काठमाडौँ । बन्दाबन्दीको करिब चार महिनाको अवधिमा पनि मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय  विमानस्थलमा चार्टर्ड, कार्गो र उद्धार उडान गरी दैनिक १६ देखि १८ वटासम्म अन्तरराष्ट्रिय उडान भएका थिए ।

बन्दाबन्दी र निषेधाज्ञाको झण्डै पाँच महिनापछि अहिले निश्चित मापदण्डसहित सीमित सङ्ख्यामा नियमित अन्तरराष्ट्रिय उडान भइरहेको छ । पिसिआर सहज भएका मुलुकबाट नियमित अन्तरराष्ट्रिय उडान, अन्य केही मुलुकबाट चार्टर्ड उडान तथा नेपाली श्रमिक भएका मुलुकबाट उद्धार उडान पनि भइरहेका छन् ।

अहिले अन्तरराष्ट्रिय विमानस्थलमा दैनिक २० वटा उडान तथा अवतरण हुने गरेको विमानस्थल कार्यालयले जनाएको छ । यो सङ्ख्या भनेको दैनिक १० एयरलाइन्स आवतजावत हो । कोभिड–१९ महामारीबाट सुरक्षित रहनका लागि स्वास्थ्य प्रोटोकल पालना गर्दै अन्तरराष्ट्रिय उडान भइरहेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अहिले सातामा जम्मा १०० अन्तरराष्ट्रिय  उडान हुन्छन् । एयरलाइन्सले पालैपालो दैनिक १० वटासम्म उडान हुने गरेको छ ।

शुरुमा नेपालका तीनसहित १२ अन्तरराष्ट्रिय उडान भर्ने वायुसेवा कम्पनीले प्राधिकरणबाट अनुमति लिएकामा पछिल्लो पटक सरकारले अन्तरराष्ट्रिय उडान सङ्ख्या बढाउने निर्णय गरेसँगै थप दुई एयरलाइन्सले अन्तरराष्ट्रिय उडानको अमुमति पाएका छन् । असोज १६ देखि नियमित अन्तरराष्ट्रिय उडान शुरु भएको थियो ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले अहिले नियमित, चार्टर्ड र उद्धार उडानसहित दैनिक १० वटाका दरले आगमन र प्रस्थान दुबै गरी २० उडान सञ्चालन भइरहेको जानकारी दिए । उनका अनुसार यो सङ्ख्या भनेको विगत बन्दाबन्दीको अवधिमा गरिएको उडानकै हाराहारी हो । अहिले जनशक्तिलगायत सबैखाले व्यवस्थापनका हिसाबले दैनिक २० भन्दा बढी उडान सञ्चालन गर्न नसकिने महाप्रवन्धक केसीले बताए ।

भोलि सोमबार असोज ५ गतेदेखि आन्तरिक उडान पनि सञ्चालनमा आउने भएपछि अन्तरराष्ट्रिय विमानस्थलको व्यस्तता अझ बढेको छ । स्वास्थ्य सावधानी अपनाएर सुरक्षित उडानका लागि जनशक्ति व्यवस्थापनदेखि स्रोतसाधनको उपलब्धता लगायत काममा विमानस्थल निकै व्यस्त हुनेछ । महाप्रबन्धक केसीका अनुसार अहिले भइरहेको अन्तरराष्ट्रिय उडान अन्तर्गत नियमित र चार्टर्ड उडानमा आउने यात्रुको पिसीआर रिपोर्ट नेटेटिभ भएमा सिधै घर वा गन्तव्य जान दिइन्छ । उद्धार उडानबाट आउने यात्रुले होल्डिङ सेन्टरमा जानुपर्ने हुन्छ । यो सबै व्यवस्थापनका लागि विमानस्थललाई निकै हम्मे पर्दै आएको विमानस्थल व्यवस्थापनले जनाएको छ ।

विमानस्थलका अनुसार अहिले सबै प्रकारका उडान मार्फत दैनिक एक हजार २०० देखि एक हजार ५०० सम्म यात्रु नेपाल आएका छन् । यसरी आउने यात्रुको स्वास्थ्य प्रक्रिया लगायत व्यवस्थापन गर्नुपर्ने भएकाले विमानस्थलमा चाप बढेको छ । अन्तरराष्ट्रिय विमानस्थल अहिले दैनिक २१ घण्टा सञ्चालनमा छ । अन्तरराष्ट्रिय विमानस्थलमा हाल तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तरराष्ट्रिय उडान भर्दै आएका छन् ।

आन्तरिकतर्फ १० हेलिकोप्टर कम्पनीसहित १९ वटा वायुसेवा प्रदायक कम्पनलीले सेवा सञ्चालन गर्दै आएका छन् । बन्दाबन्दीको छ महिनापछि असोज ५ देखि सञ्चालन हुने आन्तरिक उडानको सम्पूर्ण तयारी पूरा भएको विमानस्थलले जनाएको छ । वायुसेवा प्रदायकले पनि स्वास्थ्य प्रोटोकल पालना गरेर सुरक्षित उडानका लागि सबैखाले तयारी गरिसकेका छन् । शुरुको एक साता सामान्य अवस्थाको २५ प्रतिशत मात्र आन्तरिक उडान हुनेछन् । क्रमशः उडान सङ्ख्या बढाइने नियामक प्राधिकरणले जनाएको छ । सामान्य अवस्थामा आन्तरिकतर्फ ३०० हाराहारी उडान हुने गरेको थियो ।

