अहिले सम्झिँदा साँच्चिकै एका देशको कथा झैं लाग्छ मैले कर्मचारी संचय कोषमा जागिर खाइरहंदाका ती दिनहरु…एउटा कार्यालयको प्रमुख व्यक्तिले आफुलाई दिइएको जिम्मालाई ईमान्दारिका साथ निभाई दिएमा आफ्नो क्षेत्रलाई भ्रष्टाचारको स्टन्टबाट मुक्त गरेर जनतालाई राहत दिन सकिन्छ भन्ने एउटा वास्तबिक उदाहरणको कथा थियो त्यो…

 

मैले २०२३ सालदेखि करिब १२ वर्ष जागीर खाएको कार्यालय कर्मचारी संचय कोषका प्रशासक श्री परिक्षीत नरसिंह राणाले शत प्रतिशत आफु ईमान्दार भएर नेतृत्व दिएका कारण त्यसताकाका सबै कर्मचारिहरुलाई आफ्ना सेवाग्राहीहरुबाट घुसको त कल्पनै नगरौं एक कप चिया, एक खिल्ली चुरोट खान त के छुनसम्म पनि हिम्मत गर्न नसक्ने बनाई दिएका थिए ।

 

सेवाग्राहीको तर्फबाट एक खिल्ली चुरोट लिईहालेमा कुरा तुरुन्त माथि पुगि सक्थ्यो र त्यस ब्यक्तिलाई अपराधी मानेर उत्तिनैखेरै उस्लाई जागिरबाट सदाका लागि घोक्रेठ्याक लाईन्थ्यो। हायर एण्ड फायरको एउटा कडा उदाहरण थियो ।

 

यो कुरा मैले मेरो आत्मकथा “महको म“ मा समेत लेखेकोछु । उहाँको नेतृत्वमा काम गरेका कर्मचारीहरु आजसम्म पनि प्रशासकज्यूप्रति गर्व गर्दछन।कुरा अझै अलि बाँकी छ । पछि उहाँको कार्यकाल सकपछि त्यत्रो ठूलो बित्तिय संस्था हाँकिरहेका व्यक्तिलाई अपमान गरे सरह एउटा सानु ईन्धन संस्थनमा सरुवा गरियो।त्यहा पनि भ्रष्टाचार उन्मुलन गर्ने कार्यमा लाग्नु भो पछि भ्रष्टाचारिहरु सबै मिलेर उहाँलाई नै त्यहाँबाट हटाई दिए । परिक्षीत नर्सिंह जस्ता ईमान्दार र नैतिकवान कर्मचारीहरु अरु पनि प्रशस्त छन हाम्रो देशमा तर उहाँहरु को को हुन म चिन्दिन ।

 

सबैको भनौं या मेरो मन जितेको व्यक्तिहरुमा उनै परिक्षीत नरसिंह राणापछि उत्तिकै मन जितेका व्यक्ति हुन कुलमान घिसिङ । उहाँहरु दुबै मेरा न साथीभाइ हुन न कुनै नातेदार नै । तर दुबैप्रति मेरो आत्मसम्मान छ। उहाँ जस्ता ब्यक्तीलाई सरकारले सदुपयोग गरेर इमान्दारीको पनि अनुकरण हुंदै जावस भन्ने मेरो मनको तमन्ना मात्र हो।


Your Views
Related News