रानीपोखरीमा लबालब पानी भरिएको र बालगोपालेश्वर मन्दिर पनि मल्लकालीन शैलीमा बनेको दृश्यले धेरैलाई उत्साहित बनाएको छ। सामाजिक सञ्जालहरूमा धेरैले रानीपोखरीको नयाँ तस्बिर राख्दै आफ्नो खुसी बाँडेका छन्।

काठमाडौंको यो सम्पदा आज जस्तो अवस्थामा छ, त्यसकाे सम्पूर्ण जस रानीपोखरी जोगाउन मरिमेटेका अभियन्ताहरूलाई जान्छ।

ती अभियन्ताले बेलैमा आवाज नउठाएका भए काठमाडौं महानगरपालिकाले यसलाई कंक्रिट र टायल भरेर ‘स्विमिङ पुल’ बनाइसकेको हुन्थ्यो।

जब महानगरले आधुनिक शैलीमा रानीपोखरी पुनर्निर्माण गर्ने र वरिपरि कफीसप खोल्ने योजना ल्यायो, काठमाडौंलाई माया गर्ने अभियन्ताहरू जुर्मुराए। उनीहरूको अभियानले आन्दोलनको रूप लियो। दिनैपिच्छे यसमा जोडिनेहरू बढ्दै गए।

जनताको दबाब थेग्न नसकेपछि सरकारले महानगरको योजना रद्द गर्‍यो र यसको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दियो। काठमाडौंको पहिचानसँग जोडिएको सम्पदा मौलिक शैलीमै बनाउनुपर्छ भन्ने दबाब प्राधिकरणले पनि नकार्न सकेन।

त्यसैको प्रतिफल- रानीपोखरीले आजको यो स्वरूप लिएको छ।

यो अभियानमा आठ जनाको नाम अग्रपंक्तिमा आउँछ- शैलेश शाक्य, आलोकसिद्धि तुलाधर, गणपतिलाल श्रेष्ठ, अपिल केसी, सञ्जय अधिकारी, मोनालिसा महर्जन, रूक्सना कपाली र सुरज महर्जन।

सुरूआत त्यो दिनबाट भयो, जब रानीपोखरी परिसर हरियो पालले बारिएको थियो। बालगोपालेश्वर मन्दिरमा सिमेन्टको पिलर ठड्याइँदै थियो। पोखरीको पानी सुकाएर छिपेछिपे हिलो मात्र बाँकी थियो। त्यही पिँधको कालो माटोधरि खोस्रन डोजर तम्तयार थियो।

सामाखुसीका शैलेश शाक्यले जसै पालको प्वालबाट चियाए, उनले आफूलाई थाम्नै सकेनन्। उनी तुरून्तै महानगरपालिका गए र तत्कालीन प्रमुख कार्यकारी रुद्रसिंह तामाङलाई भेटे।

‘उहाँले न विस्तृत डिजाइन देखाउनुभयो, न त यसरी बन्दैछ भनेर चित्त बुझाइदिनुभयो,’ रानीपोखरी संरक्षण अभियानको सुरूआती दिनका घटना सम्झँदै शैलेशले केही समयअघि हामीसँग भनेका थिए, ‘मलाई त्यही बेला शंका लाग्यो, रानीपोखरी ठेक्कामा दिएर भताभुंग पार्ने काम त हुँदै छैन?’

उनी भोलिपल्टै त्यहाँ गए। पालभित्र छिरे। कामदारसँग कुराकानी गरे। ठेक्काको पनि उपठेक्कामा काम हुँदै रहेछ। उतिबेला सुर्खीचुना हालेर बनेको मन्दिरमा सिमेन्ट, छड प्रयोग हुँदै गरेको देखे। पोखरीको डिल कंक्रिट पर्खालले बार्ने र पिँधमा टायल ओछ्याउने तम्तयारी पनि थाहा पाए।

शैलेश काठमाडौंका रैथाने हुन्। हिजोआज सामाखुसी बसे पनि उनी न्यूरोड क्षेत्रमै हुर्केबढे। रानीपोखरीसँग भावनात्मक रूपले गाँसिएका छन्।

शैलेश शाक्य

‘म सम्पदाको ज्ञाता होइन, तर जसरी काम भइरहेको थियो, त्यो गलत हो भन्ने बुझ्न ज्ञाता हुनै पर्दैन। पोखरीको सामान्य ज्ञान भए पुग्छ,’ उनले भने, ‘अरे बाबा, मन्दिर पो भत्किएको, केही हुँदै नभएको पोखरी सुकाएर के जात्रा गर्‍या? कालो माटो झिकेर कंक्रिटले टालेपछि पानी कहाँबाट आउँछ, कहाँबाट जान्छ? पानी आउजाउ नै बन्द गरेपछि पोखरी, पोखरी कसरी भयो?’

