नेपालमा ६ हजार भन्दा बढी नदीनालाहरू छन्, जसले यहाँको विविधतापूर्ण धरातलमा आ-आफ्नै किसिमको नदी प्रणाली र सञ्जाल बनाएको छ । यी सबै नदीहरू उत्तरदेखि दक्षिणतिर बहन्छन् र अन्तमा गएर भारतको गंगा नदीमा मिसिन्छन् । नेपालका प्रमुख नदी प्रणालीहरूमा सप्तकोसी, नारायणी (गण्डकी),कर्नाली र महाकाली नदी पर्दछन् भने यी नदी प्रणालीहरू हिमालय पर्वत श्रृंखलाबाट उत्पत्ति भई पहाड र गहिरा उपत्यकाहरू हुँदै तराईको मैदानतिर लागेका छन् । महाभारत श्रृंखलाबाट उत्पन्न हुने अन्य मध्यम तहका नदीहरूमा मेची, कन्काई, कमला, बागमती, पश्चिम राप्ती र बबई पर्दछन्, त्यस्तै कतिपय नदीहरू चुरे श्रृंखलाबाट उत्पन्न भई तराईतिर लाग्दछन्, यी नदीहरूमा सुख्खा याममा पानीको मात्रा नगण्य हुन्छ भने वर्षातको बेला बाढी (फ्ल्यास फ्लड) को विपद् निम्ताउँछन् । चुरे श्रृंखलाबाट सुरु हुने दक्षिणीनदीहरुमा पानीको गहिराई खासै छैन र सुख्यायाममा प्राय: सुख्खा हुन्छन् ।

यीमध्ये प्राय: ठुला नदीहरूको उद्गमस्थल हिमाली क्षेत्र रहेको छ भने महाभारत र चुरे क्षेत्रका नदीहरू पहाडी वा चुरे क्षेत्रका पानीका मूलबाट उत्पत्ति भएर अन्य स-साना खोल्सा, खोला, नदीका पानीलाई समेट्दै अगाडि बढ्छन् । यी खोला, नदीहरू हिमाली वा पहाडी क्षेत्रका निर्जन स्थान, जङ्गलबाट बग्दा पानी प्रदूषित गराउने स्रोतहरू त्यति भेट्दैनन्, सिवाय प्राकृतिक रूपमा हुने पहिरो, भूक्षयहरू बाहेक । जब यी खोला, नदीहरू तल्लो पहाडी भेग र तराईतिर पुग्छन्, तिनका नजिक रहेका मानव बस्ती, खेतबारीबाट निष्कासित फोहर पदार्थहरू खोला, नदीहरूसम्म पुग्छन् । ग्रामीण बस्तीहरूमा तुलनात्मक रूपमा प्रदूषणको स्रोत र मात्रा न्यून रहे पनि बजार र सहरी क्षेत्र नजिकबाट नदीहरू बग्दा भने त्यहाँ हुने विभिन्न मानवीय र आर्थिक गतिविधिका कारण उत्पन्न फोहर पदार्थहरूले खोला, नदीहरूलाई प्रदूषित बनाउँदै लगेको देखिन्छ। पछिल्लो समय तीव्र रूपमा बढ्दै गएको सहरीकरणका कारण मानवीय फोहोर पनि बढ्दै गएको देखिन्छ। मानवीय गतिविधिका कारणले उत्पन्न फोहोर मैलाहरूको उचित व्यवस्थापन हुन नसक्दा सहरमा देखिने वातावरणीय समस्या त आफ्नो स्थानमा छँदैछ, यसलाई व्यवस्थित गर्न नसक्दा नदी नालाहरूको स्वच्छता प्रत्यक्ष रूपमा प्रभावित हुँदै आएको छ ।

कतिपय मानवीय सभ्यताहरूको विकास नदी–नाला तथा खोलाको छेउछाउबाट भएको देखिन्छ । हाम्रै काठमाडौँ उपत्यकालाई पनि बागमती सभ्यताका रूपमा चिनिने गरिन्छ । मानिसहरूको विभिन्न क्रियाकलापका कारण नदीहरू दिनप्रतिदिन प्रदूषित बन्दै गएका छन् । काठमाडौँ उपत्यकामा सहरीकरण तीव्र रूपमा बढ्दै जाँदा बागमती नदी प्रदूषित हुँदै जाने क्रमले पनि तीव्रता पायो । नेपालमा नदी प्रदूषणको कुरा गर्ने बित्तिकै जो कोहीको मस्तिष्कमा दुर्गन्धित बागमती नदीको चित्र आउने गरेको छ, तर दुःखको कुरा अहिले नेपालका थुप्रै खोला, नदीहरू त्यही अर्को प्रदूषित बागमती नदी बन्ने दिशातिर उन्मुख भएका छन् ।

