काठमाडौं । बाराको सपहीमा जन्मिएका शंकर उप्रेतीको एसएलसीसम्मको पढाइ पर्साको वीरगञ्जमा भयो । सन् १९९६ साल तिर उनी अध्ययनरत त्रिजुद्ध स्कूलमै दुई वटा कम्प्युटर आए ।

त्यतिखेर उनी कक्षा ८ मा पढिरहेका थिए । संभवतः त्यसताका वीरगञ्जमै मुस्किलसँग पाँच सात वटा कम्प्युटर मात्र थिए ।

त्यस समय सरकारी विद्यालयमा कम्प्युटर आउनु आफैमा निकै महत्वको कुरा थियो । कम्प्युटरहरु पर्दाले छोपेर स्कूलकै एउटा कोठामा राखिएका थिए ।

कहिल्यै कम्प्युटर नदेखेका विद्यार्थीबीच कम्प्युटर हेर्ने बेग्लै उत्सुकता थियो ।  कम्प्युटर देखाउनु अघि शिक्षकले त्यसको पृष्ठभूमीबारे बारेमा बताउन थाले ।

तर विद्यार्थीहरुको ध्यान चाहिँ शिक्षकको कुरामा भन्दा कम्प्युटर छोपेको पर्दामा थियो । शिक्षकको १५/२० मिनेटको लेक्चरपछि पर्दा खोलियो ।

‘ए यो त टिभीजस्तै हुँदो रहेछ भन्ने भयो,’ उप्रेती कम्प्युटरसँगको आफ्नो पहिलो साक्षात्कार सम्झिन्छन्, ‘कम्प्युटर अन भएपछि नेपालीमै ‘स्वागतम्’ लेखिएको अक्षर देखिएको थियो ।’

नेपाली शब्द ‘स्वागतम्’ ले नै उप्रेतीमा कम्प्युटरप्रति विशेष रुची जगायो । विद्यालयमा कम्प्युटर आएपछि पढ्ने विद्यार्थी खोज्न थालियो ।

कम्प्युटर कक्षाको पहिलो ब्याचमै उनी भर्ना भए । त्यसमा सामान्य विषय मात्रै पढाई हुन्थ्यो । तर प्रोग्रामिङ सम्बन्धी विषय भने थिएन ।

उप्रती आफैले स्वअध्ययनको रुपमा कम्प्युटर प्रोग्रामिङ सिक्न थाले । इन्टरनेट आइसकेको थिएन । त्यसका लागि आवश्यक पुस्तकहरु पाउन पनि निकै मुस्किल थियो ।

खोज्दै जाँदा उनले बीरगञ्जको एउटा लाइब्रेरीमा इलेक्ट्रोनिक्स फोर यू नामक किताब फेला पारे । प्रत्येक महिना एक दिन लाइब्रेरीमा त्यही पुस्तकमा रहेर कम्प्युटर प्रोग्रामिङ कसरी गरिन्छ भन्ने कुरा सिकाइन्थ्यो ।

लाइब्रेरीमा गएर कागजमा प्रोग्रामिङ सम्बन्धी जानकारी टिपेर ल्याउँथे । घरमा कम्प्युटर थिएन ।

स्कूलमा पनि दुई वटा मात्रै कम्प्युटर थिए । पालो पाउनै मुस्किल हुन्थ्यो । दिउँसोको खाजा खाने समयमा एकछिन खाली हुन्थ्यो । त्यही मेसो पारेर ल्याबमा प्रोग्रामिङको अभ्यास गर्थे ।

कागजको किबोर्ड बनाएर घरमा टाइपिङ सिक्थे । पहुँच सजिलो नभएपनि उनी अनेक माध्यमबाट आफ्नो कम्प्युटर सिक्ने रुची पुरा गर्न अनेक जुक्ती लगाई रहन्थे ।

