मिलापत्रका लागि दबाब दिने समाजका ‘अगुवा’हरु पक्राउ

काठमाडौँ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–७, ब्रह्मपुरमा जघन्य अपराधमा मिलापत्रका लागि दबाब दिने समाजका अगुवाहरु कानुनी फन्दामा परेका छन् ।

बलात्कृत स्थानीय किशोरीलाई न्यायको प्रत्याभूति दिनुको साटो ती अगुवाहरुले मिलापत्रका लागि पीडित पक्षलाई नै दबाब दिएका कारण ती किशोरीले आत्महत्या गरेपछि मामिला प्रकाशमा आएको हो ।प्रहरीका अनुसार भदौ २९ गते बिहान ९ बजेतिर खेतमा घाँस काट्न गएका बेला गाउँका चार युवा आएर उनलाई घेरे । स्थानीय जुगेश्वरी साहको खेतको आलीमा दुई युवाले राक्षसी स्वरुपमा उनलाई बलात्कार गरे । उनी चिच्याइरहिन् तर उनको रोदन सुन्ने कोही भएन ।

अर्का दुई युवाले उनलाई फेरि झम्टिए । बलात्कार प्रयास गरे, कसोकसो त्यहाँबाट फुत्केर उनी घर पुगिन् र आमालाई भनिन् ।

डाक्नेश्वरी नगरपालिकाका मेयर शिवनारायण साह आफू काठमाडौंमा भएका कारण घटनाको बारेमा राम्रोसँग बुझ्न नपाएको बताउँछन् । ‘छोराको उपचार गराउने सिलसिलामा म झण्डै तीन सातादेखि काठमाडौँमै छु,’ उनले भने, ‘जहाँसम्म मैले बुझेको छु, बलात्कारजस्तो मुद्दामा जबर्जस्ती मिलापत्र गराउन खोज्दा पीडितले आत्महत्या गरेको भन्ने कुरा छ ।’

उनका अनुसार अझै पनि ‘जात’ का आधारमा समाज ध्रुवीकृत हुने गरेको छ । यो घटनामा पीडितले न्यायको अनुभूति गर्न नसक्नु त्यसकै एक उदाहरण रहेको उनको भनाइ छ ।

‘जसको बोलबाला छ, उसले समाजमा आफ्नो कुरा लाद्न खोज्छ,’ उनी भन्छन्, ‘अर्को पक्षले न्यायको अनुभूति गर्न सक्दैन ।’ दोषीले उन्मुक्ति पाउन नहुने उनको भनाइ छ ।

स्थानीयवासीका अनुसार समाजका अगुवा भनिने केही व्यक्ति भेला भएर गाउँको मुद्दा गाउँमै सामसुम पार्नुपर्छ भन्दै छलफल गरे । मध्यान्ह २ बजे स्थानीय सत्रुघन मण्डलको घरमा बसेका ८ जना पञ्चले पीडक र पीडित पक्षलाई राखेर छलफल चलाए । ती अगुवाहरुले पीडितलाई रकम दिएर मुद्दा सल्टाउन पीडक पक्षलाई निर्देशन दियो तर पीडित पक्ष खासगरी, ती किशोरी नै मिलापत्रका लागि सहमत भइनन् ।

पीडित परिवार निकट स्रोतका अनुसार कथित पञ्चले बलात्कृत किशोरीलाई उल्टो धम्की दिए । प्रहरीको ढोकामा जाहेरी लिएर जान बन्देज लगाए, गाली गरे । अनि, बलात्कार गर्नेबाट २५–२५ हजार क्षतिपूर्ति दिने सहमति गराए ।

पञ्चको निर्णयले किशोरीको चित्त कुँडियो । त्यही रात उनले घरको बलोमा सलको पासो लगाएर झुण्डिएर प्राण त्यागिन् ।

‘आत्महत्याको कारण खोज्दा सामूहिक बलात्कारपछि मिलापत्र गराएको थाहा भयो,’ जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता (डिएसपी) तिलक भारतीले रातोपाटीसँग भने, ‘मिलापत्र गराउनेमध्येका तीन जनालाई पक्राउ गरेका छौँ । बलात्कारमा संलग्नलाई खोजिरहेका छौं ।’

किशोरीलाई धम्क्याएर मिलापत्र गराउने पञ्चमध्येका जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डल पक्राउ परेका छन् । उनीहरुलाई बलात्कार मतियार र आत्महत्या दुरुत्साहन मुद्दा चलाउने प्रहरीको तयारी छ ।

आत्महत्याको अनुसन्धान गर्न आएका प्रहरीलाई किशोरीकी आमाले बलात्कार मुद्दा ५० हजार रुपैयाँमा मिलापत्र गरेको बताएकी थिइन् । छोरीको मृत्युपछि आमाले ईलाका प्रहरी कार्यालय कल्याणपुरमा जाहेरी दिएकी छिन् ।

पीडित किशोरीका बाबु छैनन् । उनका एक दाजु खाडी मुलुकमा पसिना बगाइरहेका छन् भने भाइ सानै छन् ।

 

READ MORE

नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चार किलो र पाँचकिलोमा आज बिहान खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छ । सडकका चार ठाउँमा एकतर्फी सञ्चालनमा रहेका छन् भने अन्य ठाउँ सफा गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दयाकृष्ण भट्टकाअनुसार बिहान ५ः४५ बजेको समयमा ती दुवै ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।
पहिरो पन्छाएसँगै बिहान ११ः०० बजेदेखि सवारी आवागमन शुरु भएको उनले जानकारी दिए ।
भट्टका अनुसार सो सडकको सत्रकिलो, सिमलताल, रिग्दीखोला र भालुढुङ्गामा एकतर्फी सडक खुलेको छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार एकतर्फी सडक खुलेका ठाउँमा दुईतर्फी खुलाउने काम शुरु भएको छ ।
सो सडकखण्डमा सोमबार राति ठाउँठाउँमा पहिरो खसेको थियो । पाँच वर्षयताको सबैभन्दा बढी पहिरो खसेको कार्यालयले जनाएको छ । मङ्गलबार दिनभर १६ उपकरण प्रयोग गरेर पहिरो पन्छाइएको थियो ।

Your Views
Related News