मुलाबाट गर्दा अमेरिका, चीन र भारतमा फरक फरक पर्न सक्छ । उतामात्रै होइन, नेपालमा पनि विभिन्न ठाउँमा रहेका स्टेसनले फरक देखाउन सक्छ । तर नजिक रहेको स्टेसनलाई आधार मान्नुपर्ने हुन्छ । त्यसैले आज गएको भूकम्प ६ म्याग्निच्युडको हो । जुन भूकम्प २०७२ पछि सबैभन्दा ठूलो हो । यसरी पनि बुझ्नुपर्‍यो हाम्रो तरंगको तिव्रता यहाँ नजिकबाट नाप्दा अर्थात नजिकको केन्द्रले जति देखाउँछ टाढाको केन्द्रमा फरक पर्न सक्छ । हामीले हेर्ने भनेको नजिकको केन्द्र नै हो ।”


Your Views
Related News