जी टिभीमा त्यतिखेर प्रोग्रामिङ सम्बन्धी छोटा बाइट भन्ने कार्यक्रम आउँथ्यो । त्यो सकेसम्म नछुटाई हेर्थे । कम्प्युटर र आवश्यक सामग्री नभए पनि उनको सिकाइ भने रोकिएन ।

किशोरावस्थामा शंकर उप्रेती

यसरी १० कक्षासम्म पुग्दा शंकर कम्प्युटर गेम बनाउन थालिसकेका थिए । सन् १९९८ मा एसएलसीको पढाइ पुरा गरे । त्यसपछि उनी उच्च शिक्षाका लागि काठमाडौं छिरे ।

लैनचौरमा रहेको युनिभर्सल एकेडेमी (अहिले बबरमहलमा रहेको युनिभर्सल कलेज) बाट उनले आईएससी (प्लस टू) को पढाई पुरा गरे । विद्यालय तहसम्म नेपाली माध्यमबाट पढेका उनलाई काठमाडौं आइसकेपछि अंग्रेजी माध्यममा पढ्न निकै मेहनत गर्नुपर्‍यो ।

तर प्लस टू पढ्दा उनले कम्प्युटर विषय रोजेनन् । अंग्रेजी र विज्ञानमै बढी जोड दिए । कम्प्युटरमा एउटा स्तरको आधार बनाइसकेका थिए ।

उनको लक्ष्य पुल्चोक इन्जिनियरिङको छात्रवृत्तिमा नाम निकालेर कम्प्युटर इन्जिनियरिङ पढ्ने थियो । त्यहाँको प्रवेश परीक्षामा कम्प्युटरभन्दा बढी प्रश्न विज्ञान विषयबाट सोधिने कुरा शंकरले बुझिसकेका थिए ।

त्यसैअनुसार आईएससीको पढाइलाई पुल्चोक इन्जिनियरिङको छात्रवृत्तिको तयारीको रुपमा उपयोग गरे ।  नभन्दै सन् २००० को प्रवेश परीक्षा पास गर्न सफल पनि भए ।

पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थान अन्तगर्तको सम्पूर्ण परीक्षार्थीमै उनको नाम दोस्रो नम्बरमा निस्कियो । पुल्चोक क्याम्पसमा सन् १९९८ देखि नै कम्प्युटर इन्जिनियरिङ विषयको पढाइ सुरु भएको थियो ।

नयाँ विषय भएकाले त्यसमा धेरै विद्यार्थीले रुची देखाउँथे । जसले गर्दा अरु विषयमाभन्दा कम्प्युटर इन्जिनियरिङमै बढी प्रतिस्पर्धा हुने गर्दथ्यो ।

यसरी पुल्चोक इन्जिनियरिङमा तेस्रो ब्याचको विद्यार्थीको रुपमा उप्रेती भर्ना भए । स्नातक तहमा पढ्दै गर्दा उनी रोबोटिक्स क्लवमा खुबै सक्रीय भए ।

रोबोट बनाएर थाइल्याण्डमा गएर अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा समेत भाग लिए । सन् २००३ मा भएको उक्त प्रतिस्पर्धामा फिलिपिन्स र भारतलाई हराउँदै नेपालको टिम क्वार्टर फाइनलसम्म पुग्यो ।

इन्जिनियरिङ अध्ययन संस्थानभित्रै नेपाल हाइड्रो ल्याब छ । पासआउट भइसकेपछि उनले उक्त ल्याबमा आवश्यक सिमुलेसन सम्बन्धी डिभाइस बनाए ।

स्नातक तहको पढाई पुरा गरिसकेपछि उनले चार वर्षसम्म डिटु हकाई नामक आईटी कम्पनीमा काम गरे । छोटो अवधिमै त्यहाँ उनी म्यानेजरको पदमा पुगिसकेका थिए ।

यसबाट उनले कोडिङ र प्राविधिक विषयको अनुभवसँगै व्यवस्थापकीय कुशलता पनि हाँसिल गरिसकेका थिए । कम्पनीको अर्को कार्यालय अमेरिकाको बोस्टनमा थियो ।

