काठमाडौं । पछिल्ला केही दिन यता सामाजिक सञ्जालमा पुनः लोडसेडिङ हुन लागेको आशंका र भ्रमपूर्ण प्रतिक्रिया आउन थालेका छन् । विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङ बाहिरिएसँगै यस्तो प्रतिक्रिया आउन थालेको छ ।

‘घिसिङलाई प्राधिकरणमा पुनर्नियुक्ति गर्नुपर्छ’ भन्दै सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट वकालत गर्ने व्यक्ति तथा समूह नै लोडसेडिङको हल्ला फिँजाउन लागेको देखिन्छ । घिसिङलाई सरकारले ४ वर्षका लागि प्राधिकरणमा नियुक्त गरेको थियो । कार्यकाल पूरा गरेपछि पुनर्नियुक्ति गर्ने÷नगर्ने निर्णय सरकारकै हुन्छ ।

सरकारको निर्णय तथा काममा समेत प्रतिकूल असर पर्ने गरी केही व्यक्ति तथा समूहले घिसिङको पक्षमा वकालत गरिरहेका छन् । सरकारले घिसिङलाई पुनर्नियुक्ति नगरेपछि त्यही समूहले लोडसेडिङको हौवा फैलाएर प्राधिकरण तथा सरकारलाई बदनाम गर्न खोजेको देखिन्छ ।

मर्मत÷सम्भार, पोल तथा ट्रान्सफर्मर परिवर्तन लगायत तथा अन्य प्राविधिक गडबडी हुँदा प्राधिकरणले सूचना दिएर बिजुली काट्ने गरेको छ । यसरी लाइन काटिनुलाई पनि लोडसेडिङसँग जोडेर अभिव्यक्ति आउने गरेको छ । जबकि, घिसिङ हुँदा पनि सूचना दिएर विद्युत् कटौती हुँदै आएको थियो ।

अभि रेग्मीले फेसबुकमा लेखेका छन्, ‘फेरि लोडसेडिङ सुरु भा’कै हो त ? १ घन्टा भयो त बत्ति गएको पनि ।’ उनले घिसिङ प्राधिकरणबाट बाहिरिएपछि पुनः लोडसेडिङ सुरु भएको हो कि भन्ने आशंका गरेका छन् ।

यस्तै, देश बनाउनेहरू एकजुट हौं भन्ने फेसबुक पेजमा लेखिएको छ, ‘कुलमान घिसिङको म्याद सकिएपछि हाम्रो ठाउँमा फेरि लोडसेडिङ सुरु । तपाईंहरूको ठाउँमा भयो ?’ यो पोष्टले देशमा लोडसेडिङको युग फेरि फर्किएको भ्रम छरेको छ ।

इशारा वीरकट्टा मगरले लेखेकी छन्, ‘हैन, फेरि लोडसेडिङ सुरु भएको हो र ?’

यी सामाजिक सञ्जालमा देखिएका केही उदाहरण हुन् । यस्तै, लोडसेडिङको युग फर्किएको भन्ने भ्रम छर्ने खालका दर्जनौं पोष्ट देख्न सकिन्छ । तथ्यहीन सामाजिक सञ्जालका यस्ता पोष्टले आम सर्वसाधारणमा फेरि लोडसेडिङ हुने भ्रम छरिरहेका छन् । जुन कदापि सत्य हुन सक्दैन ।

सामाजिक सञ्जालमा भ्रमपूर्ण प्रतिक्रिया आउन थालेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सर्वसाधारणलाई सचेत गराएको छ । तथ्यहीन सन्देश तथा प्रतिक्रियाका पछाडि नलाग्न पनि मन्त्री वर्षमान पुनले आग्रह गरेका छन् । उनले भनेका छन्, ‘विद्युत् आपूर्तिमा समस्या देखिए तुरुन्तै प्राधिकरण वा मन्त्रालयमा फोन गर्नुहोला ।’

यता प्राधिकरणले पनि लोडसेडिङको युग फर्किन्छ भन्ने भ्रममा कुनै सत्यता नभएको प्रष्ट पारेको छ । प्राविधिक समस्याले विद्युत लाइन काटिनुलाई लोडसेडिङसँग जोड्न नहुने प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाले बताए ।

‘लोडसेडिङ अब इतिहास भइसकेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘सामाजिक सञ्जालमा छरिएका भ्रममा सत्यता छैन ।’ बर्खाको समय भएकाले कहीँ रुख ढलेर तार चुडिँदा त्यसको मर्मतका लागि लाइन काटिने गरेको र यसरी लाइन काट्दा सूचना दिने गरेको उनको भनाइ छ ।

ट्रान्सफर्मरमा समस्या आउँदा, सबस्टेसन र वितरण लाइनको मर्मता तथा स्तरोन्नति गर्दा, सडक विस्तार भएको स्थानका विद्युतीय पोल सार्दाको अवस्थामा बाहेक विद्युत आपूर्ति नियमित भइरहेको पनि कोइरालाले स्पष्ट पारे । उनका अनुसार सबस्टेसन र वितरण लाइनको मर्मत तथा स्तरोन्नति गर्न एवं विस्तारित सडकको विद्युतीय पोल सार्दा सार्वजनिक सूचना दिने गरिएको छ ।

‘खै किन यस्तो हल्ला चलाइएको छ । मैले बुझ्न सकेको छैन । अब इतिहास बनिसकेको लोडिसेडिङ फर्किँदैन । उत्पादन बढिरहेकाले खपत बढाउने बेला आएको छ’ उनले भने । यस पटक गत वर्ष यहि अवधिको तुलनामा विद्युत माग पनि बढेको उनले बताए । अहिले विद्युत माग बढेर साढे १३ सय मेगावाट नाघेको छ ।


Your Views
Related News