बलिउड फिल्म हेर्ने दर्शकको सार्वजनिक काल्पनिकीमा आमिर खानका फिल्मको बलियो प्रभाव पाइन्छ।

‘कयामत से कयामत तक’ का राजदेखि ‘दंगल’ का महावीर सिंह फोगटसम्म आउँदा उनी हरेकजसो भूमिकामा खरो उत्रिने अभिनेता हुन्। करिअरको सुरुआती वर्षमा संख्यात्मक फिल्म खेल्ने उनी विस्तारै गुणात्मक फिल्म खेल्न थाले। फिल्मको विषय चयनका कुरामा संवेदनशील उनले हरेक फिल्मलाई गम्भीर रूपमा लिए।

यही विशेषताले करिब तीन दशकमा आमिरले आफूलाई व्यावसायिक तर गम्भीर फिल्म खेल्ने जिम्मेवार कलाकारका रुपमा स्थापित गरेका छन्। मनोरञ्जन र कलात्मक दुवै पक्षबाट सन्तुलित फिल्म खेल्ने उनका कयौं फिल्मले व्यवसायिक कीर्तिमान बनाएका छन्। यही कारण उनी बलिउडका ‘मिस्टर पर्फेक्सनिस्ट’ का रूपमा परिचित छन्।

पात्र अनुसार ‘रिइन्भेन्ट’ गर्न सफल अभिनेतासँगै निर्माता र निर्देशकका रूपमा पनि उनी सफल छन्। यो सूचीमा आमिरले अभिनय, निर्देशन र निर्माण गरेका पाँच राम्रा प्रतिनिधि फिल्म राखिएको छ जो युट्युबमा उपलब्ध छन्।

लगान

सन् १८९३ को समयको सानो चम्पानेर गाउँ। खेतीमा निर्भर यो गाउँ अंग्रेजको नियन्त्रणमा थियो। यहाँका राजा किसानबाट कर (लगान) उठाएर एक हिस्सा आफू राखी अंग्रेजलाई बुझाउँथे।

सधैं लगान बुझाउने यो गाउँमा अघिल्लो वर्ष कम पानी परेकाले उब्जनी राम्रो भएको हुँदैन। झन् यस पटक वर्षा नभएपछि उनीहरू लगान तिर्न नसक्ने हुन्छन्। यही कारण उनीहरूले राजा र राजा मार्फत अंग्रेजलाई यस पटक लगान मिनाहा गर्न आग्रह गर्छन्। तर यसको बदला उनीहरूलाई अंग्रेजले क्रिकेटमा हराउनु पर्ने शर्त राख्छन्।

कहिल्यै क्रिकेट नखेलेका गाउँलेमध्येबाट भुवन (आमिर खान) को नेतृत्वमा क्रिकेट टिम त बन्छ। तर उनीहरूले क्रिकेट अभ्यास कसरी गर्छन्? क्रिकेटमा उनीहरूको परिणाम के आउँछ र त्यसले के अर्थ राख्छ?

खासमा यो क्रिकेट प्रतिस्पर्धा खेल मात्रै नभई स्वाभिमान र राष्ट्रियताको लडाइँ बन्छ। असम्भवलाई सम्भव बनाउने आममान्छेका क्षमताहरूको कथा हो, ‘लगान’।

फिल्ममा आमिर भुवनको भूमिकामा छन्, जसले क्रिकेट टिम बनाउन नेतृत्व गर्छन्। फिल्ममा आमिरबाहेक ग्रेसी सिंह, रघुवीर यादव, रेचेल शेली, राजेश विवेक लगायत कलाकार महत्वपूर्ण भूमिकामा छन्।

दिल चाहता है

चञ्चले र रमाइला आकाश (आमिर खान), गम्भीर सिड (अक्षय खन्ना) र केटाकेटी पाराको समीर (सैफ अली खान) तीन जना अत्यन्तै मिल्ने साथी हुन्। मन मिले पनि प्रेम र जीवनलाई हेर्ने उनीहरूको आ-आफ्नै फरक दृष्टिकोण छ।

उनीहरू बीचको समानता र भिन्नताले उनीहरूको सम्बन्धलाई कसरी नयाँ मोड दिन्छ? यसबाट उनीहरूले जीवनबारे कस्तो पाठ सिक्छन्? ‘दिल चाहता है’ को मुख्य कथा यही हो।

