केही वर्ष अगाडिसम्म कुनै खास जातिले खान नहुने भनेर वर्णन गरिएको प्याजको खपत पछिल्ला वर्षमा बढ्दै गएको पाइन्छ । आजकाल प्रायः प्याज र टमाटरविना भान्सा अपूरो हुने स्थिति आइसकेको छ ।

विश्वका विभिन्न ठाउँमा उपयोग हुने प्याजका विभिन्न प्रजातिमध्ये नेपाल लगायत दक्षिण एसियामा उपभोग हुने रातो पिरो खालको प्याज हो । यो प्रजातिको प्याज खानामा स्वाद बढाउने प्रयोजनका लागि प्रयोग गर्ने गरिएको छ । केही वर्ष अगाडि विशेष दिनमा मीठो–मसिनो बनाएर खाँदामात्रै प्रयोग हुने प्याज अचेल दैनिकी नै बनेको छ ।

नेपालमा प्याज खेतीको अवस्थाको विश्लेषण गर्दा विगत पाँच वर्षमा प्याजको उत्पादन वार्षिक २० देखि २१ हजार हेक्टर क्षेत्रफलमा करिब दुईलाख पचास हजारदेखि तीन लाख मेट्रिकटनको हाराहारीमा हुँदै आएको सरकारी तथ्यांकहरूमा पाइन्छ । यसरी उत्पादन भएको प्याजको औसत ४० रूपैयाँ प्रतिकेजीका दरले मूल्यमा हिसाब गर्ने हो भने करिब नौ अर्बको प्याज स्वदेशमै वार्षिक उत्पादन भएको देखिन्छ ।

प्याजको गुणस्तरीय बिउ उत्पादन गर्न प्रोत्साहन गर्ने, तराईका असिँचित क्षेत्रमा सिँचाइको प्रबन्धसहित प्याज खेती प्रोत्साहन गर्ने, प्याजको खेती प्रवर्द्धन गर्न आवश्यक प्रविधि विकास वा आयात गरेर प्रमाणीकरणपश्चात् किसानमाझ लैजाने तथा बजार व्यवस्थापन र मूल्यको सुनिश्चितता गर्ने किसिमका कार्यक्रममा तीनै तहका सरकार मिलेर काम गर्नु नै आजको आवश्यकता हो ।

नेपालका तराईका जिल्लाहरू विशेष गरी सर्लाही, बारा, पर्सा, सिराहा, सप्तरी, महोत्तरी, रौतहटलगायत जिल्लामा हिउँदे याममा प्याजको खेती गर्ने गरिएको छ । तर, यो उत्पादन नेपालमा प्याजको वार्षिक मागको करिब ३५ देखि ४० प्रतिशत मात्र हुन आउँछ । यसरी हेर्दा नेपालमा आवश्यकमध्ये ६० देखि ६५ प्रतिशत प्याज आयातमा निर्भर रहेको देखिन्छ ।

नेपालमा आयात हुने प्याजको ठूलो हिस्सा भारतबाट तथा केही चीनबाट हुने गरेको छ र थोरै परिमाणमा प्रशोधित प्याज अन्य देशहरूबाट समेत आयात हुन्छ । भारतमा उत्पादन हुने प्याज पिरो खालको हुने र नेपाली खानाको स्वादमा यस्तो प्याज रूचाइने हुनाले भारतीय प्याजले नेपालमा व्यापकता पाएको हुनसक्छ । अर्कोतर्फ भारत आफैंमा विश्वमा सबैभन्दा धेरै प्याज उत्पादन तथा निर्यात गर्ने देश पनि भएकाले यसको स्वतः प्रभाव नेपालमा परेको हो । तर, भारतले आफ्नो उत्पादन तथा बजारको अवस्था हेरेर विभिन्न समयमा प्याजको निर्यातमा आंशिक वा पूर्ण प्रतिबन्ध लगाउँदै आएको छ ।

छिमेकी मुलुक चीन पनि विश्वमै धेरै प्याज उत्पादन गर्नेमध्ये एक भएपनि चिनियाँ प्याज, गुलियो प्रकृतिको सलाद खाने खालको हुने हुनाले नेपालमा केही मात्रामा आयात र प्रयोग भए तापनि भारतीय प्याजजस्तो व्यापक उपभोग हुँदैन ।

प्याज उत्पादन वृद्धिका समस्या

गुणस्तरीय बिउ : नेपालमा वार्षिक करिब १५ मेट्रिकटन प्याजको बिउ उत्पादन हुने गरेको पाइन्छ तर नेपालको कुल प्याज खेती हुने क्षेत्रफलमा करिब दुईसय नौ मेट्रिकटन गुणस्तरीय प्याजको बिउ आवश्यक पर्छ र अझ प्याजको क्षेत्रफल विस्तार गर्ने हो भने सोही अनुपातमा अझै धेरै बिउ आवश्यक पर्छ । यो माग स्वदेशी उत्पादनले अहिलेको अवस्थामा धान्न मुस्किल छ ।

नेपालमा उत्पादन भएको बाहेक बाँकी आवश्यक प्याजको बिउ विदेशबाट आयात हुने गरेको छ तर भारतले भने प्याजको बिउ निर्यातमा विगत देखिने पूर्णरूपमा प्रतिबन्द लगाउँदै आएकाले भारतबाट औपचारिक आयात हुँदैन । तर खुल्ला सिमानाका कारण अनौपचारिक हिसाबले ठूलै परिमाणमा गुणस्तर नियमन नगरिएका बिउ नेपाल छिरेर अवैध ढंगले बिक्रीवितरण र सोबाट प्याज उत्पादनका लागि आवश्यक बिउको माग थेगिने गरेको छ ।