शंकर अमेरिका गएर स्नातकोत्तर तहको पढाइलाई अगाडि बढाउने सोच बनाइरहेका थिए । सौभाग्यवश कामलाई निरन्तरता दिने शर्तमा उनको कम्पनीले नै अमेरिकामा मास्टर्स पढ्ने व्यवस्था मिलाइदिने अफर गर्‍यो ।

त्यसअनुसार उनी सन् २००८ मा डिटु हकाईको अमेरिकी कार्यालयमा सिफ्ट भए । कम्पनीमा पार्ट टाईम काम गर्दै मास्टर्सको पढाई पुरा गरे । कलेजको फिस पनि कम्पनीले नै व्यहोरिदियो ।

बोस्टनबाट स्नातकोत्तर पुरा गरेपछि दीक्षित शंकर उप्रेती

यसरी जन्मियो हाम्रो पात्रो

सन् २००७ मा पहिलो आईफोन रिलिज भयो । प्रविधि विश्वमा नै हलचल ल्याएको एप्पलको त्यो उत्पादनले शंकरलाई नलोभ्याउने कुरै थिएन ।

पढाइका लागि अमेरिका जानु अघि उनलाई कम्पनीले आईफोन रिलिज भएकै वर्ष दुई महिनाका लागि अमेरिका खटाएको थियो । पहिलो पटक अमेरिका पुगकै दिन उनी सुरुमा आईफोन किन्न बजार गए ।

सुरुवाती समयमा आईफोन रिलिज हुँदा त्यसमा थर्डपाटी एपहरु राख्ने सुविधा थिएन । डिभाइस राम्रो भए पनि रोजेर एप डाउनलोड गर्न नपाउनु एउटा अभावकै विषय थियो ।

नभन्दै सन् २००८ मा एप्पले आफ्नो एप स्टोर सार्वजनिक गर्‍यो । त्यतिखेर त अध्ययनकै लागि शंकर अमेरिका पुगिसकेका थिए ।

अरुले जस्तै उनले पनि नेपालबाट साथमा भित्तेपात्रो बोकेर गएका थिए । फेसबुक पनि अहिलेजस्तो लोकप्रिय भइसकेको थिएन ।

तिथि मिति हेर्नुपरे त्यही भित्तेपात्रो नियाल्ने र वेबसाइट चहार्ने काम शंकरलाई झन्झटिलो लाग्थ्यो । साथमा आईफोन भएकाले क्यालेन्डर सम्बन्धी एउटा नेपाली एपको आवश्यकता उनले महसुस गर्न थाले ।

आफ्नो व्यक्तिगत आवश्यकता पूर्ति  गर्नकै लागि उनले एउटा एप बनाए । कुनै विशेष योजनाका साथ त्यो एप बनाइएको थिएन ।

त्यसैले एप सुरुवात गरेको यकिन मिति समेत शंकरलाई ख्याल छैन । एपमा सुरुमा पात्रो मात्रै थियो ।

आवश्यकताले नै केही समयमै डेट कन्भर्टर (मिति परिवर्तन गर्ने) टूल थपे । एप स्टोरमा रिलिज गर्न ९९ डलर तिर्नुपर्ने हुन्थ्यो ।

९९ डलर खर्च गरेर एप स्टोरमा रिलिज गर्ने कुरा उनलाई निरर्थक लागिरहेको थियो । एक वर्ष जति एप शंकरको आफ्नो मोबाइलमै सीमित बन्यो ।

एप उनको मोबाइलमा मोबाइलमा मात्रै भए पनि त्यो विषय नजिकका साथीसर्कलमाझ थाहा नहुने कुरा थिएन । एप सबैका लागि उपयोगी हुने भन्दै थाहा पाउने सबैले एप्पल एप स्टोरमा रिलिज गर्न सुझाए ।

साथीहरुको सल्लाह टार्न नसकेर शंकरले  एप स्टोरमा रिलिज गरे । एप रिलिज भए पनि यसले धेरैको आवश्यकता पुरा गर्न सक्ला र चर्चित बन्ला भन्ने कुरा उनले कल्पनासम्म गरेका थिएनन् ।

