मानव मलमूत्रको वैज्ञानिक व्यवस्थापन नहुँदा वातावरण र स्वास्थ्य दुवैमा प्रतिकूल असर परिरहेको छ। त्यति मात्र नभई बालीनाली उत्पादनमा ज्यादै महत्वपूर्ण हुने मानव मलमूत्र खेर समेत गइरहेको छ।

 

बालीनाली उत्पादनका लागि मानव मलमूत्र प्रयोगबारे सुन्दा धेरैजसोले नाक खुम्च्याउन सक्छन्। मलमूत्र प्रयोगबाट उत्पादन भएका कृषिउपज किन्न पनि हिच्किचाउन सक्छन्। त्यसैले प्राविधिक तवरबाट आम मानिसलाई यसको महत्व बुझाउनुपर्छ।

हामीले अन्न, तरकारी, दूध, मासु, अण्डा खाँदा ती तत्वले हाम्रो शरीरको वृद्धि र विकासमा भूमिका निभाउँछ। हामीले खाएको अन्न र पशुजन्य पदार्थमा भएका सबै तत्व शरीरले उपयोग गर्दैन। ती तत्वहरुलाई दिसा र पिसाबको रुपमा विसर्जन  गरिन्छ।

तसर्थ दिसा, पिसाब भनेको तत्वहरुको भण्डारण हो। बोटबिरुवाबाट हामीले आवश्यक तत्व लिएजस्तै हामीले विसर्जन गरेका तत्व बोटबिरुवाले लिन्छ। तर, बोटबिरुवाले सीधै नभई आवश्यक खाद्यतत्व मूलतः माटोबाट लिन्छ।

सैद्धान्तिक रुपमा मानिन्छ कि एक रोपनी जग्गाबाट उत्पादन भएको उपजले एक जनालाई वर्षभरी खान पुग्छ। र एकजनाले विसर्जन  गरेको दिसा र पिसाबलाई राम्ररी उपयोग गर्यौँ भने एक रोपनी जमीनबाट एक व्यक्तिलाई आवश्यक पर्ने खाद्यान्न उत्पादन हुन्छ। माटोदेखि माटोसम्मको यही सिद्धान्तलाई व्यवहारमा ल्याउन मानव दिसा, पिसाबलाई उपयोगमा ल्याउनै पर्छ।

मानव मलमूत्रको महत्व

देशमा लाखौ टन युरिया, डीएपी लगायत रासायनिक मल भित्रिदा वर्षेनि अरबौँ रुपैयाँ (आर्थिक वर्ष २०७५/७६ मा मात्र झण्डै रु.१६ अरब) बाहिरिने गरेको छ। जबकि मानव मलमूत्रमा त्यस्ता सबै पदार्थ हुन्छ।

एक व्यक्तिले एक वर्षमा करीब १३ किलो दिसा (सुक्खा) र करीब ४४० लिटर पिसाब विसर्जन गर्छ। यस हिसाबले एक व्यक्तिले प्रतिदिन ३५ ग्राम दिसा र १.२ लिटर पिसाब विसर्जन  गर्छ। दुवैबाट वर्षमा करीब ४.५ किलो नाइट्रोजन (पिसाबबाट मात्र चार किलो) ०.५ किलो फोस्फरस र १.३ किलो पोटासियम विसर्जन हुन्छ।

मानव दिसा र पिसाबमा बिरुवाको वृद्धि र विकासका लागि आवश्यक प्राङ्गारिक पदार्थ र सूक्ष्मतत्वहरु पनि प्रशस्त हुन्छ। एक व्यक्तिले एक वर्षमा विसर्जन गरेको मलमूत्रमा भएको नाइट्रोजन झण्डै १० केजी यूरिया मल बराबर हो।

झन्डै तीन करोड जनताले वर्षमा करीब दुई लाख ८७ हजार टन युरिया ३५ हजार टन डीएपी र ६२ हजार टन म्यूरेट अफ पोटास बराबरको तत्व विसर्जन  गरिरहेका छौँ। त्यसैगरी झण्डै पाँच लाख ५० हजार टन प्राङ्गारिक पदार्थ हामीले दिसा र पिसाबबाट फ्याँकिरहेका छौँ। यो करीब २२ लाख टन गाईवस्तुको मल बराबर हुन्छ।