खोला, नदीहरूको पानी खानेपानी तथा घरेलु उपयोग, पशुपालन र मत्स्यपालन, सिँचाइ, जलविद्युत उत्पादन, जल यातायात सञ्चालन तथा धार्मिक, सांस्कृतिक, पर्यटकीय र आमोदप्रमोदजन्य प्रयोजनका लागि उपयोग हुने गरेको छ । नेपालको भोटेकोशी, त्रिशूली जस्ता कतिपय नदीहरू र्‍याफ्टिङका लागि प्रसिद्ध छन् । विभिन्न औद्योगिक प्रयोजनका लागि र 'मिनिरल वाटर' उत्पादन जस्ता उद्योगका लागिखोला, नदीको पानी उपयोग गर्ने सम्भावना बढ्दै गएको देखिन्छ । नेपालका नदीहरूमा जल यातायात,जलक्रीडा तथा जलचर पालनको सम्भाव्यताका बारेमा भने अझै पर्याप्त अध्ययन भएको छैन । यस बाहेक खोला, नदीहरूले त्यस वरिपरिको प्राकृतिक सौन्दर्यमा निखार ल्याउनमा पनि सहयोग पुर्‍याउँछन् ।खोला, नदीहरूबाट मानिसहरू मात्र लाभान्वित हुँदैनन्, यसले प्रत्यक्ष, अप्रत्यक्ष रूपमा जैविक विविधताको संरक्षण र सम्वर्धन गर्न तथा पारिस्थितिकीय प्रणालीको सन्तुलनमा पनि उत्तिकै महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । वास्तवमा नदीको स्वच्छताले त्यस क्षेत्रकै पारिस्थितिकीय प्रणालीको वातावरणीय स्वच्छताको प्रतिनिधित्व गरेको हुन्छ ।

संसारका धेरै सभ्यताहरू नदी किनारमै विकसित भएका छन् । नेपालमा त नदीलाई पूजनीय मानिने गरेको छ । हरेक नदीको छेउछाउमा तीर्थस्थल हुनु, पानीलाई जल देवताको रूपमा स्वीकार गर्नु नेपालीको परम्परा हो । नदी किनारमा लाग्ने कतिपय महत्त्वपूर्ण मेला पर्वहरू पर्यटकीय आकर्षणको रूपमा पनि देखिन्छन् । जहाँ मानिसहरू रमाउन सक्छन्, खुसी हुन सक्छन् । जनजीविकाको सवालमा पनि नदी तथा बगरहरू धेरै महत्त्वपूर्ण छन् । जहाँबाट खानेपानी, चरिचरण, निर्माण सामग्री, जन्म मृत्यु संस्कारका आवश्यकताहरू पूरा भई राखेका छन् ।