एप सार्वजनिक हुँदासम्म त्यसमा विदेशी मुद्राको दर भाउ हेर्न सकिने फिचर थप भइसकेको थियो । शंकर आफू विदेशमा बसिरहेका कारणले नै हुनुपर्छ, एप पनि नेपाल बाहिरका नेपालीहरुको आवश्यकतालाई सम्बोधन गर्नमै केन्द्रीत थियो ।

छोटो समयमै आईफोन प्रयोग गर्ने प्रायः सबै नेपालीको मोबाइलमा रहने एपको रुपमा हाम्रोपात्रो विस्तार भइसकेको थियो । तर पनि त्यति साह्रो चर्चामा भने आइसकेको थिएन ।

किन भने महंगो आईफोन बोक्ने नेपालीहरुको संख्या त्यसताका निकै थोरै हुन्थ्यो । जब सन् २०१२ मा गुगलको प्ले स्टोरमा एप रिलिज भयो, लगत्तै हाम्रो पात्रोको प्रयोगकर्ताको आधार एकाएक चुलिन पुग्यो ।

एप स्टोरमा ५० हजार रहेको एपको डाउनलोड संख्या प्ले स्टोरमा रिलिज भएको एक वर्षमै एक लाखभन्दा बढी पुग्यो । सन् २०१५ नकट्दै एपको डाउनलोड संख्याले दश लाखको आँकडा पार गर्‍यो ।

आईफोनको तुलनामा निकै सस्तो भएकाले धेरै नेपालीहरुको हातमा एन्ड्रोइड स्मार्टफोन थियो । त्यतिखेरसम्म स्मार्टफोन बोक्ने हरेक नेपालीहरुले सुरुमा डाउनलोड गर्ने पहिलो रोजाईको स्वदेशी एप बनिसकेको थियो ।

अहिले हाम्रो पात्रो एप नेपाली एपमध्ये सबैभन्दा धेरै डाउनलोड भएको तथा प्रयोग गरिने एप बनिसकेको छ । ६४ लाख प्रयोगकर्तामध्ये ९३ प्रतिशत प्रयोगकर्ता एन्ड्रोइडमा छन् भने सात प्रतिशत जति मात्र आईफोनमा रहेका छन् ।

समाचार, पात्रो, राशिफल, मूल्य सूची, आदि जस्ता दैनिक आवश्यकताका फिचर रहेकाले एपमा सक्रिय प्रयोगकर्ताको संख्या पनि उल्लेख्य छ । दैनिक १२ देखि १३ लाख सक्रिय प्रयोगकर्ता रहेको एपमा डाउनलोड गर्ने हरेक प्रयोगकर्ता (६४ लाख नै) मासिक सक्रिय प्रयोगकर्तामा पर्छन ।

सस्ता मोबाइलका प्रयोगकर्ता नै धेरै हुने भएकाले उनीहरुलाई र्‍याम र स्टोरेज फुल हुने समस्या जहिले आइरहने हुन्छ । यस्तोमा फोटो, भिडियो वा एप मध्ये कुनै न कुनै चिज डिलिट गर्नुपर्ने बाध्यता बन्ने नै भयो ।

यस किसिमको समस्यालाई सम्बोधन गर्न हाम्रोपात्रोले एउटै एपमा धेरै फिचरहरु समावेश गर्न थाल्यो । त्यसैले त अहिले एउटै एपमा सबैभन्दा धेरै फिचर भएको नेपाली एपमा हाम्रो पात्रो अहिले पहिलो नम्बरमा आउँछ ।

फिचर धेरै भए पनि एपको साइज ठूलो हुन नदिन एपका डेभलपर र इन्जिनियरहरुले लगातार रुपमा निकै मेहनत गरेका छन् । दर्जनभन्दा धेरै फिचर रहेको भए पनि अहिले हाम्रो पात्रोको साइज जम्मा १० एमबी जति मात्रै छ ।