तसर्थ देशलाई नै प्राङ्गारिक कृषि उत्पादनमा लैजाने हो भने मानव मलमूत्रमा भर नपरिकन सुखै छैन। नत्र विदेशबाट ठूलो परिमाणको प्राङ्गारिक मल किनेर ल्याउनुपर्छ। कुल विसर्जनको आधा मात्रा मानव मलमूत्र सदुपयोग हुनसक्यो भने खाद्य सुरक्षा, स्वास्थ्य, वातावरणमा मात्र नभई आर्थिक क्षेत्रमा पनि टेवा पुग्छ।

यसरी गर्ने संकलन र प्रयोग

केही वर्ष पहिलेसम्म पनि काठमाडाैं उपत्यकाका नेवार समुदायका कृषकले पिसाब घरभित्रै संकलन गरेर खेतीमा प्रयोग गर्थे। भान्साबाट निस्कने खरानी लगायत अन्य जैविक फोहाेरलाई छिडीको भर्याङ मुनि सानो खाडल खनेर जम्मा गर्ने (त्यो खाडललाई नेवारीमा नौ गाः भनिन्छ) र कम्पोष्ट बनाइ प्रयोग गर्ने चलन थियो।

अहिलेको जस्तो शौचालयहरु थिएनन्। कुनै निश्चित ठाउँमा जम्मा गरेको दिसालाई कोदालोले संकलन गरेर खेतबारीमा लैजाने चलन थियो। यस अर्थमा कृषकहरु फोहोर व्यवस्थापनबाट माटोको उर्वराशक्ति बढाउन सचेत थिए।

तर, शहरीकरणको तीव्र विकास, घरको संरचनामा आएको फेरबदल, कृषि जमीनको हृास आदिले गर्दा उक्त चलन लोप भयो। अहिले हामीले विसर्जन गरेको दिसा, पिसाब केवल फोहोर पदार्थ मात्र भएको छ। यसलाई शहर बजारमा त सीधै ढलमा मिसाइन्छ।

कसैले आफ्नै घर परिसरमा सेफ्टिक ट्याङ्क बनाए पनि भरिएपछि उपयोगका लागि प्रशोधन गर्ने चलन छैन।  जसकारण हाम्रा खोला, नदी आदि प्रदूषित र दुर्गन्धित भएका छन्। गाउँघरमा पनि यसलाई विरलै मात्र उपयोगमा ल्याएको पाइन्छ।

अहिले केही किसानले तरकारी बालीमा मल तथा जैविक विषादिको रुपमा मानव मलमूत्र प्रयोग गर्न थालेका छन्। बायोग्याँसको प्रवर्धनले पनि विशेषतः तराई र गर्मी हावापानी भएका ग्रामीण भेगमा दिसाको उपयोगमा वृद्धि भएको छ।

मल बनाउन दिसा र पिसाबको प्रशोधन विधि र लाग्ने समय फरक हुनाले छुट्टाछुट्टै तरिकाले संकलन र व्यवस्थापन गर्नुपर्छ। त्यसैगरी फरक संरचनाका वस्ती तथा घर हुने गाउँ र शहरी क्षेत्रमा फरक तरिकाले संकलन गर्नुपर्छ।

गाउँमा घरसँग थोरै भए पनि खेत वा बारी हुन्छ। शौचालय घरबाहिरै हुन्छ। प्रत्येक परिवारसँग खेती गर्न केही न केही जमीन हुन्छ। त्यसकारण गाउँमा दिसा, पिसाब संकलन र उपयोग निकै सरल हुन्छ।

गाउँमा शौचालयको खाडलमा जम्मा भएको दिसालाई सीधै कम्पोष्ट बनाउन सकिन्छ। वा त्यसलाई गाईवस्तुको गोबरको खाडलमा मिसाउन पनि सकिन्छ। बायोग्यास उत्पादन हुनसक्ने गर्मी हावापानी भएको क्षेत्रमा बायोग्याँस प्रणालीसँग जोड्न सकिन्छ।

पिसाबलाई बोतल, ग्यालेन वा ड्रममा जम्मा गरेर करीब एक महीना बन्द भाँडामा राखेपछि पानीसँग मिसाएर बोटबिरुवा वा माटोमा प्रयोग गर्न सकिन्छ। यसो गर्न झन्झट लाग्छ भने बोतलमा जम्मा भएको पिसाबलाई गाईवस्तुको मलको थुप्रोमा मिसाउँदा हुन्छ।

