ढाडमा चोट लागेको एउटा अजिंगरको कैलालीमा उपचार गरिँदै छ।

 

धनगढी उपमहानगरपालिका-४ मा स्थापना गरिएको घाइते तथा टुहुरा वन्यजन्तु उद्धार केन्द्रमा ४२ इन्च लामो अजिंगरको उपचार भइरहेको हो।

भदौ २९ गते बिहान ८ बजेतिर धनगढी गाउँमा अजिंगर देखिएको थियो। त्यहाँको इँटाभट्टा नजिककै खेतमा स्थानीय रमेश चौधरीले अजिंगर देखेका थिए।

खेतमा काम गर्न जाँदा अजिंगर देखेपछि रमेशले अरू गाउँलेलाई डाके। ठूलो सर्प देखेर उनीहरू सुरूमा त डराए।

‘पहिला त टोक्छ भन्ने लागेर नजिक गएनौं,’ रमेशले भने।

पछि उनीहरूले अजिंगर फेला परेका कुरा वन कार्यालयलाई खबर गर्ने सल्लाह गरे।

रमेशले सवडिभजिन वन कार्यालय धनगढीका प्रमुख रामअवतार चौधरीलाई फोन गरे।

प्रमुख चौधरी दुई जना कर्मचारी लिएर अफिसको गाडीमा धनगढी गाउँ पुगे।

‘हामी त्यहाँ पुग्दा स्थानीयले अजिंगरलाई उठाएर बाल्टिनमा राखेका थिए,’ चौधरीले भने।

अजिंगर खाएर आएको अवस्थामा थियो। त्यो घाइते पनि रहेछ।

‘त्यही बाल्टिनसहित उठाएर ल्यायौं,’ उनले भने।

दुई दिन डिभिजन वन कार्यालय धनगढी अजिंगरलाई राखियो।

‘अर्को ठूलो बाटामा अलि चिसो हुने गरी भुसा हालेर राख्यौं,’ चौधरीले भने।

अजिंगरको आन्द्रा फुलेको थियो। सुनिएर फुलेको हो कि के भएको भन्ने सुरूमै पत्तो भएन।

धनगढीमा दुई साताअघिमात्र घाइते वन्यजन्तु उद्धार केन्द्र स्थापना भएको थियो। उपमहानगरपालिकाका मेयर र वनका प्रमुखबीच घाइते अजिंगरलाई पनि सोही केन्द्रमा उपचार गर्ने सल्लाह भयो। आवश्यक प्रबन्ध मिलाएर अजिंगरलाई केन्द्रमा लगियो।

उपचाररत् अजिंगरलाई अस्थायी सानो घर बनाएर राखिएको छ। उसलाई चाहिने अनुकूल वातावरण बनाइएको छ।

वनका कर्मचारी दैनिक हेरविचार गर्न त्यहाँ पुग्छन्।

अहिले अजिंगरको ढाडमा घाउ देखिएको छ।

‘उसले खाने भ्यागुता, मुसा, साना माछा हो तर तत्कालका लागि दूध खुवाउन भनिएको छ र आहाराका लागि कुखुराको मासु पनि दिने गरिएको छ,’ चौधरीले भने।

धनगढी उपमहानगरपालिकाका पशु चिकित्सक डा. समिर ठाकुरले  अजिंगरको उपचार गरिरहेका छन्।

अजिंगर घाइते छ भन्ने खबर आएपछि पशु सेवा शाखाबाट कर्मचारी गएर हेरेका थिए।

अजिंगरको ढाडमा ठूलै घाउ रहेकाले डा. ठाकुर आफैं उपचार खटिएका हुन्।

‘हड्डीसम्म छोएजस्तो गहिरो घाउ छ,’ उनले भने।

उपचार सुरू भएको ४ दिन भयो। केही सुधार भएको छ।

‘अझै केही दिन नियमित हेर्नु पर्ने देखिन्छ,’ उनले भने।

 

पुरानो घाउ भएकाले उपचारमा समय लाग्ने डाक्टर पाठकले बताए।

अहिले अजिंगरलाई दैनिक ड्रेसिङ गर्ने, घाउ सफा गर्ने, झिंगा नलाग्ने औषधी र नर्मल एन्टिबायोटिक दिने गरेको उनले बताए।

‘अहिले झिंगा र कमिलाबाट बचाउन पट्टी पनि बाँधेका छौं,’ उनले भने।

घरपालुवा जनावरको उपचार गर्ने उनलाई वन्यजन्तुको उपचार गर्न अलि बढी चुनौती महसुस भएको छ।

‘सर्पको उपचार गर्न अलि गाह्रो हुन्छ। अरू जनावर भए त घरपालुवासँगै केही मिल्छ,’ उनले भने।

डा. ठाकुरका अनुसार अजिंगरको प्राथमिक उपचार नै भइरहेको छ। ऊ अहिले फुर्तिलो छैन। सुस्त छ। खाना खान मन गर्दैन।

अजिंगर पानीमा बस्ने जनावर खान बढी मन पराउँछ। संरक्षण केन्द्रमै रहेका कर्मचारीले अजिंगरको स्याहार गर्छन्। उसले दुई-तीन दिनको अन्तरमा मासु खान्छ।

पोहर साल पनि धनगढीकै कैलाली नालामा एउटा अजिंगर फेला परेको थियो।

वन सबडिभिजन कार्यालयका अनुसार धनगढी क्षेत्रमा अहिले अजिंगर देखिन थालेका छन्।

‘संख्या बढेर नै होला अहिले अजिंगर देखिन थालेका छन्,’ कार्यालय प्रमुख चौधरीले भने,‘चेतना बढेर होला मानिसहरू पनि वन्यजन्तु भेटिए खबर गर्न, संरक्षण गर्न थालेका छन्।’
सरीसृप प्रजातिमा पर्ने अजिंगर राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत संरक्षित प्राणीभित्र पर्दछ।

अजिंगर सिमसार ठाउँमा बस्ने सरिसृप प्राणी हो। प्रायः घना वन जंगलमा रूखको मुडामा र सुकेको पातमा लुकेर बस्छ। यो कहिलेकाहीँ नदी र ठूला पोखरीका आसपासका घाँसे मैदानमा पनि बस्छ।

अजिंगरको फराकिलो टाउको र आँखा साना हुन्छन्। यसको शरीर सेतो र छिरबिरे रङ्गको हुन्छ।

विज्ञका अनुसार अजिंगरको तौल ९० किलोग्रामसम्म हुन्छ र लम्बाइ केही इन्चदेखि करिब ३२ फिट लामोसम्म हुन्छ।

अजिंगर बिषालु हुँदैन। यसले बाख्रा र मृगका पाठा पुरै निल्न सक्छ।

नेपालमा विभिन्न अनुसन्धानबाट समग्रमा झन्डै ७९ देखि ८२ प्रजातिका सर्प पाइन्छन् भन्ने देखिएको छ।


Your Views
Related News