हाम्रो पात्रोको यो पृथक शैली अहिले विस्तारै अरुले समेत पछ्याउन थालेका छन् । हाम्रो पात्रो इंकसँग अहिले हाम्रो पात्रोसँगै हाम्रो किबोर्ड, हाम्रो डिक्सनरी, हाम्रो म्यागेजिन लगायतका एपहरु पनि छन् ।

सन् २०१४ मा सार्वजनिक भएको हाम्रो किबोर्ड सबैभन्दा छोटो अवधिमै डाउनलोडमा दश लाखको आँकडा पार गर्ने कम्पनीको पहिलो एप हो । यो एपको डाउनलोड अहिले ६० लाखभन्दा बढी छ ।

संयोगले बनेका आन्ट्रप्रेनर

शंकर आफू संयोगवश आन्ट्रप्रेनर बन्न पुगेको ठान्छन् । सन् २०१५ सम्म अरुको कम्पनीमा जागिर गर्दै फुर्सदको समय मात्रै उनले हाम्रो पात्रोलाई दिइरहेका थिए ।

पार्ट टाइम काम गर्दा मात्रै पनि दश लाखभन्दा धेरै डाउनलोड पुगिसकेको एप फुल टाइम समय दिँदा अवश्य पनि निकै अगाडि लैजान सकिने आत्मविश्वास उनमा भरिसकेको थियो ।

त्यसो त अमेरिका जस्तो देशमा जागिर नगरी बस्नु त्यति सहज काम होइन । आत्मविश्वासकै बलमा नै शंकरले जागिरे जीवन अन्त्य गरी फूल टाइम आन्ट्रपेनर बन्ने निधो गरे ।

त्यसलाई उनी आफ्नो जीवनको एउटा जोखिमपूर्ण निर्णयको रुपमा लिन्छन् । अहिले उनीसँग ३० जनाभन्दा बढीको टिम छ । अमेरिका र नेपाल दुवै ठाउँबाट हाम्रो पात्रोलाई अझ उन्नत बनाउन उनको टिम लागिपरेको छ ।

सिलिकन भ्यालीको सपना

डिटु हकाईमा काम गर्न थालेको आठ वर्ष भइसकेको थियो । अर्कोतर्फ आईटीका हरेक विद्यार्थीलाई जस्तै शंकरलाई पनि सिलिकन भ्यालीले लोभ्याइरहेको थियो ।

सिलिकन भ्यालीमा रहेको गुगल एण्ड्रोइड बिल्डिङ अगाडि शंकर उप्रेती साथीसँग

सन् २०१२ तिर कम्पनीको जागिर छोडेर क्यालिफोर्नियातिर लागे । वास्तवमा सिलिकन भ्यालीको उनको सपनासँग नयाँ कुरा सिक्ने र केही गर्ने भन्ने उद्देश्य मिसिएको थियो ।

सिलिकन भ्यालीमा गइसकेपछि उनी सिनियर इन्जिनियरको रुपमा एन्टिभाइरस तथा सफ्टवेयर कम्पनी सिम्यान्टिकमा संलग्न भए ।

सिम्यान्टिक कम्पनीमा रोजगारीको क्रममा शंकर उप्रेती

‘एकदमै स्मार्ट मान्छेहरु एकै ठाउँमा भएको साच्चिकै गज्जबको ठाउँ लाग्यो,’ शंकर सिलिकन भ्यालीको पहिलो अनुभव साँट्छन्, ‘यहाँ आउनु अघि मलाई सबै कुरा आउँछ जस्तो लाग्थ्यो ।

तर छोटो समयमै सिक्न बाँकी धेरै रहेछ भन्ने अनुभूति भयो । यहाँको वर्किङ कल्चर पनि साच्चिकै गज्जबको छ ।’