खोला, नदीको पानी माथि उल्लेखित फरक फरक प्रयोजनका लागि उपयोग गर्नका लागि पानीको गुणस्तरताको छुट्टाछुट्टै मापदण्डहरू तय गरिएका छन्, तर बढ्दो नदी प्रदूषणका कारण नेपालका विभिन्न नदी नालाको पानीको गुणस्तरीयतामा बिस्तारै ह्रास हुँदै गएको छ । जल प्रदूषणका कारण जलचर प्राणीहरूमा प्रत्यक्ष रूपमा असर पर्दा यसले प्राकृतिक पारिस्थीतिकीय पद्धतिलाई समेत असर पुर्‍याएको छ । खोला तथा नदी किनारमा मानवीय बस्ती बाक्लो हुने भएका कारण यस क्षेत्रबाट निस्कने फोहोर मैलाको उचित व्यवस्थापन हुन नसक्नु पनि जल प्रदूषणको मुख्य कारण बनेको छ । अव्यवस्थित सहरीकरणका कारण बजार क्षेत्रबाट निस्कने फोहोर पानीलाई प्रशोधन नगरी सिधै नदीहरूमा मिसाउँदा यसले जल प्रदूषण निम्त्याउने गरेको छ । काठमाडौँ उपत्यकामा अत्यधिक मात्रामा प्रदूषित बागमती नदीको प्रदूषित प्रभाव मकवानपुर र रौतहट जिल्लासम्म विस्तारित भएको हुनसक्छ । नदी किनारमा विभिन्न3उद्योगहरू स्थापना हुने क्रम बढ्दै जाँदा ती उद्योगहरूबाट निस्किएका फोहोरहरूलाई प्रशोधन नगरी नदी,खोलामा मिसाउँदा जल प्रदूषण बढ्दै गएको छ र त्यहाँ रहेका जलचरहरूमा समेत प्रत्यक्ष रूपमा असर पारेर वातावरणीय चुनौती पनि थपेको छ । नदीको छेउछाउमा कागज, कपडा, चिनी, बिजुली, रसायन,बियर, जुत्ता, क्रसर, बालुवा धुने जस्ता कारखानाहरू खुल्नु र त्यसबाट निष्कासित फोहोर पानी विनाशुद्धिकरण नदीमा मिसाउनु भनेको नदीको पानीको गुणस्तर र सम्पूर्ण जीवन तथा जलचरहरूमाथि खेलबाड गर्नु हो । वीरगन्ज-सिमरा, विराटनगर-इटहरी मार्गका आसपास खुलेका उद्योगबाट निष्कासित दूषित फोहर पानीले त्यस वरपरका खोला, नदीहरू अत्यधिक मात्रामा प्रदूषित भएका छन् । वीरगन्जको सिर्सिया नदी यसको ज्वलन्त उदाहरण हो ।

त्यसै गरी, खेतबारीमा जबदेखि अत्यधिक मात्रामा रसायन र विषादीको प्रयोग हुन थाल्यो तबदेखि नदीको जीवन पनि संकटमा पर्न थालेको छ । नदी प्रदूषित हुनाले विभिन्न प्रजातिका माछा र अन्य जलचरहरूको अस्तित्व संकटमा पर्नुको साथै ती लोप भएर जान सक्ने खतरा समेत देखिएको छ । विशेष गरी गोही,डल्फिन, असला माछा जस्ता प्राणीहरू निकै स्वच्छ पानीमा मात्र रहन सक्छन् । गोही, डल्फिन पाइने नारायणी, कर्णाली तथा मोहना जस्ता नदीहरू प्रदूषित हुँदै जाँदा त्यहाँ पाइने गोही, डल्फिन लगायतका सकंटापन्न जलचरहरूको झन् संकटमा पर्न थालेको छ । फोहोर र दोहनले नदीको गुणस्तर घटाउँछ र पारिस्थिकीय प्रणालीलाई नै बदलिदिन्छ । नदीमा हुने फोहोर र अत्यधिक दोहनले जलचर नष्ट हुनुको साथै त्यसले नदीमा आश्रित समुदायको आयआर्जनमै असर पुग्ने गरेको छ ।

नेपालका कतिपय साना, ठुला सहर, बजार र बस्तीहरू पनि खोला, नदी किनारमा बसेको पाइन्छ ।अनियन्त्रित र अव्यवस्थित बस्ती विकास, नदी क्षेत्रको अतिक्रमण, फोहोर पानीका ढलहरू विना प्रशोधन र शुद्धीकरण सिधा नदीमा निष्कासन गर्ने, नदी किनार वरपर फोहोर मैला विसर्जन गर्ने, शौचालय बनाउनेजस्ता प्रवृत्तिले पनि नदी प्रदूषित बन्दै गएका छन् । कतिपय सहरहरूले खोला किनार क्षेत्रलाई नै कामचलाउ फोहोर मैला विसर्जन स्थलका रूपमा प्रयोग गरिराखेका छन् । काठमाडौँ उपत्यकाको लागि प्रयोगमा आएको ओखरपौवा फोहोर मैला विसर्जन स्थलको अव्यवस्थित सञ्चालनका कारण त्यस नजिकैको कोल्पु खोलालाई के कति प्रदूषित बनाएको छ भन्ने बारेमा खासै अध्ययन भएको पाइँदैन । बिर्तामोडको अन्धुवा खोला होस् वा इटहरीको टेंग्रा खोला, विराटनगरको बुढी खोला होस् वा बुटवलको तिनाउ खोला,यी सबै खोलाहरू अव्यवस्थित सहरीकरणको चपेटामा परेर दिनप्रतिदिन प्रदूषित हुँदै गएका छन् । यसरी खोला, नदीहरू प्रदूषित हुने क्रम धादिङ बेसीको थोपल खोला, पोखराको फिर्के खोला, स्याङजा, पुतलीखेत नजिकैको आँधीखोला, जुम्ला नजिकै बग्ने तिला नदी, बेनी, जोमसोम भएर बग्ने कालीगण्डकी नदी वा गाईघाट, कटारी, मन्थली, कमलामाई, सन्धिखर्क जस्ता मध्यम स्तरका सहर वा अन्य स-साना सहर,बजारभित्र वा त्यस आसपासमा रहेका खोलाहरूसम्म विस्तार हुँदै गएबाट नदी प्रदूषण समस्याको गाम्भीर्यता बुझ्न सक्छौँ ।

