५ असोज, काठमाडौं । पछिल्लो समय विद्युत कटौती बढेको गुनासा सामाजिक सञ्जालमा आउन थालेका छन् । पूर्वसूचना नदिई घण्टौं लाइन काटिनुलाई धेरै उपभोक्ताहरुले कार्यकारी निर्देशकबाट कुलमान घिसिङको बहिर्गमनसँग जोडेका छन् । आम उपभक्ताको आशंका छ, अब फेरि लोडसेडिङ हुने त होइन ?

लाइन काटिने क्रम बढेको गुनासो समाजिक सञ्जालमा चुलिएपछि सरकार पनि दबावमा आएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइँ मन्त्री वर्षमान पुनको सचिवालयले सोमबार विद्युत कटौतीबारे प्रष्टीकरण नै दिनु पर्‍यो । मर्मतका लागि लाइन काट्दा ग्राहकमा भ्रम पर्न गएको मन्त्रालयले बताएको छ ।

मन्त्री पुनको सचिवालयले पूर्वजानकारी बिना विद्युत सेवा नियमित नभएको अवस्थामा ऊर्जामन्त्रीको सचिवालय वा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा तत्काल खबर गर्न अनुरोध गरेको छ र, सचिवालयको हटलाइन ११५१ मा २४ सै घण्टा वा ९८५११०९८३५ मा फोन गर्न सकिने जानकारी दिएको छ ।

जाताततै गुनासा

उर्जा मन्त्रालय र विद्युत प्राधिकरण विद्युत आपूर्ति कटौती बढेको मान्न तयार छैनन् ।

उपभोक्ताहरु भने झ्याप्प-झ्याप्प लाइन जाने क्रम बढेको गुनासो गरिरहेका छन् । काठमाडौं, मनमैजुका श्याम क्षेत्री हिजोआज पटक-पटक लाइन काटिन थालेको बताउँछन् । ललितपुर, टिकाथलीका सनम वैद्यले आइतबार साँझ गएको लाइन मध्यरातसम्म नआएको बताउँदै सोधे, ‘नो लाइटमा फोन नै उठेन । प्राधिकरणमा हाकिम नहुँदैमा विजुली काटिनुपर्ने कारण के हो ?’

हेटौंडाकी दिलु घर्तीले फेसबुकमा आक्रोश पोख्दै लेखेकी छिन्, ‘हिजोआज कति जान थालेको हो यो लाइन पनि ! अब विद्युत प्राधिकरण घेराउ गर्न जानुपर्छ जस्तो छ ।’

त्यस्तै, भरतपुरका प्रेम श्रेष्ठले लेखेका छन्- भरतपुर महानगरमा आज बिहान ७ः३० बजे गएको विद्युत अहिले १२ः०० बजेसम्म आएको छैन । फेरि लोडसेडिङको भारम्भ भएको कि कतै बिग्रेर हो ?’

यस्ता गुनासा अहिले समाजिक सञ्जालमा बग्रेल्ती भेटिन्छन् । धेरैले लोडसेडिङ हो कि भन्ने प्रश्न उठाएका छन् ।

नेतृत्व परिवर्तनले हो ?

भदौ २८ गते कुलमान घिसिङको कार्यकाल सकिएसँगै लाइन जाने क्रम बढेकाले पनि आंशकाहरु व्यक्त भएका छन् । घिसिङलाई औपचारिक विदाइ गरेको भदौ ३१ गते विद्युत वितरण प्रणाली सबभन्दा धेरै अवरुद्व भएको थियो ।

६३० मेगावाट आवर इनर्जी विद्युत आपूर्तिमा अवरोध भएको त्यो दिन २४ हजार ६१२ मेगावाट आवर माग थियो । खपत भने २३ हजार ९८२ मेगावाट आवर मात्र भयो । ६ लाख ३० हजार युनिट बिजुली माग भएर पनि वितरण हुन सकेन । अविरल वर्षा, बाढीपहिरो र हावाहुरीका कारण वितरण लाइनमा विभिन्न अवरोध हुँदा मागअनुसार बिजुली पुग्दैन । तर, पछिल्ला दिनमा त्यतिधेरै माैसमी समस्या छैनन् ।

तर, भदौ ३१ पछिका दिनमा पनि विभिन्न स्थानमा प्राविधिक कारणले विद्युत कटौती भइरहेको छ ।

यसैकारण गुनासो चुलिएको मन्त्रालयको आकलन छ ।

तर नेतृत्व परिवर्तनपछि प्राधिकरणमा विद्युतको आपूर्तितर्फको व्यवस्थापन कमजोर देखिन थालेको मन्त्रालयका एक अधिकारी बताउँछन् । माग धान्न बिजुली पर्याप्त भएपनि पूर्वाधार कमजोर भएकाले आपूर्तिको व्यवस्थापन चुनौती रहेको उनको भनाइ छ ।