प्रडक्ट भन्ने कुरा प्रविधि मात्रै नभएर मार्केटिङ, सेल्स, सिसोर्स सबैको समायोजन हो भन्ने कुरा उनले त्यहीँ गएर थाहा पाए । सूचना प्रविधिको विकासका लागि सबैभन्दा महत्वपूर्ण कुरा ईकोसिस्टम नै हो ।

सिलिकन भ्यालीमा शंकर उप्रेती

उनी भन्छन्, ‘यहाँ कफी शपमा जाँदा समेत हरेक व्यक्तिले स्टार्टअपकै कुरा गरिरहेको भेटिन्छ । हरेकले एकअर्कोलाई साथ र सहयोग दिइरहका हुन्छन् ।’

अमेरिकाको बोस्टन र सिलिकन भ्यालीबीचमै उनले धेरै अन्तर देखे । अरु ठाउँमा कुनै आईडिया शेयर गर्दा कसैले चोरिदेला कि भन्ने डर सामान्य विषय हो ।

तर सिलिकन भ्यालीमा यस प्रतिको मान्यता नितान्त फरक छ । त्यहाँका मानिसहरुले आफ्ना आईडिया स्वतन्त्रतापूर्वक शेयर गरिरहेका हुन्छन् । सुन्ने मान्छेले त्यसमा सुधारका लागि सित्तैमा अर्को आईडिया थपिदिन्छन् ।

शंकर भन्छन्, ‘आईडियाभन्दा त्यसको कार्यान्वयन सबैभन्दा महत्वपूर्ण हुन्छ भन्ने कुरा यहाँका मान्छेले राम्रोसँग बुझेका छन् । आईडिया त संसारमा कति छ कति ।

बरु आफ्नो आईडिया शेयर गर्दा अर्कोले त्यसमा थप सुधार गरिदिन सक्छ भन्ने हुन्छ । त्यसैले यहाँजस्तो आईडिया शेयरिङको खुल्ला संस्कृति अरु ठाउँमा कमै देख्न पाइन्छ ।’

अहिले आन्ट्रप्रेनरशिप तथा स्टार्टअपका लागि उपयुक्त वातावरण बनाउने योजनाका साथ विश्वका धेरै देशले सिलिकन भ्यालीको नक्कल गर्ने गरेका छन् । नक्कल मात्र होइन, कुनै निश्चित क्षेत्रलाई त्यसैको उपमा भिराउने प्रचलन पनि नयाँ होइन ।

त्यसो त व्यवसायिक वातावरणसँगै त्यहाँको हावापानी समेत लोभ्याउने किसिमको भएको शंकर बताउँछन् । ‘सिलिकन भ्याली बन्न यहाँको मौसमले पनि कुनै न कुनै अर्थ राखेजस्तो लाग्छ ।

बाह्रै महिना एकनासको मौसम छ,’ उनी भन्छन्, ‘तर, मौसमले मात्रै सबै कुराको निर्धारण गर्छ भन्ने पनि होइन । काठमाडौंको मौसम पनि राम्रै छ ।’

विश्वका सबै आईटी इन्जिनियरहरुको सपनामा सिलिकन भ्याली नै हुन्छ । त्यसले गर्दा विश्वस्तरका इन्जिनियर र प्राविधिकहरुको थलो बनेको छ, सिलिकन भ्याली ।

शंकर भन्छन्, ‘निश्चय नै राम्रा इन्जिनियर भएपछि यहाँ राम्रो प्रडक्ट बन्ने नै भयो । अरु देशले नक्कल गर्न खोजे पनि विश्वस्तरका मान्छेहरु एकै ठाउँमा ल्याएर राख्न त्यति सजिलो छैन ।’

स्टार्टअप कल्चरका लागि फण्डिङ अर्थात लगानी सबैभन्दा महत्वपूर्ण विषय हो । बिना लगानी केही गर्न सकिँदैन । स्टार्टअपमा लगानी गर्न भएभरका भेञ्चर क्यापिटलिस्टहरु सिलिकन भ्यालीमै केन्द्रीत छन् ।

