कर्मचारी र कानुन नहुँदा रेल चलाउन अन्यौल

शुक्रबार भारतबाट जनकपुर ल्याइएका नेपालका दुई वटा रेल शनिबार भारततिरै फर्किएका छन्। रेल ल्याएर आएका भारतको कंकोण रेलवे कर्पोरेसनका कर्मचारीहरूले शनिबार दुबै रेल भारत लिएर गएका हुन्।

‘उहाँहरू दिउँसो १२ बजेतिर रेल लिएर यहाँबाट जानुभएको हो,’ रेलवे तथा मेट्रो विकास कार्यालयका जनकपुरका इन्जिनियर विनोद ओझाले सेतोपाटीसँग भने,’अब ती रेल जयनगरको स्टेशनमा राखिनेछ।’

शुक्रबार दुई जना ड्राइभर र दुई जना सहायक ड्राइभरले रेल नेपाल ल्याएर आएका थिए। नेपाललाई रेल हस्तान्तरण गर्न कंकोणका अरू १६ जना कर्मचारी पनि त्यही रेलमा जनकपुर आएका थिए।

नेपालमा रेल चलाउने कर्मचारी र कानुन नभएकाले उनीहरूले आज रेल भारततिरै लिएर गएका हुन्।

जयनगरमा नेपालको आफ्नै स्टेशन छ। सोही स्टेशनमा अब ती रेल राखिनेछन्। सधैँ बन्द भएर इन्जिन नबिग्रियोस् भनेर बेलाबेलामा इन्जिन चलाइरहनु पर्छ। इन्जिनको हेरचाहसँगै रेलको अन्य सुरक्षा कंकोण कम्पनीले नै गर्ने ओझाले बताए।

‘यतातिर लिक पनि मेन्टिनेन्स गर्नु पर्नेछ, अब दुई महिनाभित्र फेरि रेल नेपाल आउँछ कि,’उनले भने।

जयनगर-जनकपुरमा रेल चलाउन लिकको मेन्टिनेन्सभन्दा महत्वपूर्ण कुरा कर्मचारी र कानुन नै छैन।

रेल्वे विभागले भदौ २९ गते रेल चलाउन १ सय ३० जना कर्मचारीको विज्ञापन खुलाएको छ। उक्त विज्ञापनको पदपूर्ति भएपछिमात्र रेल चलाउने कर्मचारी हुनेछन्। त्यसमा पनि ड्राइभर, सहायक ड्राइभरजस्ता प्राविधिक कर्मचारी भने तत्कालका लागि भारतबाट ल्याउनु पर्नेछ।

‘उताबाट केही समयका लागि प्राविधिक कर्मचारी ल्याउनेबारे हामी नेगोसियसन गरिरहेका छौं, ‘ विभागका महानिर्देशक बलराम मिश्रले भने।

रेल चलाउन अर्को समस्या कानुनको छ। रेलका सामान कसैले चोर्‍यो वा कुनै दुर्घटना भयो भने के गर्ने भन्ने स्पष्ट नभएकाले कानुनबिना रेल चलाउन गाह्रो देखिएको छ।

यसअघि जयनगर-जनकपुर रेल चलाउन २०१९ मा एउटा निकै छोटो कानुन थियो। उक्त कानुन अहिले सान्दर्भिक नभएकाले सरकारले रेल सञ्चालनसम्बन्धी नयाँ कानुन ल्याउन लागेको छ।

गत पुसमा राष्ट्रिय सभामा दर्ता भएको रेल्वेसम्बन्धी विधेयक अहिलेसम्म पास नभएकाले रेल चलाउन समस्या देखिएको हो।

 

त्रासदीपूर्ण ती क्षण…

मेरा स्मृतिहरूबाट भाग्न म आफूलाई बलजफ्ती व्यस्त राख्ने असफल प्रयास गरिरहन्थें। त्यसबेला मेरा एक साथीले भनेका थिए ‘जब तपाईं आफैंलाई व्यस्त राख्नुहुन्छ, तपाईं आफ्नो भावनाको नजिक हुनुहुन्न, तर तपाईंको जीवनमा ती स्मरणहरूले निम्त्याउने तनावलाई रोक्न तपाईं तिनको नजिक हुन जरूरी छ। आफ्ना भावनाहरूलाई दब्न नदिनुस्, तिनीहरूलाई जिउन दिनुस्।’

हाम्रो स्मृतिको महत्व कति धेरै छ भन्ने कुरा सिलासा जीले भनेपछि म उहाँको कुरामा असहमत हुन सकिनँ।