उनले रानीपोखरीका तस्बिर फेसबुकमा पोस्ट गरे। त्यो तस्बिर हजारौंले सेयर गरे।

यो रानीपोखरी संरक्षण अभियानको पहिलो कडी हो। यहीँनिर जोडिन आइपुगे, किलागलका आलोकसिद्धि तुलाधर र वसन्तपुरका गणपतिलाल श्रेष्ठ।

आलोक काष्ठमण्डप पुनर्निर्माण अभियानमा सक्रिय थिए। काष्ठमण्डप ठेकेदारलाई जिम्मा दिन हुन्न भन्ने उनीहरूको माग थियो। त्यही अभियानको बलले आज काष्ठमण्डप पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ।

गणपति पनि सम्पदा र संस्कृति संरक्षण अभियानमा लामो समयदेखिका जोधाहा हुन्। स्थानीय स्तरमा खानेपानीदेखि बिजुली बत्तीका समस्या र सडक अतिक्रमण हटाउने काममा समेत उनी लागिपर्छन्। वसन्तपुर क्षेत्रमा कहीँ कुनै समस्या पर्‍यो भने धेरैले उनैलाई सम्झन्छन्।

जब आलोक र गणपतिले रानीपोखरीभित्र ठडिँदै गरेका सिमेन्ट–पिलर, सुकेको पोखरी र डोजरले माटो खोस्रँदै गरेको फेसबुकमा देखे, उनीहरूले तुरुन्तै शैलेशसँग सल्लाह गरे। यहाँबाट दोस्रो कडी सुरू हुन्छ।

आलोकसिद्धि तुलाधर

शैलेश र आलोकले रानीपोखरी बचाउ निम्ति फेसबुक अभियान थाले। कालो माटो झिके पोखरी कसरी विनाश हुन्छ भनी जानकारी दिए। पुरानो मन्दिर जीर्णोद्वार गरिनुपर्नेमा कसरी पिलर ठड्याइँदैछ भनी अवगत गराए।

फेसबुक अभियान चलायमान हुन थाल्यो। प्रतिक्रिया ओइरिए। टीकाटिप्पणी सुरू भयो।

यो यत्तिकैमा सीमित हुन्थ्यो सायद, एक जनाले भीडबाट एक कदम अघि बढ्ने हिम्मत नगरेका भए। उनी हुन्, अपिल केसी।

आर्किटेक्चर इञ्जिनियरिङका विद्यार्थी अपिलले आफू ‘एक्लै भए पनि रानीपोखरी गएर विनाशलीला हेर्ने र मनन् गर्ने’ आसयको फेसबुक स्ट्याटस लेखे। उनको ‘स्ट्याटस’ ले तेस्रो चरणको तरंग ल्यायो।

संरक्षणमा जुमुर्राएका सबै अपिलले भनेकै दिन रानीपोखरी जान तयार भए।

सामाजिक सञ्जालबाट गोलबद्ध युवाहरू त्यस दिन स्वस्फुर्त ढंगले रानीपोखरीमा भेला भएको आलोक सम्झन्छन्।

‘कसैले कर गरेका थिएनन्। कसैलाई खुसी पार्नु पनि थिएन। न हामी केही काम नभएका फुर्सदिला थियौं,’ उनले भने, ‘रानीपोखरीको मल्लकालीन स्वरूप मासेर आधुनिक रूपमा ढालिँदैछ भन्ने खबरले हामी सबै जुर्मुराएका थियौं।’

उनले अगाडि भने, ‘अपिलले रानीपोखरीमा भेला हुने अपिल गर्नासाथ चुप लागेर बस्नै सकेनौं। कोही कोही त धिमे बाजा बजाउँदै पुगेका थिए।’

अपिल केसी

सम्पदाविद् तथा इञ्जिनियरिङ प्राध्यापक सुदर्शनराज तिवारी पनि त्यसै दिन यो अभियानसँग जोडिएको आलोक बताउँछन्।