कतिपय खोला, नदीको पानी खानेपानीको लागि आपूर्ति गर्ने गरिएको छ । काठमाडौँको खानेपानी आपूर्तिका लागि उपयोग हुने मेलम्ची खोला, गोरखाका लागि उपयोग हुने दरौंदी खोला वा पोखराका लागि उपयोग भएको मर्दी खोलाको पानीलाई, तिनका मुहान स्रोतमा कसरी पिउनयोग्य गुणस्तर कायम राखिराख्ने भन्ने कुरा निकै चुनौतीपूर्ण देखिएको छ । किनकि, ती खानेपानी आयोजनाको मुहान क्षेत्रका खोला, नदी वरिपरि बढ्दै जान सक्ने मानवीय क्रियाकलाप र अन्य गतिविधिहरूले पानी प्रदूषित हुने जोखिमलाई बढाइरहेको हुन्छ ।

नेपालका कतिपय नदीहरू मानवीय गतिविधिका कारण प्रदूषित बन्ने गरेका छन् भने कतिपय नदीहरू प्राकृतिक भूक्षय, पहिरो, बाढीका कारण समेत प्रदूषित बन्ने गरेका छन् । केही वर्ष अघि वर्षा यामको समयमा दोलखा, रामेछाप, सिन्धुलीतिरको यात्रा गर्दै थिएँ । वर्षा याममा पनि सङ्लो पानी बगेको निलोतामाकोशी नदी देख्दा मन त्यसै पुलकित भयो । वर्षा याममा पनि सङ्लो पानी बग्नुको मतलब तामाकोसी नदीको जलाधार क्षेत्रमा तुलनात्मक रूपमा ठुला पहिरो, भूक्षयका समस्या कम भएकोले हुनसक्छ ।तामाकोसी बग्दै गएर मिसिने सुनकोसी नदी भने त्यतिखेर निकै धमिलो भएर बगिराखेको थियो । यसको मतलब सुनकोसी नदी तथा यसका सहायक नदीहरू भोटेकोशी, इन्द्रावती, बलेफी नदीहरूको माथिल्लो जलाधार क्षेत्रमा पहिरो, भूक्षय, नदी कटानका समस्याहरू धेरै भएको हुन सक्ने बुझिन्छ ।