साँच्चै नै उहाँका कुरा विश्वस्त पार्ने खालका थिए।

जनयुद्धको हाम्रो अनुभूति अत्यन्तै त्रासदीले भरिएको, पीडादायी र हृदयविदारक छ। आज पनि ती भोगाइका बारेमा कुरा गर्न मलाई सहज महशुस हुँदैन।

युद्धका बेला मैले मेरा तीन जना अभिभावक गुमाएँ। बाबा र अंकल माओवादी बन्नुभयो। छोराहरूलाई माओवादी बनाइस् भन्दै हजुरबुवा र हजुरआमालाई यातना दिन्थे प्रहरी र सेनाले।

रातदिन सेना पुलिसले घर घेरिएको हुन्थ्यो। उनीहरू सधैं गोली ठोकदिन्छु भन्थे, अनि पूरा परिवार बलमे उडाइदिन्छु भन्थे।

यी भोगाइबारे कुरा गर्न मलाई कहिल्यै सहज लागेन। जिन्दगीले हामीसँग कति धेरै अन्याय गरेको रहेछ भन्ने आज पनि लागिरहन्छ।

जब पनि यी भोगाइ सम्झिन्छु, मेरा आँखा रसाउँछन्। त्यसैले यी भयावह स्मरणबाट म सकेसम्म भाग्न चाहन्छु। त्यसै पनि त्रासदीपूर्ण विगत सम्झेर हुने पो के नै हो र, पीडा बाहेक, यस्तै लागेर।

साहस चाहिन्छ, एक गजबको साहस। स्मृतिलाई स्मरण गर्न साँच्चै साहस चाहिन्छ।

क्षतविक्षत भएका मेरा साहसहरू बटुल्ने प्रयास एकपटक पुन: मैले गरें।

***

मेरो स्मृतिमा आमा भन्नुहुन्छ – रातिराति पुलिस आउँथे। बहुत डर लाग्थ्यो। काप्थें। भोक निन्द्रा सबै हराउँथ्यो। कहाँ भागौं, कहाँ लुकौं हुन्थ्यो। श्रीमान कहाँ छ भन्थे उनीहरूले। मलाई नेपाली बोल्न आउँदैनथ्यो। घर खोजतलास गर्थे। छातीमा बन्दुक ल्याएर तर्साउँथे। मलाई माओवादी भनेको थाहा थिएन, पुलिस आउन थालेपछि मात्र थाहा पाएको हुँ। बच्चाहरूलाई कसरी खुवाउने, कसरी पढाउने सोचिरहन्थें।

तेरो छोराहरू मारेर जंगलको तालमा फालिसक्यौ, ढकिया बनाउछस् ? ‘रो बुढी’ भन्दै रून लगाउँथे पुलिसहरूले हजुरआमालाई।

अन्न राख्ने डेहरी कुठ्ली अनि कपडा राख्ने भौका सबै खोजतलास गर्थे बन्दुक कहाँ छ भन्दै। पूरा गाउँ नै त्रासमा थियो, छिमेकीहरू, गोटियारहरू हाम्रो घर आउन छाडेका थिए। किनभने घर सधैं सरकारी बन्धुकधारीहरूले घेरिएको हुन्थ्यो।

हजुरआमा भन्नुहुन्छ पुलिसहरू ‘गोचाली परिवार’ (थारुहरूको एक संस्था) को किताब कहाँ छ भनेर सोध्थे।

‘मै परहेलिखे नइ जन्ठु’ भनेर हजुरआमा जवाफ दिनुहुन्थ्यो।

घरमा मुक्तिक डगर किताब भेटेपछि हजुरबुवालाई बहुत कुटे। मेरो सानो भाइलाई समेत छोडेनन्।

म पढ्ने स्कुलमा गएर ‘माओवादीकी छोरीलाई किन पढाएको’ भन्दै तर्साउँथे उनीहरूले। कक्षा १० सम्म पढ्न मैले ७ वटा विद्यालयहरू फेर्न पर्‍यो। त्यसैगरी कहिले आफन्तकोमा त कहिले भाडामा बस्दै सेल्टर फेरिरहनपर्थ्यो।

एक रात हजुरबुवालाई गिरफ्तार गरी लगे र असाध्यै यातना दिए उनीहरूले। हजुरबुवाको राम्रो उपचार हुन सकेन अनि हामीलाई छोडेर जानुभयो।

हजुरबुवाको मृत्यु हुँदा घरमा आफन्त कम, सेना पुलिसको आउजाउ धेरै थियो। बाबा र अंकल घर आउन सक्नु भएन। तर बाबाले चिठी पठाउनुभयो हजुरआमाको नाममा ।