उनीहरू सबै गणेशमान सिंह पार्कमा भेला भए। ताला लगाइएको थियो। फोडे। सभा, जुलुस गर्ने कुनै योजना थिएन। त्यस निम्ति चाँजो पनि मिलाएका थिएनन्। दुई, चार, छ हुँदै बीसौं जना उभिएपछि सबैको जोश भरियो।

‘हामीले बागबजारको एउटा पसलमा फोन गरेर पाँच मिनेटमै साउन्ड सिस्टम व्यवस्था गर्यौं। साथीहरूले तुरुन्तका तुरुन्त प्लेकार्ड लेख्न थाले। नारा बनाउन थाले। रानीपोखरी सम्झँदा र उदेकलाग्दो विनाश देख्दा जसको मनमा जे आउँछ, त्यही केरकार पारेर प्लेकार्ड बनाएका थियौं। हेर्दाहेर्दै आधा घन्टा पनि लागेन, स्वस्फुर्त भेला भएका मान्छे व्यवस्थित दबाबमूलक समूहमा परिणत भए,’ आलोकले भने।

उनीहरूले प्लेकार्ड बोकेर संरक्षणको नारा लगाउँदै रानीपोखरी परिक्रमा गरे।

त्यस क्रममा गणपतिले ताल्चा फोडेर भित्र भइरहेको काम रोक्न महत्वपूर्ण भूमिका खेले। रोक्न आएका प्रहरीसँग बाझ्न र भीड्न पनि उनी पछि हटेनन्। उनको साहसले अरू अभियन्तालाई हौस्यायो। उनको होस्टेमा सबैले हैंसे गरे।

त्यो रानीपोखरी जोगाउन उठेको पहिलो एकीकृत नागरिक आवाज थियो।

गणपतिलाल श्रेष्ठ

सामाजिक सञ्जालमा बलेको झिल्कोले गोलबद्ध भएकाहरू नै अन्ततः रानीपोखरी संरक्षण अभियन्ता बने। उनीहरूबाटै प्रेरित भएर काठमाडौं र यहाँको सम्पदालाई माया गर्ने र पुरानै स्वरूपमा देख्न चाहने धेरै जना यो अभियानमा मिसिए। तिनैमध्ये एक थिइन्, मोनालिसा महर्जन।

पोर्चुगलबाट सम्पदा संरक्षणमा विद्यावारिधि गरेकी मोनालिसा प्रायः उतै बस्थिन्। यहाँ आएका बेला आफ्नो अध्ययन र रुचिको विषयमै उनको समय बित्थ्यो। अहिले धेरै समयदेखि काठमाडौंमै छिन्।

त्यति बेला उनलाई हामीले सोधेका थियौं, ‘सम्पदा भनेको के हो?’

‘पहिचान हो,’ उनको जवाफ थियो, ‘हामी नेपालमा रहँदासम्म सधैं यिनै सम्पदा वरिपरि हुन्छौं। खासै वास्ता हुन्न। जब विदेश पुग्छौं, हाम्रो पहिचान यिनै सम्पदाले दिन्छ।’

‘तपाईं सरकारी कार्यालय जानुस्, मेयरकै कार्यालय जानुस्। दरबार स्क्वायर, काष्ठमण्डप वा रानीपोखरीकै तस्बिर भित्तामा सजाइएको होला। किन राखिए ती तस्बिर? किनकि, ती हाम्रा पहिचान हुन्। हामीलाई चिनाउने तिनैले हो। हामी विश्व सम्पदा सूचीमा परेका वा नपरेका प्राचीन सम्पदासँग आफ्नो परिचय जोड्न पाएकामा गर्व गर्छौं,’ उनले भनिन्।

‘समस्या के भने, जब यी सम्पदामा लगानी गर्ने बेला आउँछ, हामी खुम्चिन्छौं। सन् २०१० को तथ्यांक देखेको थिएँ, ०.०१ प्रतिशत बजेट पनि हामीले सम्पदा संरक्षणमा छुट्टयाएका छैनौं। जुन चिजले विश्वमै हाम्रो परिचय दिइरहेको छ, त्यसैलाई सम्हाल्न हाम्रो किन यति कञ्जुस्याइँ? त्यति थोरै लगानी गरेको सम्पदाबाट हामी शतप्रतिशत गौरवको अनुभूति लिइरहेका छौं। यो सरासर बेइमानी हो।’