कमजोर भौगर्भिक संरचना भएका हाम्रा सुरम्य पहाडहरू बढ्दो मानवीय गतिविधि र हस्तक्षेपका कारण क्षतविक्षत बन्दैछन् । अत्यधिक भिरालो जग्गामा खेती गरिनु, खोरिया फडानी, अवैज्ञानिक कृषि प्रणाली,वन तथा वनस्पतिको विनाश, सार्वजनिक जमिन र जङ्गल माथिको अतिक्रमण, अति चरिचरन जस्ता मानवीय गतिविधिले गर्दा पहाडहरूमा भूक्षय र पहिरो बढ्दै गएको छ, जसले नदीमा थिग्रानको मात्रालाई अत्यधिक मात्रामा बढाएर नदीलाई प्रदूषित पार्ने काम गरेको छ । अवैज्ञानिक कृषि प्रणालीले हाम्रो खेतबारीको मलिलो माटो बग्दै गएर क्षति हुने र उल्टो खोला, नदीलाई प्रदूषित पार्ने अवस्था छ ।खेतबारीमा प्रयोग गरिने विषादी र रासायनिक मलको बढी भएको मात्रा पनि बग्दै गएर खोला, नदीकै पानीमा मिसिन पुग्छन् । स्थानीय समुदायसम्म विभिन्न सेवा सुविधा पुर्‍याउन बनाइने गरिएका सडकलगायतका अन्य भौतिक पूर्वाधारहरू वातावरणमैत्री ढङ्गबाट नबनाइँदा यसले पहिरो, भूक्षयलाई बढवा दिएको छ र अन्ततोगत्वा निर्मल र कञ्चन पानी बग्ने हाम्रा नदीहरूलाई धमिल्याउने काम गरेको छ । जलविद्युत र सिंचाइ आयोजनाका केही संरचनाहरू त अझ नदीमै बनाउनु पर्ने हुन्छ । कतिपय सडकलगायतका संरचना नदी किनार हुँदै बनाइएका हुन्छन् र निर्माणका क्रममा खन्दा निस्किएका ढुङ्गा,माटोहरू सिधै नदीमा मिल्क्याइने गरिएको छ । खोला, नदीबाट अव्यवस्थित र अवैज्ञानिक ढङ्गबाट नदीजन्य पदार्थहरू निकालिने क्रममा पनि नदीहरू प्रदूषित हुँदै गएका छन् । त्रिशूली नदी, इन्द्रावती नदी, रोशी खोलाहरू यसका केही उदाहरणहरू हुन् ।

खोला, नदीहरूको पानीमा अत्यधिक थिग्रान मिसिँदा यसले जलविद्युत, सिंचाई आयोजनाका लागिबनाइएका संरचनाहरूको आयुलाई घटाइदिने, खेतबारीमा पाँगा, बालुवा र गेगर भरिदिएर कृषि उत्पादन घट्न जाने, नदीको सतह अग्लिँदै गएर नदीको बहाव दिशा र स्वरूप परिवर्तन हुने, नदी कटान बढ्न सक्ने, बाढीका समस्या र यसले पुर्‍याउन सक्ने क्षतिको मात्रा बढ्न सक्ने हुन्छ । नदीमा बढेको थिग्रानर धमिलोपनले नदीको पानीको गुणस्तरीयतामा आएको ह्रासको मात्र सङ्केत गर्दैन, उर्वरायुक्त माटो बग्दै गएर भएको यसको मूल्यहीन क्षतिको तस्बिर पनि हामी सामु पस्किराखेको हुन्छ । नदीको पानीको गुणस्तरमा आउने ह्रासले खानेपानी, सिंचाई, जलविद्युत आयोजनाहरूमा थप व्ययभार थप्ने काम गर्छ भने जलचरहरूको वासस्थान, विचलन र वृद्धिमा समेत प्रत्यक्ष प्रभाव पारेको हुन्छ । नदी प्रदूषित हुँदा नदीमा आसपासमा बस्ने र प्रत्यक्ष वा अप्रत्यक्ष तवरले नदीसँग जीविकोपार्जन गाँसिएका समुदायहरू पनि प्रभावित हुन जान्छन् । तथापि, नदी प्रदूषित हुनाका कारण विभिन्न भौतिक संरचना, तिनको सञ्चालन तथा जीविकोपार्जनसँग जोडिएका आर्थिक क्रियाकलापहरू कत्तिको प्रभावित भइराखेको छ भन्ने बारेमा पर्याप्त अध्ययन अनुसन्धान हुन सकेको छैन ।

नदीहरूको स्वच्छता कायम गर्नका लागि विभिन्न नीतिगत तथा कानुनी व्यवस्थाहरू गरिएका छन् ।जलस्रोत ऐन, २०४९ मा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी जलस्रोतको विभिन्न उपयोगको सम्बन्धमा आवश्यक गुणस्तर तोक्न सक्ने, जलस्रोतको उपयोग गर्दा तोकिएको गुणस्तर कायम हुने गरी गर्नुपर्ने, नेपाल सरकारले जलस्रोतको प्रदूषणको सहन–सीमा तोक्न सक्ने, तोकिएको जलस्रोतको प्रदूषण सहन–सीमा नाघ्ने गरी कसैले पनि कुनै किसिमको फोहर मैला, औद्योगिक निकास,विष, रासायनिक वा विषालु पदार्थ हाली वा प्रयोग गरी जलस्रोतलाई प्रदूषित गर्नु नहुने, कुनै जलस्रोत प्रदूषित भए नभएको वा कुनै जलस्रोत उपयोगको सम्बन्धमा तोकिएको गुणस्तर भए नभएको सम्बन्धमा तोकिएको अधिकारीले आवश्यकता अनुसार परीक्षण गर्न गराउन सक्ने, जलस्रोतको उपयोग गर्दा भू–क्षय,बाढी, पहिरो वा यस्तै अरू कारणद्वारा वातावरणमा उल्लेखनीय प्रतिकूल असर नपर्ने गरी गर्नुपर्ने कुराहरू उल्लेख गरिएका छन् भने जलचर संरक्षण ऐन, २०१७ ले नदी लगायतका जलस्रोतमा पाइने जलचरहरूको संरक्षण सम्बन्धी कानुनी व्यवस्था गरेको छ ।