डाई टु रोऊ मने आँश ना गिराऊ

आँश गिराके दुश्मनहे खुसी ना बनाऊ

हजुरबुवाको मृत्यु भएको २ वर्ष नपुग्दै बाबाले शहादत प्राप्त गरेको खबर आयो। त्यसको वर्षदिन नपुग्दै अंकलको खबर। हामीले बाबा र अंकलको मृत शरीर भने देख्न पाएनौं।

सबै पुरूष अभिभावक गुमाएपछि घरमा महिला र केटाकेटी मात्रै बाँकी भयौं। घरमा ३ जना एकल महिला (विधवा) देखे।

एकल महिलालाई आफ्नै लागि बाँच्न र छोराछोरी हुर्काउन कति गाह्रो हुन्छ।

देशले नयाँ संविधान पायो, गणतन्त्र आयो तर हामीले के पायौ या हामीजस्ता आम मानिसले के पाए?

हजुरआमाले सुनाउनुहुन्छ – घरमा सबैथोक छ छोरा, किन माओवादीमा गएको, छोडिदेऊ माओवादी भनि छोराहरूलाई सम्झाएको।

बाबा र अंकलको जवाफ हुन्थ्यो – हामी जनताका लागि लड्दै छौं आमा, जनता गरिब छन्। रातदिन काम गरेर पनि खान पाउँदैनन्। जमिन्दारले दिएको एउटा रोटी पूरा परिवारले बाँडेर खान्छन्।

हजुरआमा गहभरि आँसु पारेर रुन्चे आवाजमा भन्नुहुन्छ-आज हाम्रो हालत त्यस्तै भएको छ। अब हामीलाई रोटी कसले खुवाउने ?

हजुरआमाको आवाजले ममा उथलपुथल पैदा गर्छ।

अनि म सोच्छु हाम्रो बाबाअंकल जस्तै कैयौंको रगतले लटपटिएको गणतन्त्र नेपाल यति नाजुक कसरी भयो कि एक रोटी पनि आम मानिसको पहुँचमा नहोस्।

एक मौन मेमोरीभित्र हामी गुम्सिएका छौं। हामी परिवारभित्र पनि आफू आफू माझमा कुरा गर्दैनौं विगतबारे। त्यो विगत सम्झेर हामी फेरि रून चाहँदैनथ्यौं सायद, चाहे भित्रभित्रै त्यसले हामीलाई खाइरहेको होस् वा हामी भित्र त्यसले आगो दन्काइरहेको होस्।

परिवारभित्र सम्भव भए जतिको विगतको फोटो, लुगा, वस्तु र कथाहरूको संरक्षण अनि याद गर्ने काम, यतिमा हाम्रो मौनता सीमित थियो।

युद्धबारेमा कुरा नगर्नु सजिलो थियो हाम्रा लागि। के मौनता पछाडिको एक कारण आफूलाई अरु सामु दुखेको नदेखाउनु थियो ? तथाकथित शान्त समाजमा के हाम्रो व्यवहारिक मार्ग मौनता थियो ?

युद्ध सफल भयो, त्यसको मापन गणतन्त्र, धर्म निरपेक्ष र संघीय नेपालले गर्छ भन्ने राज्य संचालकहरूको प्रायोजित हौवा पिटाइले के हामीलाई मौन बस्न प्रभाव छोडेको थिएन ?

युद्धले छोडेका मनोवैज्ञानिक चोट संगालेर फेरि युद्धले हामीलाई मौन छोड्यो।

सायद अर्को महत्वपूर्ण कुरा यो हो कि हामीलाई लाग्थ्यो, हामीले भनेको कुरा कसैले सुन्ने छैन।

मुक्ति या मृत्युको कसम खाएर युद्ध मोर्चाका मेरा बाबा र अंकलका सहयात्रीले पनि। हजुरआमा भन्नुहुन्छ- हिजो युद्धका बेला क्रान्तिकारीहरू हिँडेर पहाड पुग्थे, हिँडेर तराई पुग्थे र पनि हालखबर लिइरहन्थे। अहिले कसैले सोध्दैन। सरकारमा गएपछि व्यस्त भएर होला।

हाम्रो मेमोरी मौन थियो, यसको मतलब त्यसको उपस्थिति नै थिएन भन्ने होइन। हाम्रो मेमोरी असाध्यै आम थिए, त्यसैले छलफल र बहसको विषय बन्न/बनाउन बर्जित थिए। तर दिल दिमागमा राज गरिरहने विषयको बर्जित स्थिति लामो समयसम्म कहाँ टिक्थ्यो होला।