वितरण केन्द्रलाई प्राधिकरण नेतृत्व तहबाट दिइने दबाब र प्रोत्साहन कम भएर हेलचेक्र्याइँ बढेको उनको निश्कर्ष छ । ‘नेतृत्व परिवर्तन हुने भएपछि एक महिनाअघिबाटै तलका बिजुली अड्डामा माथिको कुरालाई बेवास्ता गर्ने क्रम सुरु भएको थियो,’ उनी भन्छन्, ‘पहिले लाइन गयो भनेपछि माथिको गाली खाइन्छ भनेर छिटो हुने मर्मतका काम अहिले आनन्दले गर्ने शैली देखिन थालेको छ ।’

प्राधिकरणका सम्बन्धित कर्मचारीले ग्राहकको फोनको रेस्पोन्स नगर्ने, गरेपनि ढिलो गर्ने र समयमै काम नसक्ने कारणले जनगुनासो चुलिएको ती अधिकारी बताउँछन् । कुलमानमाथि ग्राहकको बढी भरोसा भएका कारण पनि अहिले केहीबेर लाइन जानासाथ आशंका जन्मिने गरेको ती अधिकारीको भनाइ छ ।

लोडसेडिङ होइन, प्राविधिक समस्या

प्राविधिकबाहेक अन्य कारणले लाइन काट्नुपर्ने अवस्था अहिले नरहेको प्राधिकरण पनि बताउँछ । निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला विभिन्न स्थानमा भइरहेका सडक बिस्तार र मर्मतका क्रममा लाइन काटिने गरेको बताउँछन् । विजुलीको माग जति भएपनि धान्नसक्ने अवस्था रहेकाले आपुर्तिमा भएको अवरोधलाई लोडसेडिङ नभन्न उनको आग्रह छ । ‘कति ठाउँमा फिडर मर्मतको काम गर्नुपर्छ, सडक विस्तारका लागि पोल सार्नुपर्छ,’ कोइरालाले भने, ‘यस्तै कामका लागिबाहेक लाइन काट्नुपर्ने अवस्था छैन ।’

कतिपय ठाउँमा ट्रान्सर्फमर फेर्न पनि लाइन काटिने गरेको उनले बताए । मर्मतको लागि छोटो अवधि लाइन काटिँदा धैर्य गर्न उपभोक्तालाई उनको आग्रह छ । ‘सबै वितरण केन्द्रलाई पूर्वसूचना वा जानकारी दिएर मात्र लाइन काट्न निर्देशन दिएको छु,’ उनले अनलाइनखबरसँग भने, ‘लाइन जानुअघि उपभोक्तालाई सामाजिक सञ्जालबाटै भएपनि जानकारी दिइनुपर्छ ।’

निमित्त कार्यकारी निर्देशक कोइरालाका अनुसार अहिले मौसम सामान्य रहेकाले वितरण लाइनमा ठूलो प्राविधिक समस्या छैन । ‘मौसम परिवर्तनको समय नआइसकेकाले अहिले देखिएका समस्या सामान्य हुन्’, उनले भने, ‘कतै समस्या आए मर्मतका लागि तुरुन्त प्रविधिक टोली परिचालन गर्न निर्देशन दिएका छौं ।’

प्राधिकरणको भारप्रेषण केन्द्रका अनुसार अहिले पिक आवर (विहान र साँझ)मा १२२५ देखि १२५० मेगावाटसम्म विद्युत माग छ । पिक आवरमा प्राधिकरणका आयोजनाबाट ५०० मेगावाट र करिब ५५० मेवा निजी जलविद्युत कम्पनीबाट लिइन्छ । अपुग हुने १०० देखि १८० मेगावाट भारतबाट आयात गरिन्छ । अहिलेको पिक आवरमा करिब १४०० सय मेगावाट बिजुली माग हुने प्रक्षेपण थियो । तर, कोरोना महामारीका कारण उद्योग, होटल, सिनेमा हल लगायतबाट हुने माग घटेकाले माग प्रक्षेपण भन्दा निकै तल छ ।

