‘फेरि तँ त्यही भिखारीकी छोरीलाई भेटेर आइस्? हाम्रो इज्जत कति छ थाहा छैन तँलाई? त्योसँग बिहे गरिस् भने त मलाई आमा नभने नि हुन्छ तैंले बुझिस्! हाम्रो खान्दानको इज्जत माटामै मिला

‘खाना खान आउनुस्’ भनी भित्रबाट आफ्नी भाउजूले रविनलाई बोलाउँछिन्। ऊ लुरुलुरु भान्साकोठाभित्र जान्छ। नबोली नबोली खाना खाएर आफ्नो अफिसतर्फ लाग्छ। सेतो कमिज, आइरन लगाएर धार परेको पाइन्ट, लेदरको टलक्क टल्केको जुत्ता, कालो चश्मा लगाएको, उम्दा व्यक्तित्व भेटिन्थ्यो उसमा।

पल्सर बाइक चढेर बाटोमा जाँदै थियो। सुनखोलीको उकालोमा पुग्दा उसका आँखा टक्क अडिन्छन्। बाइकको स्पीड कम गर्छ। यसो हेरेको त जस्मिन जस्तै कोही केटी बाटोमा घाँसको भारीसँगै आफूतिरै आइरहेको देख्छ। नभन्दै साँच्ची जस्मिन नै रहिछ।

रविनले मीठो अनि सुमधुर आवाजमा केही बोल्ने कोशिस गर्छ, ‘आहा जस्मिन आज त निकै साइत परेको छ नि मलाई तिम्रो हरियो घाँसको डोकोले।’

उनी भइस् हैन?’ आमाको रिस घोलिएको बोली चुपचाप सुनिरहेको थियो रविन।

जस्मिन पसिना टल्केका गुलाबी गाला हातले पुछ्दै मधुर लाजले घोप्टी परी नबोलीकन आफ्नो बाटो लाग्छे।

रविन काठमाडौं बसेर केही वर्ष अध्ययन गर्‍यो। पढाइ सकेलगत्तै लोकसेवा आयोगको तयारीमा जुटेको थियो। अधिकृतमा नाम ननिकाल्दाजेलसम्म घरै जान्न भनी टुप्पी कसरे पढाइमा धमरधुस लागेको थियो। अरू बेलाको त कुरै छोडौं ऊ दसैंमा समेत बाउआमाको हातको टीका थाप्न गाउँ गएन।

तयारीको पाँचौ वर्षमै उसले अधिकृतमा नाम निकाल्यो। परीक्षणकालको एक वर्ष गुजारेपछि उसले आफ्नो जागिर घरपायक बनायो। उसको दाजु पनि सरकारी जागिरे। बुवा भारतीय आर्मी। उसको परिवार आर्थिक रूपमा सम्पन्न थियो।

रविन शालिन, इमानदार, कर्मठ र सरल थियो। पहिलोपटक जागिरबाट बिदामा घर आउँदा उसले जस्मिनलाई कलेजको पोशाकमा गाउँको चिया पसलनजिकै भेटेको थियो। पहिलो हेराइमै रविन जस्मिनबाट प्रभावित भयो।

चिया पसलकी आन्टीलाई सोध्यो, ‘को हुन् आन्टी यी नानी?’

‘रविन, ए यो नानी… यिनको परिवार गोरखाबाट सरेर आएका हुन्। भुइँचालोले घर खाएपछि ओत खोज्दै आ’का थिए। तल जिम्माल बाको घर लिएर बसेका छन्। तीन-चार वर्ष भयो। यिनी यहीँको क्याम्पसमा पढ्छिन्। नाम जस्मिन हो। पढाइ पनि राम्रो छ। रूप आनीबानीको त कुरै नगरौं। यस्ती भए पो बल्ल छोरी।’

आन्टीका कुरा सुन्दासुन्दै जस्मिन नोट कापी हल्लाउँदै पसलको छेउबाट लुसुक्क ओर्लन्छे। रविन उसलाई परै पुग्दासम्म नियालिरहन्छ।

रविन २६ वर्ष भइसकेको थियो। दाइको बिहे एक खानदानी परिवारसँग भएको थियो। अब उसको बिहेको कुरा लिएर आउने इष्टमित्रको ओइरो छ। धेरै ठाउँबाट कुरा चलेको छ। त्यसमा पनि धेरैजसो कुलघरानामा।

आमाले घरअगाडिको मन्दिरमा बसेर कर्कलाको अचार बनाउँदै भन्छिन्, ‘ठूलेको ससुरालीले पनि हाम्रो कुलघरानाको राम्रोसँग इज्जत राखिदिए। अब तेरो पालो। कान्छी बुहारी अझ धुमधामसँग भित्र्याउने मन छ। हेर है इज्जत राखिदिने ठाउँमा जानुपर्छ।’

रविनले आमाको कुराको आसय राम्रोसँग बुझेको थियो। उसलाई थाहा थियो आमा दाइजोका लागि कतिसम्म आशक्त हुनुहुन्छ!