प्राङ्गारिक खेती गर्दा प्राङ्गारिक मलको एउटा सीमितता के हो भने यिनीहरुमा भएको खाद्यतत्व बिरुवाले सजिलै पाउँदैन। अर्थात तत्वहरुको उपयोग दक्षता रासायनिक मलको तुलनामा कम हुन्छ। तर, प्राङ्गारिक मलमा पिसाब मिसाएपछि भने तत्वहरुको उपयोग दक्षता बढ्छ।

पिसाब जम्मा गर्न शौचालयमा पिसाब गर्ने भाँडाहरु राख्न सकिन्छ, जुन पुरुषहरुका लागि उपयुक्त हुन्छ। महिलाका लागि उपयुक्त भाडामा मूत्र विसर्जन गरिसकेपछि युरिनरी पडमा लगाइएको पाइपबाट घरको तल्लो भागमा राखिएको ट्यांकीमा जम्मा गर्न सकिन्छ।

पिसाब जम्मा गर्न शौचालयमा पिसाब गर्ने भाँडाहरु राख्न सकिन्छ, जुन पुरुषहरुका लागि उपयुक्त हुन्छ। महिलाका लागि उपयुक्त भाडामा मूत्र विसर्जन गरिसकेपछि युरिनरी पडमा लगाइएको पाइपबाट घरको तल्लो भागमा राखिएको ट्यांकीमा जम्मा गर्न सकिन्छ।
पिसाब संकलनका लागि दुई वटा ड्रम राख्नु उपयुक्त हुन्छ। पाँच सदस्य भएको घरमा एक महीनामा १८० लिटर पिसाब जम्मा हुन्छ। लगभग २०० लिटर क्षमताको ड्रम भरिएपछि हावा नछिर्ने गरी बिर्को नलगाई राख्नुपर्छ। त्यसको उपयोग हुँदा अर्को ड्रम राख्न सकिन्छ।

यसरी तयार भएको पिसाबलाई शहरमा करेसा वा कौसीबारीको निम्ति चाहिने युरिया मलको विकल्पमा प्रयोग गर्न सकिन्छ। प्रयोग गरेर बाँकी भएको पिसाबलाई संकलन गरेर कृषि फार्महरुलाई दिन सकिन्छ। कृषकहरुले सीधै प्रयोग गर्न नचाहे प्राङ्गारिक मल कम्पनीहरुले कच्चा पदार्थको रुपमा प्रयोग गर्न पनि सक्छन्।

शहरमा दिसा संकलनका लागि भने बेग्लै उपाय अपनाउनुपर्छ। शौचालय प्रयोग गर्ने मान्छेको संख्या अनुसार एक महीना विसर्जन हुने दिसा र त्यो पखाल्न प्रयोग हुने पानी संकलन गर्न एउटा सेफ्टिक ट्याङ्क बनाउनुपर्छ। सकेसम्म कम पानी चाहिने प्यान प्रयोग गर्नुपर्छ। त्योबाहेक दिसा पिसाब गरिसकेपछि हात सफा गर्दा र कपडा धुँदा निस्केको पानी त्यहाँ मिसाउनुहुँदैन।

हामीले एकचोटिमा औसतमा १०० ग्राम दिसा विसर्जन  गर्छौँ। विसर्जनपछि सरसफाइका लागि अनुमानित चार लिटर पानी प्रयोग हुन्छ। यस हिसाबले एक महीनामा करीब ६१५ लिटर पानी सहितको दिसा जम्मा हुन्छ। त्यसैले औषत पाँच सदस्य भएको घरका लागि ७०० लिटरको सेफ्टिक ट्यांक राख्दा हुन्छ। वा घर–घरमा संकलन गर्नुको साटो प्रत्येक समुदाय वा टोलमा नै उपयुक्त क्षमताको सेफ्टिक ट्यांक बनाउन सकिन्छ।

यसरी जम्मा भएको दिसालाई प्रत्येक महीना संकलन गरेर बायोग्याँस प्लान्टमा आवश्यक कच्चा पदार्थको रुपमा प्रयोग गर्न सकिन्छ। बायोग्याँस प्लान्टबाट निस्केको लेदोलाई कम्पोष्ट मल बनाउन सकिन्छ।

