भेरीगंगा–२ शनीमोरका केटाकेटीको जीवनमा छिन्चु खोला मिसिएका अनेकन कथा छन्। गाउँ र स्कुल बीचमा रहेको छिन्चु खोलासँगका तिनै कथा उनीहरूले रमाइरमाइ सुनाउँछन्।

यो खोलाले उनीहरूलाई दिनुसम्म दु:ख दियो।

गाउँ र स्कुलबीचको दूरी २० मिनेट मात्रै हो। तर बर्खामा भने घरबाट स्कुल पुग्न डेढ घण्टा छुट्याउनुपर्थ्यो। वीरेन्द्र विक बर्खाको बेला बिहानै ८ बजे खाना खान बसिसक्थे। भान्छामा जे पाकेको छ त्यही थापेर खान्थे।

‘विद्यालय र गाउँको बीचमा खोला पर्छ, बर्खामा कतिबेला पानी पर्छ र खोला बढ्छ भन्ने भरै हुँदैन,’ वीरेन्द्रले भने, ‘डर लागिरहने।’

उनले सम्झे ‘सिधै खोला तरेर जान पाए त २० मिनेटमै स्कुल पुगिन्थ्यो, खोला बढ्यो भने तलको पुल तरेर जानुपर्छ भनेर भोक लागे पनि नलागे पनि, पाके पनि, नपाके पनि बिहानै खाना खाइसक्थें।’

शनीमोरकै कमल खड्का गाउँपारिको विद्यालय जान कति दिन त जर्बजस्ती खोला तरेर गए। बढेको खोला तर्दा मन सिरिङ हुन्थ्यो।

‘कहिलेकाहीँ त खोला तर्दातर्दै भल आउन थालेको थाहा हुन्थ्यो, डर लाग्थ्यो’ उनले भने, ‘हतारहतार खोलामा हिँड्दा कापीकिताब भिज्थे, स्कुलमा घाम लागेपछि सुकाउँथ्यौं।’

सामुदायिक विद्यालय शनीमोरमा वीरेन्द्र र कमल कक्षा १० मा पढ्छन्। उनीहरूसँगै खोलापारिको गाउँका करिब २५० विद्यार्थी पढ्छन्। पुल बन्नुअघि सबै विद्यार्थीको बाध्यता वीरेन्द्र र कमलको जस्तै थियो।

‘बर्खामा पनि पानी नपर्दा त खोला सानो हुन्थ्यो, ठूला विद्यार्थीहरू त्यही खोला तरेर गइहाल्थे,’ कमलले भने, ‘साना त स्कुलै जान पाउँथेनन्।’

बर्खाको समयमा धेरैजसो आफूले पनि विद्यालय छुटाउनुपरेको उनले बताए।

‘माथितिर पानी परेको थाहै हुँदैनथ्यो, कहिलेकाहीँ त खोला नजिकै पुगेका बेला भेल आउँथ्यो,’ उनले भने, त्यसबेला फर्केर फेरि घरै जान्थ्यौं, अब त पुल बन्यो। स्कुल पनि छुट्दैन होला।’

सामुदायिक विद्यालय शनीमोर बर्खाको समयमा त बन्द जस्तै हुन्थ्यो। छिन्चु–वीरेन्द्रनगर सडक खण्ड (रत्न राजमार्ग) को छेउमा यो विद्यालय छ।

‘प्रायः बर्खाको समयमा त यो विद्यालय बन्द जस्तै हुन्थ्यो, विद्यार्थी नै स्कुल आउन सक्थेनन्,’ शिक्षक खुशव आचार्यले भने, ‘विद्यालयमा विद्यार्थी छन् भने पनि पानी पर्न थालेपछि घर पठाउनुपर्ने अवस्थामा हामी पुग्थ्यौं।’

उनका अनुसार विद्यालयमा अध्ययनरत् ९५ प्रतिशत विद्यार्थी खोलाभन्दा पारिको गाउँका छन्। त्रैमासिक परीक्षा समेत प्रभावित हुन्थ्यो।

‘२०७४ म भर्खर यो विद्यालयमा आउँदा त्रैमासिक परीक्षा लिने भन्ने कुरा थियो, मैले म मेरो विषयको लिन्नँ भनेर भनें,’ आचार्यले भने, ‘त्यतिबेला मलाई नराम्रो भनियो, बर्खामा ९५ प्रतिशत विद्यार्थी स्कुल आउन नपाउने भएपछि त्रैमासिकमा ल्याउनुपर्ने प्राप्ताङ्कको लागि समेत पढाइ भएको हुन्थेन।’