रविन धेरै वर्षपछि गाउँ आएकाले उसलाई आफ्नै माटो पनि नौलो लाग्नु स्वाभाविक थियो। ऊ टहलिँदै खेततिर झर्‍यो। खेत बाँझै थियो। तर खले गरामा भने दुई जना खनजोत गरिरहेको देख्यो। नजिकै पुगी हेर्दा त उही हिजो आन्टीले कुरा गर्नुभएकी जस्मिन।

ऊ झस्कियो।

‘कान्छा मुखिया कहिले आउनुभयो?’ जस्मिनको आडैका रहेको मान्छेले सोध्यो। नचिनेको मान्छेले चिरपरिचितले झैं बोलाउँदा रविन दङ्ग पर्‍यो।

‘हजुरले मलाई चिन्नुहुन्छ र?’

‘किन नचिन्नु नि। हजुर लाहुरे साइँलाको छोरा होइन र?’

‘हो।’

‘कसरी चिन्नुभयो?’

‘हजुरको बुवा र हजुरको अनुहार काटेकुटे मिल्ने रैछ।’

‘अनि लसुन लगाउन लाग्नुभा?’

‘हो बाबु।’

‘यो चाहिँ मेरो छोरी जस्मिन। आज छोरीको क्याम्पसमा बिदा रैछ। त्यही मौका छोपेको। अरु बेला यिनीहरूसँग काम लिन पाइन्न। यस्तै मौका कुर्नुपर्छ के गर्ने?’

रविन जस्मिनको बुवाको आँखा छल्दै नजर सुटुक्क सुटुक्क जस्मिन भएतिर लान्थ्यो। यति धेरै कुरा भइसक्दा पनि जस्मिन भने घोसे मुन्टो लगाएर लसुन केलाउँदै थिई। उसको रातो मुहार, घामले तातेका गाला, निधारभरी निथ्रुक्क पसिनाले भिजेको थियो। ऊ जस्मिनसँग बोल्ने बहाना खोज्छ। अहँ सक्दैन।

एकछिन पछि विस्तारै सोध्छ, ‘जस्मिन तिम्रो पढाइ कहाँ पुग्यो? सुनेको थिएँ पढाइ निकै राम्रो छ।’

जस्मिनले आँखामाथि नउठाई बोल्छे, ‘ब्याचलर फोर्थ इयर।’

‘कुन फ्याकल्टी हो नि?’

ऊ अलि ढुक्क भएर बोल्छे ‘कमर्स’।

‘अनि मास्टर्स कहाँबाट गर्ने सोच छ त तिम्रो?’

‘अब यहाँ त छैन। त्यसपछि थाहा छैन पढ्ने कि छोड्ने? अब पाए केही जागिर गर्ने भनेको।’

रविन जस्मिनसँग सम्पर्कमा रहिरहने बहाना खोजिरहन्थ्यो र त्यसमा सफल हुन्थ्यो पनि। दिन बित्दै गए। उनीहरूबीचको प्रेमको रङ थपिँदै गयो र गाढा बन्यो। उनीहरू एक अर्काबिना अधुरो र अपुरो भएको महशुस गर्न थाले।

घरमा रविनको बिहेको कुरा चल्न थाल्यो। कुलघराना, त्यसमाथि पनि सरकारी जागिरे चिनेजानेका जतिको नजर उहीमाथि थियो।

यही बेला रविनले घर गएर परिवारसँग आफूले जस्मिनलाई मन पराउने कुरा सुनाउँछ। सुन्नेबित्तिकै उसको घरमा भुइँचालो नै जान्छ।

‘खाए, लाएको सरकारी जागिरे ठिटो देखेकी अनि झुत्ति परेर लागिछे…,’ रविनकी आमा नानाथरी फलाक्न थाल्छिन्।

‘त्यो दुई कौडीकी केटीसँग जीवन बिताउन सक्छु भन्ने हिम्मत कसरी गरिस् तैंले? तलाईं पढाएर ठूलो मान्छे बनाएको यही गर्न हो? कस्तो ठाउँमा लगेर पढाएछु यसलाई? समाजको अगाडि नाक मुखै नदेखाए भो अब त,’ बुवा यति भन्दै पस्केको भात हुत्याएर खाना नखाई ड्याम्म ढोका लगाएर सुत्छन्।