उनले यो पनि भनेकी थिइन्, ‘रानीपोखरीलाई कुन रूपमा संरक्षण गर्ने भन्ने प्रश्नको जवाफ हामी काठमाडौंलाई कुन रूपमा चिनाउन चाहन्छौं भन्नेमा टिकेको छ। मन्दिरै मन्दिरको सहर हो भनेर चिनाउन चाहन्छौं कि क्याफे नै क्याफेको सहर भनेर चिनाउन चाहन्छौं? यसको जवाफ सोचौं, रानीपोखरीमा अलमलै हुँदैन।’

मोनालिसा महर्जन

यही अलमलले रानीपोखरी मात्र होइन, प्राचीनकालदेखिको पोखरी सभ्यता र संस्कृति नै धरापमा पर्दै गएको उनको भनाइ छ।

‘कालो माटोले पोखरी बनाउने हाम्रो आफ्नै विधि छ। यसले पानी आवागमन गराउँछ। जमिनमा पानीको मात्रा कायम राख्छ। जलचरहरूले बासस्थान पाउँछन्। यस्तो परम्परागत विधि मासेर ढलान गर्ने हो भने वाष्पीकरणले पोखरी सुक्छ। बर्खाबाहेक अरू बेला बाहिरबाट भर्नुपर्छ। महानगरले काठमाडौंबासीलाई अहिल्यै पानी दिन सकेको छैन, अब रानीपोखरी भर्न कहाँबाट ल्याओस्? यो कहाँसम्म व्यवहारिक कुरा हो,’ उनले भनेकी थिइन्।

सम्पदा संरक्षणबारे धाराप्रवाह बोल्न सक्ने मोनालिसालाई विषयगत ज्ञानले पनि अभियानमा लाग्न प्रेरित गरेको थियो। तर, सबै अभियन्ता उनीजस्ता थिएनन्।

ती विभिन्न ठाउँका थिए। फरक–फरक पेसाका थिए। फरक उमेरका थिए। अधिकांश त सम्पदा वा पुरातत्वका सामान्य जानकार मात्र हुन्। जसलाई यत्ति थाहा थियो– ३५० वर्षअघि राजा प्रताप मल्लले कान्छा छोराको मृत्युशोकमा विह्वल रानीको चित्त बुझाउन यो मन्दिर बनाएका हुन्।

‘यत्ति ज्ञान काफी छ हाम्रा लागि, रानीपोखरी अभियानमा सरिक हुन,’ रुक्सना कपालीले हामीसँग भनेकी थिइन्।

रूक्सना कपाली

उनले अगाडि भनिन्, ‘हरेक देशका आ–आफ्नै परम्परा, संस्कृति र सम्पदा हुन्छ। काठमाडौंलाई त झन् हामीले सधैं संस्कृति र सम्पदामा धनी भनेर बुझ्दै आयौं। हामीले चिनेको रानीपोखरी त्यसैको हिस्सा हो। हामीलाई सानैदेखि किताबमा पढाइँदै आएको यो सम्पदामा स्विमिङ पुलजस्तो कंक्रिट पर्खाल लगाउन हुँदैन भनेर बुझ्न मैले दसथरीको कुरा थाहा पाइरहनु पर्दैन।’

कपाली ब्लु डायमन्ड सोसाइटीअन्तर्गत समलैंगिक अधिकारमा आवाज उठाउँछिन्। उनी फेसबुककै ‘सेभ नेपाः भ्याली’ समूहमा सरिक छिन्। काठमाडौं उपत्यकाभित्र विकास योजनाका नाममा भइरहेका विनाश र विस्थापनविरुद्ध यो समूहले आवाज उठाउँदै आएको छ।

‘रानीपोखरी जस्तो बनाइँदैछ, के त्यसले हाम्रो पहिचान बोक्छ? के त्यसलाई हामी ३५० वर्षअघि राजा प्रताप मल्लले बनाएको हो भनी गर्वसाथ भन्न सक्छौं?’ सरकारलाई रुक्सनाको प्रश्न थियो।

चागलका सुरज महर्जन पनि ‘सेभ नेपाः भ्याली’ नामक फेसबुक समूहमै आबद्ध थिए।

‘काठमाडौं बाँच्नलायक सहर हुनुपर्‍यो, खुला सार्वजनिक स्थल हुनुपर्‍यो, प्राचीन स्वरूप नष्ट नगरिएका सम्पदा हुनुपर्‍यो, प्राचीन बस्ती हुनुपर्‍यो, जीवनशैली हुनुपर्‍यो,’ उनको भनाइ थियो, ‘नेपाल आउने पर्यटकले यहाँ अपेक्षा गर्ने यिनै हुन्। उनीहरू रानीपोखरीबीचको ‘वाटर फाउन्टेन’ हेर्न आउने होइनन्। कफी खान आउने होइनन्। जे चिजका लागि आउने हुन्, त्यो नै मासेपछि नेपालको पहिचान के रह्यो?’

