सिमकोट । चिनियाँ पक्षले हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी गाउँस्थित लाप्चामा नौवटा घर बनाएको छ।

गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले सिमानाभन्दा २ किलोमिटर यता नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रूपमा भवन बनाएको जानकारी दिए।

यो व्यापारिक प्रयोजनका लागि रहेको जनाइएको छ। अध्यक्ष लामाले यी भौतिक संरचना के कुराका लागि भनेर थाहा नभएको बताए। आफूले बुझ्न खोज्दा चिनियाँ पक्षका जिम्मेवार अधिकारी सम्पर्कमा नआएको उनको भनाइ छ।

लिमी–लाप्चा सडक निर्माणका क्रममा सोही स्थानमा तीनवटा भवन २०६६ सालमा निर्माण गरिएको थियो।

उक्त क्षेत्र नेपाली भूभाग भए पनि चिनियाँ सुरक्षाकर्मीले नेपालीलाई प्रवेश गर्न दिएका छैनन्। तर, चिनियाँ सुरक्षाकर्मी गाडी चढेर नेपाली भूभागमा ओहोरदोहोर गरेको अध्यक्ष लामाले बताए।

भवन बनाएको स्थानभन्दा एक किलोमिटर पर १२ नम्बर सीमास्तम्भ छ। त्यससँगै ११ नम्बर सीमास्तम्भ भने अहिलेसम्म पत्ता लगाउन नसकिएको वडा नम्बर ६ का अध्यक्ष पाल्जोर तामाङले बताए।

पहिला भवन बनाउने बेला लिमीवासीले कुरा उठाउँदा दुवै देशका पशुको उपचार गर्ने चिनियाँ पक्षले बताएको अध्यक्ष तामाङको भनाइ छ। उनले अर्काको जमिनमा भवन बनाउन नाम्खा गाउँपालिकासँग समन्वय गर्नुपर्नेमा त्यसो नगरेको सुनाए।

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले १२ नम्बर सीमास्तम्भ र नेपाली भूभागमा भवन बनेको जानकारीमा आएको बताए। त्यसबारे बुझ्न र सीमास्तम्भको अनुगमन गर्न संयुक्त सुरक्षा निकायको टोली लाप्चा पुगेको उनको भनाइ छ।

प्रमुख जिल्ला अधिकारीसहित नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान र गाउँपालिकाका अध्यक्षको टोली भवन निर्माण गरिएको स्थानमा गएको हो।

 

राजीनामाको माग चर्किएपछि बेलारुसका राष्ट्रपतिद्वारा सेनालाई निर्देशन, सीमा बन्दको घोषणा

काठमाडौं । बेलारुसमा लगातार ६ सातादेखि राष्ट्रपतिको राजीनामा माग गर्दै मुलुकका विभिन्न सहरमा बृहत प्रदर्शनहरु भएपछि राष्ट्रपति एलेक्जेन्डर लुकाशेन्कोले सेनालाई उच्च सतर्कताको अवस्थामा रहन निर्देशन दिनुभएको छ ।

उहाँले पोल्यान्ड र लुथियानासँगको पश्चिमी सीमानाका पनि बन्द गर्न निर्देशन दिनुभएको छ । पश्चिमी मुलुकहरुको सक्रियतामा देशभर विरोध प्रदर्शनहरु भइरहेको आरोप लगाउँदै आएका राष्ट्रपति लुकाशेन्कोले यस्तो निर्णय गर्नुभएको हो ।

राष्ट्रपति लुकाशेन्कोको आरोपको अमेरिका र युरोपियन युनियले खण्डन गरेका छन् ।

अगस्त ९ मा भएको निर्वाचनमा राष्ट्रपति लुकाशेन्कोले धाँधली गरेको भन्दै उहाँविरुद्ध प्रदर्शनहरु सुरु गरिएको छ ।

तर, निर्वाचन आयोगले सन् १९९४ बाट शक्तिमा रहनु भएका लुकाशेन्कोले ८० प्रतिशतभन्दा बढी मत पाएको र मुख्य विपक्षी स्भेट्लाना तिखानोभ्स्कायाले १० प्रतिशतभन्दा केही बढी भोट पाएको जनाएको थियो ।

प्रदर्शन दबाउन प्रहरी परिचालन गर्न थालेपछि प्रदर्शन थप उग्र बन्दै गएको थियो ।

राष्ट्रपति लुकाशेन्कोले वुमन फोरमलाई सम्बोधन गर्दै सडकहरुबाट सेनालाई फिर्ता बोलाएर उच्च सतर्कताको अवस्थामा रहन निर्देशन दिएको उल्लेख गर्नुभयो ।

उहाँले लुथियाना र पोल्यान्डसँगको सीमानाका पनि बन्द गरेको घोषणा गर्नुभयो ।

राष्ट्रपति लुकाशेन्कोले मुलुकमा युद्ध होस् भन्ने पक्षमा आफु नरहेको भन्दै बेलारुस, पोल्यान्ड र लुथियानाबीच कुनै सैन्य तनाव सिर्जना नहोस् भन्ने चाहेको बताउनुभयो ।


Your Views
Related News