आमा सुँक्कसुँक्क गर्दै फरियाको सप्कोले आँशु पुछ्दै बाहिर मन्दिरमा पिँठ्यु फर्काएर बसिन्।

दाइ भन्छ, ‘केही बिग्रेको छैन। अझै एकपटक सोच। हामीले भनेको केटीसँग बिहे गरिस् भने तेरो भलाइ हुन्छ।’

यति भनेर दाइ सुत्न जान्छ। रविन रातभरी सोच्छ। ऊ जति सोच्थ्यो त्यो सोचाइबाट जस्मिनलाई पर राख्न सक्दैनथ्यो। उसलाई त्यति धेरै माया लागेको पहिलो केटी जस्मिन नै थिई। उसले जस्मिनमा धेरै सम्भावना देख्थ्यो। ऊ सामान्य केटी थिइन। आफूलाई समय र परिस्थिति अनुकूल बनाउन सक्ने अब्बल केटी थिई। उसलाई पाउने जो कोही भाग्यमानी ठहरिन्थ्यो।

रविनले उसको बारेमा जति बोले पनि उसको कुरा निरर्थक बन्यो। बिहे पहिले पक्का गरेकै केटीसँग गर्नुपर्ने भयो। धुमधामसँग भएको बिहेमा जस्मिन पनि आएकी थिई। तर उसको अनुहारमा कुनै निराशापन थिएन।

रविनकी श्रीमती निकै सुन्दरी थिई। घरपरिवार इष्टमित्र सबै प्रफुल्ल थिए। तर जिन्दगीको सुखदुःखलाई सहयात्री बनाएर डुंगा कुदाउने माझीको अनुहारमा कुनै उमंग थिएन।

समय बित्दै गयो। रविनकी पत्नी अलि अबुझ थिइन्। उसका हरेक गल्तीलाई सुरूआती दिन सम्झेर माफी गर्दै गयो। ऊ रूपकी धनी भए पनि संस्कारकी गरिब थिई। सबै कुनै न कुनै काममा व्यस्त हुन्थे। तर ऊ हरपल मोबाइलमा व्यस्त हुन्थी। रविन अफिसबाट आओस् या अफिस जाओस् उसलाई कुनै मतलब हुन्थेन। त्योभन्दा बढि ऊ घरको खाना छाडेर बाहिरको खाना खान जान्थी।

दिनदिनै बाहिर साथीकहाँ पार्टी छ भन्दै हिँड्ने, मध्यरातमा बेहोसी हालतमा आउने। त्यो त उसको पुरानै बानी रहेछ।

रविन दिक्दार भइसकेको थियो। ऊ सुध्रिएको देख्न चाहन्थ्यो। तर उसको लत रत्तिभर घटेन। कमाइ बिनाको रमाइ कति दिन चल्न सक्थ्यो र? उसको दैनिक खर्च धान्नै मुश्किल होलाजस्तो हुन थाल्यो परिवारलाई। यही निहुँमा भाउजूले छुट्टिने निधो गरिन्। आफ्नो अंश लिएर बाहिरिन्।

अब रविन श्रीमतीलाई आनीबानी सुधार्न सल्लाह दिन्छ। तर ऊ उल्टै आफ्नो माइतीको सम्पत्तिको ध्वाँस देखाउँछे। उसको सबै पारा उसका सासूससुरा मूकदर्शक भएर हेरिरहेका थिए। बोलुन पनि कसरी? सम्पत्तिको लोभले नसोची गरेको निधो थियो।

रविन अत्तालिएको थियो आफ्नो जीवनदेखि। तर अझै उसलाई सुधार्ने आशमा अल्झिरह्यो।

एकदिनको कुरा, उसको कार्यालयमा नयाँ अधिकृत आगमनमा स्वागत कार्यक्रम राखिएको थियो। रविन आफ्नो अफिसकै काममा व्यस्त थियो। केहीबेरपछि अफिसबाट बाहिर निस्केर मञ्चमा हेर्छ। उसको आँखा तिर्मिराए जस्तो हुन्छ। आँखा मिचेर फेरि हेर्छ। अक्क न बक्क हुन्छ।

नयाँ अधिकृत त त्यही आफूले माया गरेकी जस्मिन थिई। जसलाई उसले चाहेर पनि गुमाउनुपरेको थियो।

संस्कार धन सम्पत्तिभन्दा कयौं गुणा माथि हुन्छ। दृढ आत्मविश्वासका साथ निरन्तर आफ्नो लक्ष्यमा लाग्ने जो कोही ढिलो चाँडो सफलताको बिन्दुमा पुग्छ। जस्मिन त्यही वासनादार फूल थिई।

