अन्नपुर्ण गाउँपालिका–१ अधिकारीडाँडाका खिमप्रसाद अधिकारीको बारीमा अहिले कफीका ३५० बोट छन्। तीमध्ये एकसय बोटले उत्पादन दिन्छन्। अधिकारीले पोहोर कफीका एकसय बोटबाट ५७ हजार रुपैयाँ हात पारेका थिए। कुनै रोगले नसताए यो वर्ष पोहोर भन्दा बढी कमाई हुनेमा अधिकारी ढुक्क छन्।

खिमप्रसाद मात्र नभई अधिकारीडाँडाको सिंगो बस्ती अहिले कफीखेतीमा आकर्षित छ। कफीबाट आम्दानी पाउन थालेपछि गाउँलेले पछिल्लो समय अरु खेतीबाली हुने खेतबारीलाई पनि कफी खेतीमा उपयोग गर्न थालेका छन्। छोटो समयमै आम्दानी दिने र लामो समयसम्म उत्पादन दिने हुँदा यहाँका बासिन्दा कफी खेतीमा तानिएको गाउँलेले बताएका छन्। लामो समय कमाई दिने भएपछि कफी खेतीलाई गाउँलेले ‘पेन्सन’ भन्ने गरेका छन्।

‘कफीको आम्दानी ढुक्कको छ। अरु खेतीबाट भन्दा बढी आम्दानी पनि हुने, अनि लामो समयसम्म कमाई दिन्छ,’ अधिकारीले भने, ‘कफीको आम्दानी पेन्सन सरह हुने रहेछ।’ स्याहारसुसार गर्‍यो भने झन्डै ५०–६० वर्ष कमाई दिने भएकोले कफीको आम्दानी पेन्सन नै मान्नुपर्ने उनले बताए। गाउँलेका अनुसार रोपेको विरुवाले तीनवर्षमा फल दिन थाल्छ। पहिलो चरणमा २० वर्ष सरासर आम्दानी दिन्छ। उचित स्याहार पायो भने अरु २० वर्ष हुँदै ६० वर्षसम्म आम्दानी दिने उनीहरुको भनाई छ। अधिकारीडाँडामा वर्षमा कम्तिमा ५० हजार रुपैयाँ कफीबाटै कमाउने गाउँलेको संख्या अहिले १५ जना छन्। ती मध्ये केहीले एक लाख रुपैयाँसम्म पनि हात पार्ने गरेका छन्।

अधिकारीडाँडाबाट लुम्ले कृषि केन्द्र करिब १० किलोमिटर टाढा पर्छ। कृषि केन्द्रमा गएका बुढापाकाले २०४०÷४२ को दशकतिर कफीका केही विरुवा गाउँ भित्र्याएका थिए। तर, उनीहरुलाई कफीको महत्वबारे ज्ञान दिएन। राम्रो फल लागेको देखेर गाउँलेले कफीका केही विरुवा गाउँमा भित्र्याएका थिए। ती बोटका दानालाई गाउँलेले फलको रुपमा मात्र उपयोग गर्दै आएका थिए। सोखको रुपमा भित्रिएको कफीको पहिचान बिस्तारै बढ्दै जाँदा बल्ल महत्व पाउन थालेको गाउँलेको भनाई छ।

‘वर्षाैसम्म कफीको महत्व नै थाहा भएन। हामीले ख्यालख्यालको बाली ठान्यौ,’ माछापुच्छ्रे उत्तम कफी सहकारी संस्थाका अध्यक्ष कलाधर भुँगाईले भने,’ ‘पछि बल्ल सबैतिर चर्चा हुँदा यसको महत्व बुझ्न थालियो। महत्व नबुझ्दा कफीको दाना चपाउने गाउँले पनि हामी नै हौं। अहिले चुस्की लगाउन पाइन्छ।’ अध्यक्ष भुँगाईका अनुसार गाउँलेले कफी उत्पादन बढाउन सघाउनेगरि २०६३ मा सहकारी खोलेका छन्। गाउँका १६३ घर परिवारमध्ये ६९ जना कफी सहकारीका सदस्य बनेका छन्। सहकारीको सदस्य बन्न कफी खेती गरेको हुनुपर्ने प्रावधान अनिवार्य छ। सहकारीको सदस्य बन्न वर्षभरिमा कम्तिमा २४ किलो कफीको चेरी (पाकेको दाना) उत्पादन गर्नुपर्छ। त्यसबाहेक कम्तिमा कफीका एकसय विरुवा पनि रोप्नुपर्छ।

‘अहिले ५५० रोपनी क्षेत्रफलमा कफी खेती भएको छ। एकरोपनीमा कफीका एकसय विरुवा रोपिन्छ,’ उनले भने, ‘अहिले ६ हजार बोटले दाना दिएका छन्।’ यो गाउँले पोहोर कफीबाट मात्र १२ लाख रुपैयाँ आम्दानी गरेको थियो। उत्पादन बढ्दै जाँदा त्यो आम्दानीको ग्राफ पनि उकालो लाग्दै जाने अध्यक्ष भुँगाइले सुनाए। गाउँलेले फलाएको कफीको चेरी सहकारीले प्रतिकिलो एकसय रुपैयाँका दरले किनिदिन्छ। चारकिलो चेरीबाट एककिलो पार्चमेन्ट (छोडाएको दाना) तयार हुन्छ। एककिलो पार्चमेन्टको मूल्य ५६० रुपैयाँ किसानले पाउँछन्।