हो, हाम्रो स्मृति अनाधिकारिक र अलोकप्रियताको स्तरमा पर्दछन् अझै पनि। अनाधिकारिक यस अर्थमा कि हाम्रा स्मृतिहरू जति मौन रहन्छन् , सत्ता सञ्चालकहरूलाई सत्ताको आयु टिकाइरहन उतिनै फाइदाजनक रहने भयो।

अलोकप्रिय किनभने विजय प्राप्त गर्नेहरू, खासगरी राजा महाराजाहरूको स्मृति पो त लोकप्रिय।

बरु हाम्रा स्मृतिहरू मेटाउन शासकहरूले दम लगाएर प्रयास गरे। जनयुद्ध घोषणापूर्व कैयौंको घरमा भेटिने मेरो बाबाले प्रकाशन गर्नुहुने म्यागेजिन ‘मुक्तिक डगर’ र अंकलले प्रकाशन गर्ने म्यागेजिन ‘त्रासन’ अहिले भेटिँदैन।

मेरो बाबाले प्रकाशन गर्नु भएको गजल संग्रह ‘चोराइल मन,’ ‘मैले पढेको हो, तर जोगाउन सकिएन’ भन्नेहरू थुप्रै हुनुहुन्छ। मुक्तिक डगरको पहिलो प्रकाशन विस २०४९ मा मेरो बाबाको सम्पादकत्वमा भयो, र उहाँ बाँचुन्जेल ९ वर्षमा ७ अंक प्रकाशित गर्नुभयो। संकटकालको भयावह स्थितिमा ती सबै किताबहरू लुकाउने, लुकाउन पनि नसक्ने स्थिति भएपछि माटोमुनि गाड्ने वा जलाउने काम भयो।

हामीसँग भएका सबै किताब, बाबा र अंकलका सबै फोटोहरू हजुरआमा र आमाले गाड्नु भयो।

यी किताबका कथाहरू अनि यी किताबमाथि भएका ज्यादतीहरू, आज र पछि पनि मिथक लाग्नेछन्। किनभने तथ्य नष्ट गर्न शक्तिशाली राज्यनै लागि परेको थियो।

आजका राज्य संचालक पनि कदापी चाहँदैनन् कि तथ्यहरू प्रमाणित हुन सकुन्।

ती नष्ट गरिएका शब्द र छविहरूमा हाम्रो विगत लुकेको छ। मेरो बाबा र अंकलको चिन्तन र मूल्यमान्यताहरू झल्किन्थ्यो त्यहाँ। उतिबेलाको समाजका प्रतीक थिए ती पुस्तकहरू ।

के इतिहासको दृश्य केवल चित्र र भौतिक वस्तुको पहिचानबाट मात्रै आउने हो ?

हिजोसम्म मैले जति लेखें र बोलें, ती सबैमा म आफ्नो स्मृतिबाट भाग्न खोज्थें।

मलाई यो बुझ्न समयको लामो कालखण्ड पार गर्नुपर्यो कि  जब एक मानिसले आफ्नो स्मृति गुमाउँछ, उसले सबै कुरा गुमाउँछ।

उसको आफ्नो व्यक्तित्व र चरित्र हराउँछ। मेरो जीवनमा भोगेको एक अर्को हृदयविदारक दुर्दशा यो पनि हो कि म मेरो स्मृतिबाट छुटकारा खोज्थें।

अनुभवमार्फत् बाँचिरहेका आम मानिसले यस बारेमा पर्याप्त कुरा गर्न सक्दछन् भन्ने समेत हेक्का थिएन मलाई।

मलाई ज्ञात थिएन कि मेरो बाबा र अंकल जस्तै कैयौं अज्ञात योद्धाहरूको रगतको रंगले रंगिएर सत्ता सञ्चालकहरू टल्किँदा रहेछन्।

कैयौं जीवनहरु ध्वस्त पारेर निर्माण गरेका साम्राज्य संचालकहरू बुझ्दछन् कि आम मानिसको स्मृतिले बडेबडे साम्राज्य झार्न सक्दछन्।

आम मानिसको स्मृतिले प्रश्नहरू खडा गर्दछन् र मुर्दा शान्तिमा खलल पुगाउँदछन्। मेरो मनमा पनि प्रश्न उब्जिरहन्छन् यदि भगवान हुन्थे भने हामी माथि यति साह्रो अन्याय किन भयो ? यदि प्रभु छन् भने, युद्धको क्रुरता कसरी सम्भव हुन्छ ? युद्धका सबै पक्षका नाइकेहरू कागजमा शान्ति सम्झौता गर्दै कसरी मिलिजुली खतरनाक साम्राज्य निर्माण गर्दछन् ? युद्ध अपराधीहरूको पहिचान गर्न राज्य किन मौनता प्रदर्शन गर्छ ? अनि तिनको बचाउ गर्न राजनीतिक सम्भ्रान्तहरू कसरी गैरवैधानिक तरिका लागू गर्छन् ?