 

गति लिँदै बन्दीपुरमा निर्माणाधीन केबुलकार

दमौली । कोभिड–१९ को सङ्कटका बीच तनहुँको बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबुलकारको कामले गति लिएको छ । केही समय काम अवरुद्ध भए पनि यसपछि निरन्तर काम जारी रहेको छ ।

बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले सङ्कटकै बीचमा पनि कामलाई तीव्र पारिएको जानकारी दिए । उनका अनुसार ८०–८५ जना मजदूर प्रयोग गरी पूर्वाधार निर्माणलाई तीव्र गति दिइएको छ ।

केबुलकारको तल्लो स्टेसनको भवन निर्माण ८० प्रतिशत सकिएको छ भने माथिल्लो स्टेसनको फाउन्डेसनको काम शुरु भएको छ । चारतारे होटल सहितको ‘क्विन टावर’ को पनि भुइँतल्लाको ढलान शुरु गरिएको छ । “तल्लो स्टेसनमा तीन तल्लाको भवन लगभग सकिने अवस्थामा पुगेको छ, माथिल्लो स्टेसन र क्विन टावरको काम पनि शुरु भएको छ”, अध्यक्ष शर्माले भने, “कहिले सङ्घीय सरकारको बन्दाबन्दी, कहिले स्थानीय सरकारको बन्दाबन्दी काम बीचमा पनि काम भइरहेको छ ।”

उनका अनुसार केबुलकारको टावरका सबै काम सकिएको र केबुलकारको बाक्सा जडान गर्न बाँकी छ । भारतबाट सामग्री ल्याउनुपर्ने भएकाले कठिनाइ भएको उनले जानकारी दिए । “भारतबाट अहिले सामग्री ल्याउन गाह्रो परिरहेको छ, कोभिड–१९ को सङ्कट नभएको भए काम धेरै अगाडि बढिसक्थ्यो”, उनले भने ।

अन्य पूर्वाधार निर्माण जारी रहँदै अगामी फागुनमा केबुलकार सञ्चालन गर्ने तयारी गरिएको थियो । सामग्री ल्याउन नसकिएकाले केबुलकार सञ्चालनको तयारी पनि पछाडि धकेलिने भएको छ । कोभिडको सङ्कटका कारण पूर्वाधार निर्माणको खर्च नबढे पनि अन्य खर्च दश प्रतिशतसम्म बढ्ने अनुमान गरिएको छ ।

बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेसन र सोही वडाको बरालथोकमा माथिल्लो स्टेसन निर्माण भइरहेको छ । माथिल्लो स्टेसनमा रु ८० करोडको लागतमा चारतारे होटल पनि निर्माण हुनेछ । चारतारे होटल निर्माणको जिम्मा काठमाडौँस्थित चन्द्र निर्माण सेवाले पाएको छ । उक्त होटल निर्माणका लागि नेपाल एसबिआई बैंकसँग ऋण सम्झौता गरिएको छ । उक्त भवनमा आधुनिक भ्यू टावर, बेनक्युट हल र ८० कोठाका स्तरीय होटल निर्माण हुने कम्पनीले जनाएको छ ।

बन्दीपुर पर्यटन पूर्वाधारयुक्त परियोजनाको कूल लागत रु एक अर्ब ५६ करोड रहेको छ । केबुलकार परियोजनाको परामर्शदाताका रुपमा काठमाडौँस्थित केज कन्सलट्यान्ट प्रालि, मेकानिकाल परामर्शदाताका रुपमा भारतस्थित सिआरएस र ब्रिको इङगल्यान्ड रहेको छ । आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्सन प्रालि, पन्चासे केबुलकार एन्ड टुर्स प्रालि, टुरिजम इन्भेष्टमेन्ट फन्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केबुलकार परियोजना निर्माणको कामलाई अगाडि बढाइएको हो । लगानीदाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीको कम्पनी हो, जहाँ एक हजार एक सयभन्दा बढी लगानीकर्ता रहेका छन् ।

प्रारम्भमा रु ५६ करोडको लागतमा केबुलकार सम्पन्न गर्ने योजना रहेकामा कम्पनीले केबुलकार प्रविधिलाई आधुनिक ‘मोनोकेबुल डिटाचेबल प्यासेन्जर सिस्टम’ जडान गर्ने र सुरक्षाको पक्षलाई महत्व दिएर सुरक्षा उपकरणहरु जडान गर्ने योजना थप गरेको थियो । साहसिक पर्यटनको मज्जा दिन बन्दीपुरदेखि छिम्केश्वरी फेदीसम्म माउन्टेन जङ्गल सफारीको सेवा शुरु गर्ने गरी कम्पनीले लगानी गर्ने जनाएको छ ।

कम्पनीले केबुलकारको पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने जग्गा प्रयोग गरेबापत जग्गाधनीलाई रु ४५ लाख बराबरको शेयर प्रदान गरिसकेको छ । ठूल्ढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केबुलकारबाट घण्टामा दुई सय जना वारपार गर्न सक्नेछन् । एसियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्ने विश्वास लिइएको छ । ठूल्ढुङ्गास्वाँराबाट शुरु हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केबुलकारले एक किलोमिटर छ सय मिटर यात्रा गर्नेछ ।


Your Views
Related News