टिम बनाउन विश्वस्तरको जनशक्ति, लगानीका लागि भेञ्चर क्यापिटल अनि अमेरिकाको ठूलो बजार । यो सबैको समायोजनले सिलिकन भ्यालीलाई राम्रो साथ दिएको छ । ‘अमेरिकी बजारमा केही गर्न सकियो भने विश्व बजारमै चर्चाको विषय बन्छ ।

विश्वबजारमा स्थान पाउन यसले निकै महत्वपूर्ण अर्थ राख्छ,’ शंकरको विश्लेषण छ, ‘उदाहरणको लागि नेपालमा कुनै राम्रो मार्केटिङ प्रडक्ट बनाइयो भने पनि कुनै ठूलो कम्पनीमा प्रयोग गरेर त्यसको बजारीकरण गर्नु आफैंमा गाह्रो काम हो ।

तर त्यही स्तरको प्रडक्ट यहाँ गुगल, फेसबुक जस्ता विश्वप्रशिद्ध कम्पनीहरुले प्रयोग गरिदिन सक्छन् । त्यस्ता कम्पनीको नाम जोडिने वित्तिक्कै प्रडक्टले सजिलै बजार लिन सक्ने अवस्था बन्छ ।’

जुमलाई त्यसैको उदाहरणको रुपमा लिन सक्छौं । वास्तवमा जुम कोभिडको महामारीबीच सर्वसाधारणको प्रयोगमा आउनु अघि नै अमेरिकाका ठूला कम्पनीमा प्रयोगमा आइसकेको थियो ।

‘यहाँ त्यसखालको नेटवर्किङ र पिचिङको काम विभिन्न कम्पनीहरुमा गएर भीसी (भेञ्चर क्यापिटलिस्ट) हरुले नै गरिदिन्छन् । यस्तो सहजपन अन्यत्र छैन ।

प्रडक्ट उही स्तरको भए पनि त्यसले सिलिकन भ्यालीबाट पाउने मान्यता र अन्यत्रभन्दा निश्चित रुपमा फरक हुन्छ,’ उनी भन्छन् ।

त्यसो त इन्टरनेटले विश्वलाई नै एउटा गाउँको गाउँ जस्तै बनाइसकेको छ । स्तरीय प्रडक्ट विकास र बजारीकरणका लागि आवश्यक ईकोसिस्टम तयार पार्न सक्ने हो भने नेपालमा समेत थुप्रै संभावना रहेको शंकर बताउँछन् ।

‘हामीले सिलिकन भ्यालीलाई यसको ईकोसिस्टमको रुपमा बुझ्नु नै सबैभन्दा उपयुक्त हुन्छ,’ उनी भन्छन्, ‘यसलाई हेरेर हामीले नेपालमा आवश्यक वातावरण तयार पार्न सक्नुपर्छ ।’

नेपालमा काबिल इन्जिनियर कमी रहेको मान्न उनी तयार छैनन् । तर बजारिकरणमा भने स्वयम् आफ्नै उत्पादन ‘हाम्रो पात्रो’लाई समेत पछाडि परेको देख्छन् ।

‘हाम्रो सबल पक्ष भनेकै डेभलपमेन्ट हो । नेपालमा साच्चिकै राम्रा डेभलपरहरु छन् । ज्ञान अज्ञात रुपमा अहिले नेपालमा सयभन्दा बढी आउटसोर्स कम्पनीहरुले काम गरिरहेका छन् । यसो हुनुको कारण हाम्रोमा डेभलपर राम्रा भएकैले हो ।’

आउटसोर्सिङको रुपमा विश्वबजारका लागि राम्रा उत्पादनमा काम गरेपनि आफ्नै प्रडक्ट डिजाइनमा भने त्यतिसाह्रो प्रगति हुन नसकेको उप्रेतीको बुझाई छ । केही फिनटेक कम्पनी बाहेक आफ्नै प्रडक्ट डेभलपमेन्टमा काम गर्ने कम्पनीहरु वास्तवमा नेपालमा थोरै मात्र छन् ।


Your Views
Related News