वास्तवमा, नदी भनेका सबै नेपालीका साझा स्रोत र सम्पत्ति हुन् । तिनीहरूको उचित व्यवस्थापन,संरक्षण, संवर्द्धन र सुरक्षा गरी वर्तमान र भावी दुवै पुस्ताले यसको उपयोग गर्न पाउने व्यवस्था मिलाउनु वाञ्छनीय देखिन्छ भने यसको दायित्व संघीय, प्रदेश र स्थानीय सरकार तथा नदीहरूको उपयोग गर्ने सबैको हुन्छ । प्रत्येक नदी र नदी प्रणालीलाई प्रदूषणरहित तुल्याई अविरल रूपमा स्वच्छ पानीको प्रवाह कायम गराउन आवश्यक र उपयुक्त उपायहरू अपनाउनु सम्बन्धित सरोकारवालाहरू सबैको दायित्व हो । यसका लागि संघीय, प्रदेश र स्थानीय सरकारहरूले एकल वा संयुक्त रूपमा नदीहरूको संरक्षणका लागि नीति, नियम कानुनहरूको तर्जुमा गर्ने तथा सम्बन्धित कार्यक्रमहरूको सञ्चालन गर्ने कार्य गर्न सक्छन्। साथमा जनचेतना अभिवृद्धिका कार्यक्रमहरू पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन् । बागमती नदी स्वच्छ र सफा बनाउन चलिरहेको सफाइ अभियानले नदीहरूलाई सफा, स्वच्छ र प्रदूषणरहित बनाउने कार्यमा व्यापक रूपमा जनचेतनाको विस्तार गर्‍यो भने यस्तै अभियानहरू पछि गएर देशका अन्य स्थानहरूमा पनि सञ्चालित हुन थाले । हाल नेपाल सरकारले बागमती नदीको स्वच्छताका लागि योजनाबद्ध रूपमा थुप्रै कार्यक्रमहरू सञ्चालन गरिराखेको छ । यस अन्तर्गतका केही कार्यक्रमहरूमा ढल निकास प्रणालीको व्यवस्थापन, फोहोर पानी शुद्धीकरण संयन्त्रको निर्माण, नदी किनार संरक्षण, वृक्षारोपण र पार्क निर्माणहरू रहेका छन् । यो आयोजना सम्पन्न भएपछि बागमती नदी प्रदूषणरहित बन्ने मात्र नभई नदी किनारको सौन्दर्यमा पनि वृद्धि हुने विश्वास लिइएको छ र सहरवासीले समेत यसबाट प्रशस्त लाभ लिन सक्नेछन् ।

नदीलाई प्रदूषण रहित बनाउनका लागि सञ्चालन गर्न सकिने अन्य कार्यक्रमहरूमा नदीको प्राकृतिक बहावलाई कुनै पनि तरिकाले प्रभावित नगर्ने वा हुन नदिने, नदी किनाराको जमिनको संरक्षण गर्ने,नदी क्षेत्र अतिक्रमणलाई कडाइका साथ नियन्त्रण गर्ने, नदी क्षेत्रबाट बालुवा, ढुङ्गा, ग्राभल जस्ता नदीजन्य पदार्थहरू सङ्कलन र उत्खनन गर्ने कार्यको नियमन गरी यसलाई वातावरणमैत्री बनाउने, नदी किनार वा आसपासका क्षेत्रमा फोहोर मैला विसर्जन गर्न नदिने, फोहोरपानीयुक्त ढलहरूलाई शुद्धीकरण विना सिधै मिसाउन नदिने जस्ता कार्यहरू गर्न सकिन्छ ।