कृषि उत्पादनको लागि बायोचारको प्रयोग पनि बढ्दै गइरहेको छ। बायोग्याँसको प्लान्टबाट निस्केको दिसाको स्लरीलाई बायोचार बनाएर पनि उपयोग गर्न सकिन्छ। सामान्य कम्पोष्ट बनाउने प्रक्रियाको तुलनामा बायोचार बनाउँदा उच्च तापक्रमको कारणले त्यहाँ भएका हानिकारक जीवाणु मर्छन्। तर, उच्च तापक्रमले त्यसमा भएको नाइट्रोजन र सल्फर तत्व पनि ग्याँसको रुपमा उडेर जान्छ।

कार्बनको मात्रा बढी हुनाले माटोमा मिसिएको बायोचारले माटोमा पहिले नै भएको वा हामीले मलखादबाट राखेको नाइट्रोजनलाई सोसेर राख्छ। त्यसैले अलि बढी मात्राको नाइट्रोजन राख्नुपर्छ। सजिलो उपाय के भने, हामीले संकलन गरेको पिसाबलाई बायोचारमा राखेर उपयोग गर्न सकिन्छ।

भान्साबाट निस्केका जैविक फोहाेरहरुलाई गड्यौलीमल वा अन्य खालको कम्पोष्ट मल बनाएर त्यसलाई पनि दिसा जम्मा हुने सेफ्टिक ट्यांकमा राख्दा हुन्छ। ग्रामीण तथा शहरी क्षेत्रका स्कूल, सरकारी र व्यावसायिक भवन (अस्पतालहरुबाहेक) बाट निस्कने दिसा, पिसाब पनि संकलन र उपयोग हुन सक्यो भने मलखाद व्यवस्थापनमा थप टेवा पुग्छ।

यस्ता नीति आवश्यक हुन्छ

निजी, सामाजिक तथा सरकारी घर/भवनहरु बनाउँदा शौचालयको दिसा, पिसाब संकलन हुने गरी बनाउन आवश्यक मापदण्ड बनाउने। यस्तो संरचना बनाइसकेपछि ढलहरुमा भार कम हुने हुँदा ढलको निम्ति घरधनीले तिर्नुपर्ने शुल्क/महसुल घटाउने।
पुराना घरहरुको संरचना बदल्न आवश्यक अनुदानको व्यवस्था गर्ने। बायोग्यास कम्पनीहरुले प्रत्येक घरमा आवश्यक सेफ्टिक ट्यांक र पिसाब संकलन गर्ने ट्यांकी र ड्रम उपलब्ध गराउने। वा टोल टोलमा सेफ्टिक ट्यांक निर्माण गर्ने।
कौसीखेती/करेसाबारी प्रवर्धन गर्ने। त्यसको लागि प्रत्येक घरको एक सदस्यलाई सो सम्बन्धी तालिम दिने।
प्रत्येक नगरपालिका अन्तर्गत सरकारी–निजी साझेदारीमा कम्तीमा एउटा बायोग्याँस वा प्राङ्गारिक मल कम्पनी संचालन गर्ने।
दिसा, पिसाब र फोहाेर संकलन र ढुवानी बायोग्याँस कम्पनी/प्राङ्गारिक मल कम्पनीले नै गर्ने। त्यसको लागि स्थानीय सरकार अन्तर्गत वातावरण क्षेत्र हेर्ने निकायले सहयोग गर्ने।
पिसाब, बायोग्याँस कम्पनी/प्राङ्गारिक मल कम्पनीबाट उत्पादित ग्याँस र बायोचार, प्राङ्गारिक मललाई बजारीकरण गर्न नगरपालिका अन्तर्गतका कृषि सहकारी संस्थाहरुलाई परिचालन गर्ने।
गाउँपालिका र त्यस अन्तर्गतका वडाहरुले पनि दिसा, पिसाब व्यवस्थापन र त्यसको प्रयोग प्रवर्धनको निम्ति नीति तथा कार्यक्रमहरु बनाउने।
दिसालाई कम्पोष्ट वा बायोचार बनाएर त्यसको उपयोगिता वृद्धि गर्न अध्ययन, अनुसन्धान गर्ने।
दिसा, पिसाब र अन्य जैविक फोहाेरलाई उपयोगमा ल्याउन सके यसले ग्रामीण र शहरी क्षेत्रमा मानव स्वास्थ्य र वातावरणमा त सकारात्मक प्रभाव पार्छ नै, खेतबारीको माटोको उर्वराशक्ति र उत्पादकत्वमा पनि वृद्धि गर्छ। साथै विदेशबाट आयात भइरहेको ठूलो परिमाणको रासायनिक मललाई प्रतिस्थापन गर्न सघाउ पनि पुर्याउँछ।


Your Views
Related News