योसँगै तीन जना साथीहरूको परिवार र प्रेम जीवनको कथा पनि जोडिन्छ।

‘दिल चाहता है’ प्रस्तुतिका हिसाबले आफ्नो समयको ‘फ्रेस’ फिल्म थियो। खासगरी फिल्ममा आमिर खानको ठाडो पारिएको कपालको स्टाइल र चिउँडोनेरको दाह्री राख्ने शैली युवा पुस्तामाझ नयाँ फेसन बनेको थियो।

चुस्त पटकथा, रमाइला संवाद, सुन्दर सिनेमाटोग्राफी र गीत-संगीत पनि ‘दिल चाहता है’ का विशेषता हुन्। ‘लगान’ मा ग्रामीण परिवेशका युवाको भूमिकापछि सहरीया युवाको भूमिकामा आमिरले यो फिल्मबाट पनि मन जितेका थिए।

आमिर मात्रै नभई यो सैफ अली खानको करिअर उकास्ने फिल्म पनि हो। यसमा अक्षय खन्ना आफूभन्दा धेरै वर्ष जेठी ‘डिभोर्सी’ महिला डिम्पल कपाडियासँग प्रेममा पर्ने चित्रकारको भूमिकामा छन्। ‘लभ एट फस्ट साइट’ भन्दा फरक प्रेम सम्बन्धको चित्रण पनि यो फिल्मको अर्को विशेषता थियो।

तारे जमीन पर

यो आमिर खानको निर्देशनमा बनेको पहिलो फिल्म हो। यसमा परिवार र शिक्षकले चिन्न-बुझ्न नसकेका एक जना बालकको संवेदनशील कथा छ।

आठ वर्षीय इशान अवस्थी अक्षर र चित्र नाचेको देख्ने फरक खालको समस्यासँग जुधिरहेका हुन्छन्। अरू विद्यार्थीले झैं पढ्न-सिक्न नसक्दा उनी घर र स्कुल दुवै ठाउँमा एक्लिन्छन्।

त्यसो त इशानका लागि आफ्नो कल्पनाको संसार रमाइलो छ। मान्छेभन्दा प्रकृति र पशुपंक्षीसँग नजिक हुन रमाउँछन्। उनमा अरुभन्दा अर्कै तरिकाले नयाँ कुरा सिक्ने क्षमता पनि छ।

तर इशानको समस्या र क्षमता बुझ्नुको साटो उनका अभिभावक उनलाई होस्टलको कडा अनुशासनमा बाँधेर पढाइ सुधार्न चाहन्छन्। इशानको इच्छा विपरीत उनलाई होस्टलमा राख्ने निर्णयले कस्तो परिणाम ल्याउँछ? थाहा पाउन फिल्म नै हेर्नुहोला।

फिल्ममा आमिर खान कला शिक्षकको भूमिकामा देखिन्छन्। उनको प्रवेश मध्यान्तरपछि हुन्छ। इशानको व्यक्तित्व, मनोदशा र क्षमता बुझाउन उनै कला शिक्षक आमिर माध्यम बनेका छन्।

फिल्मले हरेक बच्चा विशेष हुने भएकाले उनीहरूलाई बुझ्ने कुरामा सचेत र संवेदनशील हुनुपर्ने सन्देश बोकेको छ। लाखौं बालबालिका र अभिभावकको मन जित्न सफल यो फिल्मको सिनेमाटोग्राफी र संगीत पनि विशेष छ।

घरघरका केटाकेटी र अभिभावकसँग जोडिएको विषयमा बनेको यो फिल्मले नेसनल अवार्डसमेत जितेको थियो। रमाइलो कुरा, ‘तारे जमीन पर’ बाट फिल्म फेयर अवार्डमा इशानको भूमिका निर्वाह गरेका दरशील सफारी मुख्य अभिनेता र आमिर खान सहायक अभिनेताका रूपमा मनोनित भएका थिए। बाल कलाकार मुख्य अभिनेताको विधामा मनोनयनमा परेको यो पहिलो पटक थियो।

अझ रोचक कुरा दरशीलको प्रतिस्पर्धा शाहरुख खान, अक्षय कुमार, शाहिद कपुर र अभिषेक बच्चनसँग थियो। प्रतिस्पर्धामा शाहरुखले उछिने पनि दरशील फिल्म क्रिटिक्स अवार्ड जित्न सफल रहे।