मेरो स्मृति गुमाइसको हुन्थें त यी प्रश्न कसरी खडा हुन्थे।

यस्ता प्रश्नको निरन्तर प्रवाहले साम्राज्यहरू बर्बाद हुँदा हुन्। त्यसकारण प्रायोजित रूपमै हाम्रा स्मृति मौन बनाइन्छन्। बस चल्ने भए त यिनले हाम्रा मौनतालाई पनि चुप लगाउँदा हुन्।

आखिरमा हाम्रो स्मृति बुन्ने त्यो साहस मैले गरें।  मेरो आमा र हजुरआमाको अनुभूतिहरूको मौखिक वर्णनलाई म शब्दहरूको माध्यमबाट उल्लेखनीय रूपमा उपस्थिति जनाउन सक्दिनँ। मेरो शब्दहरूमा भन्दा उहाँहरूले बोलेको तथ्यले अझै वास्तविकता दर्शाउँछ।

मनभित्र दबाएर राखिएका स्मृति झन्डै हराइसकेका थिए।

विगतलाई उपेक्षा गर्दा तत्काललाई दैनिक जीवनको सतहमा प्रभाव परेको नदेखिएला, तर यसले भविष्यलाई पर्याप्त मात्रामा असर पार्न सक्छ।

यो कुरामा विश्वास नगर्नु अन्धविश्वास जतिको विषाक्त छ।

अहिलेसम्म हामीलाई इतिहासको नाममा मिथ्या झूट अंगाल्न लगाइयो। इतिहास छनोट गरिएको हुन्छ भन्ने ज्ञान थिएन। तर हामी आम मानिसले बिर्सन हुँदैन कि आम मानिसहरूको अनुपस्थितिमा संसारको कुनै इतिहासको निर्माण सम्भव छैन ।

आजसम्म म रनभुल्लमा परें/पारियो। मलाई किन भनियो, विगतमा जे भयो बिर्सेर अगाडि बढ।

किन मलाई भनिएन, स्मृति भविष्यवाणी हो। यसले भविष्यलाई हेर्ने लामो दूरी प्रदान गर्दछ। जति परसम्म भूतलाई हेर्नसक्यो, त्यतिनै टाढासम्म भविष्य हेर्न सकिन्छ।

किन भनिएन मेरो अनुभूति, मेरो स्मृति, आम मानिसको अनुभूतिको गहन महत्व बोकेको प्रमाण हो। किन भनिएन, हामी जीवित इतिहासहरू हौं।

हामी आम मानिसका अनुभूति कति नगण्य छ तर गम्भीर छ। यी गम्भीर ऐतिहासिकताको उपेक्षाले जनयुद्धको अनुभवको महत्वपूर्ण अंशलाई वेवास्ता गर्दछ।

घटनाको वास्तविकता जान्ने जिज्ञासा प्रत्येकलाई हुन्छ तर धेरैजसो अवस्थामा घटनाको वास्तविकता पत्ता लगाउनु वा जान्न पाउनु हाम्रो पहुँचमा हुँदैन।

यति मात्र होइन, हाम्रा स्मृति नै धरापमा छन्। विगतका दैनिक जीवन र त्यसबेला प्रयोग हुने साधारण तर महत्वपूर्ण प्रतीकहरू र त्यही पृष्ठभूमिमा हामी अडिएका छौं।

विगतलाई बिर्सिदेऊ भन्नेहरू भनिदिनुस् हामीले हाम्रो प्रियजनलाई सम्झिने सीमा कहाँसम्म हो?

यस्तो भन्नेहरू मलाई, अपराधी संरक्षण गर्ने राजनीतिक सम्भ्रान्तहरूका घोषित वा अघोषित एजेन्ट लाग्छन्।

महान् सपना बोकेर मोर्चामा खटिएका व्यक्तिहरू सामाजिक मान्यताको अभावबाट ग्रस्त छन्।

एक मौन स्मृतिको दृढताले बारम्बार भन्छ, कहीँ कतै पक्कै लेखिनेछ इतिहास, त्यो इतिहास जब एक आम मानिसले भन्नेछ, त्यो इतिहास हाम्रो हो।


Your Views
Related News