नेपालमा सरकारी स्तरमा प्याजको बिउलगायत तरकारी बिउ उत्पादन गर्न रूकुम पश्चिममा एकमात्र फार्म केन्द्र रहेको छ । तथापि सानो क्षेत्रफलका कारण त्यहाँ निकै कम परिमाणमा मात्र बिउ उत्पादन हुने गरेको छ ।

‘सिड टु बल्ब’ तथा ‘बल्ब टु सिड’ गरी दुई सिजन लगाई प्याजको बिउ उत्पादन गर्न दुई वर्ष लाग्ने र तथा अनौपचारिक हिसाबले बजार प्रवेश गर्ने न्यून गुणस्तरका बिउसँग मूल्यका हिसाबले प्रतिस्पर्धी नहुने भएकाले नेपालमा निजि स्तरमा किसान तथा उद्यमीहरू प्याजको बिउ उत्पादनमा आकर्षित हुन सकेका छैनन् ।

क्षेत्रफल विस्तारको समस्या : नेपालमा विशेष गरी तराईको सिँचित क्षेत्र नै प्याज उत्पादनका लागि क्षेत्र विस्तार गर्न सकिने सम्भाव्य ठाउँ हो । हाल नेपालको तराईमा ठूलो जमिनको हिस्सा वर्षामा धान रोपेर बाली भित्र्याएपछि सिँचाइको असुविधाका कारण खाली रहने गरेको छ । जुन ठाउँमा सिँचाइको प्रबन्धविना प्याज खेती विस्तार सम्भव छैन तथा सिँचित क्षेत्रमा समेत गहुँ र अन्य तरकारीतर्फ किसानको आकर्षण धेरै छ ।

सिँचित क्षेत्रमा किसानहरू प्याज खेतीमा आकर्षित नहुनुमा भारत सँगको खुल्ला बजारका कारण भारतमा प्याजको मूल्यमा आउने उतारचढावले नेपाली बजार प्रत्यक्ष प्रभावित हुनु रहेको छ । हिउँद याममा उपयुक्त मौसम भएको अवस्थामा भारतका महाराष्ट्रलगायत प्याज उत्पादन हुने मुख्य प्रदेशहरूमा प्याजको मूल्य ज्यादै न्यून हुन गई लगानीसमेत नउठेर किसानले आत्महत्यासमेत गरेका समाचार सुनिने गरेको छ ।

यसरी भारतीय बजारमा प्याजको मूल्यमा गिरावट आउँदा नेपालमा उत्पादित प्याजको मूल्यसमेत सोही हिसाबले प्रभावित हुन्छ र यसकारण हुने मूल्य अनिश्चितताले गर्दा किसानहरू तुलनात्मक रूपमा सुरक्षित बालीतर्फ आकर्षित हुनु स्वभाविक पनि छ ।

प्रविधि : भारतमा अहिले मुख्य सिजन– रवी र बेमौसमी– खरिफ गरी दुई सिजनमा प्याज उत्पादन गर्न सकिने प्रविधि विकास भइसकेको छ भने उत्पादकत्वसमेत नेपालको तुलनामा धेरै नै रहेको छ । तर, नेपालमा हिउँदमा एक सिजनमा मात्र व्यावसायिक प्याज खेती गर्न प्रविधि उपलव्ध छ र उपलब्ध प्याजका जातहरू समेत पुराना र अन्य देशका तुलनामा न्यून उत्पादन दिनेमात्र छन् ।

अझ प्याज र प्याज बिउ उत्पादन हुने क्षेत्रमा प्याजको ढुसीजन्य रोग, पर्पल ब्लचको प्रकोप रहेको छ जसले उत्पादन तथा उत्पादकत्वमा समस्या पर्ने गरेको छ । नेपालमा मुख्य सिजनमा उत्पादन हुने प्याज वैशाख–जेठमा खनिन्छ । तर, प्याजलाई भण्डारण गर्न २५–३० डिग्री सेन्टिग्रेड तापक्रम र ६५–७० प्रतिशत सापेक्षित आद्रतामा ‘नेचुरल भेन्टिलेसन’मा भण्डारण गर्न सकिने भएपनि यो समयमा तराईमा यस्तो अवस्था उपलव्ध हुँदैन ।

कोल्डस्टोरमा प्याज भण्डारण गर्न विशिष्टिकृत संरचना आवश्यक हुने भएकाले सो संरचनाको निर्माण र संचालन व्यावसायिक नहुने अवस्थामा स्थानीय स्तरमा प्याज भण्डारण गर्ने प्रविधि नेपालमा उपलव्ध नभएकाले समेत किसानहरू प्याज खन्नेबित्तिकै जतिसुकै मूल्यमा भएपनि बेच्न बाध्य छन् ।

अब के गर्ने त ?

विगतमा प्याज खेती प्रवर्द्धन गर्न सञ्चालन भएका मिसन कार्यक्रमलगायत अन्य कार्यक्रमका कमजोरीहरूको विश्लेषण गरी प्याजको गुणस्तरीय बिउ उत्पादन गर्न प्रोत्साहन गर्ने, तराईका असिँचित क्षेत्रमा सिँचाइको प्रबन्धसहित प्याज खेती प्रोत्साहन गर्ने, प्याजको खेती प्रवर्द्धन गर्न आवश्यक प्रविधि विकास वा आयात गरेर प्रमाणीकरणपश्चात् किसानमाझ लैजाने तथा बजार व्यवस्थापन र मूल्यको सुनिश्चितता गर्ने किसिमका कार्यक्रममा तीनै तहका सरकार मिलेर काम गर्नु नै आजको आवश्यकता हो ।


Your Views
Related News