कृषि प्रणालीमा गरिने विभिन्न सुधार र विषादी तथा रसायनको अत्यधिक प्रयोग नगर्ने गर्नाले नदीको स्वच्छता कायम गर्नमा मदत पुग्नेछ । एकीकृत जलाधार व्यवस्थापन, प्राकृतिक स्रोतको दिगो व्यवस्थापन, नदी तटीय व्यवस्थापन कार्यक्रम, भूक्षय, पहिरो, गल्छी र नदी नियन्त्रण जस्ता कार्यक्रमहरूले पनि नदीको स्वच्छता कायम गर्नमा मदत पुर्‍याउँछन् । स्थानीय तहहरूले आफ्नै स्तरबाट नदी संरक्षणका कार्यक्रमहरू सञ्चालन गर्न सक्छन् र आवश्यक परेमा आवश्यक नीति र कानुनहरू पनि तर्जुमा गर्न सक्छन् । बस्ती र सहरी क्षेत्र भएर बग्ने नदीलाई प्रदूषण रहित बनाउन योजनाबद्ध बस्ती तथा सहरी विकास, फोहर मैला व्यवस्थापन, ढल प्रणाली र फोहोर पानी शुद्धीकरण संयन्त्रको स्थापनाजस्ता कार्यक्रमहरू आवश्यक पर्ने देखिन्छ । औद्योगिक क्षेत्रहरूको स्थापना गर्दा नजिकका खोला, नदीहरू प्रदूषित बन्न सक्ने कुरामा सुरुदेखि नै सचेत रहेर अगाडि बढ्नुपर्छ र उपयुक्त फोहोर पानी प्रशोधन केन्द्रहरू स्थापना गरी नियमित सञ्चालनको सुनिश्चितता गर्नुपर्छ । जलविद्युत, सडक, सिंचाई जस्ता पूर्वाधारका संरचनाहरू नदी वा नदी क्षेत्र वरपर निर्माण गर्दा नदी प्रदूषित हुन नदिन उपयुक्त सावधानी र उपायहरू अपनाउनु पर्ने देखिन्छ । यी संरचनाहरू बनाउँदा कार्यान्वयन क्षेत्र वरपरको वातावरणीय संवेदनशीलतामा ध्यान दिँदै योजना तर्जुमा, डिजाइन, निर्माण तथा सञ्चालन चरणमा नदी प्रदूषण हुन नदिनका लागि पर्याप्त सावधानी वा न्यूनीकरणका उपायहरू अपनाउने हो भने नदीहरू उल्लेख्य रूपमा प्रदूषित हुन पाउँदैनन् ।

खानेपानी आपूर्ति गर्ने खोला, नदीहरूका लागि अझ विशेष किसिमका संरक्षण कार्यक्रमहरू सञ्चालन गरिनु आवश्यक हुन्छ । आवश्यकता अनुसार ती नदीहरूको निश्चित मुहान क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरी त्यस क्षेत्रमा मानवीय वा अन्य क्रियाकलापहरू निषेध गर्न र संरक्षणका विविध कार्यक्रमहरू सञ्चालन गर्न सकिन्छ । वास्तवमा स्वच्छ, निर्मल र कञ्चन पानी बग्ने नदीहरू हाम्रा सभ्यता र जीवनका धरोहर मात्र होइनन्, पर्यावरणीय सन्तुलनका परिचायक पनि हुन् । हालसम्म नेपालका खोला, नदीहरूको पानीको नियमित रूपमा गुणस्तर मापन गर्ने छुट्टै संयन्त्र र कार्यक्रम नभएको हुँदा हालकै जल तथा मौसम विज्ञान विभाग मार्फत नेपालका प्रमुख नदीहरूको विभिन्न खण्डमा पानीको गुणस्तर सम्बन्धी नियमित तथ्यांक संकलनको व्यवस्था मिलाउन सके भविष्यमा ती नदीको स्वच्छता वा प्रदूषण नियन्त्रण सम्बन्धी विभिन्न नीति, योजना, कार्यक्रमहरूको तर्जुमा गर्न, नदीको प्रदूषण अवस्थाको अनुगमन गर्नमा निकै सहयोगी बन्ने देखिन्छ ।


Your Views
Related News