१ असोज, काठमाडौं । पशुपति मन्दिर लगायत देशभरका हिन्दू मन्दिरहरू खोल्न माग गर्दै बिहीबार पशुपति क्षेत्रमा प्रदर्शन गरिएको छ ।
लामो समयसम्म मन्दिरहरू बन्द हुँदा हिन्दु धर्मावलम्बीहरूलाई समस्या भएको भन्दै स्वास्थ्य मापदण्ड पालना गरेर मन्दिर खोल्न माग राखेर शिवसेना नेपालले प्रदर्शन गरेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले मठमन्दिर खोल्न अझै प्रतिबन्ध लगाएको छ । तर शिव सेना नेपालले प्रदर्शन गरेपछि त्यसलाई रोक्न खोज्ने क्रममा केहीबेर प्रहरी र प्रदर्शनकारी बीच घम्साघम्सी समेत भएकाे थियो ।
कर्णाली प्रदेशका ४ जिल्ला कोरोनामुक्त
१ असोज, सुर्खेत । कर्णाली प्रदेशका चार जिल्ला कालीकोट, हुम्ला, मुगु र डोल्पामा कोरोनाका संक्रिय संक्रमितको संख्या शून्य भएको छ ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखाका अनुसार कालीकोटमा ११६ जना, हुम्लामा ९ जना, डोल्पा ५ जना र मुगुमा १३ जनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरु सबै निको भएर घर गइसकेका छन् ।
बिहीबारसम्म यी जिल्लामा संक्रमित शून्य रहेको महाशाखा वरिष्ठ जनस्वास्थ्य प्रशासक बृषबहादुर शाहीले जानकारी दिए ।
‘प्रदेशका चार जिल्ला कोरोनामुक्त भएका छन । ती जिल्लाहरुमा पछिल्लो समय सक्रिय संक्रमितको संख्या सून्य छ,’ उनले भने ।
हाल कर्णालीका ६ जिल्लामा मात्र कोरोना संक्रमित रहेका छन् । प्रमुख शाहीका अनुसार सुर्खेतमा १८२ जना, दैलेखमा १८ जना, सल्यानमा ३९ जना, जाजरकोटमा चारजना, रुकुम पश्चिममा नौंजना र जुम्लामा ६ जनासहित प्रदेशका विभिन्न आसोलेसनमा २६२ जना संक्रमित आइसोलेसनमा छन् ।
प्रदेशमा सक्रिय संक्रमितको संख्या ३०३ जना रहे पनि केही संक्रमित होम आइसोलेसनमै रहेको महाशाखाले जनाएको छ ।