अफिसमा रविन र जस्मिनको भेटघाट भयो। रविन पहिले जस्तो हँसिलो थिएन। ऊ त सबैलाई जोड्दा जोड्दै धेरैपटक भित्रैबाट चुँडिएको थियो। जस्मिनले उसको श्रीमतीको कुरा आफ्नी आमाबाट सुनेकी थिई। त्यसैले रविनको आँखा छर्लङ्ग पढ्न सक्थी।

जस्मिनले क्यान्टिनमा चिया खाँदै गर्दा रविनको रथ गुडाइमा चासो राख्छे। रविनले आफ्नो मनको ठूलो पहाड ऊ समक्ष बिसाउँछ। धेरै समयपछि थोरै मुस्कुराउँछ आफूलाई बुझ्ने पुरानो साथी पाएकोमा। त्यसैले आजकल अफिस पनि रमाइलो लाग्न थालेको थियो उसलाई।

तिहारका बेला थियो। जस्मिन लामो समयपछि माइती आएकी थिई। उसकी सानी सुन्दर छोरी पनि थिई। रविनले ‘चिया खाएर जाऊ न’ भनी बिन्ती गर्छ।

आमाले चिया ल्याएर दिन्छिन् र भन्छिन्, ‘जस्मिन तिमीलाई हाम्रो छोरो रविनले धेरै माया गर्थ्यो। मैले गर्दा उसले तिमीलाई गुमाउनु पर्‍यो। उसको जीवनमा तिमी भैदेको भए सुखमय हुने रहेछ। मेरो घमण्डको परिणामको सजाय हामी सबैले भोग्नुपर्‍या छ।’

पटुकाबाट पचासको नोट निकालेर जस्मिनकी छोरीको हातमा राख्दै भन्छिन्, ‘ममी जस्तै जागिरे हुनू छोरी।’

उनीहरूको कुरा भित्रबाट रविनकी श्रीमतीले सुनिरहेकी थिई। जस्मिनकी छोरी रविनले काखमा लिइरहेको थियो। यो देखेर उसकी पत्नीलाई डाह लाग्न थाल्यो। रिसले मुर्मुराउन थाली।

रविन जस्मिनसँगको लामो कुराकानीपछि आफ्नो कोठामा पुग्छ। श्रीमतीले उसको लुगा पटाइरहेकी थिई। ऊ दंग पर्छ। आज त बाहिर पनि नगएकी रहिछ। आज कोठा चिटिक्क मिलेको। रविनले अचम्म मान्दै उसको अनुहारमा हेर्छ। ऊ मुसुक्क हाँस्छे।

‘के अचम्म मानेर हेर्‍या नि?’

‘आफ्नो बुढीलाई नहेरेर कसलाई हेर्ने त?’

‘कसलाई हेर्ने? जस्मिनलाई हेरे भै गो नि।’

‘जस्मिन त मेरो साथी हो। लाखौंमध्येको एक उत्कृष्ट साथी।’

‘होइछ, तपाईंको त पहिलेकी हो नि खुब माया लाग्दो हो है।’

‘मलाई मात्र होइन उसलाई सबैले माया गर्छन्। ऊ छ नै त्यस्ती।’

उसको तारिफ सुनेर रविनकी श्रीमतीलाई साह्रै रिस उठ्छ। तर त्यो दिन खै कसरी रिस लुकाउन सकी।

रविनको माया पाउन्नँ कि भन्ने डरले पनि ऊ दिनप्रतिदिन परिवर्तन हुँदै गई। घरको काममा आफूलाई व्यस्त राख्न थाली। खाली समयमा पुस्तकहरू पढ्ने बानी बसाली। रविनलाई बल्ल बिहेपछिको रमाइलोपन महशुस भएको थियो।

आफ्नो जीवनसाथीको मुखबाट अर्को मान्छेको तारिफ सुन्दा सबैलाई असजिलो हुन्छ। रविनकी पत्निलाई यही भयो सायद। यो महशुसले उसको आनीबानी सुध्रिन्छ।

रविनले पनि महशुस गर्छ, आफ्नो बिग्रिसकेको घर पूर्वप्रेमिकाकै कारण सुध्रियो। त्यसैले रविन आफ्नो पहिलो रोजाइलाई सधैं स्वीकार गर्थ्यो। (लेखक कमला अधिकारी श्री बालसिद्ध मा.वि., स्याङ्जामा शिक्षक छिन्।)


Your Views
Related News