READ MORE

यतिको डेढ दर्जन भ्रमण प्याकेज : एभरेष्ट ट्रेल १४ हजारमा

५ असोज, काठमाडौं । यति एयरलाइन्सले करिब डेढ दर्जन पर्यटकीय गन्तब्यमा सस्तो मूल्यमा प्याकेज बिक्रि गर्ने भएको छ । कम्पनीले स्थापनाको २२ औं वाषिर्कोत्सवको अवसर पारी सोमबार प्याकेज सार्वजनिक गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकत अनोज रिमालका अनुसार करिव ७ महिना लामो प्रतिवन्धपछि खुला भएको हवाई र पर्यटनलाई गतिशील बनाउन यी प्याकेज सहयोगी बन्नेछन् । ‘अब एयरलाइन्सले यात्रुलाई गन्तब्यसँग जोड्ने मात्र छैनन्, गन्तब्य घुमाउने पनि छन्,’ उनले भने, ‘सोहीकारण आकर्षक मूल्यमा प्याकेज ल्याएका छौं ।’

त्यसकारण यतिले ‘अब एयरलाइन्स उड्न मात्र होइन, घुम्न पनि हो’ भन्ने सन्देश प्रवाह गर्न लागिएको जनाएको छ ।

एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार आन्तरिक पर्यटन प्रवर्द्धन गरी गतिविधिहरु सूचारु गर्ने लक्ष्यसहित अक्टोवर २०२० बाट लागू हुने गरी प्याकेज बिक्री थालिएको छ । अहिले यतिले पोखरा, एभरेष्ट ट्रेल, मुक्तिनाथ, घान्द्रुक, चितवन र रारालाई लक्षित गरी प्याकेज बनाएको छ ।

उता, नेपालगन्ज, भरतपुर, जनकपुर, भैरहवा, भद्रपुर र तुम्लिङटारका लागि समेत दुईतर्फी टिकटसहितका प्याकेज बनाएको छ । यी गन्तब्यमा होटेलको स्तर अनुसार मूल्य राखिएको छ । नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत हिक्मतसिंह ऐरले यो प्याकेजमा पूर्वमा पाथिभरा र पश्चिममा खप्तडलगायतका गन्तव्यलाई  समेत जोड्न आह्वान गरे ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले यस प्रकारका प्याकेजले ठप्प रहेको पर्यटन व्यवसायलाई थोरै भएपनि राहत दिने बताए । नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेण्ट्सका अध्यक्ष अच्युत गुरागाँईले आन्तरिक पर्यटनलाई प्राथमिकता दिएर एयरलाइन्स कम्पनहरुले ल्याएका प्याकेजले मुलुकभित्र घुमफिरको वातावरण बनाउन सहयोग पुग्ने उल्लेख गरे ।

प्याकेज घोषित गन्तव्यको सबैभन्दा नजिकको विमानस्थलसम्म यति र तारा एयरबाट हवाई यात्रा गराइने भएको छ ।

यतिले ल्याएका मूख्य गन्तब्यको प्याकेज यस्तो छ

एभरेष्ट ट्रेल : १३,९९९ प्रतिव्यक्ति (४ रात, ५ दिन, न्यूनतम १० यात्रु आवश्यक)

रारा : २४९९९ प्रतिव्यक्ति (२ रात, ३ दिन, न्यूनतम ५ यात्रु आवश्यक)

पोखरा : ५९९९-७९९९ प्रतिव्यक्ति (२ रात, तीन दिन)

चितवन : १२९९९-१६९९९ प्रतिव्यक्ति (२ रात, तीन दिन)

मुक्तिनाथ दर्शन : १२९९९ प्रतिव्यक्ति (३ रात, चार दिन, न्यूनतम ६ यात्रु आवश्यक)

मुक्तिनाथ दर्जन : १६९९९ प्रतिव्यक्ति (४ रात, ५ दिन, न्यूनतम ७ यात्रु आवश्यक)

अन्नपूर्ण फुटहिल्स ट्रेल घान्द्रुक : ११९९९ प्रतिव्यक्ति (५ रात, ६ दिन, न्यूनतम ६ यात्रु आवश्यक)

अन्नपूर्ण लक्जरी घान्द्रुक ट्रेल : १९९९९ प्रतिव्यक्ति (४ रात, ५ दिन, न्यूनतम ८ यात्रु आवश्यक)

टिकट  एप्सबाट 

यसैबीच, अब यति एयरलाइन्सका ग्राहकले टिकट आफ्नै मोवाइल फोनबाट काट्न सकिने भएको छ । सोही प्रयोजनका लागि कम्पनीले मोवाइल एप सार्वजनिक भएको छ ।

अब मोवाइलबाट टिकट बुकिङ, स्काई क्लव माइलेज तथा फ्लाइट स्टाटस चेकजाँच गर्न, वेभ चेकिङ, कार्गो ट्रयाकिङ, हवाई तालिका र भाडादर हेर्न सकिने भएको छ ।


Your Views
Related News