राम्रो फल दिने एउटै बोटले ६०–७० किलोमिटर चेरी उत्पादन दिन्छ। यो वर्ष २० हजार विरुवा थप्ने योजना पनि सहकारीको छ। त्यसका लागि नर्सरीमा विरुवा तयार पारेर राखिएको छ। गाउँलेलाई कफी खेतीमा आकर्षण गर्न सहकारीले निःशुल्क विरुवा उपलब्ध गराउँछ। त्यसबाहेक कृषि ज्ञान केन्द्रको अनुदानमा एउटा विरुवा रोपेबापत २५ रुपैयाँ आर्थिक सहयोग पनि गर्छ। किसानले खेतबारीमा रोपेको विरुवा गणना गरेरै अनुदान दिने गरेको उनले बताए।

अध्यक्ष भुँगाइले विगत ४ वर्षदेखि वार्षिक एक लाख रुपैयाँ आम्दानी कफीबाट गरेका छन्। स्थानीय परशु आधारभूत विद्यालयका शिक्षक समेत रहेका उनले पाँचसय बोट आफैले हेरचाह गर्छन्। बाँकी एक हजार बोट अर्कैलाई ठेक्का दिएका छन्। गाउँलेले कफीबाट आम्दानी त गरेका छन् नै त्यससँगै घास, दाउँराको जोहो गर्न पनि सहज भएको छ। नेपालमा अरबिका जातको कफी खेती हुन्छ। अरबिकालाई रुखविरुवाको छहारी चाहिन्छ। लाइबेरीका र रोबष्टा जातको कफीलाई छहारी चाहिदैन। ‘शिरिष, बडहर, खन्यु लगायतका बोटको छायाँमुनि हुर्किएको कफी निकै राम्रो हुन्छ,’ उनले भने, ‘त्यही भए नेपालमा कफी खेती गर्दा दोहोरो फाइदा छ। एकातिर घासदाउरा र अर्काेतिर कफीबाट आम्दानी लिन सकिन्छ।’ त्यसबाहेक कफीको बोटसँगै बेसार, अदुवा र सागपात खेती गर्न सकिने पनि उनले बताए।

अधिकारी गाउँमा पाँचवर्षे कार्यक्रम अन्तर्गत हरियो वनले कफीका विरुवा रोप्न सघाएको थियो। हरियो वन कार्यक्रम चितवन–अन्नपूर्ण ल्याण्डस्केप (चाल) का फिल्ड कोअर्डिनेटर पूर्णबहादुर कुँवरका अनुसार पाँचवर्षे कार्यक्रम आगामि पुसमा सकिँदैछ। फेवा जलाधार क्षेत्रमा अधिकारीडाँडा पर्ने भएकोले पनि त्यो गाउँमा भू–क्षय रोक्नका लागि कफीका विरुवा रोपेर सघाएको कुँवरले बताए।

त्यसबाहेक कफीको उत्पादन बढाउन पनि छहारी दिने रुखका लागि एभोकाडोको विरुवा पनि दिइएको उनले बताए। हरियो वनसहित प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमबाट पनि त्यहाँ सहयोग पुगेको छ। ‘सिंगो गाउँमा कुनै न कुनै रुपमा सहयोग पुगोस भनेर प्याकेजमा सहयोग भएको हो। सबैभन्दा राम्रो कफीमा देखिएको छ,’ कुँवरले भने, ‘कफी खेतीका लागि सबैखाले पूर्वाधार तयार भएकोले पनि किसानले अब आम्दानी गुमाउन चाहँदैनन् त्यसैले आगामि दिनमा कफीका विरुवा रोप्नेछन्।’

अन्नपुर्ण गाउँपालिकाको कृषि शाखा प्रमुख ऋषि दाहालले पनि अधिकारीडाँडाका बासिन्दाले कफीका लागि नमुना काम गरेको बताए। अन्नपुर्णको लुम्ले, लान्द्रुक क्षेत्रमा पनि कफी खेती हुन थालेको उनले बताए। समुन्द्री सतहको १२ सयदेखि १५ सय मिटरमा कफी खेती हुने उनले बताए।

जिल्ला कफी सहकारी संघका अनुसार कास्कीमा अघिल्लो वर्ष १५ टन पार्चमेन्ट उत्पादन भएको थियो। त्यो भन्दा अघिल्लो वर्ष उत्पादन ३० टन थियो। संघका अध्यक्ष आनन्द सुवेदीका अनुसार चिसोले पछिल्लो वर्ष उत्पादन आधा घटेको थियो। १५ टन कफीबाट जिल्लाले एक करोड रुपैयाँ कमाएको उनले बताए। ‘यहाँको कफी अमेरिका, जापान, कोरिया लगायतका मुलुकमा खपत हुन्छ। ४० प्रतिशत स्वदेशभित्रै खपत छ,’ उनले भने, ‘कफीमा प्रयाप्त अवसर छ।’ उनका अनुसार कास्कीको ढिकुपोखरी, अधिकारीडाँडा, निर्मलपोखरी, भलाम, देउराली, मिजुरेमा कफी खेती हुन्छ।


Your Views
Related News