अब भने उनीहरूलाई खोला तर्ने सास्तीबाट छुट्टी मिल्ने भएको छ। किनभने उनीहरूको गाउँ नजिकै छिन्चु खोलामाथि पुल बन्यो।

झोलुंगे पुल बनेपछि विद्यार्थीलाई स्कुल जान सहज मात्र भएको छैन, अभिभावकलाई छोरोछोरीको बारेमा ढुक्क हुन सक्ने अवस्था पनि सिर्जना भएको छ।

सामुदायिक विद्यालय शनीमोरमा पानसरा खत्रीकी छोरी कक्षा ९ मा पढ्छिन्।

सानी छँदा त उनकी छोरी पनि बर्खाको समयमा स्कुल जान पाइनन्। अलि ठूली भएपछि भने आफूभन्दा ठूला साथीसँग उनलाई पानसराले स्कुल पठाउन थालिन्।

‘पानी नपरेका बेला खोला तर्न सक्ने केटा साथी र उनीभन्दा ठूला साथीहरूसँग स्कुल पठाउँथ्यौं, बेलुका घर नआउँदासम्म सबभन्दा धेरै सम्झिने भनेको छोरीलाई हो,’ उनले भनिन्, ‘त्यस्तो चिन्ता लाग्ने अवस्था अब हट्ने भयो, ढुक्कले केटाकेटी स्कुल पठाउन मिल्ने भयो।’

पुल बन्नुअघि बर्खाको समयमा आफूलाई घरबाट कतै टाढा जाँदा र छोराछोरीलाई स्कुल पठाउँदा हुने समस्या अब टरेको स्थानीय विना वलीले बताइन्।

‘पहिला त यहाँका विद्यार्थी खोला पारिको विद्यालयमा जानै मान्थेनन्, अब त रहर मान्छन्,’ उनले भनिन्, ‘सदरमुकाम वीरेन्द्रनगर जान पनि हामीलाई पहिलेभन्दा धेरै सजिलो भएको छ।’

छिन्चु खोलामा शनीमोर झोलुंगे पुल बनेपछि १४ वटा स–साना बस्तीहरू लाभान्वित बनेका छन्। विद्यार्थीसँगै ३६० घरधुरी लाभान्वित बनेका छन्।

भेरीगंगा–२ का शनिमोर, ढाँरगोठेरी, सिस्नेरी, माझीगाउँ, मैनटार, बाँसघारी, जब्दी, आलडाँडा, थुम्के, चरचरे, उमेपानी, सानपोखरी, देवस्थल, थागलघारी वस्तीहरु लाभान्वित बनेको भेरीगंगा नगरपालिकाका उपमेयर रेणु ढकालले बताइन्।

भेरीगंगा नगरपालिका–२ मा पर्ने यी गाउँका बासिन्दाले पुल बन्नुअघि बर्खाका लागि चाहिने चामल, नुन तेल जस्ता अत्यावश्यक सामान असार लाग्नुअघि नै जम्मा गरिसक्थे।

बर्खा लाग्नुअघि ऋण गरेर भए पनि परिवारलाई बर्खाभरि पुग्ने खाद्यान्न तथा नुन, तेल अगाडि नै जम्मा गर्ने गरिएको स्थानीय लक्ष्मण ओलीले बताए।

‘बर्खामास खोला ठूलो हुने हुँदा आवश्यक कुरा किनेर ल्याउन गाह्रो हुन्थ्यो,’ पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष समेत रहेका ओलीले भने, ‘त्यसैले ऋण सापट गरेर भए पनि जेठमै ४/५ प्याक चामल र आवश्यक नुन, तेल हामीले जम्मा गरिसक्थ्यौं।’

उनका अनुसार गाउँमा कोही बिरामी हुँदा दुई घण्टाभन्दा बढी हिँडेर जोखिमपूर्ण बाटोबाट तल्लो पुल तर्न पुग्नुपर्थ्यो।

अहिले बनेको शनीमोर झोलुंगे पुलबाट लाभान्वित सबभन्दा टाढाको गाउँबाट भने त्यही पुलसम्म पुग्न साढे ३ घण्टा लाग्ने उनले बताए।

पुस २ गतेबाट निर्माण सम्झौता भएको उक्त झोलुंगे पुल साउन २२ गते निर्माण सम्पन्न भएको हो। ९३ मिटर लामो उक्त पुलको लागत ४३ लाख रुपैयाँ रहेको उपभोक्ता समिति अध्यक्ष वलीले बताए।


Your Views
Related News