रंग दे बसन्ती

बेलायती युवती सु ऐतिहासिक फिल्म बनाउन भारत आएकी हुन्छिन्। उनी भारतीय स्वतन्त्रता संग्राममा सहिद भएका क्रान्तिकारीबारे फिल्म बनाउन चाहन्छिन्। आफ्ना जेलर हजुरबुवाको डायरी पढ्ने क्रममा उनी तत्कालीन भारतका क्रान्तिकारी पात्रप्रति आकर्षित भएकी हुन्।

भारत आएर यो कामका लागि उनी साथी सोनिया (शोहा अली खान) को सहयोग लिन्छिन्। उपयुक्त पात्रको खोजी गर्ने क्रममा सोनियाका साथीहरूको सहयोग लिन्छिन्। आफ्नै धूनमा मस्त छ जना युवाले सुको फिल्ममा अभिनय गर्ने कुरालाई सामान्य रूपमा लिएका हुन्छन्। तर घटनाक्रम यसरी अघि बढ्छ कि उनीहरूमा देशप्रेम र क्रान्तिप्रति रुझान बढ्न थाल्छ।

त्यो खास घटनाक्रम के होला? इतिहासका क्रान्तिकारी पात्र बनेर रिहर्सल गर्दागर्दै कसरी उनीहरूको मन र जीवनमै कसरी राजनीतिले प्रवेश गर्छ? थाहा पाउन हेर्नुस्, ‘रंग दे बसन्ती’।

ती युवा कसरी देशप्रेम र न्यायको पक्षमा आकर्षित हुन्छन् भन्ने नै फिल्मको कथा हो। फिल्ममा आमिर खान, सिद्धार्थ नारायण, अतुल कुलकर्णी, शरमन जोशी, कुणाल कपुर, सोहा अली खान, वहिदा रहमान आदिको मुख्य भूमिका छ। फिल्ममा चन्द्रशेखर आजाद, भगत सिंह, शिवराम राजगुरु लगायत भारतीय नेताको बलिदान र वर्तमान समयका युवाका राजनीतिक दृष्टिकोण रमाइलोसँग बुनिएको छ।

आमिरले फिल्ममा पञ्जाबी युवाको भूमिकामा जबर्जस्त अभिनय गरेका छन्। फ्ल्यासब्याक र वर्तमान जोड्ने कथावाचन शैली, सटिक संवाद, अभिनय र संगीतको जोडसँगै देशप्रेम र राजनीति जोडिएको यो आमिरको करिअरको महत्वपूर्ण फिल्म हो।

धोबीघाट

आमिरकी श्रीमती पनि रहेकी किरण रावको निर्देशनमा बनेको ‘धोबीघाट’ मा आमिर चित्रकार अरूणको भूमिकामा छन्। उनीसँगै फिल्ममा अमेरिकामा बैंकरका रुपमा काम गर्ने शाइ, धोबी मुन्ना र गृहिणी यास्मिनको कथा जोडिएको छ। यी पात्रको अन्तर्सम्बन्ध कतै सोझो रुपमा त कतै घुमाउरो गरी जोडिएको छ।

अमेरिकामा बैंकरका रुपमा काम गर्ने शाइ छुट्टी मनाउन मुम्बई आएकी हुन्छिन्। अरुण आफ्नो पहिलो चित्रकला प्रदर्शनीका क्रममा शाइसँग नजिकिन्छन्।

अर्कोतिर, उनीहरू बस्ने इलाकामा दिउँसो लुगा धोएर र राति मुसा मारेर पेट पाल्ने मुन्नाको कथा छ। फिल्ममा यास्मिन झन् भिडिओमा मात्रै आउँछिन्। तर यसले ती पात्रको महत्व भने कम भएको छैन।

यी चारै पात्रसँग जोडिएको अर्को पात्र हो, मुम्बई सहर र यहाँको धोबीघाट। मुम्बई सहरको भीड र भीडबीचको एक्लोपनको कथालाई ‘धोबीघाट’ ले पत्रपत्रमा देखाउँछ। जटिल वाचनशैलीमा कथा बुनिएको फिल्मका सन्दर्भ बुझ्न कतिपय ठाउँमा दर्शकले मिहेनत गर्नुपर्ने भए पनि यो फिल्म सुन्दर छ।

अलग अलग वर्ग र पृष्ठभूमिका पात्रमार्फत फिल्मले मुम्बई सहरको जीवन र सौन्दर्य सँगसँगै देखाउँछ। घटनाभन्दा पात्रको अन्तरमनसँग खेलिएको ‘धोबीघाट’ विम्बहरूसँग खेलिएको फिल्म हो।


Your Views
Related News