सुरज महर्जन

रानीपोखरी संरक्षण अभियानको विशेषता के थियो भने, यसका अभियन्ताले आ–आफ्नो विषयगत ज्ञान आवश्यकताअनुसार प्रयोग गरेका थिए।

जसरी आलोकले काष्ठमण्डप संरक्षण अभियानको अनुभव मिसाए, जसरी मोनालिसाले सम्पदा संरक्षणको महत्वबारे ज्ञान बाँडिन्, उसैगरी एक जना थिए, जसले कानुनी परामर्शदाताको भूमिका खेले।

काठमाडौं स्कुल अफ लमा अध्ययनरत सञ्जय अधिकारीले यो संरक्षण अभियानमा सरकारी लेखापढी गर्न सघाए। उनी छलफलमा बस्दा कानुनका दफा–उपदफा कोट्टयाउँथे। र, अभियानका गतिविधिलाई कानुनी दृष्टिमा बलियो पार्ने काम गर्थे।

उनले प्राचीन स्मारक संरक्षण ऐनमा उल्लिखित प्रावधान समातेर पुरातत्व विभागदेखि महानगरसम्मलाई अँठ्याए। रानीपोखरी पुनर्निर्माणमा भएका कुनै पनि काम ‘विधिको शासन व्यवस्था’ अनुरुप नभएको उनको भनाइ थियो।

पुरातात्विक महत्वका सम्पदामाथिको यो ‘लुट’ रोक्ने अधिकारप्राप्त निकाय पुरातत्व विभाग हो। ऊ आफैं प्रस्ट नभएको र महानगरपालिकालाई पनि प्रस्ट पार्न नसकेको उनको भनाइ थियो।

सञ्जय अधिकारी

यी प्रतिनिधि मात्र हुन्। यस्ता सयौं अभियन्ताले रानीपोखरी जोगाउन आवाज उठाएका थिए। तिनलाई आपसमा बाँध्ने काम सामाजिक सञ्जालले गरेको थियो। र, त्यसलाई समन्वय गरेका थिए, आलोकले।

उनीहरू पछिसम्मै चुप लागेर बसेनन्। अघिल्लो लकडाउनकै बीचमा जब पुनर्निर्माण प्राधिकरणले बोरिङको पानी तानेर पोखरी भर्न खोज्यो, आलोकले सामाजिक सञ्जालमा लगातार भिडिओ पोस्ट गरेर त्यसविरूद्ध आवाज उठाए। बोरिङको पानी तानेर पोखरी भर्नु सम्पदाको मर्मविपरीत भएको उनको भनाइ थियो।

यसपालि पनि उनले सुरू गरेको अभियानमा अरू धेरै जना जोडिन पुगे। उनीहरू हरेक दिन रानीपोखरी जान्थे र त्यहाँको दृश्य फेसबुकमा लाइभ गर्थे। यही समूहले ‘डिप बोरिङबाट रानीपोखरी नभरौं’ भन्दै भर्चुअल अन्तर्क्रिया आयोजना गर्‍यो। नागरिक समूहको निरन्तर दबाबपछि नै प्राधिकरणले बोरिङको सट्टा खानेपानी मन्त्रालयको सहयोगमा पोखरी भरेको हो।

२०७२ को भुइँचालोपछि करिब पाँच वर्ष जीर्ण बनेको रानीपोखरी पुरानो स्वरूपमा फर्किएको छ। हामी सबैले खुसी मनाउन पाइरहेका छौं।

अभियन्ताहरूले समयमै आवाज नउठाइदिएका भए यो अवसर आउने थिएन।

मध्य काठमाडौंको यो मल्लकालीन सम्पदा इतिहासको पानामा सीमित हुने थियो।


Your Views
Related News